ओलीजी जनता जान्न चाहान्छन्

-  |   पदम भण्डारी

ओलीजी जनता जान्न चाहान्छन्

ओलीजीले सरकारी ढुकुटीलाई ढुटीमाटी पारेर आफ्ना कार्यकर्ता सडकमा उफारेर संसदमा बहुमत पुग्छ र ? जनता जान्न चाहान्छन् ।

देशमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर संविधानमै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं भन्दा माओवादीलाई खिस्याएकोमा महानता ठान्नेहरू स्थिरता कायम गर्ने कहलिने तर प्रचण्ड अस्थिरता निम्त्याउने कहलिने कसरी हो जनता जान्न चाहान्छन् ।

संसदको सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि कटुवाल काण्डमा एमालेले असहयोग गरेपछि प्रचण्डले राजीनामा दिएर देखाएको नैतिकता कमजोरी हुने तर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्दा पनि सरकार नछोड्ने कुन नैतिकताभित्र पर्छ जनता जान्न चाहान्छन् ।

भारतीय नाकाबन्दीमा प्रचण्डले सार्वजनिक रूपमै भारतलाई चुनौती दिने भारतपरस्त हुने तर प्रचण्डलाई हतियार बनाएर चढेर कमाएको ओलीजी को ‘राष्ट्रवाद’ सच्चा राष्ट्रवाद कसरी भयो जनता जान्न चाहान्छन् ।
प्रचण्डले जति राम्रो काम जसले गरे पनि नराम्रो देख्ने तर अरूले जति नराम्रो काम गरे पनि राम्रो देख्ने काम जसले गरे पनि नराम्रो भन्ने देश विगार्न हौसाउने नै प्रयोजित बुद्धिजीवी वर्गको नौटङ्की खेल जनताले बुझ्न सकेका छैनन, जनता जान्न चाहान्छन् ।

माधव नेपाल भन्छन्, ओलीले महाभूल गरे, झलनाथ भन्छन् ओलीले इमान छोडे, बामदेव भन्छन् ओलीको घमण्डले चौपट बनायो । तर ओलीका भजन मण्डलीहरू भन्छन् हाम्रो त देउता नै ढल्ने भो । यो कसरी भयो जनता जान्न चाहान्छन् ।

शेरबहादुर र प्रचण्डको साझेदारी राष्ट्रघाती हुने तर ओलीजीले सुरुमा शेरबहादुरलाई अनि पछि आधारातमा रामचन्द्रलाई प्रधानमन्त्री बन्नका लागि आग्रह गर्दा चाहिँ कसरी राष्ट्रवादी नै भइँदो रहेछ, जनता जान्न चाहान्छन् ।

देशमा राजनीतिक स्थिरता कायम गर्न बाम गठबन्धन हुनुपर्छ भनेर केपी ओलीजीको सरकारलाई प्रचण्डले समर्थन गर्न मिल्ने तर प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई केपी ओलीले समर्थन गर्न किन नहुने जनता जान्न चाहान्छन् ।

प्रचण्डले छिमेकीहरूसँग समदुरीको व्यवहार गर्नुपर्छ भनेर महत्वका साथ उठाएको प्रसङ्ग आवेग, आक्रोश र बदलाको भावना हुने अरूले उठाए भने गौरवमय अवसर हुने कसरी हो ? जनता जान्न चाहान्छन् ।

गण्डकी कोशी, महाकाली सन्धि गरेर नेपालको प्राकृतिक स्रोत भारतलाई बुझाउनेहरू राष्ट्रवादी भारत अनुकुल जलस्रोत, फास्टट्र्याक, विमानस्थल नेपालीले नै बनाउनुपर्छ भन्नेहरू भारत परस्त कसरी भए जनता जान्न चाहान्छन् ।
भूकम्प र नाकाबन्दीलाई दोष देखाएर सरकारमा बस्ने र सिन्को नभाँच्नेहरू विकास प्रेमी, सरकारले केही गर्न सकेन भनेर सरकार परिवर्तन गर्न खोज्नेहरू कसरी विकासविरोधी भए ? जनता जान्न चाहान्छन् ।

जनता स्वतस्फूर्त रूपमा सडकमा निस्केका हुन् भन्दै आफ्नो नेताको आरती गाउने, फूल प्रसाद चढाउने र अर्को पार्टीको नेताको शिरमुण्डन गर्ने संस्कार बसाउन कार्यकर्ता सडकमा उतार्ने कुन संस्कारमा पर्छ ? जनता जान्न चाहान्छन् ।

राजनीतिको नाममा सरकारमा बसेर राज्यको ढुकुटी रित्याउन प्रचण्डले न हिजो राजालाई दिए, न आज एमाले वा अरू कुनै दललाई दिन्छन् । माधव नेपाल, झलनाथ केपी सबैलाई प्रधानमन्त्री बनाएर प्रचण्डले कसरी सत्ता मोह देखाए ? जनता जान्न चाहान्छन् ।

नाकाबन्दीको सामना गर्न भारतलाई सार्वजनिक रूपमै चुनौती दिएर केपी ओलीको सरकारलाई नडराउन, नदब्न र भारतसँगै मलामी नजान हौसला दिने प्रचण्ड भारतपरस्त तर केपी ओली राष्ट्रवादी कसरी भए ? जनता जान्न चाहान्छन् ।
सरकारको नेतृत्व गर्ने तर राष्ट्रलाई सम्बृद्ध बनाउन अवसर दिँदा पनि कवबल सपना बाँड्नेविरुद्ध प्रचण्डले आफ्नो राजनीतिक भविष्यमाथि नै दाउ खेलेर अविश्वासको प्रस्ताव ल्याएको कसरी राष्ट्रघाती निर्णय भयो ? जनता जान्न चाहान्छन् ।

देशका लागि केही गर्ने पार्टी र नेताले इगो लिनु हुँदैन भनेर आफ्नो टाउकाको मूल्य तोक्नेहरूसँग साझेदारी गर्ने महानता देखाउने प्रचण्डको स्वाभिमानमाथि चोट पु¥याउने काम किन भइरहेछ जनता जान्न चाहान्छन् ।

केही भजनमण्डलीहरू ओलीजीले सपना देखाउनुभयो र जनतामा आशा जगाउनु यो त्यो राम्रो कुरा हो, उहाँलाई नै निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालहरूमा भुकिरहेछन् । त्यसो भए मैले अमेरिकी राष्ट्रपतिलाई नेपालमा बोलाउँछु, चन्द्रमामा नेपाली बस्ती बसाउँछु, काठमाडौंबाट नेपाल वायुसेवा मार्फत सोझै रकेट सञ्चालन गरेर युवायुवतीलाई मङ्गल ग्रहमा हनिमुन मनाउने व्यवस्था गर्छु । लौ अब मलाई प्रधानमन्त्री बनाई देऊ भन्दा प्रचण्डले मान्छन् कि मान्दैनन ? जनता जान्न चाहान्छन् ।

गण्डकी, कोशी, महाकालीजस्ता सन्धि गरेर राष्ट्र डुबाउनेहरू राष्ट्रवादी तर आफ्नो देश अनुकुल जलविद्युत, फास्टट्र्याक, विमानस्थल बनाउनुपर्छ भन्नेहरू कसरी राष्ट्रघाती भए ? जनता जान्न चाहान्छन् ।

सामाजिक सञ्जालमा, पत्रपत्रिकामा प्रचण्डलाई सराप्ने, तथानाम गाली गर्ने, सत्तोसराप गर्ने, धारे हात लगाउने, विचलित पार्न खोज्नेहरूको निद्रा हराम भएकोमा प्रचण्ड किन बिचलित हुँदैनन्, किन आफ्नो कार्य सम्पादनमा तल्लीन रहिरहन्छन् ? जनता जान्न चाहान्छन् ।

बिरालो रिसायो भने खाँबो चिथोर्छ भन्थे उखानेले । अस्तिदेखि उनका कार्यकर्ताले फेसबुक र टुईटरका जङ्गलै चिथोरेर सोत्तरै बनाइसकेछन् । कुण्ठा र रिसरागमा हुर्किएका आत्माहरू फगत कुर्लिरहेछन् । नकाबभित्रका अनुहारहरू, लोभीपापीका हुलहरू आई एम विथ यु भनेर घोक्रो फुलाइरहेछन् । कुकुरहरू भुकिरहेछन्, हात्ती लस्कँदै गरिरहेछ किन ? जनता जान्न चाहान्छन् ।

एउटा नाबालिग केटोलाई अद्भूत क्षमता देखेर कुनै सूचना, टेन्डर, प्रकृयाविना करोडौं रुपियाँ राज्यको ढुकुटीबाट दोहन गर्न मिल्ने तर भूकम्प पीडित, बाढी पीडित जनतालाई राहत दिन दुई वर्षसम्म पनि प्रकृया पु¥याउन नसक्ने कारण के हो ? जनता जान्न चाहान्छन् ।

प्रचण्डलाई राम्ररी थाहा छ, गफाडीसँग मुलुक विकासको कुनै साइनो हुँदैन । खोक्रो राष्ट्रवादले राष्ट्रको हित गर्दैन र हावादारी गफले देश विकास हुँदैन । जहाँबाट देश विकासको सम्भावना सिद्धिएको देख्छन् प्रचण्डले त्यहीँबाट अर्को प्रस्थान विन्दु खोज्छन् र विजयको यात्रामा निस्किन्छन् । प्रचण्डले नढाँटिकन भन्छन्– ‘मैले ठूलो रिस्क उठाएँ, कहिल्यै नउठ्नेगरी पछारिन सक्छु’ तैपनि सम्भावना देख्छन् र अगाडि बढ्छन् किन ? जनता जान्न चाहान्छन् ।
महिनामा बिसौँ लाखको खाजा खाने, आफूखुसी राष्ट्रको ढुकुटीबाट करोडौं आफन्तलाई बाड्ने, भूकम्प पीडितलाई चिसो भुइँमा राखेर दुई वर्षसम्म नीति नियम बनाउने भन्दै सहयोगमा आएको चामल बेच्ने अनि कुहाएर गाड्ने, अनुदानको पाल बेच्ने कुन अग्रगामी विकास हो ? जनता जान्न चाहान्छन् ।

ग्यास र तेलमा कालाबजारी रोक्न नसक्ने तर घरघरमा पाइपलाइन विच्छ्याएर जनतालाई सेवा दिन्छु भन्ने, जलाम्य र हिलाम्य सडक मर्मत नगर्ने तर हिन्द महासागरमा पानी जहाजको सपना देखाउने, आर्थिक वृद्धि दर १५ भन्दा पनि कम भएको बेलामा कर्मचारी, सांसद तथा मन्त्रीहरूको सेवा सुविधा बढाउने कुरा जायज हुन वा होइनन् जनता जान्न चाहान्छन् ।

प्रचण्ड सिद्धान्त मात्र होइन प्रचण्ड आधुनिक विचार हो । प्रचण्डयुग समात्त होइन, प्रचण्ड नयाँ नेपालको भविष्य हो । प्रचण्ड नेता मात्रै होइन समग्र नेपालको नेतृत्व हो । प्रचण्ड व्यक्ति होइन समय हो । समयको वेगलाई कसैले रोक्छु भने पनि रोक्न सक्दैन । समयको वेगलाई कसैले रोक्न खोज्यो भने कहिले जनयुद्ध बनेर निस्कन्छ, कहिले संविधानसभाको चुनाव बनेर निस्कन्छ, कहिले संविधान घोषणा बनेर निस्कन्छ भने कहिले अविश्वास प्रस्ताव बनेर निस्कन्छ ।

देशमा लुटतन्त्र मच्चाउन नदिन सबैको निद्रा हराम पारेका छन् प्रचण्डले । त्यसैले प्रचण्डलाई सबैले सत्तोसराप गर्छन् । धारे हात लगाउँछन्, तैपनि प्रचण्ड राजनीतिमा टिकिरहन्छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल