धार्मिक आस्था, हिन्दु राष्ट्र र नेपाल

-  |   विकासकुमार ठाकुर

धार्मिक आस्था, हिन्दु राष्ट्र र नेपाल

Bikash Thakurविश्वको एक मात्र हिन्दुहरुको बाहुल्य रहेको राष्ट्र नेपाल हो । यहाँ करिब ८० प्रतिशत हिन्दु धर्मावलम्बीको बासोवास छ । ०६२÷६३ को जनआन्दोलनको सफलताभन्दा पहिला हिन्दुहरुको भावनालाई कदर गरिँदै वर्षौंदेखि संवैधानिक रुपमा नै नेपाल हिन्दु राष्ट्र थियो । तर जनयुद्धपछि सार्वजनिक राजनीतिमा नेकपा माओवादीको आगमन भएपछि गठित संविधान सभाको वैठकले नेपाललाई धर्म निरपेक्ष राष्ट्रका रुपमा संविधानमा नै उल्लेख गरियो । यो कार्यमा प्रत्यक्षअप्रत्यक्ष रुपमा विदेशीहरुले आर्थिक चलखेलबाट धर्मनिरपेक्षताको घोषणा गरियो । जसमा तत्कालनी ठूला मानिएका दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादीको नै मुख्य भूमिका छ । जनआन्दोलनमा कसैले पनि यस विषयमा मुद्दा उठाएका थिएनन् । न त जनताले नै धर्मनिरपेक्षता मागेका थिए । जनताको भावना विपरीत लादिएको कतिपयको दाबी छ । अधिकांश जनता धर्मनिरपेक्षतालाई अहिले पनि मान्न तयार छैनन् । धर्मनिरपेक्षताको विरोधमा अहिले केही साना पार्टीले पनि समय समयमा आवाज उठाउँदै आएका छन् ।
जनताको भावनालाई कदर गर्न सकियो भने मात्र लोकतन्त्र सार्थक हुनसक्छ । अन्यथा निरंकुश तानाशाह नै हुनपुग्छ । विदेशी शक्तिहरु खास गरी पश्चिमा राष्ट्रहरुले चर्चमा धेरै लगानी गरेका छन् । यसको प्रमुख उद्देश्य धर्मनिरपेक्षतालाई यथावत राख्नका लागि मात्र भन्ने आरोप लाग्ने गरेको छ । उनीहरुलाई आरोप लगाउनुभन्दा पनि हाम्रै शीर्ष नेताले शक्तिकेन्द्रहरुको दलाली गर्नु नै सबैभन्दा ठूलो दोष हो । संविधान निर्माणका समयमा जनताको सुझाव सङ्कलन गर्ने क्रममा ८० प्रतिशत जनताले हिन्दुराष्ट्र कायम गर्न माग गरेका थिए । तर उनीहरुको आवाजलाई दबाइयो, यसलाई हामीले शीर्षनेताहरुको दलालीको पराकाष्ठाको रुपमा लिने गरेका छौँ ।

बढ्दो धर्मपरिवर्तन

नेपाल धर्मनिरपेक्ष भए पनि हिन्दु धर्ममाथि प्रहार एकदमै द्रुत गतिमा बढेको छ । बालगृह, स्कुल, क्याम्पसहरुमा बाइबलको शिक्षा दिइएको घटनाहरु पनि दिनदिनै नेपालका सञ्चार माध्यममा आइइरहेका हुन्छन् । तर सरकारले तिनीहरुविरुद्ध कुनै ठोस कदम उठाएको छैन । विद्यालय, अस्पतालहरुमा खुलेआम मार्केटिङ रिप्रजेन्टेटिभ खटाएर विभिन्न प्रलोभनहरु दिएर धर्मपरिवर्तनका लागि बाध्य पारेका हुन्छन् । त्यस्तै, पहाडी जिल्लामा विभिन्न प्रलोभन देखाएर गरिब जनतालाई उनीहरुले सहजै धर्मपरिवर्तन गराउन सफल भएका छन् । त्यस्तै मधेशमा जातीयताको मुद्दा उठाएर दलित र गैरदलितबीच मतभेद देखाउनु र बिस्तारै उनीहरुलाई क्रिस्चियन धर्मप्रति आकर्षित गर्नु पनि उनीहरुकै चाल हो । केही दिन पहिला मधेशमा सुरु गरिएको ‘क्षमा अभियान’ त्यसकै एक रुप हो । जसमा मधेशका ठूला भनिने अधिकारकर्मी र विश्लेषकहरुले नै नेतृत्व गरेका थिए । तर क्षमा अभियान सफल हुन सकेन । हिन्दुवादी, मधेशका केही पत्रकार र विश्लेषकहरुको खुलेआम विरोधपछि यो अभियान रोकियो । हिन्दु धर्म ह्रास गर्नेलाई प्रशासनले पनि कुनै कारबाही नगरेकै कारण उनीहरुको मनोवल बढेको पाइन्छ । कुन धर्म मान्ने वा नमान्ने भनी निर्णय गर्ने स्वतन्त्रता हरेक व्यक्तिको हुन्छ तर प्रलोभनको भरमा धर्मपरिवर्तन गर्नु वा गराउनु कानुनी अपराध हो । अपराध गर्ने अपराधी हो भने अपराधलाई बढावा दिने ठूलो अपराधी हो । नेपाल संविधान २०७२ मा धर्म परिवर्तन विरुद्ध कडा व्यवस्था छ तर प्रशासनले लागू गर्न सकेको छैन । जसलाई लागू गर्नु अति जरुरी छ ।

हिन्दु धर्ममाथि प्रहार

नेपाल धर्मनिरपेक्ष भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिन्दु धर्ममाथि प्रहार गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पहिले गैरहिन्दु समर्थित सङ्घ संस्थाहरु वा विदेशी शक्तिकेन्द्रहरुले मात्रै हिन्दु धर्ममाथि प्रहार गर्ने गरेका थिए तर आजकाल त नेपालका निकायहरु पनि हिन्दु धर्मविरुद्ध बोल्ने र हिन्दु धर्मको आस्थामाथि खेलवाड गर्ने कार्यहरु गर्दै आएका छन् ।
सम्मानीय सर्वोच्च अदालतले श्रावण २० गते गढीमाई मेलामा बलिप्रथा रोक्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो । यसले करोडौँ हिन्दुहरुको आस्थामा ठेस पुग्न गएको छ । लागू गर्नु नै कठिन हुने निर्णय गरेर सर्वोच्चले आम हिन्दुधर्मावलम्बीको आस्था र विश्वसमा आघात पारेको छ । सर्वोच्च अदालत देशको उच्च र गरिमामय निकाय हो । हामी सम्मान गर्छौ तर हाम्रो धार्मिक आस्थामाथि प्रहार हुने खालका कुनै पनि निर्णय नगरिदिए हाम्रो आस्थामा सम्मा आउँथ्यो । गढीमाई मेलामा बलिप्रथा रोक्नु असम्भव जत्तिकै छ । यसलाई रोक्न विस्तारै विस्तारै जनचेतनामा वृद्धि गर्दै जाँदा मात्र सम्भव हुन्छ । यसका लागि सरकारले शक्तिको प्रयोग गर्नुभन्दा जनभावनाको सम्मान गर्दै यस प्रथामा केही सुधार गर्नु उपयुक्त हुन्छ । यसबाट सामाजिक सद्भाव पनि कायम हुनपुग्छ ।
निष्कर्ष

नेपाल आफैमा धार्मिक सहिष्णुता भएको र सांस्कृतिक रुपमा धनी मुलुक हो । आर्थिक रुपले गरिब भए पनि प्राकृतिक सम्पदा, धार्मिक धरोहर र पर्यटनका दृष्टिले हामी विश्वमा नै अब्बल छौं । हामीमा कुसल व्यवस्थापनको अभावले मात्र यस्तो भएको हो । त्यसैले हामी अब विदेशी शक्तिकेन्द्रहरुको आर्थिक सहायता मार्फत हिन्दु धर्मविरोधी गतिविधि बन्द गरौँ । परम्परादेखि चलिआएको धार्मिक सहिष्णुता र हिन्दु राष्ट्र कायम गरौँ । नेपाललाई विश्वका सम्पूर्ण हिन्दुहरुको आस्थाको केद्र बनाऔं ।
(लेखक ः हिन्दु युवा जनशक्ति सङ्घ नेपालका अध्यक्ष हुन ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल