कहिलेसम्म अस्थिरता यो देशमा ?

-  |   सन्तोष चोखाल

कहिलेसम्म अस्थिरता यो देशमा ?

IMG_5704
सम्पूर्ण पाठकहरुमा नमस्कार । एक स्वतन्त्र युवाको तर्फबाट म आफ्ना मनमा लागेका केही कुरा लेख्ने प्रयास गरेको छु । आज देशमा अस्थिरता छ, अराजकता छ, यो कहिलेसम्म र कहाँसम्म ? म एक जिम्मेवार नागरिकको हैसियतले ठण्डा भई सोच्दै छु । तपाईंहरु पनि सोच्नुस् त, नेपालमा कति सरकार परिवर्तन हुन्छ ?

देशमा व्यवस्था बदलियो तर अवस्था बदिलएन । भूकम्प पीडितहरु ओत छेक्ने पाल नपाएर खुला मैदानमा लडिरहेका छन् । नेपाललाई प्रकृतिदेखि छिमेकीसम्मले मज्जाले रुवाइसके, अब घैँटोमा घाम लाग्ने कहिले ? किन पीड़ाको महसुस हुँदैन यहाँका शासकहरुलाई । देशका लागि लडिरहेका सिपाहीलाई जिउँदै आगो लगाएर क्रूर हत्या गरियो । तर देशमा सधैँ सधैँ सत्ताको फोहोरी खेल, राजनीतिक फोहोरी धन्दा चलिरह्यो । केही समय अगाडि अफगानिस्थानको काबुल हमलामा १३ जना वीर गोर्खालीको निधन भयो । दैनिकजसो एयरपोर्टमा काठका बाकसमा लास आइरहेका छन् । अहिले भोटेकोशीले सिन्धुपाल्चोक तथा अन्य ठाउँ तहस नहस बनाएको छ । खोइ पीर चिन्ता कसलाई छ ? ? यो सत्ताको खेल कहिलेसम्म ? हु न त यो अवस्था सिर्जना गर्ने हामी वीर नेपाली जनता नै हौँ ।

हामी कसैको नजिकको बनिदिनुपर्ने, मन्त्रीको दाहिने हात लिनुपर्ने, पार्टीको झण्डा ओड्नै पर्ने, अनि कहिले देश बनाउने ? जनता धनी तर देश गरिब । तपाईंलाई स्मरण रहोस्, जापान देश धनी तर जनता गरिब छन् । जनतालाई पाल्नसक्ने हैसियत जापानसँग छ । तर हाम्रो नेपालमा हामी सबै परिवर्तनका नारा लगाउँछौँ । यो भएन, त्यो भएन भन्छौँ तर देशलाई कङ्गाल बनाउन पार्टीको झण्डा ओडेर हिँड्छौं ।

देश बनाउने नै हो भने किन राम्रो पार्टीलाई बहुमत दिइँदैन । नौ महिने सरकार कहिलेसम्म ? हामीलाई ठूलाठूला विपत्तिले झापड दिइसकेको छ । सत्ता फेरियो, मान्छे फेरिए तर देशको आजसम्म मुहार फेरिएन । यसबारेमा हामी किन चुप छौँ । सामाजिक सञ्जालमा दोहोरी पनि खेल्छौँ तर हामीलाई पार्टीको झण्डा नओडी जीवन चल्दैन । देशलाई अधोगतितर्फ धकेलेर कहिलेसम्म बोक्ने पार्टीको झण्डा ?

म एमाले, माओवादी, काङ्ग्रेस कसैको समर्थक अनि विरोधी पनि होइन । एक स्वतन्त्र नेपाली हुँ । सधैँ सत्ताको भागबण्डाले देशको विकास कहिले हुन्छ ? हामीलाई भारतले धेरै पीडा र दुःख दिइसकेको छ तर हामीलाई भारतसँग हात नजोडी नहुने परिस्थिति छ । यसको दोष कसलाई दिने ? नेता या सरकारलाई ? कसैलाई यसको दोष दिने होइन । दोषी हामी जनता नै हौँ । यो देश विग्रनुको दोषी म र मजस्तै लाखौँ युवाहरु हौँ । हामीले अझै पनि बुझ्न सकेनौँ । सरकारको नेतृत्व कर्ताहरुलाई । कहिलेसम्म नबुझ्ने ।

अब हामी जनताले अरुलाई दोष दिने होइन ।

यो देशमा २६ वर्षमा २२ वटा सरकार फेरियो । यो आवस्था कहिलेसम्म कायम राख्ने ?

सानैदेखि लागेको हाम्रो खुट्टा तान्ने बानीले राम्रो काम गरे पनि विरोध गरिन्छ । यस्तो रोग देशमा रहेका मात्र नभई विदेशमा रहेका नेपालीमा पनि व्याप्त छ । हामी राम्रा कुरामा आवाज उठाउँदैनौँ तर पार्टीको झण्डा बोकेर हिँड्नुपर्यो भने हामी तयारी छौँ । यो रोग ममा छ । हामी सबैमा छ । देशमा महिनै पिच्छे सरकार फेरियोस्, मलाई सरोकार छैन । तर मेरो देशमा स्थिरता किन आएन ? कहिले आउँछ स्थायित्व ? कहिले बन्छ देश आत्मनिर्भर ? कहिलेसम्म हामीले अरुसँग भीख मागिरहने ?

देशमा राणा शासनपछि पञ्चायत, बहुदल, लोकतन्त्र अनि गणतन्त्र आयो । खोइ देश र गरिबीमा परिवर्तन ? जो आए पनि देखिएका अनुहारहरु आउँछन् । किन पटक पटक यिनैलाई सत्ताको साँचो सुम्पिन्छौँ ? । भूकम्पमा प्राप्त सहयोग कसरी, कुन ठाउँमा सदुपयोग भयो ? विभिन्न रिक्त पदमा राम्रालाई होइन, अनुभव र योग्यतालाई होइन मेरो र हाम्रालाई भर्ना गर्ने चलन छ । साच्चै नेपाल त यस्तो भएको छ जहाँ जसले जे गरे नि हुने, कुनै चीजको थोक मूल्य रहेन । मोटाउने दैनिक मोटाउँदै गएका छन्, दुब्लाउने दैनिक दुब्लाउँदै, थिचिँदै गएका छन् । धनी झनझन धनी, गरिब झनझन गरिब । नेपालमा समानता कहिल्यै हुने भएन खानेले खाएको खायै गर्ने, हेर्नेले हेरेको हेरै गर्ने । कुनै पनि चिजको मूल्य रहेन चाहे जे पनि गर्न सक्ने भए । इतिहासले धिक्कारी सक्यो । नेपाल अघि होइन पछिपिछ धकेली सक्यो । राम्रा कुरा होइन दैनिक नराम्रा कुराले बजार लिइसक्यो ।

हामी जनता धेरै जान्ने छौँ, धेरै बुझ्ने छौँ तर आफ्नो लागि । आफ्ना लागि त जसले पनि गर्न सक्छ । देशका लागि केही दिने कि ? यो देशमा अन्योल नै अन्योल छ । यो अन्योल, अस्थिरता कहिलेसम्म ? कुन युगसम्म ?

(लेखक नेपाल–जापान विद्यार्थी समाजका अध्यक्ष हुन् ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल