कोरिया र फेसबुकले रित्तिएको जिन्दगी

-  |   श्रीप्रसाद देवकोटा

कोरिया र फेसबुकले रित्तिएको जिन्दगी

राजु सुवेदी कास्की जिल्ला ढिकुरपोखरी गाविस वडा नं.५ का स्थानिय बासिन्दा हुन् । राजुका तीन दाजुभाई थिए । राजु सबै भन्दा ठूला छोरा थिए, १० वर्षका । पेशाले राजुका पिता माध्यमिक तहका नेपाली शिक्षक हुन् र फुर्सदको समयमा गाउँघरका पुजा पाठ उनको वैकल्पिक आम्दानीको पेशा थियो ।shree prasad devkota

गाउँघरमा सुवेदी परिवारलाई शिक्षक र गुरुको परिवारको रुपमा निकै सम्मान गरिन्थ्यो । अघिल्लो हप्ता नै आउँदो शनिबारको दिनका लागि राजुका पिताले पुजाका निम्ति पल्लो गाउँको सुपारी लिएका थिए । शनिबार बिहानै सबेरै उठेर नुहाईधुवाई गरि राजुका पिता छाता ओडी पुजाका निम्ति पल्लो गाउँ सोझिए ।

रातदेखि नै निकै पानी परिरहेको थियो । राजुको घरबाट वरिपरिका पहाडमा ठूलै पहिरो गएको देख्न सकिन्थ्यो । शनिबारको दिन भएकाले राजु खाना खाएर दिनभर भाईहरुसगँ खेल्दै बसिरहेका थिए । राजुको आमा प्लास्टिक ओडी घर नजिकैको खेतमा घास काट्न जानुभएको थियो । करिब २ घन्टापछि निर्थरुक भिज्दै निकै अतालिएर आमा घर आउनुभयो । घास काट्दा आमाको देब्रे हात निकै गहिरोसँग काटेको रहेछ ।

राजुले आमाको पटुका च्यातेर हातमा बाधिदिए र पुजाबाट बाबा फर्केपछि अस्पताल जाने सल्लाहमा बाबालाई पर्खिरहे । करिब बेलुकाको ४ बजिसकेको थियो बाबाको पर्खाईमा । यत्तिकैमा पल्लो घरको राम दाई हक्कानिँदै घर आउनुभयो । एकछिन दाई केहि बोल्ल सक्नुभएन, मैले दाईलाई बोल्ल पटकपटक आग्रह गरे ।

एकछिन पछि दाईले मलाई सुम्मसुमाउँदै पुजाबाट घर फर्कदा बाबालाई खोलाले बगाएको र सबै गाउँलेहरु बाबाको खोजीको निम्ति खोलाको बगरमा गएको कुरा बताउनुभयो । दाईको त्यो खबरले मेरी आमा बेहोस भएर पिढिमा ढल्नुभयो, साना दुई भाईहरु अचेत थिउ ।

म पनि आफूलाई कसरी सम्हाल्न सक्थे र बेहोस भएछु । हुने हार दैव नटार भनेझैं बाबाको मृत्यु भईसकेको थियो, सारा गाउँलेहरुले जति खोजेपनि बाबालाई जिउँदै भेट्न सकेनन् । भोलिपल्ट बिहानै बाबाको शव खेतको आलीमा भेटियो । यसरी दश बर्षको कलिलो उमेरमा म टुहुरो बनेका थिए । त्यसपछिका दिनहरु हाम्रो लागि कहिल्यै पनि सुखद रहेनन् ।

बाँच्नको लागि के के गरिएन । सबै भन्दा बढि दुख आमाले गर्नुभयो । अरुको खेत अधिया लिएर महिना दिनसम्म अरुकोमा पर्म लगाएर खेत रोप्नुहुन्थ्यो । गाई भैंसी पालेर दुध र घ्यु बेची हामीले पढ्ने कापी कलमको जोगो गर्नुहुन्थ्यो । नयाँ कपडा लगाउने, मिठो खाने हाम्रो लागि मुस्किलले दशैमात्र हुन्थ्यो । म पनि आमालाई सकेजति साथ दिन खोज्थे । स्कुल बिदाको समय खेत र गाई भैसीं चराउँदैमा मेरो समय बित्थ्यो ।

सकेसम्म भाईहरुलाई अभाव नहोस् भन्ने मेरो पनि चाहना थियो । आमाले मलाई थपिदिएको खाना पनि भाईहरुलाई नै थपिदिन्थे, दशैं तिहारमा मामाघर र आफन्तहरुले दिएको पैसा जम्मा गरि भाईहरुलाई कपडा किनिदिन्थे । कयौं छाक खाना नखाई, कयौं रात नसुती आमासँगै धेरै रातहरु बिताए । सापटि लिएको पैसा समयमा तिर्न नसक्दा साहुले आमालाई धेरै पटक हकारेको पनि देखेको थिए । मनमनै १८ बर्ष पुगेपछि नागरिकता बनाई विदेशमा गएर धेरै पैसा कमाई आमा र भाईहरुलाई राम्रोसगँ पाल्ने सपना पनि बोकेको थिए ।

समय बित्दै गयो, गाउँबाट म प्रथम श्रेणिमा एसएलसी पास भए । गाउँमा उच्च शिक्षाका लागि क्यापस थिएन पोखरा जानु पर्ने थियो । आमाले मेरो उच्च शिक्षाका लागि तल्लो बारी बन्धकी राखि केहि पैसा निकाल्नुभयो र पोखराको पिएन क्याम्पसमा भर्ना गराईदनुभयो । आमाको इच्छा र त्यागअनुसार मैले पनि आईएड प्रथम श्रेणीमा पास गरे । त्यसपछि जागिर खाने सोच बोकी आमालाई भेट्न घर पुगे ।

केहि दिनको घर बसाईपछि जागिर खोज्ने शिलशिलामा फेरि बजार झरे । गाउँको अंकलले एउटा सुपरमार्केटमा सेलरको जागिर मिलाईदिनुभयो । जसबाट मैले दुई भाईलाई बजार पढाउन सके । आज मैले पनि आफ्नो स्नातक भर्ना गरेर तपाईसगँ कुरा गर्न पाए ।

यो कथा पिएन क्याम्पसमा पहिलो बर्षमा अध्ययन गर्दैगर्दा राजुले सुनाएको उनको विगतको कथा थियो । राजु पढाईमा निकै अब्बल थिए तर कसै सगँपनि बोल्ने थिएनन् । करिब २०० जना विद्यार्थीले एउटा कक्षामा बसेर पढ्नुपर्ने थियो, त्यसमा पनि राजु सधैँ पछाडी बस्ने गर्थे । कक्षाका सबै विद्यार्थीहरुले फुर्सदको समयमा आ–आफ्नो घरपरिवार र खुसीका कुराहरु सुनाउँथे । तर, राजु सधैँ अरुका कुरा मात्र सुनि बस्दथे ।

हाम्रो बीचमा एक घन्टा ब्रेक थियो, त्यो समयमा सबै विद्यार्थीहरु चमेना गृहमा बसी खाजा खाँदै मिठामिठा कुरा गरेर समय बिताउँदथे । तर राजु त्यो समयमा एक्लो चउरमा बसी टोलाएको देखिन्थ्यो । एकदिन राजुलाई मैले खाजा खाना जान अनुरोध गरे । निकै अप्ठारो मानि मसगैँ खाजा खान हिँडे । खाजा खाँदै हामीले निकै आत्मियता साट्दै गयौं । उसले पनि सबै आफ्नो विवशता सुनाए । राजुको विगतको भोगाईको सुनाईले बीचबीचमा म निकै रोएको थिए । चमेना गृहबाट साटिएको हाम्रो आत्मियता निकै प्रगाढ बन्दै गयो । हामीले स्नातक तह सगैँ बितायौ ।

स्नातक तहको नतिजा आयो । म र राजु दुवै राम्रो अंकका साथ पास भयौ । स्नातकोत्तर पढाईको लागि काठमाडौं जाने सरसल्लाह गर्यौंं । उसले पनि बाँकी रहेको जग्गा धितोमा राखेर पहिला पढाई सिध्याउने संकल्पका साथ काठमाडौंमा सानिआमासगँ बसि पढ्ने निर्यण गरे । हामी दुवैले त्रिभुवन केन्द्रीय विश्वबिद्यालयमा भर्ना गरी पढाई सुरु गर्यौं ।

पहिलो बर्षको परिक्षाको नतिजा पनि राम्रो आयो । दोस्रो बर्षको शुरुबातदेखि नै राजुले ईपीएस परिक्षाको तयारि शुरु गरेका थिए । उसलाई १०० अंकको परिक्षामा ९८ अंक प्राप्त पनि भयो । परिणामस्वरुप राजु दक्षिण कोरियामा रोजगारीका लागि योग्य ठहरिए । करिब स्नातकोत्तर तहको दोस्रो बर्षको परिक्षा आउन १५ दिन अगाडि राजुको कोरिया जानको लागि भिसा लाग्यो ।

शुरुमा मैले उसलाई पहिला पढाई सकेपछि मात्र अरु काममा लाग्न अनुरोध गरे । तर, उसले आफ्नो पारिवारिक विवस्ताले त्यो अवसर गुमाउने नसक्ने बताए । अन्तत स्नातकोत्तर तहको दोस्रो बर्षको ५ दिन अगाडि राजु कोरिया उडें ।

कोरिया गएको करिब एक महिनापछि राजुसगँ फेसबुकमा मेरो भेट भयो । त्यसपछि हामी निरन्तर रुपमा फेसबुकमा र भाईबरमा कुरा गर्न थाल्यौं । १६ घण्टासम्म निरन्तरको कामले धेरै पटक आफू बिरामी परेको कुरा सुनाईरहन्थ्यो त कहिले रुम पार्टनरको आत्महत्याको कुरा पनि । साह्रै खिन्नताका कुराहरु पछिल्लो चरणमा बढि सुनाएको थियो राजुले ।

करिब ३ बर्षको कोरिया बसाईंपछि पहिलो छुट्टिमा घरमा आउने कुरा गर्यो । म पनि उत्सुकतामा साथीलाई स्वागत गर्न विमानस्थल पुगे । विमानस्थलको पहिलो भेट निकै भावनाम्मक बनेको थियो । हामी दुवैको आँखामा आँशु देखिन्थ्यो, सायद लामो समयपछि मिल्ने साथीको भेटको हर्षको आशु थियो । करिब एक महिनाको कमाईको लगानी हालेर मेरो लागि उसले ल्यापटप उपहार ल्याईदिएको रहेछ ।

शुरुमा मैले धेरै बिन्ति गरे नलिनको लागि, तर मेरो अनुरोध नकार्दै साथीत्वको नाशोको रुपमा बुझ्न बाध्य पार्यो । ल्यापटप झोलामा राखी उसलाई बिदाई गरे पोखराको यात्राको निम्ति । आफ्नो पढाईको निम्ति बन्धकी राखिएका खेतहरु फिर्ता गरि आमा र दुई भाईहरु लियर काठमाडौं घुम्न आउने प्रण गरेको थियो हाम्रो छुटाईको क्रममा ।

तर एक्कासी पोखरा गएको एक हप्तामा मलाई बिबाहमा आउनका लागि फोन गर्यो । एमफिलको परिक्षाको कारण म उसको बैबाहिक समारोहमा सहभागि हुने सकिन र फोनबाट नै बधाई दिए ।

करिब एक महिनाको नेपाल बसाईको समयपछि कोरिया जानको लागि राजु काठमाडौं आयो । विमानस्थलमा बिदाईका निम्ति म पनि पुगेको थिए । निकै राम्रो शारीरिक सुन्दरता भएकी युवतीलाई राजुले आफ्नो श्रीमतीको रुपमा परिचित गरायो । एकछिनको बसाईपछि शुभयात्राको कामना गर्दै हामी छुट्यौं । त्यसपछि अनलाईनमा पनि लामो समय सम्म भेट हुन सकेन् ।

करिब ४ बर्षपछि म मेरो श्रीमतीको रेगुलर उपचारको निम्ति सिभिल हस्पिटल गएको थिए । अकस्मात परिचित आवाजमा मेरो नाम उच्चारण गर्दै कुनै पुरुषले बोलाईरहेको सुने । र, अस्पतालको बिल तिर्ने काउन्टरबाट त्यो पुरुषलाई भेट्न पुगे । दुवै हात नभएका ति पुरुष उनै राजु रहेछन् । शुरुमा पत्याउनै निकै गाह्रो भयो मलाई त्यो अवस्थामा राजुलाई भेट्दा । बिरामीको निकै भीडमा नै आँखाबाट बलिन्दर आँशु झर्न थाले राजुको त्यो अवस्था देखेर अनि बोल्ने गला पनि अबरुद्द भयो । केहिबेरपछि अस्पतालको चमेना गृहमा गयौं चिया पिउनका लागि ।

मैले राजुलाई सबैकुरा भन्नका लागि बारम्बार अनुरोध गरे । निकै अफ्ठ्यारो मान्दै राजुले सबै कुरा सुनायो । पहिलो छुट्टीपछि कोरिया पुगेको राजुको कामको शिलशिलामा मेशिनले च्यापियर दुवै हात काटिएको रहेछ । करिब एक वर्ष अस्पताल उपचार गराउँदा पनि ठिक नभएपछि कम्पनीले नेपाल पठाइदियको रहेछ । फेसबुकबाट लभ गरेर बिबाह गरेकी श्रीमती पनि राजुको अपाङ्गता खबरपछि श्रीमानले पठाएको पैसा बोकी परपुरुषसगँ लागिछन् । राजुका मुटुका टुक्रा दुई भाई पनि अन्तरजातिय विवाह गरि बजारमा बसेका रहेछन् । बिरामी ति बुढि आमालाई उपचारका निम्ति लिएर तिनै अपाङ्ग राजु काठमाडौं आएका रहेछन् ।

सन्तानको निम्ति श्रीमानको मृत्युपछि खाली पेटमा पटुका कसेर मेला र पर्म गरे जवानी फालेकी राजुकी आमा आज अपाङ्ग छोराको काखमा अस्पतालमा मृत्यु कुरेकी छन् । बन्दकी राखेको खेत फिर्ता, आमा र भाईहरुलाई सुख दिन विदेशिएको छोरा राजु दुई हात काटिएर फर्किएको छ । मुटुका टुक्रा दुई भाईहरु श्रीमतीको ईच्छामा बुढि आमा र अपाङ्ग दाईलाई छोडी बजारियाका छन् । राजुको जवानी र कमाई कोरिया र फेसबुकबाट लभ गरि बिबाह गरेकी श्रीमतीले लुटेका छन् । आज राजु रित्तिएको छ ।

राजु त एउटा प्रतिनिधिमुलक पात्र मात्र हुन् । राजु जस्तै करिब ६० लाख नेपाली दाजुभाई आज विदेशिएका छन् । कोही ईराकमा बलि चढेका छन्, कोही काबुलमा त कोहि कोरियामा । किन देश बनाउने युवा विदेशमा बलि र बममा जलिरहेको छन् ? विदेशिनु उनीहरुको बाध्यता हो कि रहर हो ? एक युवाको हैसियतले यी प्रश्नहरुको जवाफ खोजिरहेछु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल