शरणार्थी बन्नु मेरो बाध्यता

-  |   सतिस भट्टराई

शरणार्थी बन्नु मेरो बाध्यता

जापानमा नेपालीहरुले शरणार्थीका लागि निवेदन दिएर नेपालको इज्जत र प्रतिष्ठामा आच पुर्याएको बारेमा मैले धेरै सुनेँ ।

१७ सयभन्दा बढी नेपालीको नाम जापान सरकारले शरणार्थीको सूचीमा राखेको कुरा दुई तीनवटा पत्रिकाबाट जानकारी पाएँ । तीमध्ये म पनि एक हुँ । यस विषयमा मैले गर्व गर्न खोजेको पनि हैन र मलाई शरणार्थी बनेकोमा अपसोच पनि छैन । अनि मेरो निधारमा जापानको लागि नेपाली शरणार्थी हुँ भनेर लेखिएको छैन । त्यसैगरी न त ती १७ सय नेपालीको निधारमा लेखिएको छ ।

image1शरणार्थी बन्नु मेरो रहर थिएन । मेरो आफ्नै बाध्यता थियो, आफ्नै गरिबी थियो । त्यो बाध्यता हिँड्ने साथी, आफन्त र जापानमा भएको नेपाली समाजल पनि बुझेनन् । यसक्रममा मैले जापानमा भएको कुनै नेपाली समाजसँग हात फैलाउन चाहिनँ । सँगै हिँड्ने साथीले त साथ दिएन भने अरुको के भर पर्नु ? अनि आफूलाई पर्दा आफैले आफ्नो दुनो सोझ्याउनु पर्छ भने किन हाम्रो समाजका अगुवाहरु शरणार्थी बन्नु हुन्छ र हुँदैन भन्दै फलाक्दै हिँड्छन् ?

म पनि अरुजस्तै आफ्नो भविष्य खोज्न जापान आएको थिएँ । मलाई पनि ठूलो मान्छे बन्ने, अनि आफ्नो आमाबाबुका दुःखको साहारा बन्ने रहर थियो । जब खान र उपचार गर्न खल्तीमा पैसा हुँदैन तब मान्छेले आफ्नो मानवता भुल्छ । त्यस्तै थियो मेरो व्यथा पनि । जापान आउन भनेर एउटा भएको घर पनि धितो राख्दै पन्ध्र लाख ऋण लिएँ । जापान आउनुभन्दा ३ महिना अगाडि नै त्यसको व्याजले आतुर खेलाइसकेको थियो ।

जसोतसो जापान त छिरेँ तर ५ महिनाको बेरोजगार बसाइपछि बल्लबल्ल काम पाएँ । जापान आएर ५ महिनापछि काम पाउनु राम्रो नै रहेछ । घरमा साहुको ऋण र त्यसको ब्याज तिर्नुपर्ने थियो । मेरो बुढा बाबाले कसरी तिरुन् ? यता काम पाएपछि तिर्दै थिएँ । दिनहरु राम्रैसँग बित्दै थिए तर अचानक बुबाको पेटको अप्रेसन गर्नुपर्ने भयो । साथीभाइ सबैलाई हारगुहार मागेँ । कसैले मेरो आवाज सुनेनन् अथवा सुन्न सक्ने अवस्थामा थियनन् । त्यो थाहा भएन । उता पैसा न पठाई नहुने थियो ।

आफूलाई अर्को वर्ष स्कुललाई तिर्न राखेको ८ लाख थियो । बुबा गम्भीर हुनुहुन्छ, मुख हेर्न मन भए घर आइज भन्ने खबर आयो । भएको पैसा लिएर घर आउनुबाहेक अर्को विकल्प नभएपछि नेपाल आएँ । दैवको लेखा टारेर टर्दैन भनेजस्तै अन्ततः बुबाले यो संसारबाट बिदा लिनुभयो ! म आफू छोरा हुँ हार खानु हुँदैन भन्दै आमालाई सानो भाइको जिम्मा लगाएर फेरि जापान फर्किएँ ।

जापान फर्किन्न । घरमै जापानमा गरेको जति मिहिनेत गर्छु भन्ने विचार थियो । तर नेपाल आएपछि नेपालको परिस्थति थाहा भयो । काम गर्न मलाई उपयुक्त वातावरण नै भएन । सधैँ बन्द, हडताल मात्र । साथीहरु १ हजारको कमाइ गर्दैनन्, लाख लाखको कुरा गर्छन् । राजनीतिक गफ भन्दा अर्को कुनै विषय नै छैन । दिनभरि डुल्यो, बूढो बाउले ज्याला मजदुरी गरेर ल्याएको कमाइ खाएर राति सुत्ने भन्दा बढी मेरा भुस्तिघ्रे साथीहरुको काम थिएन ।

मलाई मेरो मानवता अनि मेरो परिवारको भविष्यको चिन्ताले त्यसो गर्न दिएन र फेरि जापान फर्किए । यता स्कुल फी तिर्नुपर्ने समय आयो । आफूसँग पैसा थिएन । पढ्न त मन थियो, बुबाको सपना पूरा गर्न मन थियो तर के गर्नु ? स्कुल फी तिर्न पैसा नभएपछि साथीसँग सहयोग मागेँ कसैले सहयोग गरेनन् । नेपालको हालत त्यस्तो थियो, फर्केर के गर्ने ? जापान बस्नु नै थियो अनि जापान बस्ने उपाय शरणार्थी बन्नुभन्दा अरु देखिनँ । त्यसैले शरणार्थीमा निवेदन दिएँ र जापानका लागि नेपाली शरणार्थी बन्न पुगेँ ।

नेपालीको जापानमा शरणार्थी बन्नुपर्ने व्यथाहरु यस्तैयस्तै छन् ।

टोकियो जापान

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल