धरातल बिर्सिएको नेवि सङ्घको ११औं महाधिवेशन

-  |   प्रकाशचन्द्र भट्टराई

धरातल बिर्सिएको नेवि सङ्घको ११औं महाधिवेशन

सार्वभौम नेपालका लागि कैयांै नेपाली आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ निर्णायक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्यो । २००७ सालको राणाकालीन निरङ्कुश शासन अन्त्यका लागि होस् या वि.सं. २०१७ सालको संविधानसभाको निर्वाचनका पथमा अथवा २०३६ सालको जनमत सङ्ग्रहबाट पञ्चायत अन्त्यका लागि विभिन्न बहानामा विभिन्न प्रकृतिबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई टेवा पु¥याउँदै गयो ।

नेपाली शिक्षित बन्नु राणा शासन अन्त्य हुनु हो भन्ने भविष्यवाणी थियो । राणाको शासन प्रक्रिया सायद विश्लेषण गर्दा नेपालमा स्कुल खोल्ने सपना पनि देख्न नसक्ने अवस्था थियो । त्येसैले होला एक अङ्ग्रेजी लेखकले आफ्नो पुस्तकमा नेपालमा स्कुल र कलेजको कुरा गर्नु भनेको आयरल्यान्डमा सर्पको कुरा गरे जस्तै हो भनेर लेखेका छन् । यही कुरालाई चिर्न नेवि सङ्घ छात्र सङ्घको रुपबाट ‘जयतु संस्कृतम् आन्दोलन’बाट आफ्नो इतिहास सिर्जित गर्दै गयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त बोकेर निरङ्कुश राणा शासनको अन्त्य प्रजातन्त्रको स्थापनाको निर्णायक आन्दोलनलाई विद्यार्थीको भूमिका अपरिहार्य देखी विसं २०२७ सालमा विधिवत रुपमा नेपालमा विद्यार्थी सङ्घको स्थापना गरियो । सम्भवत नेपालको लोकतान्त्रिक आन्देलनमा सहादत प्रप्त गर्ने सहिदको नामाङ्कन सूचीकृत गर्ने हो भने नेपाल विद्यार्थी सङ्घ मर्नदेखि डराउँदैन । बरु अडिग र आत्मबल बढाउँदैछ भन्ने कुरा देख्न सकिन्छ । विसं २०४६ सालको जनआन्दोलन १ र वि.सं. २०६२ सालको जनआन्दोलन २ को इतिहास हेर्दा पनि सम्पूर्ण विद्यार्थीको नेतृत्व गर्दै आन्दोलनलाई शिखरमा ल्याउने कार्य सफल बनायो । जतिखेर नेपाललाई अप्ठ्यरो पर्दछ, नेपालीहरु निरङ्कुशताबाट शासित बन्छन् त्योबेला नेवि सङ्घ जनताको पक्षमा लडेको इतिहास बिर्सन सकिँदैन । लोकतान्त्रिक गणतन्त्र, व्यावहारिक शिक्षा निरङ्कुशता विरुद्ध, राष्ट्रियता, समान शिक्षा र शैक्षिक प्रकृयाका लागि नेवि सङ्घ हतियार बनेर उभिएको यथार्थ हाम्रासामु उभिएको छ ।

नेपाली रानीतिमा अन्योल छाउँदा, कू–राजनीतिक संस्कारको प्रारम्भ हुँदा मान्छेले श्रम गरेर खाने वातावरण रहेन । राजनीतिलाई नजिक बनाएर विचारको राजनीतिक भन्दा हतियारको राजनीतिलाई बलियो मानियो । हतियारधारी र विचारधारी राजनीतिबीच लडाइ सुरु भयो । कानुनलाई लेख र रचनाभन्दा पनि कमसल सोचियो । प्रजातन्त्रको शब्द लेख्ने र बोल्नेलाई गनीगनी रगत बगाउन थालियो । ५० वर्षअघिका प्रजातान्त्रिक आन्दोलनका इतिहासहरुलाई बारुदसँगै जलाउने कोशिष गरियो । निरङ्कुश शासनले स्कुल, घर, मन्दिर, खोला, पँधेरा, मकैबारी, खरबारी, मेलापात र बजारको प्रमुख चोकमा नै गोली हान्यो । यो नेपालको दुर्दशा थियो । यसले नेपाल विद्यार्थी सङ्घलाई प्रत्यक्ष रुपमा प्रभाव परि नै रह्यो । त्यही राजनीतिक भूमरीको बीचबाट नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने प्रतिद्वन्द्वीहरुको उद्देश्य पूरा भयो र नेपाली प्रजातान्त्रिक काङ्ग्रेस भनेर छुट्याइयो पनि । यो प्रजातन्त्रवादीहरुका लागि एउटा घातक समय थियो । यसबाट एउटै लक्ष्य, उद्देश्य, विचार र सिद्धान्त बोक्ने व्यक्तिहरु दुई धारमा उभिए ।

जनआन्दोलन–२ बाट नेपालमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास सुरु भयो । नेपाली काङ्ग्रेस र नेपाली प्रजातान्त्रिक काङ्ग्रेस एक आपसमा समायोजन भए । तर त्यो समायोजन उत्साहजनक समायोजन भएन । गुट र उपगुटको राजनीतिको प्रवर्तक भयो । समायोजनकै क्रममा करिब ३ वर्ष बिते यो ३ वर्ष नेपाली काङ्ग्रेसका लागि एउटा साङ्गठनिक घातक वर्षका रुपमा लिन सकिन्छ । करिब–करिब संविधानसभा निर्वाचनका क्रममा नेपाली काङ्ग्रेसको स्थानलाई यस समायोजनले पनि केही प्रभाव पारेको थियो । नेपाल विद्यार्थी सङ्घले यस कुरालाई चिर्नुपथ्र्यो त्यो सकेन । अझ पार्टीभित्रको गुट–उपगुटको वातावरण आफै माथि पनि सा¥यो र एकीकरणको हैन समायोजनको रोग नेवि सङ्घमा पनि लाग्यो । त्यही रोगले ग्रसित सङ्गठन न त जनताको सहारा बन्न सक्यो न त विद्यार्थीको । बरु नेवि सङ्घ केन्द्रीय समितिले आफू मातहतका जिल्लामा समिति र क्याम्पस समितिमा समेत समायोजनको रोग सार्न व्यस्त रह्यो । यही समायोजनले कमजोर बानाएको मौका छोपी स्ववियु निर्वाचन गराइयो । अझै सब कुराको अध्ययनविना पार्टीको अग्र पङ्क्तिले नेपाल विद्यार्थी सङ्घलाई नेतृत्वविहीन बनाए नेपाल विद्यार्थी सङ्घका लागि नेतृत्वविहीन रहे २ महिना त्यो सबैभन्दा कालो दिन बन्न पुग्यो । इतिहासले कोल्टो फेर्दै जाँदा पनि टीके प्रथाबाट अझै नेताको चाकडी, चाप्लुसी, चम्चागिरीबाट नेता बन्ने चलनको अन्त्य भएन । यसैगरी नेता बनाइयो । यो टीके प्रथाले कैयौँ आफ्नो ज्यानको बाजी लगाउने, सङ्गठन गर्ने अनि नेवि सङ्घ बनाउने र बचाउने सच्चा पौरखी र पहरेदारहरुको आत्मबल गिरायो ।

प्रजातन्त्रवादी युवाहरुको सहनशीलतामा कमी चाहिँ भएको छैन । काङ्ग्रेसले नेवि सङ्घमाथि गरेको यो कसैले राम्रो मानेनन् । किनभने नेवि सङ्घ जनता र विद्यार्थीको थियो । नेपाली काङ्ग्रेसकै मुद्दालाई आफ्ना मुद्दा बनाएर लड्यो । प्रजातन्त्रवादी विद्यार्थीले आफ्नै नेता आफै चुन्न पाउनुपर्दछ । उद्देश्य, विचार र सिद्धान्त बोक्ने सङ्गठनका मान्छे फरक–फरक ठाउँमा फरक तरिकाले वैठक नबसून् । राष्ट्रिय लोकतन्त्र समाजवादलाई आत्मसात गर्ने विद्यार्थी सङ्घ, नेपाल विद्यार्थी सङ्घको चर्चा बहस र चियागफ, चोक, चिया पसल र सडकमा प्रशस्तै सुन्न पाइन्छ । सङ्घ लामो समयदेखि महाधिवेशन हुन नसकेको कारणले महाधिवेशनको चहलपहलसँगै नेतृत्व गर्न तमतयार विद्यार्थी नेताहरु सार्वजनिक रुपमा अध्यक्ष, उपाध्यक्ष र महाधिवेशनको घोषणा गरिरहेका छन् । यी घोषणा क्रमहरू नाजिकबाट नियाल्दा नेविसङ्घमा पुस्ता हस्तान्तरणको सम्भावना छैन । विद्यार्थी राजनीति एउटा राजनेताको आधारशीला हो । त्यसमा पनि स्थानीय तहको राजनीतिबाट आफूलाई स्थापित गर्ने युवा जमातहरुबाट मात्र त्यस्ता राजनेता बन्नसक्छन् । तर अहिलेको महधिवेशनको चहलपहल हेर्दा त्यो भेटाउन सङ्गठनलाई समय–समयमा अधिवेशन गराएर सङ्गठन पूmर्तिलो बनाउनुपर्ने हो । विडम्बना विगत ९ वर्षदेखि अधिवेशन हुन सकेन पटकौँ पटक मिति घोषणापछि पनि अधिवेशन सारियो । यसले विद्यार्थीहरुमा शङ्का र उपशङ्का उत्पन्न भइरहेको छ ।

अहिले साउन २३ मा अधिवेशनको मिति तय गरिएको छ तर पहिलेको अधिवेशन सार्नुको कारण भन्दा पनि अहिले झनै बलिया कारणहरु छन् । नेविसङ्घको महाधिवेशनमा भाग लिने को ? विद्यार्थी कसलाई भन्ने ? कुरा नै अन्योल छ । सङ्गठनमा एकातिर फर्जी प्रतिनिधिको बिगबिगी छ । अघिल्लो महाधिवेशनमा कक्षा १ मा पढ्ने बालकले सहभागी जनाउने समय आयो र पनि नेवि सङ्घको नेतृत्वका लागि उनै पुराना अनुहारहरु नै छरपष्ट देखिन्छन् । ती अुनहार क्रमशः पार्टीको चुनवमा दाजु तथा दिदीहरुको सङ्गठन यो चुनवमा निर्वाचनपछि ठाउँ गुमेकाहरु मात्र छन् । साउनमा नै अधिवेशन भइहाल्यो भने त्यही पुरानो नेवि सङ्घ र तिनै पुरानो नेतृत्वमा जाने निश्चित छ ।

विभिन्न जिल्लामा विवाद अझै छदैछ । विवाद टुङ्गिएको भनिएका जिल्लामा पनि नेतृत्व चयन फरक तरिकाले गराइएको छ । कुनै क्याम्पसमा अधिवेशन नै नगराई केन्द्रीय अधिवेशनका लागि अवश्यक पर्ने प्रतिनिधिको नाम कुनै एउटा होटलको कोठामा बसी फर्जी प्रतिनिधिका रुपमा पठाइएको छ । यी क्रियाकलापले महाधिवेशन नेवि सङ्घको पक्षमा महाधिवेशन देखिँदैन । कसैको इसारा कसैलाई अध्यक्ष र कसैलाई महामन्त्री बनाउने हो भने अधिवेशनको बहानामा वैधानिक विद्यार्थी प्रतिनिधिलाई काठमाडौं नबोलाइयोस् । विद्यार्थीको पक्षमा र नेवि सङ्घको पक्षमा अधिवेशन गर्ने हो भने विवादित बनाइएका ११ र विवादरहित भनिएका ६४ जिल्लाका केन्द्रीय प्रतिनिधिको छानविन होस् । अधिवेशन हुन बाँकी क्याम्पसहरुमा तत्काल अधिवेशन गराइयोस । ३५ वर्ष नाघेका विद्यार्थीले अध्यक्ष र ३३ नाघेकाले अन्य पदमा उम्मेदवारी घोषणा गर्न नपाउने व्यवस्था बानाइयोस् । कसैको इसारामा होइन, प्रष्ट आफ्ना एजेन्डासहित आफ्नो उम्मेदवारी घोषणा होस् । पाइलट, डाक्टर, मास्टर, इन्जिनियर तथा सरकारी तथा बोर्डिङका विद्यार्थीलाई पनि समेट्न सक्ने खालका नीतिको निर्माण र अगुवाइ नेवि सङ्घले गरोस् । यसका पछाडि अन्य सङ्घ सङ्गठन र लाखौँ विद्यार्थी होऊन् ।

स्कुले जीवनमा सिकेको राजनीति, गाउँ–गाउँ टोल–टोलका निमावि, मावि, उमावि र व्यवस्थापनको सङ्गठन वा काम गर्दा सिकेको राजनीति र गरेको अनुभव, काठमाडौँमा नेताको चरण परेर चम्चा र चाप्लुसमा सिकेको राजनीति भन्दा कम छैन । विभिन्न खालका सङ्गठनभित्रका विवादित मुद्दालाई समयमै सम्बोधन गरी तोकिएको मितिमा अधिवेशन बनाइनु जरुरी छ । फर्जी प्रतिनिधि मुक्त नेपाल विद्यार्थी सङ्घको अधिवेशनले राष्ट्र र राष्ट्रिय विद्यार्थीलाई सधैँ शिर उच्च राख्ने वातावरण बनाउन सकोस् । यो अधिवेशन नेविसङ्घ तथा प्रजातन्त्रको पक्षमा रहोस् । राष्ट्रको अस्थिर राजनीतिलाई स्थिर बनाउन यो महाधिवेशन कोशेढुङ्गो सावित होस् । विचारको मूल्याङ्कन अर्दै अघि बढोस्, कार्यको मूल्याङ्कन होस् । जय नेपाल !
(लेखक ः नेविसङ्घका पूर्व जिल्ला सभापति हुन् ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल