प्रचण्डको सपना

-  |   शम्भु श्रेष्ठ

प्रचण्डको सपना

shambhu shresthaजननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्तीको अवसरमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘२०५० साल जेठ ३ गते उहाँको निधन नभइदिएको भए, जेठ १४ गते चितवनमा हाम्रो भेट हुने कार्यक्रम तय भएको थियो । हाम्रो भेटको समय ललितपुरका एक जना कमरेडले तय गर्नुभएको थियो । त्यसका लागि नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने कुराको ‘होमवर्क’ मैले गरेको थिएँ । केही बुँदाहरु पनि टिपेको थिएँ । सशस्त्र संघर्षमा जाने हाम्रो तयारी थियो । सायद मदन कमरेडले पनि हाम्रो भेटमा के–के एजेन्डामा छलफल गर्ने भन्ने कुरा सोच्नु भएको थियो होला । तर, दुर्भाग्य उहाँ दुर्घटनामा परेर दिवंगत हुनुभयो । हाम्रो कुराकानी हुन सकेन । यदि त्यो दुर्घटना नभइदिएको भए नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सवालमा साझा धारणा बन्न सक्थ्यो । त्यसले देशलाई एउटा निकास दिन्थ्यो ।’

प्रज्ञा भवनको हलमा असार १४ गते मंगलबार प्रचण्डले यसो भनिरहँदा उनी भावुक पनि देखिन्थे । प्रज्ञाको हलमा भेला भएकाहरु प्रचण्डको मुखबाट मदन भण्डारीप्रतिको उनको बुझाई जान्न उत्सुक थिए । प्रचण्डले यी शब्द भनिरहँदा मलाई लागिरहेको थियो– यदि मदन र प्रचण्डबीच भेट भएको भए, माओवादीले ‘जनयुद्ध’को बाटो रोज्ने थिएन । किनभने मदन भण्डारीमा दूरदृष्टि थियो । त्यो दूरदृष्टिभित्र माओवादीलाई पनि सँगै हिडाउन सक्ने क्षमता मदनमा थियो ।

मदन भण्डारी भाषणका कारणले मात्रै चर्चाको शिखरमा् पुगेको नेता होइनन् । त्यतिबेला भाषण गर्ने धेरै नेताहरु थिए । हो, भाषण गर्ने कला उनीमा र अरुमा फरक भने थियो । कुन ठाउँमा के बोल्नुपर्छ भन्ने कुराको ‘होमवर्क’ गरेर मात्रै उनी भाषणस्थल पुग्थे । अहिलेको जस्तो ‘होमवर्क’ नै नगरी जथाभावी बोल्ने नेताका लागि मदन भण्डारी एउटा उदाहरणीय नेता पनि हुन् ।

वर्षको एक दिन मदन भण्डारीलाई सम्झने  अरु बेला बिर्सने एमालेकै नेताहरुले भण्डारीको जीवनबाट कुनै कुरा सिकेको जस्तो लाग्दैन । त्यही कारण मदन भण्डारी मरेर पनि अमर छन् । अरु नेता बाँचेर पनि मरेतुल्य छन् । साहित्यिक भाषामा भन्नुपर्दा यसलाई ‘मृत्युमाथिको विजय भनिन्छ ।’ जहाँसम्म प्रचण्डको मनमा आजसम्म पनि भड्किरहेको मदनसँगको भेट्ने जुन अधुरो सपना छ त्यो नै प्रचण्डको यथार्थ धरातल हो ।

१२ वर्षे ‘जनयुद्ध’ त्यागेर प्रचण्ड आज जुन जगमा छन्, त्यो नै मदन भण्डारीको सपना हो । यदि मदन भण्डारीले त्यो सपना नदेखेको भए नेपालको राजनीतिमा प्रचण्डको उदय नै हुने थिएन । प्रचण्डले प्रज्ञा भवनको हलमा मदन भण्डारीसँग भेटेको भए… भनेर जुन शब्द बोलेका थिए, सायद मदन भण्डारी बाँचेको भए सशस्त्र द्वन्द्वको नाउमा हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन । मदन भण्डारीले त्यागेको बाटोमा प्रचण्ड हिंड्नुको परिणाम सिंगो देश र जनताले भोग्नुपरेको हत्या हिंसा नै हो ।prachanda (1)

शान्तिपूर्ण बाटोबाट पनि सत्तामा पुग्न सकिन्छ भन्ने कुराको उदाहरण मदन भण्डारी हुन् । आज त्यो बाटोमा प्रचण्ड मात्र होइन, सिंगो कम्युनिस्ट आन्दोलन हिंडिरहेको छ । यो अहिलेको यथार्थ हो । भन्न त माओवादी नेताहरुले ‘जनयुद्ध’ नगरेको भए गणतन्त्र आउने थिएन भन्न सक्लान् । तर, त्यो उनीहरुको भ्रम मात्र हो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सवालमा एमाले, कांग्रेसले मात्र होइनन्, भारत–अमेरिका र बेलायतले गणतन्त्र स्वीकारेका हुन् । माओवादीको डरले होइन ।

त्यसमाथि भारतीय बुद्धिजीवी एसडी मुनीको पुस्तक पढ्ने हो भने माओवादीले सशस्त्र ‘जनयुद्ध’ भारतीयहरुकै जगमा उभिएर गरेको स्पष्ट हुन्छ । त्यसमाथि माओवादीले जुन माग राखेर सशस्त्र द्वन्द्व निम्त्यायो, ती मागहरु पनि प्रचण्डको दिमागले उब्जाएको माग थिएनन् । उनै मदन भण्डारीले ०४७ सालको संविधानमा राखेका २७ बुँदे असहमति नै हुन् । ती बुँदा र माग पूरा गर्न मदन भण्डारीले जनताको बहुदलीय जनवादको सहारा लिए, माओवादीले ‘जनयुद्ध’को ।

‘जनयुद्ध’को बाटो गलत थियो भन्ने कुराको प्रमाण १२ बुँदे सहमति हो । जहाँ प्रचण्ड स्वयंले हस्ताक्षर गरेका छन् । अब प्रचण्ड ‘जनयुद्ध’को बाटो फर्कन सक्दैनन् । शान्तिपूर्ण  बाटोबाट पनि कम्युनिस्टहरु सत्तामा पुग्न सक्छन् भन्ने एउटा उदाहरण उनी आफैँ पनि हुन् । त्यसैले मदन भण्डारीसँग भेट्ने उनको इच्छा पूरा नभए पनि मदन भण्डारीले कोरेको बाटोमा प्रचण्ड हिंडिरहेका छन् ।

एमाले–माओवादी सरकारमा छन् । जनमुखी बजेटले नेपाली जनतालाई आशावादी बनाएको छ । अब सबै कम्युनिस्ट मिलेर देश बनाउने बेला आएको छ । यो नै बहुदलीय जनवाद हो । त्यो बाटोबाट विचलित हुनेहरुको हविगत कस्तो हुन्छ भन्ने पीडा सीपी मैनाली, अशोक राईहरुले भोगिरहेका छन् । त्यसैले कम्युनिस्ट आन्दोलनको नाममा चोकचोकमा पान पसल खोलिरहनु पर्दैन । देश बनाउने हो भने अब सबै कम्युनिस्ट एक ठाउँ उभिनै पर्छ । अन्यथा, संघीय गणतन्त्र नेपालले पनि सोभियत संघको नियति भोग्नु नपर्ला भन्न सकिन्न । अहिलेका लागि यति नै ।

साभार : दृष्टि साप्ताहिक

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल