लथालिङ्ग नेविसंघ, भताभुङ्ग विद्यार्थी एकता

लथालिङ्ग नेविसंघ, भताभुङ्ग विद्यार्थी एकता

13621852_1147174778675103_496703691_o९ औँ पटक मिती घोषणा गरिए बमोजिम नेपाल विद्यार्थी संघको आसन्न ११ औँ महाधिवेशन अहिले संघारमा छ । आठ पटक सम्म पनि मिती तोकिएर स्थगित भएको नेविसंघको महाधिवेशन अहिले पनि हुने वा नहुने अझै अन्योल छ । यहि अन्योलताका बिचमा आम विद्यार्थी, महाधिवेशन प्रतिनिधी एवं नेता कार्यकर्ताको बिचमा भने महाधिवेशनको ज्वरो ह्वात्तै बढेको छ । बर्षायाम सुरु भएसंगै नेपालका अधिकाँश गाँउमा रोपाइको चाप बढीरहेको छ । आम किसान हरु झरीमा रुझ्दै कुटो कोदालो र हलो काँधमा च्यापेर लेक बेशी गरिरहेका छन । तर तिनै अधिकाँश किसानका छोराछोरी आबद्ध नेविसंघ भने महाधिवेशनकोे चटारोमा काठमाण्डौको भृकुटीमण्डपमा ब्यस्त छ । यस्तो बिडम्बना नेविसंघमा आवद्ध साथिहरुले बर्षौदेखि भोग्दै आइरहेका छन् । पटक पटक महाधिवेशनको मिती तोकिने र अन्तिम समयमा आएर स्थगीत हुने परम्पराबाट हामी आजित भइसकेका छौ । धान रोप्ने बेला होस, बालि थन्काउने बेला होस अथवा विश्वविद्यालयका फाइनल परिक्षाको बेला होस जुनसुकै बेला पनि मिती नेविसंघ महाधिवेशनको मिती तोकिन सक्छ । र आफु अनुकुल महाधिवेशन सम्पन्न हुने नदेखिए क्षण भरमै स्थगीत हुन सक्छ । यस्तो लाग्छ अहिलेको नेतृत्वलाई विद्यार्थीको अनुकुलता र सहजतासंग त्यति धेरै सरोकार छैन । उनिहरु सत्ता र शक्तिको गुलीयोमा भुलेर आम नेता कार्यकर्ताको भावना, आस्था र निष्ठा माथि निरन्तर प्रहार गरिरहेका छन । आफुलाई प्रजातन्त्रको अगुवा ठान्ने नेपाली काँग्रेसको भातृसंस्था नेवि संघ बर्षौ देखि प्रजान्तन्त्रको प्राण मानिने निर्वाचनबाट भागीरहेको छ । यति लामो समय प्यारालाइज्ड भएर विद्यार्थी संगठनको औचित्य माथिनै गम्भिर प्रश्न उठ््ने गरी नेविसंघले समग्र नेपाली विद्यार्थी आन्दोलनलाई धमिल्याउदै गएको अनुभूती हुन थालेको छ ।
नेविसंघले बाटो बिर्सियो ।
नेपाल बिद्यार्थी संघ बिगतका दिनमा बिभिन्न आन्दोलनको अग्र मोर्चामा रहेर परिवर्तनको संखघोस गर्ने बिद्यार्थी संगठनका रुपमा परिचित थियो । पञ्चायात विरोधी आन्दोलन, ३६ सालको जनमत संग्रह देखि २०६२÷०६३ को लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनसम्म नेपाल बिद्यार्थी संगले पु¥याएको योगदान अविस्मरणीय छ । यो संगठनले हजारौं विद्यार्थी योद्घाहरुको वलिदान त्याग र समर्पणको संघर्षमय गाथा निर्माण गरेको छ र नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास जत्तिकै लामो उमेर पार गरिसकेको छ । पञ्चायती कालरात्रीमा सुदृढ, संगठित शक्तिको रुपमा स्थापित र राजनीतिक आन्दोलनको मुखर शक्तिको भूमिका खेलेको इतिहास छ । लोकतान्त्रिक र सामाजिक मुद्घाहरुमा आन्दोलन र अभियानका माध्यमवाट नेपाली समाजको चेतनामा उज्याला किरणहरु छर्दै लोकतन्त्रको पक्षमा यथेष्ट विचार, संगठन र नेतृत्व समेत निर्माण गरेको छ । नेपाल विद्यार्थी संघ र यस्तै आन्दोलनको पृष्ठभूमिवाट जन्मिएका कैयौं नेतृत्वले राज्य संचालनको नेतृत्व सम्हालिसकेको अवस्था छ । नेवि संघको बिभिन्न ओहोदामा बसेर यसको नेतृत्व गरेकाहरु अहिले पार्टिको पदाधिकारी देखी महत्वपूर्ण पदमा पुगिसकेका छन । तर यस्तो अवस्थामा पनि नेविसंघ कुइरो भित्रको कागको नियति भोग्न बाध्य छ । आन्तरिक लोकतन्त्र निकै कमजोर छ । नेविसंघ निर्वाचन र मतदान प्रति डराएर भाग्ने पद लोलुप नेतृत्व, बर्षौ देखिको खिचातानी, आन्तरिक मतभेद र अपराधिक शैलीका लडाइ, झगडाका कारण छियाछिया भएको छ । गतिहिनता र लक्ष्यविहिनाको सिकार भएको नेविसंघले आफ्नो स्वर्णिम इतिहास र विरासत विस्तारै गुमाउदै गएको छ । नेविसंघले अहिले बाटो बिर्सिएको छ । गन्तव्य बिहिन भएर भौतारिएको संगठनलाई गति दिन निर्वाचन मार्फत नया र जुझारु नेतृत्व आउनु जरुरी छ । तदर्थवादमा अल्झिएर सांगठनिक आत्मसम्मान र विरासतमा नै चोट पुग्ने गरि अगाडि बढिरहेको बर्तमान नेतृत्वको आँखा बेलैमा खोलिएन भने नेविसंघ अब कहिल्यै उठ्न नसक्ने गरि पछारिने छ, अथवा यसको औचित्य सदाका लागी समाप्त हुनेछ ।
११औँ महाधिवेशन, ९ औँ घोषणा
संयोग नै मान्नुपर्छ, नेविसंघको पहिलो निर्वाचित सभापति शेरबहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । ८ पटक मिती तोकेर स्थगीत गरिएको महाधिवेशन गराउन आदरणीय सभापति शेरबहादुर देउवाका लागी ९ औ पटकको मिती अवसर बनेर आएको छ । नेपाली कांग्रेसको बर्तमान केन्द्रिय समितीमा अधिकांश नेपाल विद्यार्थी संघको पृष्ठभुमीका नेताहरु छन् । शेरबहादुर देउवा, बिमलेन्द्र निधी, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाश शरण महत, रामशरण महत, एन पि साउद, बालकृष्ण खाँण, विश्व प्रकाश शर्मा, धनराज गुरुङ्ग, गुरुराज घिमिरे, केशव सिंह, किशोर सिंह राठोर, गगन थापा, बद्री पाण्डे, प्रदिप पौडेल लगाएत धेरै जसो नेताहरु जिम्बेवार पदमा हुनुहुन्छ । यो बेलामा नै पार्टी पंक्तिबाटै महाधिवेशनका लागी आवश्यक र सकारात्मक पहल गरेको खण्डमा आगामी महाधिवेशन असम्भव देखिदैन । तर संगठनको गुटगत राजनितीमा आदरणीय नेताज्यूहरु पनि फस्ने परिपार्टीे विगत देखिननै हामीले देख्दै आएका छौँ । त्यस्तै नियति दोहोरिए यो ९ औँ पटकको घोषणा पनि केबल घोषणामा मात्र सिमीत हुने निश्चित छ ।
विद्यार्थी राजनितीको घट्दो आकर्षण ?
यि र यस्तै प्रबृत्तीले गाँजिएर थला परेका संगठनहरु मथि अहिले बेग्रल्ती आलोचना हुने गर्दछ । जसरी नेपाली राजनीति माथि लामो समयदेखि उठेका अनेकन् प्रश्नहरु यथावत छन्् । त्यसैगरी त्यसकै अंशका रुपमा नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको विद्यार्थी आन्दोलन माथि पनि प्रश्नहरु तेर्सिएका छन्् । ऐतिहासिक संकटको क्षणमा राष्ट्रिय राजनीतिलाई नै डो¥याउने र वैचारिक दिशानिर्देश गर्ने सामथ्र्य राखेको विद्यार्थी आन्दोलनको सान्दर्भिकता माथि नै समाजको विभिन्न कोणबाट प्रश्न उठेका छन्् । विद्यार्थी समुदायको हक, हितको रक्षा र शिक्षा क्षेत्रको जिम्मेवार सरोकारवालाको रुपमा शैक्षिक रुपान्तरणको आन्दोलन र अभियानले समाजमा सकारात्मक तरङ्गहरु पैmलाउनु पर्ने कार्यभार सशक्त ढंगबाट उठाउन नसकेको टिप्पणी गर्न थालिएको छ । सायद त्यसको दृष्टान्तको रुपमा लिन सकिन्छ, २÷२ वर्षमा हुनु पर्ने मिनी संसदीय निर्वाचनको झल्कोको रुपमा हेरिने गरेको स्व.वि.यु. निर्वाचन पछिल्लो ६ वर्ष सम्म नहँुदा पनि विद्यार्थी संगठनबाट गम्भीर चासो र पहल कदमी भएको देखिदैन । विद्यार्थी राजनीति हुने गरेका शिक्षण संस्थाहरुमा विद्यार्थीहरुको चाप घट्दै गइरहेको छ । राम्रा र अब्बल ठानिएका विद्यार्थी र अभिभावकको रोजाईमा त्यस्ता शिक्षण संस्थाहरु पर्ने गरेका छैनन् । प्रकारान्तरले विद्यार्थी आन्दोलनलाई ‘सि’ ग्रेडका विद्यार्थीहरुको डिस्कोर्स को रुपमा बुझ्न थालिएको छ । विद्यार्थी राजनीतिले बदलिँदो समाजको पदचाप बुझ्न नसकेको र आफुलाई रुपान्तरित गर्न नसकेको आरोप लगाईएको छ । आन्दोलनको नाममा गैह्र विद्यार्थीको बोलवाला रहेको र यसको चरित्र पनि सभ्य सिर्जनशीलता भन्दा बढि जोर जर्वजस्ती र अराजक बन्दै गएको विश्लेषणबाट पनि टाढा रहन सकेको छैन । विद्यार्थी आन्दोलन राजनीतिक खिचातानी र दलीय राजनीतिको दुष्चक्र र दलदलमा लिप्त रहेको बुझाई समाजमा ब्याप्त छ ।
विद्यार्थी आन्दोलनको बलियो साझेदार संगठन नेविसंघ यिनै प्रश्न र आलोचनाको पहिलो सिकार हुनु हाम्रा लागी अझ बढि दुर्भाग्यको बिषय हो । अन्य प्रतिष्पर्धी संगठनले प्रजान्तत्रको अभ्यास गर्दै निर्वाचन मार्फत निरन्तर नेतृत्व चयन गरेर हामीलाइ अझ बढि लज्जीत बनाइदिएका छन् । त्यसैले यि र यस्तै तमाम प्रश्नको उत्तर नेविसंघको ११ औँ महाधिवेशनले निर्वाचन मार्फत दिन सक्नुपर्छ ।
नयाँ पुस्ताको नेविसंघ
नेपाल विद्यार्थी संघ अहिलेको नयाँ पुस्तासँग निरन्तर संवादमा रहने र उनीहरुको राजनीति प्रतिको गलत सोचाइलाई बदल्न सक्ने प्रण गरेर अगाडी बढ्नुपर्छ । राष्ट्र निर्माणको जागरणमा नयांँ पुस्ताको अभिमुखीकरण आवश्यक छ । समाज परिवर्तनको बाहक शक्ति शिक्षित र पठित युवा शक्ति नै हुन । विश्व प्रविधिको ब्यापकतलाले सांघुरो भइसकेको बेला हाम्रा संगठनहरु नितान्त परम्परावादी छन् । प्रविधिलाई अंगाल्नु त परको कुरा बुझ्न पनि तयार छैनन हाम्रा संगठनलाई हाक्न तयार हुनेहरु । साञ्चिकै विद्यार्थी र युवाको भावना समेट्न र उनिहरुको प्रवेगमा दौडिन सक्ने नेतृत्व सहितको नेपाल विद्यार्थी संघ आजको आवश्यकता हो । समृद्ध नेपाल निर्माण सम्भव छ, समृद्ध समाजको निर्माणका निमित्त कुनै न कुनै पुस्ताले विशेष योगदान गर्नै पर्दछ र त्यो पुस्ता हामी नै हो भन्ने सकारात्मक मनोविज्ञानको निर्माण गर्नसक्ने सामथ्र्य पनि अबको नेविसंघको नेतृत्वले राख्नुपर्दछ । नेपाली समाजलाई जोड्ने योजकहरुको उजागर गर्ने नयाँ मानकहरु स्थापित गर्नु परेको छ । यस बिषयमा नेपाल विद्यार्थी संघले आफ्नो भूमिका पहिचान गरि प्रभावकारी अभियान सञ्चालन गर्न आवश्यक छ ।
अन्त्यमा आगामी साउन २३,२४ र २५ गते तोकिएको नेविसंघको ११ औँ महाधिवेशन मार्फत नयाँ सोच, बिशिष्ट क्षमता र समाज रुपान्तरको मर्म बुझेको नेतृत्व चुन्नका लागी हामी सबैलाई शक्ति प्रदान होस भन्दै त्यसतर्फ लाग्न सम्पूर्ण सरोकारवाला समक्ष आग्रह गर्दछु । हामी केबल नेतृत्व परिर्वतन मात्र होइन समग्र प्रणालीमा नै प्याराडाइम सिफ्टको पक्षमा छौँ ।
राजीव रिमाल
उम्मेदबार, केन्द्रिय सदस्य नेविसंघ ११ औँ महाधिवेशन ।
सचिव, नेविसंघ इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरा ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल