BLOG : उनलाई भुल्न अन्तै डेरा

-  |   ललिता तामाङ

BLOG : उनलाई भुल्न अन्तै डेरा

lalita tamangअलि उता सर्नुस् न । म हल्का उता सरेपछि उनी मेरो छेउमा आएर अटिनअटी बसिन् । बिदाको दिनबाहेक प्रायःजसो उनको र मेरो भेट यसरी नै माइक्रोबसको भीडमा हुन्थ्यो । म थानकोटदेखि चढ्थँे भने उनी कलंकीबाट । र, सँगै रत्नपार्कमा उत्रन्थ्यौँ । फर्कंदा भने एक÷दुईपटक बाहेक खासै भेट हुन्नथ्यो । यसरी निरन्तरको भेटमा उनी मलाई परिचितझैँ लाग्न थालिसकेको थियो । कलंकी पुग्नेबित्तिकै मेरो नजरले उनलाई खोज्ने भइसकेको थियो । उनी माइक्रो नचढेको दिन मेरा लागि खल्लो बन्थ्यो । साँझ फर्कंदा पनि रत्नपार्कमा भेट भइहाल्छ कि भनेर मेरो आँखा उसैलाई खोज्थ्यो ।

एक दिन फर्कने बेला माइक्रो कुर्दै थिएँ । टाढाबाट उनी आउँदै गरेको देखेँ । मेरो मन भित्रभित्रै मुस्कुरायो । उनले नजिक आएपछि मात्र मलाई देखिछिन् । हल्का मुस्कुराइन् र सोधिन् ‘आज किन माइक्रो कम जस्तो छ । कति भीड हगि ?’ यति भनी नसक्दै एउटा माइक्रो हुइँकिदै आइपुग्यो । भीडमा ठेलमठेल गर्दै चढेँ । उनीचाहिँ चढ्न नसकेर बाहिरै पो रहिछिन् । आफू सुरूमै चढेकाले सँगैको सिट खाली नै थियो । उनका लागि रोकिदिएँ । मनमनै केही नराम्रो पो सोच्लिन् कि भन्ठानेँ । उनी बिस्तारै चढिन् । मैले रोकेको सिट देखाउँदै बस्नलाई इसारा गरेँ । उनी धन्यवाद भन्दै बसिन् । म भने भित्रभित्रै दंग परेँ, सँगै बस्न पाएकोमा । कुनै बहाना पारी बोलुँझैँ लागे पनि केही बोलिनँ । उनले पनि धन्यवादसिवाय केही बोलिनन् । प्रायःजसो माइक्रोबसमा रेडियो वा क्यासेटबाट गीत बजिरहेको हुन्थ्यो । पहिले–पहिले त्योे आवाज झर्को लाग्थ्यो । वास्ता गरिन्नथ्यो । उनीसँग भेट हँुदादेखि भने प्रत्येक गीतमा रमाउन थालेको थिएँ । ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ’ अरूण थापा नरहे पनि मेरा लागि उनको बयान गर्दै गाइदिँदै थिए । झ्यालबाट आएको हावाले उसको कपाल उडाउँदै मतिर ल्याउँथ्यो । उनी पनि उडेको कपाल सम्याउन खोज्थिन् । मलाई भने खुसी लाग्थ्यो । कति छिटो कलंकी पुगिसकेछ । उनी जान्छु पनि नभनी ओर्लिन् । यसरी प्रत्येक दिनजसो भेट हुँदा पनि कहिल्यै बोल्ने र नाम सोध्ने आँट गर्न सकिरहेको थिइनँ । सोध्नु पनि कसरी ?

‘तिमी लालीगुराँस फुलेजस्ती, तिमी सुनगाभा फक्रेजस्ती, नहेरुँ त मन नबुझ्ने, हेरुँ भने मुटु छुने तिमी को हौ……. हे भन सुन्दरी’ मेरो मनको कौतूहललाई नै बुझेजस्तो गरी प्रकाश थापा गाउँदै थिए एफएम रेडियोमा । उनी सिट नपाएर ढोकासँगै पछाडि फर्केर बस्ने सिटमा बसेकी थिइन् । म पछाडि बसेर गीतसँगसँगै उनलाई घरी–घरी चियाउँदै थिएँ । कति राम्री, कति शालीन, कति भद्र । बेलाबेला आँखा जुध्थ्यो । अप्ठ्यारो लागेर म अन्तैतिर आँखा फर्काउँथेँ, उनी पनि त्यसै गर्थिन् ।

उनी मभन्दा पछाडि सिटमा थिइन् । उनलाई देख्न नपाए पनि साथमा छिन् भन्ने महसुस हुन्थ्यो । ड्राइभरले एफएमको ट्युन चेन्ज गरे । डेनी डेन्जोङ्पा गाउन थाले, ‘मनको कुरालाई बाँधी नराख, गाँठो परिजाला झट्ट्रै सुनाइदेऊ’ गीतले मलाई नै बोल्नका लागि उक्साउँदै थियो, हौस्याउँदै थियो । त्यो दिन रातभरि निदाउन सकिनँ । कानभरि डेनीको गीत गुञ्जन छाडेन । मन छटपटी भयो । भोलिचाहिँ पक्का नाम सोध्छु, नाम नै नसोधे पनि केही त बोल्छु, बोल्दैमा के जान्छ र ? कता बस्छिन्, कता पढ्छिन् वा काम गर्छिन् आदि । झन्डै ६÷७ महिना भइसक्यो उनको र मेरो भेट हुन थालेको । आजसम्म नराम्रो त के राम्रो बोलेकोसम्म छैन । उनले मलाई नराम्रो मान्लिन् र ? भोलि त जसरी भए नि बोल्छु–बोल्छु । मनभरि कुरा खेल्दाखेल्दा कतिबेला निदाएछु थाहै भएन ।

अरु दिनभन्दा अलि अबेर निद्रा खुलेछ । तैपनि मनभरी नयाँ ऊर्जा भरिएको थियो । हतार–हतार गरी तयार परेर निस्केँ । मनमा भने ऊसंग भेट होला कि नहोला, भेट भइहाले पनि सँगै परिएला कि नपरिएला भन्ने छटपटी थियो । परबाट माइक्रो आइपुग्यो, चढेँ । कतिबेला कलंकी आइपुग्छ र उनीसँग भेट होला भन्ने मनमा व्यग्रता त छँदै थियो । खै किन हो कुन्नि मुटु पनि त्यही रफ्तारमा धड्किरहेको थियो । मनमनै हिम्मत बढाएँ, आज यदि मौका मिल्यो भने नाम नै सोध्न नसके पनि केही न केही त अवश्य बोल्नेछु । कलंकी पुग्नै लागेको थियो । आँखा उनी उभिने ठाउँसम्म पु¥याएँ तर उनलाई देखिनँ । मन निराश हुनमात्र के लागेको थियो, पारिपट्टिबाट म चढेको माइक्रोलाई हात दिँदै बाटो काट्न लागेको देखेँ । मन ढक्क फुल्यो– डर र खुसी दुवै मिसिएर । तर, अकस्मात् एउटा अर्को माइक्रोले उनलाई ड्याम्म हानेर लछार्दै लग्यो । एय्या भन्ने उसको चित्कारमात्र सुनेँ । गाडी र माइक्रो रोकियो । सबै मानिस जम्मा भए । म अवाक् भएँ ।

उनी बाटोमा अचेत र रगताम्य थिई । सबै कराउँदै थिए हस्पिटल लगौँ । हस्पिटल लगौँ । मसमेत मिलेर सबैले उठाएर हस्पिटल लग्यौँ । हस्पिटलको इमर्जेन्सी पु¥याएका मात्र के थियौँ डाक्टरले उनको मृत्यु भइसकेको जानकारी दिए । त्यसपछि मेरो आँखाबाट बलिन्द्र आँसुका धारा बगे । एकतमासले रोएछु । झल्याँस्स व्युँझेझैँ भयो । उनको आफन्तले खबर पाएर पनि आइसकेका रहेछन् । उनीहरु पनि डाँको छाडेर रोइरहेका थिए । म कसैलाई चिन्दिनथेँ । त्यहाँ बस्न उचित ठानिनँ । त्यो दिन अफिस जान ढिला भइसकेको थियो र जान मन पनि लागेन । कता जाउँ कता जाउँ कोठा जान पनि मन भएन । पशुपतितिर गएँ । दिनभरि कैलाशडाँडामा बसेँ । घरी रूँदै घरी टोलाउँदै, आँखाभरि उनलाई माइक्रोले ठक्कर दिएको र उसको रगताम्य अचेत शरीरमात्र आइरह्यो । साँझपख मन नलागी–नलागी हिँड्दै कोठा फर्कें । दिनभर केही नखाँदा पनि भोक हराएको थियो । आँखा अगाडि आउने उनको चित्र हटाउन सकिरहेको थिएन । खानासाना पनि पकाइनँ । भोकै सुतेँ । भोलिपल्ट अफिसमा सन्चो छैन भनी खबर गरिदिएँ । दुई दिनसम्म बाहिर ननिस्की कोठामै बसेँ । खै कसरी हो, आमाले सन्चो छैन भन्ने थाहा पाउनुभएछ । चिन्ता गर्नुभयो । त्यसरी कति दिन बस्नु ? आमाका लागि भए पनि मैले ठीक हुनुपर्छ । बिस्तारै मन बुझाउन कोसिस गरेँ । दैनिक कार्यतिर लागेँ ।

उनलाई भुल्न पनि त्यो कोठा छाडेर अन्तै सरेँ । आजसम्म कुनै माइक्रो चढ्न सकेको छैन । अझै पनि उनको सम्झनाले सताउन छाडेको छैन । त्यस दिनलाई सम्झेर सालिन्दा पशुपति गएर उनको आत्माको शान्तिका लागि प्रार्थना गर्ने गरेको  छु । अर्को जुनी अवश्य पनि भेट हुने आशासाथ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल