BLOG :प्रचण्डसँग जनताका अपेक्षा

-  |   रेशम विष्ट

BLOG :प्रचण्डसँग जनताका अपेक्षा

सत्ता र शक्तिवरिपरि घुमिरहने नेपाली राजनीतिमा सरकारका विभिन्न संस्करणका केन्द्र बन्ने र भत्किनेक्रम लामो समयदेखि चलिरहेको छ । सरकारको आगमन र बहिर्गमनमा जनताको नयाँ सरकारप्रतिको अपेक्षा र पुरानोसँगको मोह खासै हुँदैन । कारण सरकार निर्माण र बिघटनको अभ्यस्तताले गर्दा जनतामा खासै नवीनता सञ्चार गर्दैन । नेपालका प्रायः ठूला राजनीतिक दल र ती दलका शीर्ष व्यक्तित्व सरकार सञ्चालनको प्रयोगशालामा प्ररीक्षण भइसकेका छन् । देशको परिवेश र सन्दर्भ परिवर्तन नहुनु तर सरकार परिवर्तन भइरहनुले तत्कालका लागि नेपालको समृद्धिको गतिलो सम्भावना देख्न सकिँदैन ।

शान्तिप्रक्रियासँगै मुलुकले राजनीतिक रुपमा महान् उपलब्धि हासिल गर्यो । तथापि परिवर्तित सन्दर्भसँग देशले विकासको गति तय गर्न सकेन । बदलिरहने सरकार र अल्झिरहने देशको समृद्धिबीच नमिलेको हिसाब–किताबबीच देश सधैँ स्थिर छ । तर, नेपाली राजनीति सधैँ अस्थिर । ६० को दशकमा परिवर्तित सन्दर्भसँग जनतामा थुप्रै अपेक्षा थिए । मानिसका अपेक्षासँगै देश विकास र समृद्धिका थुप्रै सम्भावना सँगै थिए । तर, एक दशकको दौरानमा मानिसका धेरै अपेक्षा शिथिल भए । आमजनता देशप्रतिको शिथिल मनोदशा सम्भावनाभन्दा निराशाले चेपिएका छन् । हुन त संसदीय अभ्यासमा सरकार निर्माण र विघटनको अंकगणित चलायमान हुन्छ । संसारका विकाशीलदेखि विकसित देशसम्म संसदीय गणितको जोड–घटाउमा क्रियाशील हुन्छन् । जबसम्म कुनै राजनीतिक दलले बहुमत प्राप्त गर्न सक्दैन, तबसम्म गठबन्धनका विभिन्न शृंखला चलिरहन्छन् । नयाँ निर्माण र पुरानो विघगटनको यो प्रक्रिया नेपालजस्तो मिश्रित चुनाव प्रणाली अख्तियार गरेको देशमा सामान्यजस्तै भएको छ । तर, संसारका धेरै देशमा सरकार परिवर्तन प्रक्रियाले देशको विकास र समृद्धिमा खासै असर गरेको देखिँदैन । सरकार निर्माणमा बदलिएको अंकगणित र देश विकासको ‘कोर्स’ फरक–फरक ढंगले अगाडि बढ्छ । विडम्बना नेपालमा त्यस्तो देखिँदैन । राजनीतिक अस्थिरताले देशमा अस्तव्यस्तता मौलाउँछ । त्यही अस्तव्यस्ताबीच सरकारको नयाँ गणित निर्माण हुन्छ ।

नेपाली राजनीतिको ५० र ६० को दशकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै सर्वाधिक चर्चाको शिखरमा रहेका प्रचण्डलाई यतिबेला फेरि सत्ताको बागडोर हात परेको छ । नेपालमा ५० को दशकमा जनयुद्ध थाली ६० को दशकको सुरूवातीसँगै शान्तिपूर्ण रुपमा अवतरण गरेका प्रचण्ड युद्धकालमा जति चर्चामा रहे त्यत्तिकै चर्चा शान्तिकालमा पनि बटुले । बुलेटको राजनीति गर्ने भनेर आलोचित प्रचण्ड ब्यालेटमा आएर पनि संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएर सरकारको नेतृत्व गरे । गठबन्धनको धोका र आफ्नै संसदीय अभ्यासको अपरिपक्वताले नौ महिनामै सत्ता बहिर्गमनमा परेका उनले त्यसपछिका दिनहरुमा समेत आफ्नो भूमिका मजबुत बनाइराखे । उनको बहिर्गमनसँगै बनेका सरकार निर्माणमा धेरै भूमिकामा रहेका प्रचण्डले आफ्नो पार्टी भने जोगाइराख्न सकेनन् । आफ्नै पार्टीमा आएको फुट बेवास्ता गर्दै पार्टीनिकट जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गरे । पहिलो संविधानसभाको समयसीमा समाप्त भइसकेको अवस्थामा देशमा राजनीतिक निकासको अन्योल गैरराजनीतिक चरित्रको सरकार निर्माण गरेर संविधानसभा चुनाव गराए । मुलुकको राजनीतिक संकट किनारा लगाउन नयाँ विधि र पद्धति खोजी गर्दै त्यसको प्रयोग र कार्यान्वयनमा कुशल खेलाडी प्रचण्ड नेपाली राजनीतिका अब्बल खेलाडी मानिन्छन् ।

दोस्रो संविधानसभाको चुनावबाट आकारमा खुम्चेका उनी भूमिकामा भने सधैँ केन्द्रमै रहे । उनको आफ्नै बोलीका कारण यदाकदा अन्तरपार्टी र पार्टीइतरमा आलोचित भए पनि राजनीतिक अस्थिरताको अचुक उपाय खोजीमा भने उनी माहिर मानिए । प्रचण्ड नवीनतासँग रमाउँछन् र यथास्तिथिको क्रमभंगतो खोजीमा टहलिन्छन् । यही चारित्रिक स्वभावका कारण सबैले उनलाई बुझ्न सक्दैनन् । शान्तिपूर्ण राजनीतिको दुई दशकको यो कालखण्डमा नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड कतिले खलनायकका रुपमा चित्रण गरिरहँदा पनि उनको भूमिकाले नायक बनाइरह्यो ।

संसद्को आकारमा खुम्चिए पनि भूमिकामा सधैँ अगाडि भएरै होला, प्रचण्ड फेरि एकपटक सत्ता आरोहण गरेका छन् । यतिबेलाको प्रचण्डको सत्ता आरोहणमा चौतर्फी चुनौतीका पहाड छन् । देशको आर्थिक वृद्धिदर शून्य प्रतिशतभन्दा कम भएको वर्तमान अवस्थामा संविधानको कार्यान्वयन कम जटिल छैन । नयाँ संविधान कार्यान्वयनसँगै केही वर्षभित्र तीन तहको चुनाव गर्नु छ । त्यतिमात्र नभई, सहयात्री दलसँगको सम्बन्ध मजबुत बनाउनुपर्नेछ । उता प्रतिपक्षमा रहेका दललाई समेत विश्वास दिलाएर मधेसवादी दलका माग सम्बोधन गर्नु छ । नेपालको भूराजनीतिक सन्तुलन पनि त्यत्तिकै महत्वपूर्ण छ । आजको भूमण्डलीकरण विश्व समाजमा भारत, चीनलगायत अन्य छिमेकीसँग सुमधुर बनाउनुपर्ने वर्तमान आवश्यकतालाई पनि सम्बोधन गर्नु छ । देशका अधिकांश युवाका ओठमा झुन्डिएको विदेशमोहले देशको विकराल बेरोजगारी अवस्था चित्रण गर्छ । दूरदराजका गाउँबस्ती अहिले पनि आदिम दुःखको जीवन व्यतीत गरिरहेका छन् । सहर घन्टौँ अन्धकारमा रात बिताउन बाध्य छन् । यी समस्याका पहाड बोकेर उभिएको नेपाल गत वर्षको भूकम्पले थिलथिलो छ । भूकम्पपीडित अहिलेसम्म खुला आकाशमुनि दुःखका कथा गीत गाइरहेका छन् । विगतका सरकारले कुर्सीको न्यानोमा भूकम्पपीडितका थुप्रै भजन गाए । तर, भूकम्पपीडितले जीवनपीडाको आँसुसँग निर्जन समय व्यतीत गरिरहे । प्रत्येक वर्ष मनसुनसँग भित्रिने नेपालीका दुःखका दिन यो वर्ष पनि विपतसँगै भित्रिए । बाढीपहिरोले धेरैलाई उठिबास लगायो ।

जता हेर्यो अभाव, संकट र चुनौतीका पहाड बनेका छन् । यही संकटबीच सत्ता आरोहण गरेका प्रचण्डसँग नेपालीका धेरै आशा छन् । दुनियाँलाई थाहा छ– प्रचण्डसँग यी सबैको समाधानको उपाय छैन । तर, प्रचण्डले गर्न सक्ने धेरै छन् । सर्वप्रथम त चुनौतीका चाङबाट समस्याको प्राथमिकता निर्धारण गर्न आवश्यक छ । जनताको प्रत्यक्ष्य जनजीवनसँग गाँसिएका मुद्दाबाट उनी भाग्न सक्ने छैनन् । नेपाली जनताका जनजीविका मुद्दा उनको कार्ययोजनाको पहिलो प्राथमिकतामा पर्नुपर्छ । हिजो जनयुद्धदेखि शान्ति कालसम्म नेपालीलाई बाँडेका सपना केही हदसम्म पूरा गर्ने कार्यकारी पदमा पुगेका प्रचण्डलाई यतिबेला सुनौलो अवसर छ । यो देशका तमाम किसान, आदिवासी जनजाति, मजदुर र उत्पीडितवर्ग समुदायले प्रचण्ड र उनले नेतृत्व गरेको दलसँग ठूलो अपेक्षा गरेका छन् । उनीहरुका आधारभूत समस्या सम्बोधन प्रचण्डले गर्न सकेनन् र न्यूनतम रुपमा उनीहरुलाई सकारात्मक परिवर्तनको आभास दिलाउन सकेनन् भने उनको कार्यकाल पनि निरन्तरताको निरन्तरताबाहेक केही हुने छैन । एकथान सरकार र प्रधानमन्त्री पदका लागि मात्र अहिलेसम्मको उनको संघर्ष साबित हुनेछ ।

भूकम्पपीडित जनताका समस्यालाई तत्काल सम्बोधन गर्न उनीहरुको बसोबासका लागि तत्काल पहलकदम लिनु आवश्यक छ । यो वर्षको मनसुनले धेरै मानिस घरबारविहीन भए । उनीहरुको आधारभूत आवश्यकता तत्काल पूरा गर्दै पुनःस्थापना तत्काल ठोस कार्यान्वनकसहितको योजना तयार गर्नुपर्छ । देशले प्राप्त गरेको संविधान कार्यान्वयनको मुद्दा त्यत्तिकै जटिल छ । यसको कार्यान्वयनका लागि धेरै नियम बनाउनु छ । नयाँ संरचनाअनुरुप तीन तहको चुनाव गराउनु छ । त्योभन्दा अगाडि अझ मधेसवादी दलका मुद्दाको सम्बोधन गर्नु छ । त्यसका लागि प्रचण्डले फेरि एकपटक सत्ता साझेदार र सत्ताबाहिरका सबै दलसँग बृहत्तर रुपमा राजनीतिक सहमतिको प्रारुप तयारको पहल गर्नुपर्छ, जसले संविधान कार्यान्वयनदेखि सबै प्रकारका राष्ट्रिय मुद्दा सम्बोधन गर्न धेरैभन्दा धेरै दलको सहमति जुटाउन सकिन्छ । नेपालको भूराजनीतिक अवस्थाले उत्तर वा दक्षिण कुनै एक दिशातर्फको झुकावले नेपालको सर्वोपरि हित हुने देखिँदैन । त्यसैले उनीहरुबीचको सन्तुलनलाई समदूरीमा राख्दै उनीहरुको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थमा प्रयोग गर्न सक्नुपर्छ । त्यो तहको कूटनीतिक चतुरता प्रचण्डले प्रकट गर्न सकेनन् भने नेपाल संकटमा पर्न सक्छ ।
यति धेरै समस्या र जटिलता झेलिरहेको नेपालका मुलभूत मुद्दालाई बेवास्ता गरेर सभा–समारोहमा सम्बोधन र उद्घाटन गर्दै आफ्नो कार्यकाल गुजारे उनी औसत प्रधानमन्त्री हुनेछन् । केही सीमित पार्टीका क्याडरका लागि जागिर, केही नेताका लागि मन्त्री, केही समयको बालुवाटार बासका लागि सत्तामा उक्लिएको आभास हुनेछ । नेपालको इतिहासमा दुईपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेताबाहेक केही हुने छैनन् । यदि उनी औसत प्रधानमन्त्रीमा सीमित भए प्रचण्डको डाइनामिक लिडरसिप पुष्पकमल दाहालमा गएर स्खलित हुनेछ । नेपाल र नेपालीमाझ अझ बढी निराशा र संकट थपिँदै जाने प्रायः निश्चित छ । त्यसैले प्रचण्ड यतिबेला खुम्चेको पार्टीको आकार तन्काउन र नेपाली जनताको अपेक्षालाई चलायमान बनाउन युगीन अवसर छ । यो अवसरको सदुपयोग गर्नबाट प्रचण्ड चुक्नुहुँदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल