इमान्दार र स्वाभिमानको व्यथा : भीमसेन थापादेखि मदन भण्डारीसम्म

-  |   दिपेश घिमिरे

इमान्दार र स्वाभिमानको व्यथा : भीमसेन थापादेखि मदन भण्डारीसम्म

छलकपट र षड्यन्त्रद्वारा दुनियाँको नजरमा देखिने सफलता प्राप्त होला तर इमान्दारिता र सत्यमा अन्तरमनको आत्मसम्मान र सन्तुष्टि भेटिन्छ । हालका दिनहरु परिवर्तित समय सँगै साम्प्रदायीक षड्यन्त्रका प्रायोजनहरु बाक्लिँदै गैरहेको छ । लाग्छ इमान्दारीता इतिहास बन्दैछ अनि इमान्दारीताको जीत सपना ।

नेपालको इतिहासमा पटक–पटक इमान्दारीता र स्वाभिमान गिराउने खेलहरु बाक्लै रुपमा हुँदै गइरहेको भेटिन्छ । इतिहासमा भएका असमान सम्झौताका कारण कयौ बिरबिरंगानाहरुको स्वाभीमानको आहुती भएका छन् । त्यसमध्ये पनि सुगौली सन्धी एउटा यस्तो स्वाभिमानको चिता बनेर रह्यो इतिहासदेखि वर्तमानसम्म हजारौँ आत्माहरु स्वभिमानको मलामी जान बाध्य छन् ।

इमान्दारीता आफैँमा एउटा स्वर्णिम र उच्च स्वभाव हो जसले मनोवैज्ञानिक रुपमै सत्यधारण गरेको हुन्छ र इमान्दारीता र स्वाभिमानबाट प्रेरित आत्मा कहिल्यै हार्र्दैन तर देशको इतिहासदेखि वर्तमानसम्म केलाउँदा कयौं पटक स्वाभिमान र इमान्दारीता षड्यन्त्र र कपटको शिकार बनेको भेटिन्छ । जब इमान्दारीता र स्वभिमानमा औंलाहरु उठ्न थाले अनि उनीहरुविरुद्ध तात्कालिन समाजले कलंकीत तुल्याएको देखिन्छ । ति विरहरु हार खाएको उदाहरण इतिहासमा छरपष्ट पढ्न पाइन्छ । म यो आलेखमा ति महापुरुषहरुमा समर्पित गर्न चाहन्छु जसले तत्कालको आफ्नो बाटो पहित्याउन सकेनन् या तत्कालको लागि त्यो स्वभाव नै शहिद बनाइयो तर उनीहरुको इमान्दारीता र स्वाभिमान इतिहासको पानामा गौरव गाथा बनेर अझैँ जीवित छ ।bhimsen-madan-amar-krishna

अमर सिंह थापा
नेपाल एकीकरणको इतिहासमा अगाडी आउने विर सपुत हुन अमरसिंह थापा । उनी वीर इमान्दार र विश्वासी भएकैले राजा रणबहादुर शाहको पालामा अंग्रेजहरूसँगको युद्धमा सूदुर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए । त्यसताका अमरसिंह थापालाई अंग्रेज तर्फका जनरल अक्टरलोनीले ठूलो प्रलोभन देखाउँदा पनि लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्भोपरि ठानी विरतापूर्वक अंग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौं ।

असमान सुगौली सन्धीबाट विरक्तिएका विर अमरसिंह थापा जीवनको उत्तरार्धमा गोसाईंकुण्डमा निर्वास जीवन बिताउन बाध्य पारिए । र उनको मृत्यु पनि उतै हुन गयो । त्यतीखेर उनीभित्रको स्वाभिमान र इमान्दारीता देशको दुखाईसँगै सति जान बाध्य भयो, त्यो समयको हार हाम्रो लागि वर्तमान सम्मै दिर्घव्यथा बनेर पटक–पटक बल्झि नै रहेको छ ।

भीमसेन थापा
आफ्नो प्रधानमन्त्रीकालमा थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरेको पाइन्छ । सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गर्नुका साथै विभिन्न समाजिक कुरीतिहरू हटाउने कार्यलाई विषेश महत्व दिएका उनले सार्वजनिक प्रशासनमा सुधारहरूसँगै नवनिर्माणका धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए ।

विसं १८९४ असार ५ गते भिमसेन थापाबाट फौजी तैनाथी खोसियो भने अर्को महिना उनलाई पदबाट हटाइएको थियो । थापालाई पदच्युत गरिएपछि पाँडे समूहका नाइके रणजंग पाँडेले मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न लागे ।

भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौँ यातना दिई थुनामा राखियो । वि.सं.१८७१ र ७२ मा अंग्रेजसँगको युद्धमा पराजित र १८७३ मा भएको सुगौली सन्धी पश्चात तथा १८९४ मा राजकुमार देवेन्द्रको हत्याको अभियोग तथा दरबारिया षड्यन्त्रले गर्दा आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६ मा आत्महत्या गरे । त्यो सपुत जो आफ्नो जीवनकालको अमुल्य समय राज्यको सेवामा कुर्बान गर्यो उही आफूमाथि भएको लज्जापुर्ण आरोपको लागि जीवन त्याग्न बाध्य भए । भीमसेन थापा प्रधानमन्त्री जंगबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए । आफ्नो हजुरबुबाको मृत्युको बदला उनले लिएर नेपालमा राणा शासनको सुरूवात गरेको भन्ने पनि भनाइ छ ।

मदन भण्डारी
बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीलाई एक लोकप्रीय नेताका रुपमा हेर्ने गरिन्छ । उनले प्रतिपादन गरेको सो सिद्धान्त कम्युनिष्ट वृत्तमा लोकप्रिय पनि मानिन्छ । आफ्नो छोटो जीवनकालमा आफ्ना धारणबाट जनता प्रभावित गर्न सक्ने कला भएका भण्डारी एक कुशल वक्ताका रुपमा चिनिन्छन् ।

बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । सिद्धान्तका निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त’ भन्ने धारणा बोकेका भण्डारी सिद्धान्तलाई व्यबहारमा जीवीत राख्नुपर्ने धारणाका हिमायती हुन् ।

कृष्णप्रसाद भट्टराई
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता उनमा थियो, बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए ।

पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो । यसबाट भट्टराई ज्यादै चिन्तित बने । पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे ।

२ खेमामा विभाजित नेपाली कांग्रेसलाई एकीकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए । पछिल्लो जीवनकालमा यी नै इमान्दारीता र स्वच्छ छवीका पछिल्लो समयका राजनैतीक पर्सनालिटी जीवनभरि रगत पसिनाले सिंचित पार्टीबाट बर्हिगमन हुनुपर्यो । जो पछिल्लो समयमा पार्टीप्रति यती उदासिन देखिए की कांग्रेस महाधिवेशनको आतिथ्यता समेत स्विकार गर्न चाहेनन् ।

यी त देखिएका प्रतिनिधी घटना हुन् गगनसिंह हत्यादेखि लक्ष्मीप्रसादको राँची यात्रा यही प्रवृत्तीको उपज हो । यस्ता थुप्रै घटनाहरु छन् जसले तत्कालिन समयमा इमान्दारीता र स्वाभिमानलाई असफल बनाउने प्रयत्नका लागि झुट र कपटलाई रोजेको पाइन्छ । अल्पकालमा सफल मानिएका षड्यन्त्रका ति प्रयासहरु समयसँगै तिरस्कारको शिकार बन्न पुगे । अझैँ पनि षड्यन्त्रको खोलभित्र लुकेर इमान्दारीताको शिकार गर्ने खेलहरु नभएका होईनन् । तर ति प्रयासहरु समयको चालसँगै नागिँदै जाने क्रम पनि रोकिएको छैन ।

इमान्दारीता र स्वाभिमानको वर्तमान हारे पनि विगत इतिहास बनेर हाम्रो अन्तरमनको गौरव बढाइरहनेछ । इतिहासदेखि षड्यन्त्रले निम्ताएका घटनाहरुले वर्तमान पछुताइरहेको छ । इमान्दार र स्वाभिमानहरुले केहि पल हार देखिएतापनि न इमान्दारीता हारेको छ न त स्वाभिमान ढलेको नै छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल