राजकीय मेसमा जोगीको भेष

-  |   सिमियोन रोक्का

राजकीय मेसमा जोगीको भेष

simiyon rokaदेशमा भूकम्प गएकै हो । नाकाबन्दी भएकै हो । जसरी भूकम्प रोकियो त्यसैगरी नाकाबन्दी पनि । दुवैका परकम्पन अझै बाँकी छन् । अनि दुवैले दिएको पीडा पनि आलै छन् । मात्र यति फरक हो कि दुवै अहिले स्थिर छन् । जसरी देशको धरातल कमजोर छ, त्यस्तै राजनीति र राजनीतिज्ञका राष्ट्रवाद पनि । कसैले भाषणले देश चलाउने आँट गर्छन् त कसैले उखानले त कसैले मेरो गोरुको बाह्रै टक्का, म र मैले नै गरेर भन्ने अहम्ले ।

यो पक्का हो कि अहिलेको अंकगणितले केही समयपछि साथ दिने छैन । जुनै जोगी आए पनि कान चिरिएको, चाहे खोलो तार्ने होस् या चाहे लठ्ठी भुल्ने । देश र जनताका लागि सोच्ने कोही छैनन् ।

एकले–अर्कालाई संसद्मा हिलो छ्याप्नुभन्दा पनि आफैँ डुबुल्की मारेर सहिद हुनेलाई राष्ट्रप्रेमी भन्न सकिएला तर समीकरण हिजो वा आजको जुनै पनि स्वार्थ मण्डल हो, बुझे भयो राष्ट्रप्रेमको खुख्खा खोकी नखोके हुने थियो । यदि उखानप्रेमीलाई राष्ट्रपे्रम हँुदो हो त कुराभन्दा काम गर्ने थिए होलान् । भूकम्पपीडितसँग भत्केको धरोहर उचाल्न टहरोबाट चन्दाको र्याल बगाउने थिएनन् । जसरी जुनै हालतमा पनि पीडितको घरमा नुनको ढिकोको जोहो गरिदिन्थे तर यिनी त जोगीको भेषमा राजकीय मेसमा जुठो गरेर बलेसीमा राष्ट्रियताले हात धुने मीठा महरूपी झुटका पिता न भए । यिनको उखान मञ्चनमा राष्ट्रियता थिए, विकास थिए, पुनर्निर्माण थिए तर गृहकार्यमा शून्य र शून्यताबाहेक अरू केही थिएन । उखानले देश बन्दैन भन्ने हेक्का अब सायद भयो होला । घर–घरमा ग्यासको पाइप ल्याइपुर्याउनलाई पहिला घर बन्नुपर्छ । भूकम्पपीडितका नाम लेखिएका नोट भविष्य सुनिश्चित गर्न सञ्चित गर्ने अनि टहरोमा ग्यासको पाइप कसरी सम्भव छ र ? उनले भनेका रेलका कुरा, जहाजका कुरा, बाटो अनि व्यवस्थाका कुरा ताली पाउनलाई यति धेरै तार्किक तर्क छ कि ताली पाउने अरू कुनै बेजोड विषय नै छैन । भारतसँग सामना गर्दै राष्ट्रियता जोगाए भनेर चीनसँग गैंडाको सन्धि गर्ने यो कस्तो राष्ट्रवाद ?
अनि अर्का पनि त्यस्तै हुन जसले कुर्सीको र्याल चुहाउँदै छन् । यिनका हुती र आँट भए देशले आज अन्धकारमय राजनीतिक अस्थिरताबाट गुज्रिनुपर्ने थिएन । आफैँले आफँैलाई खेलका वादशाहका नाम दिने यी खेलाडी आफ्नै अहम्ले नकआउट भएका थिए र इतिहास फेरि दोहोरिनेछ कि यथार्थ पृथ्वी यिनका लागि सानो र गोलो पनि ।

अहिले जनतालाई चाहिएको एउटै चीज भनेको बस्ने घर हो । पहिले पुनर्निर्माणको सुनिश्चित गर र त्यसपछाडि आफ्नो स्वार्थ पूर्तिका लागि मैदानमा उत्र । सबै आफ्नो घरमा बस्नेछन् र तिमी राष्ट्रप्रेमी भनाउँदाको राष्ट्रप्रेमलाई कदर गर्नेछन्, होइन भने यो नांगो संसद्को नाच नदेखाऊ वाक्क लागिसक्यो तिम्रो गणितीय हिसाब सूत्रले ।

डोकोमाथि नानी बोक्दै झरीको वास्ता नगरी हिँडिरहेकी एउटी परिचित आमालाई देखेपछि सोधेँ– कहाँ जाँदै हो तपाईं ? यी नजिकै हो, यो मेरो छाता लिएर जानुस् । भरै घरमा ल्याइदिए हुन्छ । म घर नै जान लागेको हो बाबु ।

त्यसो भए यो बाबु दिनुस् म बोकिदिन्छु । अलि भिज्दैन । बाबु होइन, नानी हो । कान्छीचाहिँ निकाल्नुस् त । मान्दिनँ होला तैपनि छातामा भई भने बिरामी पर्दिनँ कि ।

मैले त्यो नानीलाई निकालँे र छाता ओढाएर उसको घरसम्म पुर्यादिएँ । उसको घर आधी पाखो भत्किएको र पुरानो जस्ताले आधा पाखोलाई ढाकेकोजस्तो थियो ।

बाबु चिया खानुहुन्छ ?

यो प्रश्नसँगसँगै मैले घरभित्र हेर्दै भनेँ, ‘भयो पछि खाउँला ।’ यसो भन्दै म निस्केँ । घरभित्र बिजोगजस्तो थियो । बिरामी बूढा लम्पसार परेर सुतेको । छेउमै चुहिएको पानी थापिरहेको भाँडो भरिएर पोखिएको । थालको भातमा जबर्जस्ती लुछाचुँडी गरिरहेका कलिला बच्चा ।

उसका धेरै परिवार छन् । गरिबी र यसका असर उसका आँगन र घरवरिपरि छरपस्ट देखिन्छन् । छोरा विदेशमा अत्तोपत्तो छैन । श्रीमान् बिरामी र रक्सीको लतले र ऋणले कहिले नउठ्नेगरी लादिएको छ । घर बनाउने सपना छ । माटोकै भए पनि पनि सायद स्वर्ग थियो होला तर, प्राकृतिक प्रकोपले उनको स्वर्गलाई भत्काइदियो । यो विवशता उनकोमात्र होइन, सबै नेपालीको हो । सबैले राम्रो सपनामात्र देख्छन् तर चिसो सिरानीमा पल्टेर । केही दिनअगाडि मेरी आमाले घर बनाएको सपना देख्नुभएछ । धेरै दुःखले घर बनाएछु बाबु । सपनामै धेरै रोएछु घर बनाउँदाको दुःखले, व्युँझदा सिरानी भिजिरको रहेछ ।

सबैको आँसुले भिजेका सिरानीमा आनन्दको निद लाग्ला नलग्ला सबैले घर बनाएको सपना देख्छन् । म घर पुगेँ । थुच्चुक्क बसेँ । टीभी खोलेँ तब खेलमैदानका वादशाह भनिने राजनीतिक खेलाडी संसद्को नाचमा मारुनी बनिरहेका रहेछन् । संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै रहेछन् । म विक्षिप्त भएँ । आवश्यकता के हो ? एक–अर्काप्रतिको दोषारोपण त्यो पनि राष्ट्रप्रेम र राष्ट्रियताका नाउमा । राष्ट्रियताको कुरा तबमात्र गर्दा हुन्थ्यो, जब सबैको धुरी ठाडो हुन्थे । तर, यो खोक्रो राष्ट्रियता कहिलेसम्म ? जेहोस् सरकार भत्काउँछन्, भत्किन्छ र बनिहाल्छ । जनताको घर भत्किन्छ तर कहिल्यै बन्दैनन् । अब बन्ने सरकारको प्राथमिकतामा स्वार्थभन्दा पनि जनताको भिजेको सिरानीमा देखेको सपना साकार पार्ने होस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल