डायरी : डुबेको साझामा छिपेको आँसु

असार १८  |   आस्था केसी

डायरी : डुबेको साझामा छिपेको आँसु

Aastha KC

२०७३ साल असार महिनाको १७ गते शुक्रबार । दिनभर दर्केझरी परिरहेको थियो ।

असार महिना, वर्षातको मौसम पानी त पर्ने नै भयो । एकछिन पानी रोकिन्छ कि भनेर म घरी आकासतिर, घरी घडीतिर हेरेर बसिरहेँ । पानी बिदो हुने प्रतीक्षामा करिब २ घन्टा बित्यो तर पानी थामिने छाँटकाँट देखिएन ।

अफिस जान ढिलो भएकोमा थकथकी मान्दै छाता ओढेर जाउलाखेलतिर हानिएँ । शङ्खमुलदेखि एउटा माइक्रोले बानेश्वरसम्म पुर्याइदियो । त्यहाँबाट टेम्पो समातेँ, तर त्यहाँ उभिने मात्र ठाउँ थियो ।

म छाता ओढेर बाहिरै उभिएँ । टेम्पो एक दर्जनभन्दा बढी यात्रु बोकेर जाउलाखेलतर्फ लाग्यो । आधाउधि बाटो हिँडेपछि माइतिघरनेर केही यात्रु ओर्लिए । मलाई राहत भयो । छाता ओढेर उभिइरहनुपरेन । पुल्चोक हरिहर भवन पुगेर पैदल हिँड्दै सीधै साझा प्रकाशन पुगेँ ।

साझा प्रकाशन सुनसान थियो । बार्दलीमा बसेर केही कर्मचारीहरु गफ गरिरहरहेका भेटिए ।

म क्यान्टिनमा छिरेँ । दुईजना कर्मचारी सेता सिसाका गिलासमा चिया पिइरहेका थिए ।

त्यहीँ बसेर कुराकानी गर्दै थिएँ । पियन दाइ टुप्लुक्क आइपुगे । त्यहाँ बसेर चिया पिइरहेका मध्येका एकजना नारायण श्रेष्ठको आग्रहमा पिएन दाइले मेरो लागि एक कप कालो चिया टक्र्याए । मैले मनैमनले धन्यवाद दिएँ र कुराकानी गर्न लागेँ । कुरा हुँदै थियो ।

होइन, एक वर्षसम्म तलब खान नपाउँदा साझाका कर्मचारी कसरी बाँचिरहेका छन् ? के ती सबैको काठमाडौंमा घर छ र ? तिनका छोराछोरीलाई स्कुलले सित्तैंमा पढाइदिन्छ ? तरकारी किनेर खानु पर्दैन ? गाडी चढेको भाडा दिनु पर्दैन ?

मैले यति के सोधेकी थिएँ । पिएन दाइ धर्धरी रुन थाले । मेरो अगाडि रुनुपरेकोमा सायद उनलाइ लाज लाग्यो । उनी जुरुक्क उठेर लर्खरिदै बाहिर दौडिए । बाहिर पानी उस्तै लगातार परिरहेको थियो ।

म उनी आउने प्रतीक्षा गरिरहेँ । तर उनी आएनन् । मुलुकको सबैभन्दा जेठो र बौद्धिक संस्था मानिने साझा प्रकाशनको आँगनमा भिज्दै पिएन दाइ सुँक्क सुँक्क रोइरहका थिए ।

—————————

१०४ वर्षको गरिमामय इतिहास बोकेको संस्था साझा प्रकाशन क्रमशः विघटनतिर गइरहेको छ । यसका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मासँग भेटघाट गर्ने र साझा प्रकाशनको बारेमा एउटा खोजमूलक स्टोरी तयार पार्ने सोचमा गत हप्ता म साझा प्रकाशन पुगेकी थिएँ ।

साझा प्रकाशन बाहिरबाट हेर्दा प्रायः सुनसान देखिन्थ्यो । म सीधै महाप्रवन्धकको कार्यकक्षमा पुगेँ । त्यहाँ कर्मचारी र महाप्रवन्धकको बीचमा जुहारी चलिरहेको थियो ।

पहिलोपटक म त्यहाँ पुगेकी थिएँ । असजिलो लाग्यो । तपाईंहरु छलफल सक्नुस् अनि अन्तरर्वार्ता गरौंला, मैले महाप्रवन्धकज्यूलाई आग्रह गरेँ ।

उनले आफ्नो दाहिने हात उठाएर मलाई खुरुक्क बस भन्ने टाइपको आदेश गरे । उनी त्यस्तै ३८, ३९ जतिका दखिन्थे । त्यहाँ एकछेउमा बसेका एक कर्मचारीलाइ उठाएर मेरो लागि बस्ने ठाउँको प्रवन्ध गरिदिए ।

म बसेँ, मेरो मोबाइलको ब्याट्री सकिनै लागेको थियो । स्विच अफ हुने हो कि भन्ने चिन्ता लाग्यो । नभन्दै केही बेरमा त्यस्तै भयो । कुनै पूर्वतयारीविना यहाँ आएकोमा थकथकी लाग्यो । कर्मचारी र महाप्रवन्धकको बीचमा जुहारी चलि नै रहेको थियो । तिनीहरुको कुरा सुन्दा महाप्रवन्धकको होइन, कर्मचारीको अन्तरर्वार्ता गरुँ भन्ने लाग्दै थियो ।
अन्तमा,… महाप्रवन्धकले कुरा टुङ्ग्याउन चाहे । म भोलि व्यस्त छु । पर्सितिर बसेर सल्लाह गरौंला । कर्मचारीहरुले भने आफूहरुले भोलिदेखि आन्दोलन गर्ने चेतावनी दिएर गए ।

यतिन्जेलमा मेरो मोबाइल स्विच अफ भएकाले कुरा गर्न नसकिने भयो । डोलेन्द्र सरले चिया मगाए । म भोलि फेरि आउने शर्तमा उनीसँग बिदा भएँ ।

मैले पैसा बोकेकी रहिनछु । घर त जानु नै थियो, शङ्खमूलसम्म । हिँडेरै जान्छु, यस्तै सोच्दै थिएँ । सञ्चालक समितिका सदस्य हरिहर खनाललाई घरसम्म पुर्याउन हिँडेको साझाको गाडीले मलाई माइतिघरसम्म पुर्याइदियो ।
——————————

भोलिपल्ट साझा पुग्दा दिउँसोको एक बजेको थियो ।
कर्मचारीहरु यताउता गरिरहेका थिए । उनीहरु तनावमा देखिन्थे । केही बेरपछि महाप्रवन्धकको गाडी आइपुग्यो । म हत्त न पत्त उनको पछि लागेँ । स्थिति तनावपूर्ण हुन्छ भन्ने पूर्वानुमान भएकाले म महाप्रवन्धक डोलेन्द्र सरको आधा घन्टा समय लिएर हिँडिहाल्ने योजनामा थिएँ ।

सञ्चालक समितिका सदस्यद्वय दिनानाथ शर्मा, हरिहर खनाल र डोलेन्द्र सरसँग यसो भलाकुसारी गरिसकेर मोबाइलको साउन्ड रिकर्डर अन गर्न के लाग्दै थिएँ, बाहिर नारा लाग्न थाल्यो । कर्मचारीहरु हुल बाँधेर महाप्रवन्धकको कार्यकक्ष घेराउ गर्न आइपुगे ।

उनीहरुले भर्खरै बनाएको कर्मचारी नियमावलीमाथि प्रश्न उठाए । कर्मचारीलाई घोक्रेठ्याक लगाउने खालको नियमावली ल्याइएकाले यसको संशोधन हुनुपर्ने, आफूहरुलाई स्वेच्छिक अवकाशमा जानेबेला एक हातमा राजीनामा पत्र र अर्को हातमा गोल्डेन चेक हुनुपर्ने शर्त उनीहरुको थियो ।

खातामा पैसा जम्मा नगरिकन २०औं वर्ष काम गरेका कर्मचारीलाई उधारो आश्वासनको भरमा घर पठाउने कुरा मान्न कर्मचारी तयार थिएनन् । उनीहरु एकआपसमा चर्को स्वरमा बाझिरहेका थिए । चिच्चाइरहेका थिए । कतिले महाप्रवन्धकको टेबुल ठटाइरहेका थिए ।

पूर्व शिक्षामन्त्री समेत रहेका सञ्चालक समितिका सदस्य दिनानाथ शर्माले भीडलाई शान्त पार्न खोज्दै भने— म तपाईहरुको ठाउँमा उभिएर माफी माग्छु, कृपया शान्त हुनोस् । भीडबाट कोही चिच्चायो—तपाई यतिका वर्ष जनयुद्ध गरेर आएको मान्छे, किन यस्तो अलोकतान्त्रिक निर्णय गर्नुभयो । कमसेकम तपाइसँग त हामीलाई आशा थियो । अब हामीले तपाईंलाई कसरी विश्वास गर्ने ।

दिनानाथ मौन भए । अर्का सदस्य हरिहर खनाल र महाप्रवन्धक चुपचाप बसिरहेका थिए ।

मैले रातोपाटीका लागि साझामा तनाव भन्ने खालको न्यूज टिपाइ दिएँ ।

साझाका सबैभन्दा पुराना दुई कर्मचारी ४९ वर्ष काम गरेका मधुसुदन ठाकुर र ३३ वर्ष काम गरेका शान्तबहादुर महतको अन्तरवार्ता गरेँ ।

ती दुवैको कुराकानीको सार एउटै थियो— ‘साझा प्रकाशन बन्द हुनु हुँदैन । हामी सबै कर्मचारी स्वेच्छिक अवकाशमा जान तैयार छौं । तर हामीले खाइपाई आएको सुविधा कटौती नहोस् । हामी एक हातमा राजीनामा र अर्को हातमा गोल्डेन चेक समातेर घर जान्छौं तर हाम्रो ससम्मान बिदाइ होस् । हामीले आफ्नो जिन्दगीका धेरै समय साझाको उन्नति र प्रगतिका लागि लगाएका छौं । यो लोकतान्त्रिक अभ्यास भइरहेको मुलुकमा हामीलाई अपमानित तरिकाले उधारो सहमतिमा घर नफर्काइयोस् ।’

‘साझा प्रकाशनभित्रको समस्या सुल्झाउन आएका महाप्रवन्धकले आफ्नो पदीय दायित्व निर्वाह गर्न सकेका छैनन् । साझामा छाप्नुपर्ने कक्षा ११ को सबैको नेपाली आफ्नै प्रेसमा छापेका छन् । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको साझाको अध्यक्ष र महाप्रवन्धकको कुर्सीमा बसेर उनले आफ्नो अक्सफोर्ड प्रेसलाई बलियो बनाउने काम गरिरहेका छन् ।’ उनीमाथि कर्मचारीले यस्तो सङ्गीन आरोप लागाएका थिए ।

त्यहाँ प्रहरी आइपुगेको थियो । बाहिर प्रहरी राखेरभित्र सञ्चालक समितिको छलफल चलिरहेको थियो । सञ्चालक समितिका अर्का सदस्य प्रदीप नेपाल पनि आइपुगेका थिए ।

समाचारका लागि कुनै एकजना कर्मचारीले मलाइ धन्यवाद दिए ।
त्यसको करिब ४ दिनपछि शुक्रबार झमझम पानीमा भिज्दै म फेरि साझा पुगेकी थिएँ । जुन दिन पियन दाइले चिया खुवाए र कतै बाहिर एकान्तमा गएर धर्धरी रोए ।
उनको नाम मित्रबहादुर रावत थियो । १६ वर्षदेखि साझा प्रकाशनमा चिया पकाउने, हाकिमहरुले अराएको काम गर्दै आएका थिए । उनी स्थायी भएको ८ वर्ष भयो । अहिले नेपाल सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । पियनको तलब पनि बढेको छ । तर मित्र दाइले आफूले पाउने गरेको मासिक १३ हजार रुपियाँ गत १३ महिनादेखि पाउन सकेका रहेनछन् । दसैं भत्ता, स्वास्थ्य उपचार सेवा सुविधा केही पाएका रहेनछन् ।

भक्तपुरमा डेरा गरेर राखेको उनको परिवारलाई भाडा तिर्न नसक्दा घरबेटीले निकालिदिएका थिए रे । मेरो अघिल्तिर बसेका साझाकै अर्का कर्मचारी वेदराज ढुङ्गानाले सुनाए । उनकी श्रीमती, एक छोरा र एक छोरी आफन्तकोमा बसेका छन् रे, नारायण सरले थपे ।

ऊ कतिदिन भोकभोकै बसेको छ । कतिदिन यतै अफिसतिरै सुतेको छ । धन्न उसकी श्रीमतीको जागिरले परान धान्दै आएका छन् । यस्तै टिप्पणी पनि भए त्यहाँ ।

मैले मित्रदाइ आएपछि उनैसँग कुरा गर्नुपर्ला भनेर एकछिन पर्खिएँ । बिचरा उनी आउन सकेनन् । उनी परपर हेरेर टोलाइरहेका थिए ।

कति पीडा उनले मुटुभित्र गाँठो पारेर राखेका होलान् । कति आँशु उनले यो असारे झरीसँगै बगाइदिए होलान् । कति उच्छवास बोकेर उनी यो कार्यालयमा हाकिमहरुको अगाडि चिया टक्र्याइरहेका होलान् । कति दिन हिँड्दै घर र अफिस गरेहोलान् । यस्तै सोचेर मेरो मन भरङ्ग भएर आयो ।

पियनजस्ता असाध्यै न्यून तलब भएका कर्मचारी भोकभोकै काममा खटिइरहँदा पनि महाप्रवन्धक, सञ्चालक समिति र गणतान्त्रिक सरकारले के हेरेर बसेका छन् ? कतै तिनीहरुले त्यस्ता कर्मचारीका दुःख व्याथा देखेर पनि नदेखेजस्तो गरेका त छैनन् ।
महाप्रवन्धकका लागि गाडी छ, सञ्चालक समितिका सदस्यलाई पनि गाडीले ल्याउने पु¥याउने गर्छ । तर मित्र दाइजस्ता पियनहरुका लागि टेम्पो चढ्ने पैसा हुँदैन । उनीहरु आफ्ना कुरा निर्धक्क राख्न पनि सक्दैनन् । कमसेकम उनीजस्ताले पाउने तलब त बेलैमा दिनु नि सरकार !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल