केही वर्षयता डा. गोविन्द केसीको नाम मौसमी किसिमले भए पनि चर्चामा आउने गर्दछ र एकपटक फेरि यो नाम चर्चामा छ । लामो समयदेखि स्वास्थ्य सेवामा क्रियाशील उनको नाम डा. भगवान कोइराला, डा. सुन्दरमणि दीक्षित, डा. उपेन्द्र देवकोटा, डा. वसन्त पन्त आदि झैँ चिकित्सकीय क्षमताका कारण सार्वजनिक हुन सकेन । अस्पताल परिसरमा अनशन बस्न थालेपछि उनको नाम बिरामीबाहेक स्वस्थ मानिसको समेत कान–कानसम्म पुग्न थालेको हो । अहिले उनी सञ्चारमाध्यममा पहुँच राख्ने हरेक सचेत नागरिकसम्म आफूलाई पुर्‍याउन सफल भएका छन् । डा. केसी अविवाहित रहेछन् र उनले बेलाबखत सुदूरगाउँ–गाउँसम्म पुगेर बिरामीको सेवा पनि गर्ने गरेका छन् । स्वास्थ्य क्षेत्रमा उत्पन्न विकृतिप्रति उनी सचेत छन् र यसअघि अनशन नै बस्दा पनि केसी स्वास्थ्य क्षेत्रको शुद्धताका लागि बसेका हुन् । स्वास्थ्य क्षेत्रको निर्मलीकरणका निम्ति अनशन बस्दा उनले सर्वसाधारण जनतादेखि बौद्धिक समुदाय र राजनीतिक वृत्तबाट पनि प्रशंसा पाएका हुन् । तर, यसपटक गोविन्द केसीले शुरु गरेको अनशन सन् २००० मा नागाल्याण्डकी शर्मिलाको झैँ विवादरहित हुन सकेन । सन् २००० मा नागाल्याण्डकी एक युवती शर्मिलाले पृथकताका लागि आमरण अनशन बसेकी थिइन् । माग सम्बोधन हुन नसकेपछि अन्तत: उनी प्राण त्याग्न बाध्य भएकी थिइन् । संविधान र कानुनविपरीत माग राखी आमरण अनशन नै बसे पनि पूरा हुन सक्दैन भन्ने यस्ता अनेक उदाहरण संसारमा छन् । संवैधानिक, कानुनी र राजनीतिक विषयमा प्रवेश गरेकाले उनको ‘ताजा अनशन’ विवादको भुमरीमा परेको बुझ्न सकिन्छ ।

गोविन्द केसीको नियत स्वच्छ र सुन्दर नै हो भने पनि उनले जे–जस्ता माग प्रस्तुत गरेका छन् र तीमध्ये केही जायज भए पनि केहीले सीधै कानुन र संविधानलाई चुनौती दिएका छन् । कसैको आदेश र दबाबबाट मुक्त भई कानुनको अधीनमा सञ्चालन हुने शासन प्रणालीलाई कानुनी शासन भनिन्छ भन्ने हामीले राम्ररी बुझेका छौँ । भारतमा ब्रिटिस शासन रहँदा उनीहरूका विरुद्ध केही गर्न सक्ने वैधानिक बाटो नभएपछि मोहनदास करम चन्द गान्धीले सत्याग्रहको माध्यमबाट दबाब पैदा गर्ने र आमभारतीय जनताको ध्यान स्वतन्त्रता आन्दोलनतर्फ आकर्षित गर्ने उपाय अवलम्बन गरेका थिए । संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाद्वारा भारतलाई स्वतन्त्र तुल्याउन नसकिने देखिएपछि गान्धीजी सत्याग्रह (अनशनसमेत) गर्न बाध्य भएका थिए । सर्वमान्य प्रजातान्त्रिक संविधान, कानुन र जनप्रतिनिधिमूलक निकाय भइदिएका भए गान्धीको सङ्घर्ष संसद्भित्रै केन्द्रित रहन ज्यादा सम्भव थियो । कहिलेकाहीँ खास विषयमा राज्य र जनताको ध्यानाकर्षण गराउन अन्यत्र पनि अनशनको सहारा लिने गरेको पाइन्छ । तर, अनशनका क्रममा विश्वमा धेरैले ज्यान गुमाएका दृष्टान्त पनि छन् । नेपालमा पनि नन्दप्रसाद अधिकारीले अनशनकै क्रममा (डेढ वर्षअघि) ज्यान गुमाए । माओवादी बनेर आफ्ना छोराको हत्या गर्नेहरूमाथि कानुनी कारबाहीको माग गर्दै अनशन बसेका नन्दप्रसादको माग माओवादी ‘डोमिनेटेड’ राज्य संयन्त्रले ‘रेस्पोन्स’ गरेन, फलस्वरूप उनले मृत्युवरण गर्नुपर्‍यो ।

kc

कानुन र कानुन कार्यान्वयन गर्ने निकायले सक्रियता दर्शाएको भए निश्चय नै नन्दप्रसादले अनशन बसिरहनुपर्ने थिएन । हत्याका प्ेरमीहरू राज्य–प्रणालीमा हाबी नभइदिएका भए नन्दप्रसादको मात्र नभई अन्य सयौँ–हजारौँ मातापिताका निर्दोष सुपुत्रका हत्याराहरू पनि कानुनी कारबाहीको दायरामा आउन सक्थे ।
जसले हत्या गर्‍यो उसैसँगै न्याय माग्नुपर्ने हिन्दी सिनेमाको दृश्यमा देखिनेजस्तै अवस्था नेपालमा उत्पन्न भएका कारण नन्दप्रसाद अधिकारीले ज्यान गुमाउनुपरेको हो भन्ने हामी सबैले बुझेका छौँ । तर, डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि महाभियोग लगाइनुपर्नेजस्तो माग राखेर अनशन बस्दा त्यसले संविधान, कानुन र संसद्लाई चुनौती दिएको मात्र छैन, देशभरिका भ्रष्टाचारीहरू जो अख्तियारको छानबिन, अनुसन्धान र कारबाहीको दायरामा आएका छन् ती सबैको मनोबल बढ्ने स्थिति पनि बनेको छ । वास्तवमा मानिस जो चोर हो उसले पनि आफूलाई सत्जन दाबी गर्न छोड्दैन । चोरी गर्दैगर्दा कसैले देख्यो र प्रहरीलाई खबर गरिदियो भने ती चोरी गर्ने व्यक्ति आफूबाट भएको गल्तीका निम्ति आत्मालोचना गर्न तयार हुँदैनन् बरु प्रहरीलाई खबर गरिदिने व्यक्तिसँग बदला लिने मानसिकता उसले बनाएको हुन्छ । लोकमानसिंह कार्कीले अख्तियारको ‘कमान’ सम्हालेपछि हजारौँ भ्रष्टाचारी तथा सम्भाव्य भ्रष्टाचारी अनुसन्धान र कारबाहीको दायरामा आएका छन् । उनीहरू आफूबाट भएको अपराधका निम्ति पश्चात्ताप गर्नेभन्दा पनि लोकमानसिंह कार्कीसँग बदला लिने मुडमा छन् । हो, गोविन्द केसीले यिनै भ्रष्टाचारी र अपराधीहरूको मनोबल बढाउने काम गरेका छन् भन्न मिल्ने गरी उनको अनशनकला प्रस्तुत भएको छ । उनको अनशनले भ्रष्टाचारविरुद्धको अभियानमा सशक्त बन्दै गरेको अख्तियारको यात्रालाई अवरुद्ध तुल्याउन सक्ने सम्भावना बढाएको छ भन्दा अत्युक्ति हुनेछैन । भ्रष्टाचारीहरूबाट नगद नै हात लगाएर गोविन्द केसीले अनशन पनि एउटा राम्रो व्यवसाय बन्न सक्छ भन्ने सन्देश दिन खोजेका हुन् भन्न प्रमाण पुग्दैन । तर, उनको अनशन कर्मप्रति देशभरिका भ्रष्टाचारीहरूको आर्थिक, भौतिक र (अ)नैतिक समर्थन रहेको र रहिरहनेमा शङ्का गर्नुपर्दैन । लोकमानसिंह कार्कीमाथिको रिस संविधान, कानुन र जनप्रतिनिधिमूलक निकायमाथि पोखेर केसीले कति बीभत्स गल्ती गर्दै छन्, त्यसको हेक्का पाउन उनी निद्राबाट ब्युँझिन आवश्यक छ ।

नेताको क्षमता र पहिचान नेतृत्व कौशलबाट हुन्छ, कुशल कर्मचारीको पहिचान उसको निर्णय–क्षमता र इमानदारीले गर्छ । खेल–क्षमताले खेलाडीको, अभिनयले कलाकारको, कलाले चित्रकार या मूर्तिकारको तथा उपजले किसानको पहिचान बनाउँछ र त्यसरी बन्ने पहिचान प्राकृतिक पनि हो । खेलेरभन्दा प्रतिद्वन्द्वीलाई कुटेर चर्चित बन्ने खेलाडी, लेखेरभन्दा देखिएर स्थापित हुन चाहने पत्रकार, अभिनयभन्दा अफेयरबाट चर्चामा आउन चाहने कलाकार, उत्पादन बढाएरभन्दा आत्महत्या गरेर चर्चामा आउने किसान र चित्रकारिताबाट भन्दा गाई पालेर चर्चित हुने चित्रकारलाई झेली व्यक्तिका रूपमा बुझ्नुपर्ने हो कि होइन विचार–विमर्श गर्न सकिन्छ । के गर्दा आफ्नो व्यावसायिक कौशल परिष्कृत हुन्छ र आफूलाई पनि स्थापित हुन सजिलो हुन्छ भन्नेतर्फ डा. गोविन्द केसीको मन गएन, के गर्दा चर्चित होइन्छ भन्ने दक्षता प्रस्तुत गर्नमा मात्र उनको ध्यान केन्द्रित भएको देखियो । त्यसैले मानिसले बिर्सियो कि भन्ने लाग्नेबित्तिकै उनी कुनै न कुनै बहाना बनाएर ‘अनशनको कविता’ रच्दा रहेछन् । चर्चामा आउनकै लागि अस्पताल परिसरमा अनशनकला प्रस्तुत गर्दा बिरामीहरूले कति सास्ती पाएका छन् र स्वास्थ्य सेवामा प्रतिकूल असर परिरहेको छ भन्नेतिर उनको ध्यान पुग्न सक्दोरहेनछ ।

पञ्चायतकालमा विराटनगरतिरका रायमाझी थर लेख्ने कुनै राष्ट्रिय पञ्चायतका सदस्य थिए । भारतीय लोकसभाका अध्यक्ष बलराम जाखड राष्ट्रिय पञ्चायतलाई सम्बोधन गर्न ग्यालरी बैठक जाँदा अभद्र व्यवहार गरे र पछि उनले चर्चामा आउनका लागि जाखडसामु अभद्र व्यवहार प्रस्तुत गरेको बताएका थिए । तिनै रापंस पछि कुनै निहुँ बनाएर अनशन बसे । व्यवस्थापिका सदस्यहरू अहिलेजस्तो सस्ता थिएनन् त्यसबेला । राष्ट्रिय पञ्चायतको सदस्य नै अनशन बसेपछि त्यसले राष्ट्रिय चर्चा–परिचर्चा पाउनु स्वाभाविक थियो । मानिसले बिर्सिए कि भनेर अनशन बसेको कुरा पछि उनैले आफ्ना निकटस्थहरूबीच बताएका थिए । त्यसो त ती रापंसले आफ्नो भुँडी अलिक बढेकोले पनि अनशन बस्नुपरेको भनी पत्रकारहरूसमक्ष आफ्नो अनशनको उद्देश्य खुलासा गरेका थिए । डा. केसी राष्ट्रिय पञ्चायतका ती सदस्यबराबर इमानदार देखिएनन् । पत्नी र सन्तान नभएका कारण बुढेसकाल कष्टप्रद हुने ठानेर चर्चित मृत्युको बहाना खोजिएको हो भने इमानदारीसाथ आफ्नो उद्देश्य स्पष्ट गर्दा पनि भइहाल्थ्यो । मध्यरात भएपछि चौबीस घन्टालाई पुग्ने ग्लुकोज सेवन गरेर अनशन बस्ने गरेको होइन भने अस्पतालभन्दा रत्नपार्क या खुलामञ्चलाई अनशनस्थल बनाएको भए उचित हुनसक्थ्यो ।

स्वास्थ्य क्षेत्रको शुद्धीकरणभन्दा टाढाको, राजनीतिक प्रकृतिको माग तेस्र्याएर गरिएको आमरण अनशनले माग पूरा गर्नेभन्दा आयु नै पूरा गरिदिने सम्भावना रहन्छ । कवि नकुल सिलवालले झैँ सीधै आत्महत्या नगरेर दार्शनिक रूपचन्द्र विष्टले झैँ सुस्तरी देहत्यागको मार्ग अवलम्बन गर्न खोजिएको हो भने डा. गोविन्द केसीले बुझ्नुपर्छ कुनै पनि नेपाली उनी नन्दप्रसाद अधिकारी बनेको हेर्न–सुन्न चाहँदैनन् । डा. केसीको अपरिहार्यता मुलुकलाई अझै छ भन्न कञ्जुस्याइँ गर्नुपर्दैन । सस्तो चर्चाका निम्ति आमरण अनशन बस्नुभन्दा यतिखेर भूकम्पपीडितले सामना गर्नुपरिरहेको स्वास्थ्य समस्या समाधानलाई मुख्य माग बनाएर गरिएको भए अनशनको औचित्य स्थापित हुन सक्थ्यो । एउटा संवैधानिक निकायका प्रमुखलाई महाभियोग लगाउन माग राखेर केसीले गरेको अनशनले अनशनको गरिमालाई त क्षति पुर्‍याएकै छ उनको व्यक्तित्वलाई पनि दूरगामी दृष्टिले धक्का पुर्‍याएको छ । एउटा राम्रै मानिस पनि संविधान, कानुन र उचित समयको ख्याल राखेर कर्म गर्न नसक्दा कसरी विवादमा पर्न सक्छन् भन्ने दृष्टान्त यतिबेला केसी बनेका छन् । देशभरिका भ्रष्टाचारीहरूलाई एकताबद्ध तुल्याउन आफूले शुरु गरेको अनशन पर्याप्त छ भन्ने तथ्यप्रति संवेदनशील हुँदै केसीले आफूलाई सच्याउन सकेनन् भने यसले सबैभन्दा ठूलो क्षति उनैलाई हुने निश्चित छ ।