तिमीलाइ मनका कुरा भन्न नसक्दा……

  |   सुदन अधिकारी

तिमीलाइ मनका कुरा भन्न नसक्दा……

sudan adhikari
नेपाली बिषयको कक्षा सकिनासाथ हामी केटाहरु बाहिर निस्कियौं,साथीहरु एकातिर गफ गर्दै थिए ,म एक्लै बसिरहेको थिएं । सुदन,अपेक्षा(नाम परिबर्तन)लाइ बोलाइदेउ नू। कसैको यो आवाजबाट म झस्किएं, तल हेरें । हामीभन्दा सिनियर तिम्रो दिदी हुनुहुंदोरहेछ । म तिमलिाइ बोलाउन भनेर कक्षाकोठातिर त गएं,अलि परैबाट तिमीलाइ हेरेँ अनि तिम्रो छेउसम्म त पुगें तर तिमीसंग बोल्नै सकिन र दिदीले भन्नुभएको काम चांहदा चाहंदै पनि पुरा गर्न असमर्थ भएं । तिमीलाइ पहिलोचोटी राम्रोसंग हेरेको त्यही क्षण हो र त्यही दिनदेखि मेरो मनको एक भाग तिमीले अगटेकी छौ । आजभन्दा ठाक्कै दशक अगाडिका यी मेरा मनका कुरा तिमीले थाहा पाउने कुरै भएन ।
परिबर्तनशिल समयसंगै यसबीचमा धेरै परिबर्तनहरु आए,देशमा ,समाजमा र हामीमा पनि ।

तर यी याबत परिबर्तनका बीचपनि दशक अगाडि मेरो मनमा रहेको तिमीप्रतीको माया यथावत छ । अझ भन्यौं , तिमीप्रतीको मेरो सम्मान बढेर आएको छ ।
अहिले म जब पछाडि फर्केर आफ्नो अतित हेर्छु अनि आफैंलाइ प्रश्न गर्न थाल्छु,
मेरा यी मनका भावना तिमीसंग पहिल्यै साट्न पाएको भए ?
तिमीप्रती रहेको त्यो मेरो सम्मान पोख्न पाएको भए ?
तर यी प्रश्न अनुत्तरित रहिरहे ।

देशमा चलेको दशबर्ष जनयुद्धमा सरकारी पक्षले बुबालाइ बेपत्ता बनाएपछि दुर्गम पहाडि जिल्ला गोरखाको बिकट मेरो गाँउमा बिहान बलुका घांसपात गर्ने र दिउँसो नाममात्रको पढाइ हुने बिद्यालय जानुनै मेरो दैनिकी बन्यो । मेरो धरातलिय यथार्थ यहि भएर होला,मैलें कुनै सपना देखिन ,जिन्दगीप्रति मेरा कुनै गुनासा रहेनन् ।
भनिन्छ,सपनाका कुनै सिमा हुदैनन् तर ९ बर्षमानै घाँसपात गर्न सिकाएको त्यो जिन्दगीले मलाइ कुनै नबिन सपना देख्न दिएन । गाउँको त्यो पाखा पखेरामा मैले आफ्नो भबिष्य देखें,त्यहि गाउँनै मैले संसार ठांने ।

तर समयले मेरो जीवनमा अर्को गारेटो खनिदियो । २०५९ जेठमा मलाइ काठमाण्डौंको एक एन.जी यो मा लगियो । गाउँमा कक्षा ६ पढ्दै गरेको मलाइ निजी बिद्यालयको कक्षा ४ मा भर्ना गरियो । कक्षामा पढाइमा अरुभन्दा तुलात्मक रुपमा अगाडि हुंदा पनि,शिक्षकहरुको प्रिय हुंदापनि मैले आफैंलाइ दोस्रो दर्जामा राखिंरहें । मलाइ मेरै मनको बाघले खाएको कारणले कहिल्यै केटीहरुसंग शिर ठाडो पारेर बोल्नसम्म सकिन ।

एन.जी.योमा बसेर पढेको कक्षामा सबैलाइ थाहा भइरहंदा मेरो कुराले तिमीलाइ आघात पुग्ने डरले पनि मैले मनका कुरा भन्न सकिन । र त आफैंभित्र गुम्साइरहें ।
कक्षा सातमा पढ्दा म र तिम्रो दिदी तल्कालिन समयमा कान्तिपुरबाट प्रसारण हुने ू भोलिको नेपालू कार्यक्रममा गएका थियौं । कार्यक्रमको तयारीमा एक अर्कालाइ तिमी भनेर सम्बोधन गरि लेखिएको कागजमा ूतिमीूशब्द आएपछि म अड्किंए ।

के भयो ?किन रोकेको ? हाम्रो तयारी हेरिरहेको ब्यात्तिले भन्यो ।
म दिदीलाइ तिमी भन्दिन,मैले भनें ।
दिदी हाँस्नुभयो ,अनि भन्नुभयो,ूकेहि हुन्न ू।
यो तिमीप्रतीको सम्मान थियो जुन मेरो मनमा सदाबहार रहिरहेको थियो र छ ।

तिमीले कक्षामा बर्णण गर्ने हिन्दी धारावाहिकका किस्साहरु अनि तिम्रा मुखबाट गायक जस्टिन बिबरका पं्रशसाका खातिर खर्चने ति शब्दहरु मेरा लागि कर्णप्रिय थिए जबकी मलाइ यी बिषयमा कुनै रुचि थिएन । अरु कसैका आवाजमा सुनेको भए कर्कस लाग्ने पक्का भएका कुराहरु तिम्रा मुखबाट सुन्दा मनमा छुट्टै तरंग पैदा हुन्थो । भारतिय नायक सलमान खान तिम्रो प्रिय रहेछन् भन्ने कुरा मैले तिमीले अरुसँग भन्ने किस्सा सुनेकै आधारमा महसुस गर्न सक्थें ।

यसरी नै समय बित्दै गए । हामी दुबै एस.एल.सी मा उच्च अंक ल्याएर पास भयौं । एउटै कक्षामा हुंदा त नबोल्ने हामी भिन्न भिन्न कलेजमा पढ्न थालेपछि देख भेट पनि हुन छाड्यो । कक्षा १२ को परीक्षा आउन केहि महिना बांकी हुंदा कहिलेकांही मात्र खुल्ने तिम्रो फेसबुकबाट आएको मेसेजले म कम्ता खुसी भइन । लेखेकी थियौ, ूसुदन,तिमीले पहिलादेखिनै सी.ए पढ्ने भनेको थियौ नि,अहिले परिबर्तन भएका छौ कि नाइ ?हेर न,मैले पनि सी.ए पढ्ने निर्णय गरें । साथीहरु सबै मेडिकलको तयारी कक्षाहरुमा गएका छन् तर मैले सी.ए पढ्ने संकल्प गरिसकें । त्यसैकारण म त कतै मन नडुलाइ बसेको । तिम्रो बिचार के छ ? तिमी परिबर्तन भाको छैनौ नि ू?

तिम्रो यो मेसेजले म रनभुल्लमा परें । खुसी थिंए एकातिर धेरै समयपछि तिम्रो मेसेज आएको थियो । अर्कोतर्फ,बिषयको कुनै ज्ञान हासिल नगरिकन अरुको कुरा सुनेकै आधारमा मैले सानैमा सी.ए बन्ने भनेर कक्षामा सबैलाइ सुनाएको कुरालाइ आधार बनाएर तिमीले प्रश्न गरेकि थियौ । सी.ए नाम सुन्नेबित्तकै म यति खुसी भएको थिएं कि मैले मेरो भबिष्य यसैमा नै देखेको थिंए । झन तिमी पनि पढ्ने भएपछि त म सी.ए पढ्ने प्रण गरेको थिंए । यसैले त हो ,तिमीले जति पटक प्रश्न गरेपनि म भन्थें ,ू अब,हामी दुइ एकै ठांउमा पढ्न पर्छ,बरु तयारी कक्षा नि लिगौं न ू । धेरै पटक धेरै ठाउंमा पुगेर मैले सी. ए को बारेमा बुझेका कुराहरु तिमीसंग आदान प्रदान गरेको तिमीलाइ थाहा नै छ ।

तर जिन्दगी आफ्नो हिसाबले मात्र कहां चल्दो रहेछ र ? घरका परिवारको भबिष्यको ूसाझा सपनाू मैले अलि कम जोखिम ,कम खर्चिलो र छिटै आन्दानी हुने पेशा रोज्नुपर्ने दबाबले म मेरो निर्णयमा अडिग हुन सकिन र चाहंदा चाहंदै पनि मैले तिमी संगै एउटै बिषय पढ्न पाइन ।

अन्तत,तिमीले नेपालको सी.ए पढाइमा अग्रडी एक कलेजमा भर्ना भयौ र म मेडिकल तयारी कक्षाहरु लिन थालें । हाम्रो एन.जी.योका बिद्यार्थीमध्य पढाइमा म अरुभन्दा अब्बल र मिहेनति देखेर सरहरुले मलाइ मेडिकल शिक्षामा सहयोग गर्ने बचन दिनुभयो । एक बर्षको मिहिनेत पश्चात् एन.जी.यो का सरहरुको र परिवारको सहयोगमा मैले मेडिकल शिक्षाका लागि भर्ना भँए र अहिले नेपालको एक मेडिकल कलेजमा एम.बी.बी.एस पढ्दै छु । निजी बिद्यालय पढेकै कारणले सरकारी छात्रवृद्धिबाट बिमुख हुनुपरेको मेरो पिडा तिमीसँगको कुनै भेटमा अबश्य बताउनेछु ।

अपेक्षा,तिमीले मेरो स्मृतीका पानामा अमेट छाप छाडेकी छौं भन्नलाइ यो सन्दभ र्नै काफी छ । बैशाख १२ गते गएको बिनासकारी भुकम्पपछि मरो गाँउको एकमात्र घर क्षतबिक्षत भयो । परिवारका सदस्यहरु खुल्ला चौरमा रात बिताउन बिवश हुनुपर्यो । यता म मेडिकल कलेजको बास्केटबल कोर्टमा सुत्ने तर्खर गर्दै थिएँ । अचानक मैले तिमीलाइ सम्झन पुगेँ अनि मेसेज पठाएँ । लगत्तै तिमी र तिम्रो परिवार सबै जना सकुसल रहेको बताँइरहदा म कम्ता खुसी भएको थिइन । आफैं पीडामा गुज्रीरहेको बेलामा पनि मैले तिमीलाइ सम्झन बाध्य पार्ने मेरो मस्तिष्क देख्दा मलाइ लागिरहेछ ,तिमीले मेरो जीवनमा ठूलो महत्व राखेकि छौं ।

यसकारण नै त हो नि ,
मैले आफूभित्र शुशुप्द रुपमा रहेको तिमीप्रतीको माया पोख्न बाध्य भएको ।
बषौंसम्म गुम्साएर राखेको तिमीप्रतीको सम्मान खोल्न चाहेको ।
अपेक्षा,मलाइ राम्रोसँग थाहा छ ,तिम्रो र मेरो पारिवारिक हैसियत र धरातलमा अन्तर छ । तर मलाइ अझ राम्रोसँग थाहा छ , धरातल र हैसियतले साँचो मायामा त्यति ब्याबधान खडा गर्दैन र गर्नुहुन्न पनि सायद । तिमीलाइ यो पत्र लेखिँरहदा ,मेरा दिमाग भर्खर पढेको एउटा समाचारले हल्लाइरहेछ छ जसमा भारतको गुजरात राज्यको यूवक रितेश र अमेरिकाकी यूवती इम्लीबीच कसरी प्रेम बस्यो भन्ने कुरालाइ मर्मस्पर्शी ढंगले बर्णन गरिएको छ । बिल्कुल फरक रहनसहन ,भेषभुषा ,संस्कृती भएका र भिन्न समाजमा हुर्केका अनि ११६०० माइल्स टाढा यी दुइको बास्तबिकता देखेपछि भन्न कर लाग्छ ,
हो ,माया अन्धो हुदोँरहेछ ।
मलाइ लाग्छ,कोहि गरिब भएर जम्मनुमा उसको कुनै गल्ती छैन तर जो मान्छे जीन्दगीमा कुनै उपलब्धि हासिल नगरी बस्छ ,त्यो उसको कमजोरी हुन जान्छ किनकी हामीलाइ थाहा छ कोसिस गर्ने मान्छेहरु असफल हुन सक्छन् तर हार्न कदापि सक्दैनन् ।असफल हुनु र हार्नुको अन्तर त हामी दुबैलाइ थाहा नै छ ।
जीन्दगीमा अनेकौं आरोह अबरोह पश्चात म अहिले यो अबस्थामा आएको छु र म टृढ छु ,आउँदा दिनमा मैले मेरो परिवारको आर्थिक लगायत अरु अबस्था सुर्धान सक्नेछु । जीन्दगीको आगामी गोरेटो खन्न थालेपछि अब परिणामको कुनै पर्बाह नगरी आफ्ना मनका कुरा पोख्न मलाइ यो मन घचघचाइरहेको छ ।
त्यसैले बाध्य भएर तिमीलाइ म यो पत्र कोर्दै छु ।
तिमी अहिले संसार मा नै सम्मानित पेशा सि.ए पढिरहेकि छौ । अहिलेसम्मको तिम्रो प्रगति देखिँरहदा तिम्रो भबिष्य उज्यल रहेको बताइरहन कुनै ज्योतिषिको साहारा लिइरहन पर्दैन ।

मैले आजसम्म मेरा मनका भावना तिमीसँग केहि नसाटेकाले म ठोकुवा गर्न सक्दिन ,तिमीले मेरो बारेमा के सोस्दछौ भनेर ।
मैले आजसम्म भन्न नसकेका यी कुराहरु तिमीलाइ सिधै भन्न मनको बाघले खाएर पत्रको माध्यमबाट ब्यत्त गर्दैछु । अन्यथा ,नसोच है ।
तिम्रो परिवारको सबैलाइ मेरो सम्झना सुनाइदेउ ।

अन्तमा , मैले ब्यक्त गरेका कुनै कुराले तिमीलाइ चोट पुग्न गए म क्षमापार्थी छु । तिम्रो उज्वल भबिष्यको शुभकामना ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल