बीपीपुत्र शशांकलाई पत्र

बीपीपुत्र शशांकलाई पत्र

 महामन्त्री शशांक कोइरालाज्यू ,
स्वास्थ्यलाभको कामना गर्दछु । वीपीपुत्र भएका कारण तपाईँलाई यो पत्र लेख्दै छु, अरु भएको भए सायदै म पत्र लेख्थेँ होला । केहि समय अगाडी तपाँईको एक बिचार पढ्न पाएको थिएँ ।सक्षम हुदाँ पनि जागिर नपाएर भौतारिरहनु परेको रहेछ, कुनैबेला । तपाई एउटा लक्ष्य, सपना र उद्देश्य लिएर नेपाली राजनीतिमा आउनु भएको होला भन्ने ठानेको छु । सारा नेपालीको साझा नेता बन्ने प्रयासमा हुनुहुन्छ, होला पनि !gajurel

कृष्णप्रसाद भट्राईलाई नेपाली कांग्रेसको महामन्त्री हुँदाका बखत उहाँका ड्राईभर विष्णु श्रेष्ठले सोधेछन्, ‘होइन, यिनीहरु त मन्त्रीमात्र हुन् । हजुर त झन् महामन्त्री । यीनले गाडीमा झण्डा हाल्ने, हजुरले किन नहाल्ने ?’ किसुनजी मुसुमुसु हाँसीमात्रै रहेछन् । त्यस्तै कुनै दिनगाडीमा गुडिरहेका बेला ‘कमान्डर इन–चिफ’ केशर शमशेरले आफ्नो गाडी रोकेर किसुनजीको गाडी अगाडि जान इशारा गरे । र पछि भेट हुँदा केशरशमशेरले भने, ‘हामीभन्दा मन्त्री ठुलो, मन्त्री भन्दा महामन्त्री ठुलो ।’ 

यसकारण म पनि आज तपाईँ महामन्त्री भएकै कारण पत्र लेख्ने दुस्साहस गर्दैछु । तपार्इं नेपालको जननिर्वाचित प्रथम प्रधानमन्त्री पुत्र । त्यसमाथि तपार्इँको मौलिक परिचय छँदैछ ।

२०१७ पौष १ गते प्रजातन्त्रमाथि ‘कु’ नभएको भए नेपाल के र कस्तो हुन्थो ? हामी के गरिरिहेका हुन्थ्यौँ ? यो अनुमानको कुरा भयो तर त्यतिखेर राजाको कु नभएको भए बीपीका प्रजातान्त्रिक विचार यो मुलुकमा गहिरो रुपमा स्थापित हुन्थ्यो कि ? या आज हामी एसियाकै सभ्य शान्त प्रजातन्त्रको उच्च अभ्यास गरिरहेका हुन्थ्यौँ ?

२०१७ पुस १ गते अगाडी विपी राजाले ‘कु’ चै गर्दैनन् भन्ने विश्वासमा थिए । सायद केपी ओली पनि प्रचण्डले छाड्दैनन् भन्नेमै थिए होला ।
अन्य अवसरका अतिरिक्त आफ्नो अन्तिम सन्देशको प्रारम्भमा विपीले भने ‘हामीहरु बडो अप्ठ्यारोमा छांै, हाम्रो देश, हाम्रो जाती, हाम्रो राष्ट्र अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनु परेको छ ।’

विपीले त्यसबेला व्यक्त गर्नु भएका सम्भावनाहरु बर्तमान सन्दर्भमा सावित भएका छन् ।
राजा, राष्ट्रियता र राजनीतिमा बीपी भन्नुहुन्छ, ‘ति विदेशीहरुले जस्तोसुकै हत्याकाण्डको लहर यहाँ ल्याउछन् , ल्याउछन् , ल्याउछन् तर हाम्रो देश रहन्छ । र त्यसको यस मुलुकमा आधार छ । एउटा आधार हामीहरु भित्र तराईवासी हुन् वा नेवारी हुन् वा पर्वते हुन् एउटा कताकता लुकेको राष्ट्रिय भावना छ । त्यसले गर्दा हामी बाँचेका छौं ।”
२०३९ सालमा सान्दाजुले बोलेका शब्दहरुले पूर्णता पाएको छ, अहिले । अब हामी कहिले र कसरी अघि बढ्ने महामन्त्री ज्यु ?

महामन्त्री ज्यु ,
हामी साधारण नेपाली जनता थोरै फुर्सद पाए काम गर्ने, नत्र गफ ठुला गर्ने, सरकार, राजनीति र नेतासँग ठुलो आस गर्ने प्रवृत्तिका छौँ । अनि केही परिणाम नपाएपछि जुन जोगी आए पनि कानै चिरेका भनेर चित्त बुझाउने यस्तो छ हाम्रो दैनिकी, तपाईको कस्तो छ दैनिकी ?

अनि तपाईँको नेपालमा राज्य सञ्चालन, जनता परिचालन, आर्थिक, सामाजिक तथा विविध विषयमा भिन्नै अवधारणा छ वा बनाउँदै हुनुहुन्छ ? कि जे परिस्थिति आइजान्छ त्यसैगरी चलिन्छ भन्ने सिद्धान्त छ ?

जलस्रोतको भण्डार छ देशमा । तर, लोडसेडिङ हुन्छ । प्राविधिक स्तर छ । तर, काम गर्ने इच्छा शक्ति राज्यको कर्मचारीमा छैन । पर्ख र हेर को नीतिमा छन् । एकै समय एउटै उद्योगबाट हजारांै कामदार काममा जाने र फर्कने कुनै उद्योग छैन । के नेपाली जनता खाडीमा जाने पैसा ल्याउने अनि नेताको बिवादित बिचारको पक्ष र बिपक्षमा लागिरहनु पर्ने हो ?

काम नहुने अनि कुरोमात्र हुने राज्य व्यवस्थालाई प्रजातन्त्र वा लोकतन्त्र मान्नु पर्ने हो नेपाली जनताले ? विकास भनेको के हो, विकासका कारणले आम नेपाली जनतालाई फाइदा पुग्नु पर्ने हो कि राजनीतिकर्मीलाई, वा विकासका कारण सीमित व्यापारीहरुले मात्र चयन गर्ने हो , सीमित व्यक्तिको दैनिकी परिर्वतन मात्र विकास हो कि विश्व समुदायमा सक्षम नेपालको पहिचान गराउनु र सम्पुर्ण जनताको पहुँच राज्य व्यवस्थामा पुग्नु विकास हो ? यो हामीले बुझ्न सकेनौं।

विश्वविद्यालय, राज्यसंरचना र आम नेपालीको अवस्था जसरी विकास हुनुपर्ने थियो, त्यो छैन जस्तो लाग्छ।जति नेपाली युवा उच्च शिक्षाका लागी विदेश जान्छन् ति कमै मात्रामा नेपाल फर्कन्छन् । धेरै उतै व्यवस्थापन हुन्छन् । स्वदेश फर्कँदा सत्तो श्राप गर्दछन् र यी नेपाली कहिल्यै सुध्रिदैनन् भन्छन् ।

मसँग सरकारी आकंडा छैन तपाईँलाई थाहा होला नेपालका उच्च पदस्थ कर्मचारी, सेना तथा प्रहरीका उच्च तहका कर्मचारी, अनि नेताका छोराछोरी, कति नेपालमा छन् कति विदेशमा छन् ?

गलत अर्थ नलागोस्, २१ औं शताब्दी ग्लोबल भिलेजको हो, तर यहाँ त बावुआमा नेपालका राज्यव्यवस्थका हैकमकर्ता हुने, चैन गर्ने, छोराछोरी विदेशमा वसेर नेपाली सुध्रिदैनन् भन्ने, नेपाल विकसित हुँदैन भन्ने, यो कस्तो विधि, यो कस्तो परम्परा ?

परिस्थिति कस्तो छ भने मेरै भर छैन, पाए जान्थे विदेश, सक्दा उतै वस्ने नत्र लाहुरे भएर आउँदा तपाईलाई पनि एउटा उपहार ल्याइदिन्थ्ये, महामन्त्री ज्यू, कसो गरु ?
तपाईसँग स्पष्ट निति तथा दृष्टिकोण हुने हो भने हजारौं बुढानिलकण्ठ स्कुल खुल्थे होला ।

उच्च शिक्षा जस्तै जडिबुटी, चिकित्साशास्त्र, भुगर्भशास्त्र, वातावरण, इतिहास, सभ्यता तथा वास्तुकलामा अध्ययन गर्ने हजारौ विदेशी युवा नेपाल पढ्न आउँथे होला । तपाईहरुको नाम विश्वमाझ चिनाउथे होला ।

यी त केवल उदाहरणमात्रै हुन् महामन्त्रीज्यू । तर, यहाँ उखान टुक्काले मात्रै  हामी नेपाली हैरान भएका छौं ।प्रजातन्त्रका लागि वीपीको योगदान, सोसलिष्टहरुको लक्ष्यलाई असफल पार्न भएको प्रयास, एसियामा लोकप्रिय हुनुभएका विपीलाई अघि बढ्न नदिने प्रपञ्च, कहाँबाट रचिएको होला, यहाँलाई थाहा छँदै छ ।
राष्ट्रबादी हुनु, जनताको काम गर्नु, अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउनु, भारत र चीनसँग बरावरी सम्बन्ध कायम गर्नु विपीको गल्ती हो त ? अनी विपीले मात्र गल्ती गरेको कारण प्रजातन्त्र मास्ने केवल एक्लो महेन्द्र मात्र हुन त ? उत्तरको खोजीमा छन्, नेपाली जनता ।

अर्काले लेखेको बिचार वा संवादात्मक कथाबस्तु पढनु मात्र देशको राजनीति रहेछ । आफु कलाकारिता गर्ने अर्काको कलाकारिता त नक्कल भयो भन्ने अनि नेपाली जनतालाई कहिले गोली, कहिले त्रासको अवस्थामा रिङ्ग्याउने यहि हो राजनिति ?

आज नेतालाई विश्वास गर्ने जनता पाउन मुस्कील छ । जनता निरास छन् । विश्वास गर्ने र पत्याउने सिद्धान्तनिष्ट नेता पाउन मुश्कील छ । मौसम परिर्वतन जस्तै फेरिन्छन् नेताहरु । तर देश फेरिएको छैन । नेताको सोचमा सकारात्मका ल्याउन सकिएको छैन ।

अब सोच्ने शक्ति बलल्नु प¥यो तपाँईले अनि सम्पुर्ण राजनीतिकर्मीले । जनता रुमल्याउने राजनीतिको अन्त्य गर्नु पर्यो । विकास र सकारात्मक लक्ष्य प्राप्तीका लागि जनतालाई अब जिज्ञासु बनाउने बेला आएन र ?

के महामन्त्रीज्यू सपना साकार होला, सान्दाजु र नेपाली जनताको ? बाटो देखाउनु हुनेछ भन्ने आशामा छौं ।

स्नेही
राजकुमार गजुरेल
आर.आर. क्याम्पस

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल