म बाहुनवादी नै हो

-  |   सरगम भट्टराई

म बाहुनवादी नै हो

मेरो जन्म ब्राह्मण कुलमा भएछ । यो मैले कसैसँग अनुनय विनय गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको सर्वनाश गरेर भएको होइन । अरुले पहिचानको मुद्दा रटान लगाइरहँदा मैले कसैको डरले मेरो जनै फाल्नु धर्म निरपेक्षताभित्र पर्दैन ।saragam bhattarai
हो, अहिलेका युरोप अमेरिका गएर जनजाति दलित र मधेसीको कोटामा दीक्षित भएर आएका टाइवाला दाइहरुले मलाई एलिट भने पनि केही छैन किनभने मेरो नामका पछाडि शासक वर्गको थर जोडिएको छ । मेरो बैङ्क खातामा यसबापत मनग्गे पेन्सन आइरहन्छ भनेर उहाँहरुले प्रचार गर्नु भए पनि मलाई फरक पर्दैन ।
मेरा बाआमाले मलाई दुःख जिलो गरेर पढाउनु भयो । मैले जानाजान कसैको भाग खोसेको मलाई याद छैन । तर म जब हलो जोत्नेदेखि घर पोत्ने गर्दै पढेर योग्य हुँदा मेरो थरको पछाडि एउटा टाइटल झुन्डिएको थियो– एलिट वर्ग । मेरो योग्यतालाई उछिनेर कुनै अर्को काठमाडौँमा घर भएको, गतिलो पेसा भएको र राजनीतिक पहुँच भएको उत्पीडित जनजातिले त्यो भाग ओगटिसकेको थियो ।
मेरो छिमेकमा अचेल गाई काटेर खान पाउनुपर्छ भनेर ठूलो भुइँचालो आइरहेको छ, मेरी आमाले बिहान सबैभन्दा पहिले त्यही गाईकै गोबरले दैलो नपोतेसम्म केहीकाम गर्नुहुन्न, त्यही गाईको म दूध र गहुँत खान्छु, जन्मेदेखि मर्ने बेलासम्म त्यही गाईलाई मैले बेला बेलामा पुज्छु, बहुसङ्ख्यक मान्छेले पूजा गर्ने गाईलाई राज्यले राष्ट्रिय जनावर बनाएको छ ।
त्यसै पनि गाईको दूध, र मूत्र वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त छ । मैले गाईको गहुँत खाँदा कोही हाँसेर उडाउँछ भने मलाई केही फरक पर्दैन, मैले गोबरले लिप्दा कसैले छ्या भन्छ भने त्यसले मलाई फरक पर्दैन । तर म सुगुर खाँदिन र खानेलाई घृणा पनि गर्दिन । तर गाई खानै पर्छ भनेर कसैको धर्मग्रन्थमा लेखिएको पनि छैन । तर मैले गहुँत खाने मेरो संस्कार बहुसङ्ख्यकको संस्कार हो, म गाई पुज्छु । यसकारण मलाई कसैले बाहुनवादी मान्छ भने हो, म बाहुनवादी नै हो ।
मेरो छिमेकमा अचेल भाषाको पनि त्यस्तै बिजोग छ । आफूलाई अब्बल लेखक मान्नेहरुले जुन भाषामा लेखेर आफ्नो चुल्हो बालिरहेका छन् त्यही भाषालाई मूल धारको भाषा होइन, भनिरहेका छन्, भाषा त सबैको सम्पत्ति हो, सम्पर्क भाषाको रुपमा बहुसङ्ख्यकले बोल्ने भाषा पनि शासकहरुकै भाषा भन्नेहरुको विद्वता पनि मैले बुझ्न सकेको छैन । अरुको भाषा त अङ्ग्रेजी पो त जसलाई हामीले अनिवार्य बनाउनुपरेको छ ।
मेरो वरिपरि अचेल विभेदको पनि कुरा उठिरहेको छ । मैले जानेबुझे अनुसार संविधानले तोकेरै कसैलाई दमन गर्नुपर्छ भनेर भनेको छैन । जाति जनजाति भएकै कारणले हेपिनुपर्छ भनेर लेखेको कतै पनि देखेको छैन । पहिचानवादीहरुले कहाँ कहाँ विभेदको पहिचान गरे, त्यो मलाई थाहा छैन । हो, केही तत्वहरुले हिजो जात र धर्मको आधारमा गरेको विभेदलाई आज तिनै जातको कारणले गर्दा मेरो पहिचान गुम्यो भन्नु कति जायजÞ हो ?
मलाई सम्झना छ मैले हात्ती छाप चप्पलमा कपडाको तुनो हालेर स्कुल जाँदैगर्दा बाटैबाट भागेर माछा मार्नेहरु, हाफ छुट्टीमा भागेर चलचित्र हेर्न जानेहरु आज राजनीतिमा नेता र आरक्षणको कोटामा हाकिम भइरहेको देख्दा यो पहिचान भन्ने शब्द पनि मलाई हाँस्यास्पद लागेको छ ।
आजभोलि बाहुनहरुलाई शरणार्थी भन्नेहरु सामाजिक मिडियामा बग्रेल्ती भेटिन्छन् । सयौँ वर्षसम्म समाजमा सँगै बसेकाहरु कसैको प्रायोजित नारामा शरणार्थी बनाइँदा आरोप लगाउनेहरु कुन बेला त्यहीँको धर्ती धाँजा फाटेको बेला फुत्त निस्केका हुन्, जान्न पाए हुन्थ्यो ! अनि फेरि ती धर्तीपुत्रहरुले आफ्नै शरणमा आएका शरणार्थीहरुलाई किन शेर बन्न दिएका होलान् ?
बाहुन भएकै आधारमा म कसैलाई भेदभाव गर्दिन, सबैले बाहुनलेजस्तै जनै लगाउनुपर्छ म भन्दिन । कसैको जात पेसा र स्तर हेरेर मैले भेदभाव गर्न हुन्न र गर्दिन । मैले कसैको भाग हडपेको पनि छैन तर बाहुनकै नश्लमा पैदा हुँदैमा म कसरी शरणार्थी भएँ । म कसरी एलिट भएँ ? के सत्तासीन मेरो जातका मान्छे भएकै आधारमा मैले त्यसको क्षतिपूर्ति दिनुपर्ने ? के हुरी चल्यो भन्दैमा धुरी सराप्ने ?
म बाहुनका संस्कारले लगाउनै पर्ने जनै लगाउँछु, यो मेरो पहिचान हो । अरुको पहिचान कायम गर्न मैले मेरो जनै फालेर या नफालेर अरुको जायज या नाजायज आन्दोलनको समर्थन या विरोध पनि गर्नु छैन । जनै मेरो विश्वास हो, अनुशासन हो । यसको लाज बचाउन म सधैँ प्रयासरत हुन्छु र हुनुपर्छ । जनै धारण गरेकै आधारमा म अरुलाई सानो जात र वर्ण भनेर भेदभाव गरेकै छैन, गर्नेलाई पनि मन पराउँदैन । मैले लगाएको जनै देखेर कसैले गिज्याउँछ भने म गर्वका साथ भन्छु– हो म बाहुनवादी नै हो ।
बाहुन भएकै आधारमा कुनै दलितलाई म मन्दिर पस्न दिनुहुन्न भनेर घोक्रो फुलाउँदिन । उसले छोएको पानी पिउन हुन्न भनेर नाराबाजी गर्दिन तर मैले पहिचानवादी हुनै पर्छ भनेर गोरुको मासु, सुँगुरको मासु र भैँसीको मासु खानुपर्छ भन्ने केही छैन । हिन्दु संस्कारका नराम्रा पक्षलाई बोकेर कसैलाई दमन मैले गर्दिन तर मेरो संस्कार, मेरो विश्वास र मेरो भगवानलाई कसैले किन मान्छस्, छाड्दे भन्छ भने मैले दृढताका साथ भन्नै पर्छ– हो म बाहुनवादी नै हो ।
संविधानले अधिकार मात्रै होइन, कर्तव्य पनि दिएको छ । म आफ्नो अधिकार प्राप्तिका लागि कसैको खुशी बलि चढाउँदिन तर कसैले मेरो अधिकारलाई जबर्जस्ती धावा बोल्न खोज्छ भने मैले दृढ़तापूर्वक भन्नै पर्छ, हो म बाहुनवादी नै हो ।
मेरो बुझाइमा पहिचान त अब गरिबी, अशिक्षा, बेरोजगारी, अन्याय र अत्याचारको गर्नुपरेको छ, विश्वले चद्रमा चुमेको यतिका वर्ष हुँदा हामी चाहिँ जात र भातको बखेडा निकालेर एकले अर्कालाई दोषारोपण गरेर टिकिरहेका छौँ । सबैले सबैको धर्मको सम्मान गरे पो समृद्धिको चुचुरो चुम्न सकिन्छ ।

(यो लेखकको निजि विचार हो ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल