अजित मिजार हत्याले उब्जाएको प्रश्न

-  |   मेघराज सापकोटा

अजित मिजार हत्याले उब्जाएको प्रश्न

मेरो रगतमा आक्रोश छ । मलाई यो समाजले तल्लो दर्जाको नागरिक मानेको छ । तल्लो दर्जाको होस् भन्नु पर्दैन, हामीले अनुभव गरेका छौँ । जब मैले ‘म र मेरो समाज’ बुझ्न सक्ने भएँ, त्यो दिनदेखि नै मलाई म यो देशको दोस्रो दर्जाको नागरिक वा अनागरिक भएको महसुस गरेको थिएँ । लु भन्नुस्, तपाईंलाई कसैले तँ दमाई होस्, कामी होस्, तैले छोएको पानी चल्दैन, तैँले छोएको कुवा चल्दैन, हामीभन्दा पर बस् भन्दा खुसी लाग्छ ? दुबईमा विगत ११ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका कृस सुनारको आक्रोश हो यो ।

अन्तरजातीय विवाह गरेको आरोपमा मारिएका काभ्रे पाँचखाल नगरपालिका–६ होक्सेका अजित ढकाल मिजारको मृत्युबारे मैले उनलाई केही प्रश्न सोध्न खोजेको थिएँ । उनले सिधै भने, ‘मृत्यु नभन्नुस्, यो हत्या हो । नेपाल सरकारका निकायको पनि मिलेमतो छ । नत्र उनिहरुकै भाषामा ‘झुन्डिएर आत्महत्या’ गरेको मान्छेलाई पोस्टमार्टम नगरी खोलाबगरमा चुपचाप गाड्छन ?’ उनी यसरी कड्किए कि मानौँ त्यो हत्यामा मेरो पनि संलग्नता छ ।

विश्वकर्मा समाज, युएई अध्यक्ष बाबुराम विश्वकर्मालाई अजित ढकाल मिजारको मृत्युबारे प्रतित्रिया मागेको थिएँ । शालीन ढंगले उनले भने, ‘मुलुकका हरेक राजनीतिक परिवर्तनमा दलितलाई अग्रमोर्चामा सामेल गराइए, आज लाग्दै छ, हामी कतै कसैको स्वार्थसिद्धका लागि प्रयोगमात्र त भएनौ ? नेपालको संविधान र कानुनले निषेध गरेको छुवाछूत र विभेदजन्य व्यवहारलाई पनि राज्यले किन संरक्षण गर्दैछ ?’ उनले यस कार्यलाई मानव जातिको सबैभन्दा घृणित कार्यको संज्ञा दिए ।

१८ वर्षीय अजित ढकाल मिजारको अन्तरजातीय विवाहका कारण उनको हत्या गरिएको खबरले अहिले प्रवास आक्रोशमा छ । विशेषगरी प्रवासमा रहेका पिछडावर्ग र दलित आक्रोशित छन् । अर्काे तर्फ उनिहरुको मन कताकता दुखेको छ । आफूलाई उच्चवर्ग ठान्नेहरु प्रवासमा बसेर राज्यका हरेक घटनाक्रममा आफ्नो धारणा निर्माण गर्छन् । नेपालको राजनीतिक परिवर्तनको सवालमा सामाजिक सञ्जालमा गालीगलौजमा उत्रन्छन् तर काभ्रेका अजितको हत्याबारे कोही कसैले सहानुभूतिस्वरुप एक शब्द लेखेनन् ।

घटना के र कसरी भएको थियो ?

घटनाक्रमअनुसार अजितले पाँचखालकै पराजुली (बाहुन) थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेमविवाह गरेका थिए । असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि असार ३० गते अजितको शव धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतीक्षालयमा बिहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको अवस्थामा फेलापारे ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक प्रकाश लिम्बूको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजी रुपमा पोस्टमार्टम गरी दरौँदीखोलामा दाहसंस्कार गरियो । प्रहरीले बेवारिसे अवस्थामा रहेकाले स्थानीयको सहयोगमा अजितको शव गाडेको उल्लेख छ । तर, कानुनतः बेवारिसे शव भेटिएमा प्रक्रिया पूरा गरेरमात्रै दाहसंस्कार गर्नुपर्छ । यहाँ सामान्य प्रक्रिया नपुर्याइ दाहसंस्कार गरिएको छ ।

धादिङकै एक अनलाइनले झुन्डिएको अवस्थामा फेलापरेको अजितका फोटा सामाजिक सञ्जालमा सेयर गरेपछि मात्र अजितका आफन्तले थाहा पाएका थिए । आफन्त धादिङ पुगेर अजितको शव माग्दा प्रहरीले पोस्टमार्टम गरेर दाहसंस्कार गरिसकेको जवाफ दियो । आफन्तको आग्रहमा दाहसंस्कार गरिएको शव बाहिर निकालियो । शवको अवस्था हेर्दा पोस्टमार्टम नगरे पनि गरेको भनेर प्रहरीले समेत झुट बोलेको साबित भएको थियो । प्रहरीले विनापोस्टमार्टम नै शव गाड्नुले प्रहरी निकायको समेत संलग्नता देखिएको छ ।

केटीकी दिदी स्वयम्ले अजित मिजारलाई ‘तेरो हत्या गर्छु, मार्छु’ भनेको सुन्ने प्रत्यक्षदर्शी नेपाल प्रहरी छन् । केटीका आफन्तले कैयौँ साक्षीसामुन्ने सात लाख रूपैयाँ खर्च गरेर भए पनि उनीहरुको हत्या गर्ने धम्कीका बाबजुद पनि अजितको सुरक्षा हुन सकेन । विविध घटनाक्रमले यो हत्या नै हो भन्ने छ्र्लंग भए पनि सत्ताका ठेकेदार हत्याराका पक्षमा उभिनुले झनै आक्रोश थपिएको हो । छुवाछूतसम्बन्धी बनेको कानुन २०६८ र वर्तमान संविधान २०७३ का कुनै पनि बुँदाले अजित मिजारले न्याय पाउन सकेको छैन । अहिले पीडित पक्ष हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर सडकमा ओर्लेको छ । सत्ताका मालिक भने उनीहरुलाई डन्ठा लागाउने कार्य गर्दै छ ।

सुनसरीका कृष्ण परियार अमित ढकाल मिजारको हत्याले आफू विक्षिप्त बनेको बताउँछन् । हाम्रो देश र देशका मान्छेलाई कसरी परिवर्तन गर्ने होला भन्ने कुरा उनको दिमागमा खेलिरहन्छ । जातीय विभेद गर्नहुन्न भन्ने कुरा त कानुनमा पनि लेखियो तर पनि भइरहेको छ । उनी भन्छन्, ‘छुवाछूत गर्न हुन्न भन्ने सबैलाई थाहा छ । तर पनि गर्छन् । कानुनका किताबमा लेख्न सक्छन् तर आत्मसात् गर्न सक्दैनन ।’ १० वर्षे माओवादी आन्दोलनमा लागेका उनले माओवादीबाट ठूलो आशा गरेका थिए । तर, उनले अपेक्षा गरेअनुरुपको परिवर्तन महसुस भने गर्न नसकेको उनको गुनासो छ । उनी थप्छन्, ‘उपल्ला जात भनाउँदालाई मुखले र कानुनले मात्र छेक्दोरहेनछ क्यारे । आजै घर फर्कोंजस्तो लाग्छ । अझै पनि बन्दुक चलाउन बिर्सेको छैन ।’

अब त प्रचण्ड नेतृत्वमै सरकार बन्यो नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘माओवादीलाई मात्र के दोष दिनु र खै । ब्राह्मणवाद त्यहाँ पनि त छ नि । जबसम्म व्यक्तिको सोच बदल्न सकिँदैन तबसम्म केही हुन्न । एककिसिमले म निराश छु । मेरो मन निकै आक्रोशित छ ।’ उनको बुझाइमा नेपालका कम्युनिस्ट जनजातिसम्म झरेर बिहे गर्न सके तर दलितलाई अँगाल्ने हिम्मत गर्न सकेका छैनन् । उनले केही कम्युनिस्ट नेताले जनजाति महिलासँग बिहे गरेको स्मरण गरे ।

नाम उल्लेख नगर्ने आग्रह गर्दै एक दलितकर्मी भन्छन्, ‘यस्तो लाग्छ– अहिले नै काभ्रे जाउँ र बाहुन हत्याराको पनि हत्या गराँै । यदि सरकारले दलितमाथि यस्तो व्यवहार देखाइरहने हो भने अर्काे विद्रोह गर्ने अवस्था आउने उनको बुझाइ छ । त्यो विद्रोह कसैले हिंसा नै किन नभनोस्, बन्दुकको हुनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल