ब्लग : युद्ध पत्रकारिता

-  |   नवीन रिजाल

ब्लग : युद्ध पत्रकारिता

नेकपा (माओवादी) ले वि.सं. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । यस जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाइको विषयवस्तु मिसन पत्रकारिता भएकाले पार्टीले दिएको जिम्मा मैले गम्भीरताका साथ लिएँ । युद्धलाई वस्तुवादी ढङ्गवाट विश्लेषण गरी समयसापेक्ष बनाउन आवश्यक थियो । तत्कालीन सरकारले दमन अभियान अगाडि बढायो । तर गरिब, निमुखा वर्गको मुक्ति चाहनेहरु झनै सङ्गठित हुन थाले ।

राज्यले हाम्रो कामलाई समेत आतङ्ककारीको बिल्ला भिरायो । हामीले आफ्ना कलमलाई झन् तिखो बनाउँदै जनतालाई क्रान्तिको पक्षमा लाग्न र स्वतन्त्रताको गीत गाउन आह्वान गर्दै कलम चलायौं । साहित्यिक पत्रिका कलम, जनादेश र जनदिशा दैनिकका प्रधानसम्पादक कृष्णसेन इच्छुकसहित कञ्चन प्रियदर्शी, देवकुमार आचार्य, कमल एसी, विनोद चौधरी, डी. कौडिण्य, ज्ञानेन्द्र खड्कालगायतलाई कब्जामा लिएर हत्या ग¥यो । राज्यले त्यतिखेर नेपालमा पत्रकारका लागि विश्वकै ठूलो जेल बनायो । त्यसमा धेरै क्रान्तिकारी पत्रकार जेलमा बन्दी बनायो ।

दैलेखको सन्दर्भमा पनि क्रान्तिकारी पत्रकार देउरुपा सलामी, सुकुल सिंह, राजेश शाही, प्रकाश न्यौपाने जस्ता योद्धाहरुको विभत्स हत्या गरियो । मिलन नेपाली, दण्डपाणी शर्मा जस्ता दर्जनौं पत्रकार राज्यपक्षबाट बेपत्ता पारियो । युद्धको मोर्चामा जीवनको प्रवाह नगरी समाचार सङ्कलन गर्ने पत्रकार नै साहसिक पत्रकार हुन् । फौजी आक्रमणमा माओवादी विद्रोहले पुराना सत्ताका क्याम्पहरु जतिजति हमला गरे, ती सबै मोर्चामा क्रान्तिकारी पत्रकारहरु सहभागी भएका थिए । युद्ध मोर्चाहरुमा सँगसँगै दुस्मनसँग पौँठेजोरी खेलिरहेका जनसेना र शाही सेनाका गोलीका पर्राबीचमा कलम, रेकर्डर, क्यामेरा चलाउनु कम चुनौती थिएन । बाजुराको पाण्डुसेन, रुकुमको रुकुमकोट, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, जुम्लाको खलङ्गा, डोल्पाको दुनै, रोल्पाको होलेरी, म्याग्दीको बेनी, रोल्पाको सिस्नेगाम, पाल्पाको तानसेन, दैलेखको नौमुलेमा दुनियामा साहसिक पत्रकार सहभागी भएका थिए ।

नेपालमा सरकारभन्दा बाहिर रहेर रेडियो प्रसारण गर्नु कल्पनाको विषय थियो । तर असम्भव भन्ने कुरा केही हुँदो रहेनछ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको रेडियो मेट्रोसँगै अरु पाँच ट्रान्समिटर आएका थिए । त्यसलाई पार्टीले प्रयोग गर्न सफल भएकैले देशभर जनताको पक्षमा रेडियो गणतन्त्र घन्कन पाएको थियो । मैले यिनै रेडियोमा कालिकोट पिली आक्रमणलाई प्रसारण गर्ने मौका पाए । त्यतिबेला भेक आवाजका चङ्ख रोकाया पनि हुनुहुन्थ्यो । योजनाबद्ध आक्रमण भएकाले माओवादीले पिली आक्रमण सफल पार्यो । २५० तत्कालीन नेपाली सेनामध्ये एक सय ६९ जनाको मृत्यु भयो । ६० जना कब्जामा परे । विद्रोही सेनाका उच्च तहका कमाण्डरसहित २२ जनाको मृत्यु भयो । यो अभियानमा ज्यानको बाजी थापेर भेरी कर्णाली प्रदेशका सञ्चारमाध्यमका रुपमा जनसन्देश पत्रिका, रेडियो भेक आवाज थियो । रेडियो भेक आवाजमा रामलाल विकको नेतृत्व थियो । अछाममा सेतीमहाकाली रेडियो र पत्रपत्रिका थिए । यस्ता सबै क्षेत्रमा विभिन्न नामका मिडियाहरु माओवादीले सञ्चालनमा ल्याएको थियो । रेडियोमा दुई पक्षहरु लडेको आवाजसमेत सुनाउनका लागि दोहोरो बन्दुकको बीचमा रुखको आड लिएर आवाज रेर्कड गराउनुपर्ने पीडा पत्रकारलाई छँदै थियो । त्यही अभियानमा मैले मेरो दायित्व बढेको बोध गरेँ ।

खासगरी समाचार सङ्कलनका साधनहरु क्यामरा, रेकर्डर संरक्षण गर्नु अझै बढी जोखिमपूर्ण थियो । क्यामरा रिल, क्यासेट, ब्याटी, डायरीको संरक्षण पनि उत्तिकै जोखिमपूर्ण थियो । युद्धको भीषणतासँगै विष्फोटन, आगोपानी, चिसो गर्मी र रसायन आदिले गर्दा यस्ता सहयोगी साधनहरु कहिलेकाहीँ विग्रने, नष्ट हुने चिन्तासँगै ज्यानको जोखिम राखेर गरिएको यो पत्रकारितालाई आजभोलि कहीँकतैबाट हल्का रुपमा विश्लेषण गरेको देख्दा उदेक पनि लाग्ने गर्दछ । तत्कालीन समयमा उच्च हिमाली भेगमा युद्ध मोर्चाहरुमा जाडोले ब्याट्रीका शक्ति नष्ट हुन्थे । बजारको अभावले आवश्यक सामग्री हुँदैन्थ्यो । युद्ध यात्रामा नदी तर्नुपर्ने, वर्षामा हिलोमा हिँड्नुपर्दा समाचारका सामग्री भिजेर बिग्रन्थे । यसरी बाच्ने र मर्ने ठेगान नभएको जोखिमपूर्ण काम गरेका कारण युद्ध पत्रकारिताको परिभाषा भएको हो । तत्कालीन समयमा माओवादीले सञ्चालन गरेका विभिन्न सञ्चार माध्यममध्ये केन्द्र भागमा जनादेश र जनदिशालगायतका पत्रपत्रिका थिए । लिथो मसीबाट जङ्गलका ओडारमा राखेर प्रकाशित हुन्थे । रेडियो बजाउनका लागि अग्लो रुखका टुप्पामा टावर राखेर बजाउनुपर्ने बाध्यता थियो । असुरक्षा हुनासाथ एक ठाउँबाट अर्को ठाउँमा रेडियोका सामग्रीहरु डोकोमा बोकेर हिडिन्थ्यो । डोके रेडियो भन्ने चलन पनि थियो । यी मिडियामा युद्ध पत्रकारहरुले जोखिम मोलेर ल्याएका समाचारहरु बज्ने गर्दथे ।

भेरी–कर्णाली प्रदेशको जाजरकोटको खुरु गर्खाकोट जङ्गलमा रहेको अग्लो डाँडामा रेडियो टावर थियो । उता रुकुमको तीन बहिनी हिमालमा जनगणतन्त्र रेडियो नेपाल थियो । त्यसको सम्पूर्ण जिम्मा सचिन रोकाको थियो । उहाँ रेडियो प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो । उहाँको टिममा लक्ष्मी पुन, मौसम रोका पनि हुनुहुन्थ्यो । अहिले उहाको सक्रियतामा सुर्खेतमा प्रदेश एफएमको परीक्षण प्रसारण भइरहेको छ । उहाँले युद्धको समयमा साहसिक पत्रकारको भूमिका पाएपछि प्रचारप्रसारका गतिविधिहरु पनि आफ्नो उद्देश्य अनुसारको श्रमजीवी सर्वहारा वर्गकै पक्षमा बढी हुने गर्दथे । युद्ध पत्रकारिताको इतिहास हामीसितै छ । हरिमाया शर्मा (आशा) युद्ध पत्रकारितमा छँदा उनका परिवारका चार जना सदस्य राज्य पक्षबाट मारिएका छन् । बाबु, दाजु, बहिनी र आफ्नो नजिकको नातेदार गुमाउँदा उनले जीवनकै ठूलो पीडा भोग्नुपरेको थियो । अहिले उनी सुर्खेत जिल्लाको नेकपा माओवादी केन्द्र निकटको महिला संयोजक छिन् । यसले युद्धको समय कस्तो थियो भन्ने समेत प्रतिनिधित्व गर्दछ ।

दस वर्षको अवधिमा १७ हजारभन्दा बढीको ज्यान गएको छ । अब त्यो कथा भइसक्यो भन्ने पनि छन् । किनभने त्यसलाई लिपिबद्ध गर्न सकिएन । तर जिउँदा योद्धाहरु अहिले पनि प्रमाणका रुपमा रहेका छन् । युद्धको काम सजिलो हुने भएको भए जोकोहीले पनि मोर्चा कस्न तम्सने थिए । तर त्यस्तो सम्भव छैन् । जनयुद्ध आफैमा अभियान हो । त्यो गरिब, निमुखा, अभावमा जेलिएका, भ्रष्टाचारबाट आक्रान्त भएको मुलुकमा हुन्छ । यो अभियान सफल गराउनमा युद्ध पत्रकारको पनि ठूलो बलिदानी छ । सबै युद्ध मोर्चामा सहभागी भई अहिलेसम्म बाँचेका ती बहादुर कलमजीवीहरु मेरो स्मरणमा आएसम्म उहाँको नाम उच्चारण गर्न चाहन्छु । गोविन्द आर्चाय, ओम शर्मा, हिरामणी दुःखी, दीपेन्द्र रोकाया, मनऋषि धिताल, सचिन रोका, नरेन्द्रजङ्ग पिटर, रक्तिम दैलेखी (अंजीरसिह विक), उजिर मगर, खिलबहादुर भण्डारी, प्रभात चलाउने, अजयदीप शर्मा, सङ्गीता खड्का, रामलाल विक, प्रतीक इच्छुक शर्मा, प्रकाश पौडेल, काशी बराल, देवीराम देवकोटा, अर्जुन बोहरा, कृष्णा रेग्मी, लक्ष्मी पुन, मौसम रोका, मनोघ घर्तीमगर, धु्रव बुढाथोकी, शिशिर जिसी, हेमन्त केसी, क्षेत्रप्रताप सुवेदी, रुपेन्द्र ऐडी, अंगराज बुढा, आशा शर्मा, कुमार शाह, जेबी सुनार, गणेशकञ्चन भारती, निलम आरसी, सुशील शर्मा, प्रदीप वाग्ले, चंख रोकाया आदि छन् । युद्ध पत्रकारिताको अग्रिम मोर्चा गोविन्द आचार्य, ओम शर्मा, दीपेन्द्र रोकाया, मनऋषि धिताल, सचिन रोका, विष्णु सापकोटा लगायतले समालेका थिए ।

मानव समाजका शोषणका सबै जालोबाट मुक्त गराउन महान् विचार दिनुहुने माक्र्स, लेलिन माओले आफ्नो जीवनकाल पत्रकारिताबाटै सुरु गर्नुभएको थियो । दुनियाँका महान् व्यक्तिको जीवन पत्रकारिताबाटै सुरु भएको पाइन्छ । युद्ध विरासतबाट आएका क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासङ्घको नेतृत्व पाएसम्म उदाहरणीय काम गर्न सफल भएका छन् । सुर्खेत महासङ्घ गणेश कञ्चन भारतीका कारण उत्कृष्ट महासङ्घ भएको छ । उनले नयाँ नेपाल दैनिक पत्रिका पनि चलाएका छन् । युद्धमा घाइते पत्रकारहरु पनि छन् । यिनीहरु जीवन निर्वाहमा जटिलता पैदा भएको छ । औषधि खाइरहनुपर्ने, उपचार गरिरहनुपर्दछ । घाइते पत्रकारहरुमा दीपेन्द्र रावल, भवानी ऐर, मौसम रोकालगायत छन् । म पनि जनयुद्धको घाइते र पछि पनि योजनाबद्ध आक्रमणबाट घाइते छु । मैले अहिले पनि समयसमयमा निरन्तर औषधि खाइरहेको छु । दुईपटकसम्मको घाइते युद्धकालीन पत्रकारको सूचीमा म पनि पर्दछु । म शारीरिक अशक्त छु ।

जुनसुकै मूल्य र मान्यतामा पनि चाहे युद्ध होस् वा शान्ति होस् पत्रकारहरुको आफ्नो नियम र अनुशासन हुन्छ । तर आजभोलि अव्यवस्थित बन्दै गएको पत्रकारितालाई संवेदनशील बनाउन सबैको ध्यान जानुपर्ने देखिन्छ । मनपरी बढेको छ । गल्ती नगर्नेहरु कमै मात्रामा भेटिन्छन् । यस्ता सबै कुरालाई निर्मूल गर्न एकजुट हुनुको साटो एकले अर्कालाई अस्तित्व स्विकार गर्न नसक्ने असहज परिस्थिति अहिले पनि विद्यमान छ । मालिक पत्रकारले मजदुर पत्रकारको पीडा जहिलेसम्म बुझ्दैनन्, तबसम्म यो समस्याको निराकरण हुन सक्दैन् । फरक विचार राख्नेहरुले यसलाई गलत भनेर व्याख्या गर्न सक्छन् । तर हामी मिसन पत्रकारिता गर्नेहरु कहिलै विचलित भएका छैनौँ ।

शान्ति प्रकृया सुरु भएपछि मेरो ११ वर्ष पत्रकारितामै बितिसकेका छन् । हिजोका दिन र आजका दिनमा सोचाइ, बुझाइ र काम गराइमा धेरै भिन्नता छ । हिजोका दिनहरु अतीतको सम्झनामा सीमित भइसकेका छन् । युद्ध पत्रकार अहिले व्यवसाय पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको विभिन्न नेतृत्वमा छन् । २०६४ सालमा नेपाल पत्रकार महासङ्घ दैलेखको उपाध्यक्ष हुँदै अहिले पार्षद छु । हामीलाई नेपाल पत्रकार महासघको नेतृत्व लिने कुरा चुनौतीपूर्ण बन्दै आएको छ । परम्परागत सोच र क्रान्तिकारी पत्रकारहरुलाई देख्न नचाहने केही तत्वका कारण अहिले पनि क्रान्तिकारी पत्रकारहरु दरिलो सङ्गठन बनाउन समस्यामा छन् । अहिले पनि धेरै ठाउँमा आस्थाका आधारमा धेरै अपमान सहनुपरेको छ ।

अहिले राज्य व्यवस्थाको नाम फेरिएको छ । तत्कालीन शाही नेपाली सेनाको नाम पनि फेरिएको छ । व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिन बाँकी नै छ । व्यवस्था परिवर्तनका लागि युद्ध लड्ने माओवादीहरु एक दर्जन समूहमा विभाजित भए पनि फेरि जुट्ने क्रम चलिसकेको छ । यसबाट समाजमा पारेको असर कैयौँ सताब्दीसम्म मेटिने छैन । नराम्रो पक्षलाई मात्र नहेरी राम्रो पक्षलाई हेर्दा धेरै सकारात्मक परीवर्तनहरु भएका छन् । नेपाली जनताले अपेक्षा गरे जति नतिजा नआए पनि राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धिहरु हासिल भएका छन् ।

यो परिवर्तनलाई माओवादीले विगत, वर्तमान र भविष्यलाई समीक्षा गरेर अगाडि बढ्न आवश्यक छ । अब धेरै कुरामा आफूलाई पनि सुधार्नु आवश्यक छ । अहिले प्रदेश नम्बर ६ को इन्चार्ज जनार्दन शर्मा प्रभाकर हुनुहुन्छ । उहाँको डिजाइन र प्रत्यक्ष कमान्डमा थुप्रै योद्धा मोर्चाहरु सफल भएका थिए । अब ६ नम्बर प्रदेश स्रोत साधनले नेपालकै धनी प्रदेश बनाउनु पर्नेछ । यसका लागि हामीले मिसन बनाएर प्रचार गर्न तत्लीन हुनुपरेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल