ओलीका समृद्धि सपना : कालो बादलभित्रको चाँदीको घेरा

-  |   नरेन्द्र चुदाली

ओलीका समृद्धि सपना : कालो बादलभित्रको चाँदीको घेरा

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शृङ्खलाबद्ध रूपमा विकास र समृद्धिका योजनाहरू सुनाइरहँदा ती योजनाको कार्यान्वयन र विश्वसनीयताका पक्ष र विपक्षमा देशभित्र अनेकौँ टिप्पणीहरू आइरहेका छन् ।narendra paudel

एकथरी तप्काले उनका योजना र लक्ष्यलाई हावादारी भन्दै आलोचना गरिरहेको छ भने अर्को तप्काले देश अब समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने भन्दै ती समृद्धिका सपनाहरूलाई उचित गन्तव्य दिनका लागि ओलीलाई दरिलो साथ दिनुपर्र्ने धारणा राख्दै आएको छ । तर यो यथार्थ हो कि ती दुवै पक्ष विकास र समृद्धिका लागि आतुर र भोका छन् । विषय यो मात्र हो विगत लामो समयदेखि नेपाली जनताहरूले देखेका विकास, समृद्धि अनि आर्थिक क्रान्तिका सपनाहरूलाई यथार्थतामा परिणत गर्न ओली र ओली जस्तै मूलधारमा रहेका अन्य राजनीतिक पात्रले सामार्थ राख्छन् कि राख्दैनन् ?
देश ओलीका समृद्धि सपनामा तर्क वितर्कमा बाँढिनुभन्दा पहिले हामीले देशमा वर्तमान राजनीतिक व्यावस्था ल्याउनका लागि विगतमा परिवर्तका लडाइँहरू लड्दाका क्षणमा केही राजनीतिक नेतृत्वबाट देखाइएका विकास र समृद्धिका सपनाहरूलाई फर्केर हेर्नैपर्छ । यहाँ देशलाई १० वर्षमै स्विजरल्यान्ड बनाउनेदेखि लिएर परिवर्तन र समृद्धिमा विश्वमै नम्बर एक बनाउने सपना देखाइयो । तर विकास र उन्नतीका लागि इमानदारिता देखाइएन । तर अहिले प्रधानमन्त्रीले देखाएका विकासका सपनाहरू माओवादीका स्विजरल्यान्ड सपनाभन्दा कम र यथार्थपरक छन् । ओलीले आफ्ना विकास योजना पूरा गरेरै छाड्ने उद्दघोष गरेका छन् । तर उनी टेस्ट हुन बाँकी नै छन् । यसमा हामीले पर्खनै पर्छ ।
समृद्धि सम्भव छ
समृद्ध नेपाल निर्माणका सपना सम्भव नहुने सपना पनि होइनन्् । भूगोलमा सानो भए पनि जलस्रोत खनिज, पर्यटन तथा अन्य थुपै्र स्रोत र साधनमा प्रचुर सम्भावना भएको सुन्दर देश नेपाल र जोस र जाँगरका पर्यायजस्तै रहेका नेपाली जनताको संंयोजनले नै यो देशको कायापलट गर्न काफी हुन्छ । देशमै उपलब्ध स्रोत र साधनको प्रयोग गरेरै नेपाललाई विकासका गतिमा हिँडाउन सम्भव छ । तर त्यसका लागि राजनीतिक नेतृत्वको वर्तमान कार्यशैली र मानसिकतामा भने व्यापक परिवर्तन हुनु जरुरी छ । नत्र भने देश यो अवस्थाबाट अगाडि बढ्न असम्भव हुन्छ ।
समृद्धिकै लागि लडाइँ
परिवर्तन र विकासका भोको रहेका नेपाली जनताहरूले राजनीतिक परिवर्तनपछि देशमा विकास सुशासन, सामाजिक न्याय, सशक्तीकरण र आर्थिक सम्पन्नताको कल्पना गर्दै विभिन्न राजनीतिक परिवर्तका आन्दोलनमा दलहरूलाई पटक पटक साथ दिँदै आए । जनताहरू ती परिवर्तनका मोर्चाहरूमा लाग्दै गर्दा नेपथ्यमा समृद्ध नेपाल हेर्ने र भावीपुस्तालाई उपहार स्वरूप आफ्ना अमूल्य उपलब्धि सुम्पने सपना प्रतिविम्बित थियो ।
तर विडम्बना जनताले देखेका सपना समुन्नतिका थिए भने जनताका ती सपनालाई यथार्थतामा रूपान्तरण गर्नुपर्ने जिम्मेवारी लिएका राजनीतिक नेतृत्वको कार्यशैली भने त्यस अनुरूपको भएन । जनताका उद्देश्य र नेतृत्वका कार्यहरूबीच तालमेल नभएकै कारण आज देश जस्ताको त्यस्तै अवस्थामा छ । हामीले देखेको सपना समृद्ध नेपालको भयो भने मूल राजनीतिक नेतृत्वको सपना भने समृद्ध पार्टी र समृद्ध नेता निर्माणको भयो । तर उनीहरूले के बुझेनन् भने समग्र देश समृद्ध भए मात्र उनीहरू पनि समृद्ध हुने हो भन्ने यथार्थता । देश र जनतालाई सधैँ पछाडि पारेर नेता र पार्टी अगाडि बढ्ने युगको अन्त्य त्यतिबेला नै हुनुपर्यो जतिबेला देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको शङ्खघोष भएको थियो । तर त्यसो हुन सकेन दलहरूले आफ्नो स्वार्थका लागि देशलाई बन्धक बनाउन पछाडि परेनन् ।
परिवर्तनपछि नेपालको राजनीतिक नेतृत्वले परिवर्तको संस्थागत गर्नको लागि जुन तदारूपता र लगाब देखाउनु पर्थ्यो, त्यसो हुन सकेन । दलहरू परिवर्तनलाई छिटोभन्दा छिटो संस्थागत गरी देशलाई आर्थिक विकासको मूलधारमा लैजानु पर्नेमा निहित दलगत स्वार्थमा लामो समय खेर फाल्नाले देशले ठूलो मूल्य चुकाउन पर्यो ।
समकालीन नेतामा ओली उपयुक्त पात्र
जनतालाई परिवर्तनका लडाइँमा अगाडि ल्याउनका निम्ति केही दलहरूले जस्तो किसिमको सपनाको ब्यापार गरेका थिए त्यसको तुलनामा त वर्तमान प्रधानमन्त्री केपी ओलीका विकास योजनाहरू एकदमै नगन्य र सामान्य आधारभूत सुरुवात मात्रै छन् । माओवादीहरूले देशलाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउँछौँ भनेर सपना बाढी पहिलो पार्टी भएर सरकारमा गएपछि के गरे भन्ने कुरा आउँछ ? हुन त सङ्क्रमणकालीन स्थितिमा ती सबै कुरा सम्भव नभए तापनि त्यसको निमित्त केही न केही सुरुवात हुनुपथ्र्यो । त्यो भएन । देशलाई स्विजरल्यान्ड बनाउँछाँै भनेर हिँड्ने अनि गरिब जनताका छोराछोरीका नाममा राजनीति गरेर क्यान्टलमेन्टबाट पैसा कुम्ल्याउने, प्रचण्ड बाबुरामहरूको कदभन्दा देशमा राष्ट्रियता संकटमा परेको बेला पनि जनताको शिर झुक्न नदिई जनतालाई विकासका लागि प्रेरित गर्ने केपी ओलीको कदलाई नै उँचो मान्नुपर्छ । देशमा रेल गुडाउने, पेट्रोल उत्खनन् गर्ने, ग्यास पाइप लाइन निर्माण गर्नेजस्ता ओलीका धेरै चाहनाहरू नेपाली जनताले पहिलेदेखि नै चाहेका विकासका प्रारूपहरू थिए । अझ समृद्ध देश नै हेर्ने जनताका चाहाना अगाडि यी कुरा त अपर्याप्त नै छन् । तर समकालीन नेताहरूभन्दा भिन्न किसिमले एउटा निराशाको बीचबाट पनि नेपाल अगाडि बढ्नुपर्छ भनेर प्रधानमन्त्रीले जनतालाई हौसला दिइरहेका छन् । त्यसको सम्मान गर्नै पर्छ ।
समृद्धिविनाको परिवर्तन नुनविनाको तरकारीजस्तो
हामीले प्राप्त गरेका यी उपलब्धिहरू आर्थिक विकासविना धेरै समय टिकाउनै गाह्रो हुन्छ । किनकि यी परिवर्तन ल्याउनुको अन्तिम सार भनेकै समृद्धि हो । अतः आर्थिक समृद्धिविनाका वर्तमान उपलब्धि भनेको नुन विनाको तरकारी जस्तै हुनेछ । जसरी नुन विनाको तरकारीमा त्यति इच्छा हुँदैन त्यसरी नै लामो समयसम्म समृद्धिविना नै यो राजनीतिक परिवर्तन कायम रह्यो भने त्यसमा जनताको अपनत्व र आकर्षण घट्दै जाने कुरालाई बिर्सनु हुँदैन । जसले परिवर्तनलाई कमजोर बनाउने छ । गरिबी र अभावको फाइदा उठाउँदै परिवर्तनविरोधी देशी विदेशी शक्तिहरूले चलखेल गरिराख्ने छन् । अतः परिवर्तनलाई दरिलो र परिपक्व बनाउने सूत्र नै आर्थिक उन्नति हो । यसमा केपी ओलीले गरेको सानो प्रयासलाई सकारात्मक रूपमा लिनै पर्छ ।
अविश्वास किन ?
आर्थिक समृद्धिकै लागि लामो समय लडेका जनताहरू ओलीका विकास योजनाबाट उत्साहित र विश्वस्त हुन नसक्नुको प्रमुख कारण नै दलहरूले देखाउँदै आएको कार्यशैली हो । विगतमा जनताहरूप्रति धेरै प्रतिबद्धता जनाउने अनि कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिकै कारण जनताहरूले ओलीका योजनाहरूमा पनि विश्वास गर्न नसकेको देखिन्छ । देशमा विकास र जनजिविकाको सबालमा संवेदनाहीन राजनीतिक चरित्रकै कारण नेताहरूले जनताको विश्वास गुमाउँदै गएका छन् । आफ्नै जनताको विश्वास लिन नसक्नुलाई उनीहरूको एक किसिमको राजनीतिक असफता नै मान्नुपर्छ । भूकम्प र नाकाबन्दीपछिको विशिष्ट परिस्थितिमा निर्माण भएको सरकारले जनताका आधारभूत सवालहरूको सम्बोधन गर्न नसकिरहेको बेलामा रेल र पानी जहाजका कुरा गर्दा जनतालाई अपत्यारिलो लाग्नु स्वभाविक हो । जेठ महिनासम्म भूकम्प पीडितहरूलाई कमसेकम पनि सामूहिक ओतको व्यवस्था गर्ने ओलीको सार्वजनिक प्रतिबद्धता असारलाग्दा समेत पूरा हुन सकेन । राहत तथा अनुदान वितरणका काम पनि प्रभावकारी बन्न सकिरहेका छैन्न । धेरै प्रतिबद्धता जनाए पनि काम नभएपछि जनतामा निराशा आउनुलाई अन्यथा लिन मिल्दैन ।
जनजीविका र वर्तमान आवश्यकताको सम्बोधन गर्दै देशलाई विकासको दिशामा लग्नु वर्तमान आवश्यकता हो । सडकमा परेको खाल्डोमा गिट्टी र बालुवा हाल्न नसक्ने सरकारले सडकमा रेलका लिक बिछ्याउला भनेर कसरी पत्याउने ? जनतालाई सुशासन दिन असफल सरकारले आर्थिक क्रन्तिका कुरा गर्नु तर्कसङ्गत हुँदैन । बर्षा लागेपछि विकासका काम गरेर जनतालाई सास्ती दिने सरकारी लाचारीपनालाई ओली सरकारले पनि सुधार गर्न सकेन । कससेकम पनि विकासका नाममा वर्षाको समयमा सडक नखनिदिएको भए जनतालाई सुविधा हुन्थ्यो । वर्षा लाग्नु अगावै काम सम्पन्न गर्न सक्नु पर्थ्यो । सामान्य ढङ्गले जनतालाई सुविधा दिने कुरामा त सरकार असफल छ भने अरू ठूला विकासका काम कसरी गर्न सक्छ भन्ने मात्र जनताको जायज सवाल हो । जनता त सधैँ विकास र समृद्धिकै पक्षमा छन् । विकास गर्नेलाई सदैव साथ दिन पनि तयार छन् ।
देश अब प्रयोगशाला बन्नु हुँदैन
विगत लामो समयदेखि हाम्रो देश कसैन कसैको प्रयोगशाला बनिराख्यो । कहिले विदेशी शक्तिकेन्द्रबाट त कहिले देशकै नेताबाट । नेताहरूले आफ्नो राजनीतिक करियर र व्यक्तिगत इगोकै लागि देशलाई बन्धक र गतिहीन बनाए । यही कारण नै हामी सधैँ पछाडि पर्न बाध्य भयौँ । तर अब यो देशलाई कसैको प्रयोगशाला हुनबाट बचाउनुपर्छ । विकासमा हामी धैरै पछाडि परिसकेका छौँ । त्यसैले अब हामिले सम्पूर्ण ध्यान तीव्र गतिको विकासमा लगाउनुको विकल्प छैन् । विकास र समृद्धिबाट नै हाम्रो राष्ट्रियता र प्राप्त उपलब्धिको रक्षा हुने कुरामा दुई मत छैन । प्रसिद्ध विद्वान चाणक्यले भनेजस्तै हामीसँग गल्ती गर्दै पाठ सिक्ने समय छैन किनकि अब हाम्रो पुस्ताको समय छोटो छ । यही छोटो समयमै समृद्ध नेपाल बनाएर अर्को पिढीलाई सुम्पनुपर्ने छ । त्यसैले यो समय गल्ती गर्दै पाठ सिक्ने होइन विगतका गल्तीबाट पाठ सिक्दै अगाडि बढ्ने हो । अबका हाम्रा योजना र रणनीतिहरू ‘सियोर सट’ हुनु आवश्यक छ, ताकि हामीले छोटो समयावधिमै देशको कायापलट गर्न सकौँ । जसका लागि नेपाली माटो सुहाउँदो विकासको रूपरेखा तयार गरिनु जरुरी छ । हामीले देशमा रहेको जलस्रोत, खनिज, जडीबुटी वन जङ्गल र हाम्रा जुझारु युवाशक्तिको सीप क्षमता र तागत लगाई देश निर्माणमा लगाउनु आवश्यक छ । आज हामै्र नेपाली युवाहरूको विरताले धेरै देशहरूको सार्वभौमिकता रक्षा भएको छ । हामै्र नेपाली छोराहरूको रगत र पसिनाले विश्वका देशहरू विकासको उचाइमा पुगेका छन् । आज हामै्र पाखुरहरूबाट कतारले विश्वकप आयोजनाको जग बनाउँदै छ भने हामी किन पछाडि ? अब हाम्रा पौरखी पाखुरा र ताता रगतहरू हाम्रै देशको समृद्धिमा प्रयोग गरिनुपर्छ । आज देशमा लगानीको वातावरण नहुँदा बजारमा तरलता छाएको छ । देशमा लगानीको वातावरण बनाएर लगानीयोग्य पुँजीलाई देश विकासमा परिचालन गर्नु अहिलेको आवश्यकता हो । हाम्रो उद्देश्यमा बाधक बन्ने जोसुकैलाई जनताले चिन्नु पर्छ । अब हाम्रा भावनामा खेलेर राजनीति गर्नेहरूलाई निस्तेज पार्नै पर्छ ।
आशावादी हुनुपर्छ
हुन त ओली सरकारका विकासका कुरालाई कसैले विरोध गरेको छैन । मात्र जनजीविकाका वर्तमान आवश्यतालाई सम्बोधन नगरी विकासका ठुला कुरा गर्नु जायज हँुदैन भन्ने कुरा मात्र हो । अर्को कुरा अहिलेनै ओलीको सफलता र असफलताको अनुमान गर्नु वास्तविकताभन्दा टाढा हुन्छ । तसर्थ ओलीलाई समय र साथ दिनु पहिलो आबस्यकता हो ।अनिमात्र उनको मूल्याङकन गर्नु उचित हुन्छ । पछिल्लो समयमा ओलीको राष्ट्रवादी छवि र विकासका भिजनहरूलाई विशेष गरी युवापुस्ताले खुलेरै समर्थन गरीरहेका छन् । निराशाका बीचमा पनि देशका युवाहरूमा आशाको किरण थप्न सक्नु ओलीको सफलता हो । एमाले बाहेकका युवा पङ्क्ती पनि ओलीलाई समर्थन गर्नुपर्छ भनेर सामाजिक सञ्जालहरूमा अभियान नै चलाए । माओवादीले सरकार ढाल्नै लाग्दा युवाहरूले माओवादीको चर्को विरोध गरी ओलीलाई समर्थन गर्न सामाजिक सञ्जालमा ‘आई एम विथ के पी ओली’ भन्ने नारा दिएर अभियान नै चलाए । त्यसमा यो आलेख लेख्दै गरेको युवा पात्र पनि सहभागी छ । जुन एमालेको कार्यकर्ता थिएन । युवाहरू दलगत राजनिती बाट माथि उठेर यसरी यथार्थतालाई समर्थन गर्नुलाई सकारात्मक सुरुवातको रूपमा लिन सकिन्छ । कावुल आक्रमणपछि सरकारले देखाएको संवेदनशीलतालाई उच्च सम्मान गर्नुपर्छ । त्यसको हरेक तप्काका युवाले प्रशंसा गरे । आफ्नो दलले कालोलाई सेतो हो भनेर उर्दी जारी गर्यो भने कालोलाई सेतो नै हो भनेर पछाडि दौडने युवा जमातले पछिल्लो समय देखाएको सन्तुलित व्यावहार नेपाली राजनीतीको शुभ सङ्केत हो ।
यदि साच्चिकै प्रतिबद्ध हुने हो भने ओलीले देखेको विकास सपना टाढाको होइन । यसमा चाहिन्छ त केवल दलहरूको जनता प्रतीको प्रतिबद्धता र उत्तरदायित्व । विकास र सुशासनको कार्यमा प्रतिबद्ध जुनसुकै दलको नेतृत्वलाई पनि साथ दिन युवाहरू तयार छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल