पत्रकारको योग्यता परीक्षण !

-  |   खगेन्द्र फुयाँल

पत्रकारको योग्यता परीक्षण !

पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउनकै लागि पत्रकारको योग्यताको परीक्षण आवश्यक रहेको प्रेस काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले दोहोर्याइरहँदा नेपालमा पत्रकारिताको दुरूपयोग र यस क्षेत्रका विकृति सतहमै छताछुल्ल भएको जोकोहीले ठम्याउन सक्छ ।

पत्रकारिताको मूल्य–मान्यता र सिद्धान्तको कुरै छाडौँ, पत्रकारितासम्बन्धी सामान्य ज्ञानसमेत नभएका व्यक्ति यो पेशामा देखिएको हुँदा पत्रकारको योग्यता परीक्षण आवश्यक रहेको कार्की बताउनुहुन्छ ।

लोकतन्त्रको मापन यन्त्र मानिएको स्वतन्त्र प्रेस नै जिम्मेवार र उत्तरदायी नभए कस्तो समाज परिकल्पना गर्ने ? प्रेस तथा पत्रकारिताले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नसके देशमा अराजकता बढ्छ । भ्रष्टाचारले सीमा नाघ्छ ।

प्रेस काउन्सिल नेपालद्वारा २०७२ फागुन १९ गते गठित सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना संयोजक पत्रकारिताका प्राध्यापक डा. कुन्दन अर्याल, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल सदस्य र प्रेस काउन्सिलका वर्तमान उपप्रशासकीय अधिकृत दीपक खनाल सचिव रहेको कार्यदल समितिले साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ को अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।

लोकतन्त्रलाई अझ बढी सबल, स्वतन्त्र, सक्षम, मर्यादित एवम् वैधानिक पत्रकारिता स्थापना र विकासका लागि पत्रकारको योग्यता तोक्नुपर्ने प्रतिवेदनमा प्रस्तुत गरिएको छ । पत्रकारितालाई पेसाको मापदन्ड अनुकूल बनाउनकै निम्ति पत्रकारको योग्यता परीक्षण आवश्यक रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनले पत्रकारिता व्यवसायका लागि योग्यता परीक्षण व्यवस्था नहुँदा दिनप्रतितिदन मिडियाको गुणस्तर खस्किँदै गएको र सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता पालनासमेत सन्तोषसजनक नरहेकाले मिडियाको गुणस्तर अभिवृद्धि र आचारसंहिता पालनाको स्थितिलाई सुधार गर्न पत्रकार योग्यता परीक्षण व्यवस्था गर्नु नितान्त आवश्यक रहेको देखिन्छ ।

प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘प्रेस काउन्सिल ऐन २०४८ को दफा ५ को काउन्सिलको उद्देश्यअन्र्तगत (क) मा स्वस्थ पत्रकारिता विकासको लागि उपयुक्त वातावरण सिर्जना गर्ने , सोही दफाको (ख) मा प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारसम्बन्धी आचारसंहिता तोक्ने, सोही दफाको (घ) मा सार्वजनिक नैतिकता र नागरिकको मर्यादा कायम राख्न लगाउने प्रवधान उल्लेख छ ।

साथै, सोही ऐनको दफा १७ मा यो ऐनको उद्देश्यका लागि नियमन बनाउन सक्ने व्यवस्था भएको हँुदा नियमावली बनाई पत्रकारको योग्यता परीक्षण गर्न बाधा नपर्ने भएकाले विनियमावली बनाई पत्रकारको योग्यता परीक्षणसम्बन्धी व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ, प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार पत्रकारिता पेसामा प्रवेश गर्न चाहने पत्रकारका निम्ति पाठ्क्रमलाई आधार बनाएर योग्यता परीक्षण समितिको काम, कर्तव्य र अधिकारअन्तर्गत वर्षको एकपटक प्रदेश गठन नभएको खण्डमा पाँच विकास क्षेत्रमा र प्रदेश गठन ढिला भइसकेपछि सातवटै प्रदेशमा परीक्षा समिति व्यवस्थापनले योग्यता परीक्षण गर्ने भनिएको छ ।

यसअन्र्तगत पत्रकारको योग्यता परीक्षणका लागि पत्रकारिता तथा अन्य कुनै विषयमा स्नातक गरेर पत्रकारितामा प्रवेश गर्न लागेका नयाँ जनशक्ति र यस व्यवस्था लागुहुनुभन्दा अघिदेखि एसएलसी उत्तीर्ण गरी पत्रकारिता गर्दै आएका पत्रकारका लागि योग्यता परीक्षण लिने व्यवस्था गर्ने भनिएको छ ।

प्रतिवेदनमा उल्लेख गरिएको योग्यता परीक्षणकोे पाठ्यक्रमको ढाँचामा पत्रकारिताको सामान्य परिचयअन्र्तगत १०० पूर्णांक, प्रेस काउन्सिल र पत्रकार आचारसंहितामा १०० पूर्णांक, पत्रकारिताको अभ्यासअन्र्तगत १०० पूर्णांक र अन्र्तवार्ता बाट ५० पूर्णांक गरी जम्मा ३५० पूर्णांक हुने भनिएको छ ।

कुनै पनि सेवामा प्रवेश गर्नुभन्दा अगाडि त्यस पेसाको कार्यक्षेत्र र कर्तव्य जान्नु आवश्यक छ । तर, योग्यताको नाममा नवप्रवेशी पत्रकारलाई मात्र यस्ताखाले नियमले चेप्ने र पुरानालाई अनुभवको आधारमा खुला छोडिनुहुन्न ।

जसरी डाक्टर, पाइलट, इन्जिनियर, शिक्षकलगायत पेसामा प्रवेश गर्नका लागि सम्बन्धित शैक्षिक योग्यताको आवश्यक पर्छ, त्यस्तै मर्यादित र जिम्मेवार पत्रकारिताका लागि पत्रकारिताको उच्च शिक्षा वा पत्रकारिताको सैद्धान्तिक तथा प्राविधिक तालिम लिन अनिवार्य छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार सबै पत्रकारलाई न्यूनतम शैक्षिक योग्यताको दायरामा ल्याएको खण्डमा मात्रै नेपालको पत्रकारिता समय सान्दर्भिक, जिम्मेवार, मर्यादित र जनउत्तरदाई हुनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल