BLOG : काली बचाउन प्रहरीआतंक

-  |   महेन्द्र केसी

BLOG : काली बचाउन प्रहरीआतंक

कानुन सबैका लागि समान हुन्छ । सबैले कानुनको पालना गर्नुपर्छ तर कानुनलाई धोती लगाई कसैले काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई्र उन्मुक्ति दिनु वा सफाइ दिन खोज्नु कानुनको धज्जी उडाउनु नै हो । हरेक कामकारबाहीमा नीति हुन्छन् । नीतिअनुसार काम गर्नुपर्ने हुन्छ तर नीतिलाई नै तिलाञ्जली दिई काम गर्न कसैले खोज्छ भने उसको पछाडि केही न केही रहस्य अवश्य लुकेको हुन्छ । जिल्लामा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ निकाल्नका लागि आफ्नै किसिमको कानुन र मर्यादा छ तर पनि व्यवसायी नीतिलाई धोती लगाउँदै लामो समयदेखि नियमविपरीत काम गर्दै आइरहेका छन् । जुन कुरा सरोकारवाला निकायलाई पनि अवगत छ । तर पनि कानमा तेल हालेर बसेका छन् । सरोकारवाला निकायले गर्नुपर्ने काम तथा खेल्नुपर्ने भूमिका जिल्ला प्रहरी कार्यालयले खेलेको छ । तर, प्रहरीमाथि आक्षेप लगाइँदै आइरहेको छ भन्दा फरक नपर्ला । कानुनको पालना गराउन सरोकारवाला निकाय नै तात्नुको बदला कानमा तेल हालेर बस्नुमा व्यवसायी र त्यस्ता निकायबीच भित्र कुनै खिचडी पाकेको अवश्य छ, जसकारण पनि व्यवसयी स्यालझैँ कराउन थालेका छन् ।

कानुनले न जात भन्छ न त कुनै तहको मान्छे नै । कानुन मिच्नेलाई कानुनी कठघरामा ल्याउन खोज्ने प्रहरीको कामले वास्तवमा व्यवसायी आतंकित भने भएकै हुन् । जुन व्यवसायीले नियमसंगत काम गरेका छैन, जसको धन्दा हात्तीको देखाउने दाँतजस्तो छ, तिनीहरुमा आतंक फैलिएकै हो । नियमविपरीत काम गरेको तथा आचारसंहिता पालना नगरेको भन्दै उद्योग बन्दका लागि माथिबाट सिफारिस पनि आइसकेको छ तर सरोकारवाला निकाय या जिल्ला विकास समिति तिनै व्यवसायीसँग आफ्नो डेन्टर भनौँ या योजनाको सम्झौता गरिरहेका छन् । भ्रम नहोस्, यहाँ मैले माफिया भनिरहँदा व्यवसायीलाई पिर पर्न सक्छ । म त्यस्ता व्यवसायीलाई व्यवसायी भन्न रूचाउँदिन, जो नियमसंगत काम गर्नका लागि मेरै गोरूको बाह्रै टक्का गरेर अनेक कुरा गर्छ । व्यवसायी त त्यो हो, जसले इमानदारी र नैतिकतासाथ काम गर्छ ।

जुन चोर उसैको ठूलो स्वर गरी व्यवसायीले पछिल्लो समयमा देखाएको हर्कत, रातारात अनुगमनको नाममा जिल्ला विकास समितिले उनीहरुले गरेका कर्तुतको ढाकछोप गरेको जिल्लावासी सबैमा अवगत भएको कुरा हो । नियमसंगत काम नगरेकालाई नियम पालना गराउन कटिबद्ध प्रहरी प्रशासनको निरन्तरको सुशासन कायमप्रतिको दबाबले हिजोदेखि व्यवसायीको नाममा लुट मच्चाएका महानुभाव आतंकित भएका हुन् भने वास्तवमा त्यो जिल्लाका लागि खुसीको कुरा हो । माफियाको आतंकबाट जिल्लाको सुन्दर कालीगण्डकी नदीलाई बचाउन उसको चित्कार या पुकार वेदना सुन्न लागेको प्रहरीबाट त्यस्ता व्यवसायी आतंकित भएका छन् भने प्रहरीले अझै आतंकित बनाउनैपर्छ । यो जिल्लावासीको माग हो ।

कालीको चोली उतारी निर्वस्त्र पारी उसका अंग–अंगको मोलतोल गरी लाखौँ कुम्ल्याएका महाशयबाट काली आतंकित भएकी छन् । दैनिक आँसु बगाइरहेकी छन् । हिउँद होस् या वर्षा, दिन होस् या रात हरेक समय चित्कार र रक्तकुण्डले ओतप्रोत भएकी कालीको न्यायका लागि प्रहरीले आतंक फैलाएको हो भने खेद छैन । यसमा जिल्लावासी पनि साथ दिन तयार छन् । यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारबाही गर्दा माफियाका रुपमा रहेका व्यवसायी आतंकित हुन्छन् भने प्रहरीले अझै आतंकित पार्नुपर्छ । किनकि आगामी दिनमा नियम उल्लंघन गरी कालो धन्दा गर्नका लागि कसैको हिम्मत नहोस् ।

सुशासन कायम गर्न, सबैलाई कानुनसंगत चल्नका लागि प्रहरीले गरेको कामलाई अनर्थ लगाइन्छ र धन प्रयोग गरी नियतवश संस्थाको बदनाम गराउन कोही तल्लीन हुन्छ भने याद गरे हुन्छ– पाप धुरीबाट कराउँछ । तिम्रा हरेक कर्तुतको अवश्य पर्दाफास हुनेछ । पैसा बाँडेर समर्थन जुटाएर एकछिन सत्यवान् बने पनि कुर्तत देखिहाल्छ ।
म कुनै व्यवसायीलाई आक्षेप लगाउन र कुनै संस्थाको गुनागान गाउन खोजिरहेको छैन । सबैले कानुन पालना गर्न सिक्नुपर्छ । कानुन पालना नगर्ने हो भने नीतिअनुसार काम नगर्ने हो भने देश विकास कसरी सम्भव छ । यसमा जिल्लाका राजनीतिक दल पनि जिम्मेवार छन् । व्यवसायीसँग चुनावी प्रचार–प्रसारका लागि तथा अन्य सहयोगको नाममा लाखौँ रकम असुल्ने र उनीहरुको गलत हर्कतको ढाकछोप गर्नका लागि अगाडि बढ्ने राजनीतिक परिपाटीका कारण पनि खुलमखुला नीतिलाई धोती लगाउने प्रविधि बढेको छ । समृद्ध समाज र नियमबद्ध सबैलाई बनाउनका लागि राजनीतिक दलको हात उत्तिकै छ ।

गलत काम गरेका मनुवालाई कारबाहीको दायरामा ल्याउन खोज्दा उसैको भजन गाउँदै सत्य हो भन्ने राजनीतिक दलको आडमा पनि पछिल्लो समयमा नीतिलाई्र तिलाञ्जली दिँदै व्यवसायी मैसासुर बनेका छन् । राजनीतिक दलले सत्यको साथ दिने हो र गलत काम गर्नेलाई दण्ड–सजायको भागिदार बनाउन खोज्दा हस्तक्षेप गर्ने र उसको पक्षमा वकालत नगर्ने हो भने व्यवसायीको नाममा माफियाको जसरी लुट मच्चाएकाको पत्तासाफ हुने थियो । न कि पटक–पटक नियम उल्लंघन गर्दा पनि सामान्य जरिवानामा उम्कने थिएनन् । भ्रम फैलाएर सत्यवान् बन्न खोज्नु फाटेको धोती जति टाले पनि च्यातिनुसरह हो । त्यसैले प्रहरी होस् या व्यवसायी, देशको प्रमुख होस् या प्रजा सबैले कानुनको पालना गर्नुपर्छ यही नै सत्य बाटो हो ।

९लेखक, प्रेस सेन्टर नेपाल पर्वत सचिव हुन् ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल