गाऊँ रोज्दा निमोनियाले मृत्युवरण गर्ने एउटा शिक्षक साथिको नाममा

  |   –राजेश चाम्लिङ

गाऊँ रोज्दा निमोनियाले मृत्युवरण गर्ने एउटा शिक्षक साथिको नाममा

प्रिय दीपक,
यस्तो कुन शब्द खिपुँ, जसले मेरो भावना र तिम्रो समर्पणको सही व्याख्या गर्न सकोस्? एक मनले लेखेर के पीडा पोखौँ जस्तो पनि लागेको छ । तर हाम्रो पुस्ताका युवाहरूले सुन्नै पर्ने तिम्रो आदर्श, हिम्मत, अन्तिम समयसम्मको अठोट र छोटै भएपनि तिमिले बाँचेको स्वाभिमानपूर्ण जीवनको कहानी नभनी पनि कसरी बसुँ?

deepak_2
हो, साथि तिमीले यो शब्दहरू अब कहिल्यै पढ्न पाउने छैनौँ । सायद तिमीले बाँचेको समय र समाज पनि त्यस्तै छ जहाँ जाबो निमोनियाको उपचार हुननसक्दा तिमी जस्तो शिक्षकले ज्यान गुमाउनुपर्छ । हुन त अस्पताल र चिकित्सकको मुखसमेत देख्न नपाई तिम्रो देहान्त भएको सुन्दा पत्याउनै गाह्रो भइरहेको छ । त्यसैले त एक्किनका साथ तिम्रो देहान्त निमोनियाकै कारण भएको भन्ने पुष्टि गर्न पनि गाह्रो छ । तर गाऊँलाई उज्यालो बाटोमा हिंडाऊँने, युवाहरूलाई सुन्दर भविश्यतिर डो¥याउन सहयोग गर्ने र जे हुन्छ गाऊँमै बसेर आफ्नो ठाऊँको सेवा गर्ने तिम्रो अन्तिम अवस्थाको वर्णन सुन्दा सबैले निमोनियाकै अनुमान गरिरहेको छ । त्यसैले म पनि त्यो पत्याउन बाध्य छु ।

तिमी हामी बसेको स्थानबाट मात्र होइन, देशका प्रत्येक कुनाकाप्चाबाट बलियोबाङ्गो, सक्ने, जान्ने, पढेका होस या पाखुरी बलियो भएका सबै सबै १८ देखि ६० वर्षसम्मका मानिसहरू ताँत लागेर कोहि शहर पशेका छन् । कोहि अरबको खाँडी छिरेका छन, त कोहि सम्पन्न भविश्यको कल्पना गर्दै यूरोप–अमेरिका छिरेका छन् । कक्षा १० सम्मको हाम्रो त्यो कसैले शब्दमा ब्याख्या गर्न नसकिने मित्रताको कथा बदल्दै म पनि शहर छिरें । म अहिलेसम्म पनि यतै कतै हराईरहेको छु । तिमी उच्च शिक्षा हाँसिल गर्दाको केहि अबधिबाहेक पूराका पूरा आफ्नो गाऊँप्रति समर्पित भयौ । आफू जन्मेको ठाऊँको विकास र प्रगतिको लागि तिम्रो समर्पण देखेर जो कोहि शीर झुकाउलन् । तर ती सब अब त मात्र सम्झनाका विषय मात्र बन्ने भए ।
……………
‘ओई ! काठमाडौ आईज’,
‘यहाँ बसेर के घिटघिटी बाँचिरहेको? काठमाडौ हिंड । त्यता तँजस्तो स्नातकोत्तर गर्दै गरेको क्षमतावान व्यक्तिले हेल्मेट लेक्चर भएरै पनि परिवार पाल्न सक्छस्’
‘यता बसेर केहि हुँदैन साईला ! केहि वर्षकै लागि भए पनि काठमाडौ छिर । अलि आफ्नो बुझाईको आयतन फराकिलो बना । अनि आएर फेरि गाऊँमै संघर्ष गर!’
ऐन मौका पारेर प्रत्येक पटक घर जाँदा यस्ता शब्दहरू मैले कतिपटक भनें हुँला । त्यो गनिसाध्य छैन । तर तिम्रो उत्तर सँधै उस्तै आईरह्यो– शहर तिमीहरू जस्ता चलाक, बाटा र ठूला मान्छेहरूको लागि हो । म यतै बसेर सकेको जति संघर्ष गर्छु । तिमीहरू जस्तै म पनि शहर पसें भने गाऊँमा रहने को हुन्छ हँ?

हो, साँच्चै अब त गाऊँ पनि रित्तो रित्तो भइसकेको छ । त्यसैले त होला सायद कम्तिमा केहि कोष टाढा रहेको सदरमुकामसम्म तिमीलाई उपचारको लागि लाने व्यवस्था पनि हुन सकेन । सुनेँ ‘गाऊँ घरमा त तिमी विरामी भएकोबारे धेरैलाई थाहै पो भएन छ ।’ सायद, पातलिँदो मानिसहरूका कारण गाऊँमा पहिलो जस्तो निरन्तर भेटघाट र छलफल हुँदैन क्यारे ।
म पनि केहि वर्ष शिक्षक भएको हो । त्यसबेला तिम्रो पढाउने कलाको व्याख्या विद्यार्थीहरूबाट सुनेर म पनि अचम्मित हुन्थेँ । कति प्रशंसा गर्थे तिम्रा विद्यार्थीहरू । एक किसिम मलाई डाहा लाग्थ्यो । अर्को किसिम कसरी तिमी जस्तै प्रभावकारी ढंगले पढाउने भन्ने मेहनत पनि गर्थे । ती सबै त अब सम्झना मात्र ।

‘यी हेर त मैले सुँगुर फर्म चलाउन लागेको छु, । यो घरमाथिको बारीमा अदुवा खेति गर्न लागेको छु । तिमीहरूको जस्तो पैसा त सुँगुर र अदुवा खेतिले नै म धानिदिन्छु ।’ पछिल्लो भेटमा तिम्रो यस्तै योजनाहरू सुनेको थिएँ । कृषि कार्यका लागि प्रोत्साहित गर्न गाऊँ गाऊँमा सरकारले अहिले विभिन्न अनुदान दिएको छ । केहि पहल तिमीले पनि अवश्य ग¥यौ होला । तर पछि फेरि दुःखद् खबर सुने तिम्रो केहि चलेन । सुँगुर पालन फस्टाएन । अदुवामा सोचे जस्तो सफलता मिलेन? अनि सरकारी अनुदान?

त्यसको लागि त भनसुन चाहिन्छ, उपल्लो निकायमा पहुँच चाहिन्छ । के तिम्रो त्यती पहुँच पुगेन? देखेको छु, तिम्रो करेसाबारीको करेला टिपिखाएरका व्यक्तिहरू भर्खरैको मन्त्रिपरिषद्मा मन्त्री थिए । एक किसिम म पनि त सानोतिनो ठाऊँमा पुगेको थिएँ । भोगेको छु, कति कति फोन आउँछन् सहयोग माग्नेहरूको । तर मैले जानेसम्म तिमीले न ती मन्त्रीलाई कहिल्यै मलाई यो गरिदेऊ वा त्यसमा सहयोग गरिदेऊ भन्यौ, न त यस्तो गर्नुपर्छ भन्ने मान्यता नै कहिल्यै बोक्यौ । तिम्रो गुजारा चलाउन छेवैको चम्पावती मावि, जहाँबाट हामीले १७ वर्षअघि सँगै एसएलसी उत्तिर्ण ग¥यौँ । त्यहाँ बल्ल बल्ल पाएको अस्थाई शिक्षकको जागिर नै काफि थियो । त्यसैको भरमा बाँकी जीवन समाजमा केहि गरेर आउँदो पुस्तालाई उदारणीय बन्न प्रेरित गर्ने तिम्रो आकांक्षाले मूर्त रुप नपाउँदै तिमी विदा भयौ त ! ?
………
यो अनौठो जस्तो लाग्ने प्रश्न सोधिरहँदा सम्झिरहेछु, ती स्कुले जीवनका तीता–मीठा क्षेणहरू । स्मरण गरिरहेछु, हामीले पछ्याएको आदर्श, लैकु, महुरे र डल्ले खोलको ऐंसेलु झ्याङ् अनि काफलका बोटहरूमा कसरी लुकामारी खेल्दै हामी छुट्टी मनाउँथ्यौँ? भर्खर भर्खर विद्यार्थी राजनीति छिरेको हाम्रो कलिलो मस्तिस्कले कस्तरी ‘समतामुलक समाज निर्माण’का परिकल्पना गर्थे? विद्यालयमा सँधै राम्रो नतिजा ल्याउने तिम्रो क्षमताका बावजुद मसँग तिम्रो मित्रता देखेर साथिहरू कति छक्क पर्थे? म काठमाडौमै रहेर पनि किराती सँस्कृतिको रक्षार्थ हामीले ‘उधौली–उभौली’मा साँस्कृतिक कार्यक्रम ग¥यौँ ।

deepak_1
यति बेला अझ ताजा जाता भएर आउँछ । त्यो क्षेण जतिबेला रमेशल गाएको थियो–फलाँस फूलको बोट हलुङ्गो काँ होला, जिन्दगीको चोट’ अनि ढाकुनाले सुटुक्क पछाडिबाट चाऊँचाऊको पोकामा राखिएको नुन चोरेर भनेकी थिइन्– ओई दीपक, राजेशले त नुन कहाँ खसाई पठाए छ ! यद्यपी सोझि निर्मला नानाले सच्याएकी थिइन– होइन होइन, ढाकुनाले निकालेको छ ।

ओहो! तिमी त खेलाडि पनि त थियौ नि! तिम्रै नेतृत्वमा सम्भवत खेलकुद क्षेत्रमा मेरो जीवनकै एक मात्र मेडल ‘भलिबल’मा जितेको छु । मित्र भीम राई र धु्रबविक्रम राईबाट भर्खरै थाहा भो, तिमीहरूले शुरु गरेको बुईपा इलभेन स्पोस्र्ट्स क्बलसमेतको अग्रसरतामा अब खोटाङ जिल्लाले अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता पाउने निश्चित भएको छ रे । तर तिमीसमेतको अग्रसरतामा खनिएको तिम्रो घर नजिकैको फुटबल ग्राउण्ड र खोटाङ्को एन्फामा आवद्धता नटुङ्गिँदै तिमी गयौ । यो कसरी पत्याऊँ ह?
…………….
मलाई याद छ, तिम्रो अदर्श व्यक्तित्वको प्रभावले बुईपा–२ बरबोटका भाइहरू कति अनुशासित र मेहनती बनेका थिए । यद्यपी पछिल्लो समय एन्ड्रोइड र कच्चि सडकको हावाले गाऊँ ढाकेपछि विग्रेका युवाहरू देखेर तिमी आजित थियौ । पारिवारिक बोझले छोप्दै गएपछि तिमीमा केहि नैराश्यता बढेको थियो । दाइ प्रकाशका अनुसार ‘दाइ! पहिले पैसा केहि होइन भन्ने आदर्शबाट हिंडियो । अहिले परिवार चलाउन पनि गाह्रो भो । त्यसैले अब केहि न केहि गर्नेपर्ने छ ।’ तिमीमा यस्तो सोच पलाउँदै थियो ।

दुई छोरीहरूको भविश्यको चिन्ताले सताउन थालेपछि यो स्वाभाविक थियो । सुनेंँ, त्यसैले यो पटक कुनै पनि हालतमा शिक्षक सेवाबाट नाम निकाल्नेगरी तिमी अध्ययन गरिरहेका थियौ । अन्तिम अवस्थासम्म पनि तिमीले ‘मेरो किताब, मेरो किताब’ भनिरहेको थियौँ रे! भनेको सुन्दा कसको पो मन नरसाउला र! तर अफसोच विहान विहानै उठेर बन्दै गरेको प्लसटुको भवनको चिसो सिमेन्टमा बसेर पढ्ने तिम्रो सानो असावधानी । पढेर स्थायी बन्ने पर्ने तिम्रो बाध्यताको कारण तिमीलाई भित्रभित्रै निमोनियाले च्यापेछ । निमोनियाको कारण ज्वरोले थलिएको तिम्रो शरिरमा गाऊँकै अहेबले झन ३ बोतल स्लाईन चढाईदिएछ । विडम्बना केहि थाहा नहुने त्यही अबेह नै हाम्रो ठाऊँको सबभन्दा ठूलो चिकित्सक! उनले गरेको उपचार विधिलाई अस्वीकार गर्ने कुरा पनि भएन ।

अन्तत निक्कै गम्भिर भएको २ दिनपछि थाहा पाउँदा काठमाडौमा भएका गाऊँलेहरू मिलेर हेलिबाट यता ल्याउने प्रयत्न पनि नभएको होइन । तर दुस्मन मौसम खराब भइदियो । बस यति हुनु रहेछ ।
…………..
अहिले सामाजिक सञ्जालभरी तिम्रा विद्यार्थी, आफन्त र चिनेजानेकाहरूको रोदन असामान्य छ । कतिले ‘तिमीलाई खोटाङ जिल्लाकै एक होनाहर’ त कतिले ‘त्यत्रो पढेर पनि गाऊँ रोज्ने एक रोलमोडल युवा’ को उपमा दिईरहेका छन् । म भने तिम्रा ५ र ७ वर्षका दुई छोरीहरू र कहिलो उमेरको परिवार सम्झेर………….।

सम्झिरहेछु नेपाली राजनीतिबारे तिम्रो पछिल्लो बुझाई, ‘हाम्रो समुदायमा पहिचानको राजनीतिबारे सचेतन्ता आउन अझै निक्कै समय लाग्ने देखिन्छ । त्यसैले हामीले मिहिन ढंगले काम गर्नुपर्छ । यसको उपयुक्त माध्यम साकेला पनि बन्न सक्छ । त्यसैले बुईपामा पनि गाविसले वर्षेनी आयोजना गर्ने साकेलालाई जिल्ला व्यापी बनाउने सोच बनाउँदैछौँ । यसबाट सचेत ढंगले हाम्रा मानिसहरूमा चेतना भर्न सकिन्छ । तर मसँग पैसा छैन । पहिले जागिरको जोहो गर्नु प¥यो अनि यसलाई अभियानको रूपमा लाने मेरो सोच छ ।’

तिम्रो यो गम्भिर इच्छा अपुरै रह्यो । मनमा आईरहेछ, ‘शिक्षक दीपक राई ट्रस्ष्ट’ वा यस्तै केहि सँस्था बनाएर तिम्रो सोच र आदर्शलाई सँधै सम्झिरहने बनाऊँ, तिम्रा नानीहरूको लागि केहि गरौँ । जसबाट आगामी पुस्ताका भाइबहिनीलाई गाऊँको सेवा गर्ने उत्प्रेरणा मिलोस् । तर म त्यो मानिस परिन जसले लाखौँ जम्मा गरेर तिम्रो सम्झना गर्न सकोस्? जसले सरकारी कोषबाट करोडौँ छुट्याएर तिम्रो उदाहरणीय र आदर्श जीवनको प्रचार गर्न सकोस् ।
हो, दीपक,
‘यहाँ यस्तै छ, सबै कुरा भन्दा नि …..ठूलो छ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल