प्रचण्ड, बाबुराम र विप्लवसँग शहिद पुत्रको अपिल !

-  |   सुदन अधिकारी

प्रचण्ड, बाबुराम र विप्लवसँग शहिद पुत्रको अपिल !

sudan adhikariतत्कालिन सरकार प्रमुखलाई बुझाएको ४० बुँदे मागको उचित सम्बोधन नभएको भन्दै २०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्वको उद्घोष गर्यो । देशमा आमुल परिवर्तन ल्याउनका लागि भनेर सुरु भएको आन्दोलनमा १४ हजार बढी नेपाली आमाका सन्तानहरुले प्राणको आहुती दिए । कयौं बेपत्ता भए, अनि हजारौं अंगभंग भइ अहिले नरकिय जीवन बिताउन विवस छन् । समाजमा चल्दै आएको शोषण, दमन, उत्पिडनका विरुद्धमा अनि जनताको शासन स्थापनाका लागि भन्दै माओवादीले जनतालाई युद्वमा होमिन प्रेरित गर्यो । फलस्वरुप, बर्षौंदेखि अन्यायमा पारिएको महसुस गर्दै आएका वर्गको उत्साहजनक सहभागिता अनि लाखौं नेपालीको सद्भावमा माओवादी आन्दोलनले एक उचाइ लियो ।

विभिन्न आरोह अबरोहका बीच अन्तत, आन्दोलनले आधा शताब्दी अघिदेखिको नेपाली जनताको चाहना संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र मात्र संथागत गरेन, आफ्नो संविघान आफैं लेख्ने नेपाली जनताको सपनाले पनि र्मुत रुप लियो । दश बर्ष चलेको जनयुद्धले समाजमा अनेकौं क्रान्ती गर्यो । महिलालाई अन्यायका विरुद्ध लड्न सिकायो, उत्पिडनमा परेको जातलाई अधिकार माग्न सिकायो, अनि यो देश सबैको साझा बन्न सन्नुपर्छ, भनेर निरन्तर आवाज बुलन्द पारिरह्यो । भलै सिमित सुकुला मुकिलाहरु सधैं जनताको आन्दोलनको विपक्षमा रहिरहे ।

सबैभन्दा महत्वपूर्ण कुरा, जनयुद्धले सत्यको पक्षमा अबिचलित भई आवाज उठाउन प्रेरणा दिइरह्यो ।

जनयुद्व सुरु गर्दा केबल औंलामा गन्न सकिने व्यक्तिको मात्र सहभागिता थियो । तर जनताको माग उठाएकै कारण ‘दिन दुई गुना रात चार गुना’को दरले सहभागिता बढ्न गइ फलस्वरुप, नेपालको आधा बढी भूभागमा आफ्नो हैकम चलाएको थियो । युद्धको बेलामा भौतिक सुखसयलको कुनै पर्वाह नगरि केबल जनताको अधिकार प्राप्तीका लागि लडेको पार्टी शान्ती सम्झौता भएको दशक पुग्दा–नपुग्दै कयौं चिरामा विभाजित भए ।

नेतृत्वको एक आदेशमा मर्न मार्न तयार हुनेहरु संसदीय राजनीतिमा आएपछि त्यहि नेत्तृवलाई दलाल, अवसरवादी र संसोधनवादी जस्ता शब्दले पुर्कान थाले । सरकारसँग भएको विस्तृत शान्ती सम्झौताको हिस्सा लिन पार्टीभित्रका केहि व्यक्तिले अघोषित रुपमा इन्कार गरे, जसको कारण उनीहरुको भाषामा ‘फोहोरी खेल’ भनिने संसदीय व्यवस्थालाई अपनत्व महसुस गर्न कहिल्यै सकेनन् । सत्तामा पुग्ने बित्तिकै माओवादीहरु भोकाएको बाघझैं गरि आफू, आफ्ना परिवार र सिमित व्यक्तिको स्वार्थपूर्तीमा यति बिग्न तल्लिन भए कि यिनले आफ्नो धरातलीय यथार्य नै भुल्न पुगे । आफ्नो विगत कोट्याउनै चाहेनन् अनि जसको बुइ चढेर सत्तामा पुगे, उनीहरुका लागि कहिल्यै काम गरेरन् ।

माओवादी पार्टीभित्र क्रमश विचारको बहसलाई व्यक्तित्वको लडाईंले विस्थापित गर्यो । गौरवमय अतितलाई पदको झगडाले ओझेल पारिरह्यो । पहिलो संविधानसभामा अभितपूर्व जीत हासिल गरेको पार्टी यिनै कारणले दोस्रो संविधानसभाको चुनावमा लज्जास्पद हार बेहोर्न बाध्य भयो । दश बर्षे जनयुद्धको बलमा हासिल भएका तमाम उपलब्धीहरु जनताबाट खोसिने सम्भावना बढेर गयो ।

माओवादीको जनतामा प्रभाव बिस्तारै कम हुन थालेको महसुस चिरा–चिरामा विभाजित माओवादीले महसुस गर्न थाले । आफैं सरकारको महत्वपूर्ण हिस्सा ओघटिरहेको अवस्थामा आफ्नै पार्टीका कार्यकर्तालाई जनयुद्धमा घटेको घटनामा दोषी करार गरि जेल पठाउनेसम्मको दुस्प्रयास भइसकेपछि एक हुनैपर्ने महसुस गर्न थाले । विभिन्न चरणको कयौं छलफलपछि अन्ततः जनयुद्धका धेरै हिमायतीहरु अहिले नेकपा माओवादी केन्द्र नामक पार्टीमा गोलबन्द भएका छन् जुन प्रसंशयोग्य छ ।

prachanda-baburam-biplab
उता, जनयुद्धका जनसरकारप्रमुख रहेका बाबुराम भट्टराई आफ्नै रगत, पसिनाले सिर्जित तीन दशक बढी बिताएको पार्टीबाट अबको कार्यभार पुरा हुन नसक्ने भन्दै कम्युनिष्ट विचार समेत त्यागेर नयाँ शक्ति नेपाल नामक पार्टी स्थापना गरि यसको स्थापना दिवस मनाउने अन्तिम तयारी गर्दै छन् । जनयुुद्वका योजनाकार, अधिकांश आक्रमणका नेतृत्वकर्ता अनि सरकारसँगको वार्ता टोलीको प्रमुख रहेका व्यक्ति दोस्रो संविधानसभामा पार्टीको पराजयसँगै माओवादी पार्टी नयाँ बन्नुपर्ने नत्र बैकल्पिक शक्ति उदय निश्चित रहेको भन्दै पार्टीभित्र बहस सुरु गरेका थिए । तर, आफैं महत्वपूर्ण भूमिकामा रहि बनाएको संविधान जारी भएसँगै उनले माओवादी पार्टीसँग सम्बन्धबिच्छेद गरि आर्थिक क्रान्तिका लागि भन्दै नयाँ पार्टी बनाउन उद्यम भए । मनन योग्य कुरा के छ भने, बाबुरामको यो पार्टीमा पहिला आफैंले बर्गदुस्मन भनेका अनि सुकिलामुकिला भनेर प्रचार गरिएका तहका व्यक्तिको वर्चस्व छ । अर्थात, बाबुरामले अहिले त्यी वर्गका व्यक्तिलाई साथमा लिएर हिँडेका छन् जो माउ पार्टीमा हुँदासम्म बाबुरामले सधैं भन्ने गरेको ‘जनतामा’ कहिल्यै परेनन् ।

अर्कोतर्फ, संसदीय व्यवस्थामा मूल नेतृत्व फसेको र आफैंले भन्ने गरेको ‘खसीको टाउको देखाएर राँगाको मासु बेच्ने ठाँउ’ मा रमाइरहेको भन्दै यूवा जोसले भरिपूर्ण र क्रान्तिका बाँकी अभिभारा पुरा गर्न अझैं अर्को युद्धको जरुरत देख्ने जनयुद्धका एक सफल कमाण्डर नेत्र विक्रम चन्द ‘विप्लव’ यहि बाटोमा अग्रसर छन् । जनयुद्धले देखाएका सपनाहरु पुरा नभएको भन्नेहरु अनि अयोग्य र बहिगर्मित कतिपय लडाकुहरुले उनलाई गतिलै ढाड्स दिइरहेका छन् ।

सबैभन्दा दुखको कुरा, नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोहर मोहन वैद्य जीवनको उत्तराद्र्धमा स्पष्ट निति र कार्यदिशा अबलम्बन गर्न नसक्दा मोहनविक्रमको पथमा अग्रसर छन् जुन सम्पूर्ण माओवादीका निम्ती दुखत विषय हुने निश्चित छ ।

जनयुद्ध सुरु गर्दा एउटै सपना देख्नेहरु, एकै प्रकारका यातना सहनेहरु अनि लगभग समान पुष्ठभूमिबाट आएका यिनीहरु शान्ती सम्झौता भएको एक दशक नबित्दै किन छिन्नभिन्न भए ? यिनले देख्ने सपनामा किन गहिरो फरक पर्न गयो ? नेतृत्वको एक आदेशमा मर्न मार्न तयार हुनेहरु अहिले त्यहि नेतृत्वलाई किन दक्षिणपन्थी, नवसंशोधनवादी, गद्दार, दलाल अनि कसैको एजेन्टजस्ता संगिन आरोप लगाउन बाध्य भए ? को सही को गलत ? गौरवशाली भनिएको पार्टीद्वारा गरिएको दश बर्षे जनयुद्वमा बुबा गुमाएको र माओवादी घटनाक्रमलाई नियाइरहेको एक शहिदको छोरा हुनुको नाताले मैले आफ्ना कुरा राख्ने जमर्को गरेको छु ।

प्रचण्डका जिम्मेवारी
जनयुद्वको प्रमुख कमण्डर भएको हिसाबले सम्पूर्ण घटनाको जिम्मेवारी प्रचण्डले लिने कुरा स्वभाविक हो । तर, सबैको आआफ्नो ठाउँमा आइपर्ने जस अपजस लिनु पर्दछ । शान्ती प्रकियामा आएपछि प्रचण्डको भयानक गल्ती भनेको अति महत्वकांक्षा, दुरदर्शिताको कमि, व्यक्तिगत स्वार्थमा लिप्त र आफ्नो धरातल भुल्नु रह्यो । व्यक्तिगत हितलाई तिलाज्जली दिएर समग्र देश र जनताका उत्थानमा लाग्ने प्रण गरेको व्यक्ति आफ्नै वरपरको भूमरीमा नराम्ररी फसे (वा फसाइयो) । निकै ढिला गल्ती महसुस गरि सुधार्न तम्सिएका उनी अझै संघर्षरत छन् तर उनमा सुधार हुने सम्भावना निकै न्युन छ, तर नसुध्रिकन अर्को विकल्प यिनीसँग छैन् पनि । किनकी यिनले बाँडेको सपनामा हजारौंले सहादत प्रात्त गरे । हजारौं घाइते भए, अनि सयौं बेपत्ता बनाइए । बेपत्ता र शहिद भएका सपुतसँगै तिनमा आस्रित लाखौंको बिचल्ली भएको छ ।

prachanda
आफ्नै आँखा अगाडि निर्दोश आफन्त गुमाउनुपर्दाको पीडाले हजारौंको मन तड्पिरहेको छ । त्यसकारण, प्रचण्डका अगाडि आफूले देखाएको बाटो हिँड्दा ज्यान गुमाएका सपुतको सपना पुरा गर्नुबाहेक अर्को विकल्प छैन र हुनुहुन्न पनि !

एकदिन माओवादीको केन्द्रिय समितीको बैठक सकिएपछि प्रचण्डसँग एकै सासमा मैले भने, ‘तपाईंले आजसम्म जायज÷नाजायज कामका लागि धेरैलाई समय दिनुभएको छ, म जनयुद्वको शहिद माधव अधिकारीको छोरा, मलाइ दुई मिनेटको समय दिनोस् न ।’ प्रचण्डले मलाइ गडीभित्र बसाएर कुरा सुन्दै हुनुहुन्थो, बीचैमा गोरखा घर भएका उनका तत्कालिन स्वकिय सचिव चुडामणि खड्का बिचैमा बोले, ‘ए गोरखाकै बाबु पो रहेछौ, मलाइ पछि फोन गर्नु, अहिले जाउ’ । पछि मैले फोन गर्दा उनले सधैं पछि गर्नु भन्ने वा परिचय दिने बित्तिकै फोन काटिदिने गरे ।

प्रचण्डसँग कुरा राख्दा बीचमा नै अवरोध गर्ने र सहिद, बेपत्ता र कार्यकर्ताबाट प्रचण्डलाई टाढा राख्ने काम यिनै आसेपासेले गर्छन् भन्ने धरै युद्वकालिन कार्यकर्ताको भनाइमा मैले सत्यता भेटें ।

केहीदिन अगाडि प्रचण्डले उद्घोष गरे, ‘हामी धेरै बिग्रिसक्यौं । बास्तविक माओवादी कार्यकर्ता र शुभचिन्तकसँग हाम्रो सम्बन्ध टुटिसक्यो, अब जहाँ गएर कार्यक्रम गर्दापनि पहिला त्यो क्षेत्रको शहिद, बेपत्ता र घाइतेसँग भेटघाट गरि उनीहरुको पीडामा मल्हम लगाउन कोसिस गरिनेछ ।’ उनले यो भनेको केहि दिनपछि आफ्नो निर्वाचन क्षेत्र पुगेका हितराज पाण्डे बाटोमूनि पर्ने हाम्रो घर पस्नु त परको कुरा, कार्यक्रमको कुनै जानकारी सम्म पनि पाएनौं हामी शहिद परिवारले । अब तपाईं आफैँ भन्नोस् प्रचण्ड, एक नम्बरको पार्टी बनाउने तपाईंको उद्घोषले कसरी पुरा हुन्छ यो पाराले ?

शहिद, बेपत्ता र गरिबका कुरा सुन्न नचाहने, तिनको अवस्था नबुझ्ने हो भने तपाईं कसको बुइ चढेर एक नम्बरको पार्टी बनाउने कुरा गर्दै हुनुहुन्छ ?

अझैपनि वरिपरिको भूमरिबाट निस्केर शहिद बेपत्ताको आँगनमा पुग्न ढिला गर्नुभयो भने, उनीहरुको पिरमर्कामा साथ दिनुभएन भने पहिलो पार्टी बनाउने तपाईंको चाहना दिवास्पना बन्ने निश्चित छ । इतिहासको कठघरामा एक खलनायकको रुपमा चित्रण हुन् । एक शहिदको छोराको नाताले म चाहन्छु, इतिहासमा तपाईं राष्ट्रनेताको रुपमा चित्रित हुनुहोस् ।

बाबुरामको गैर–जिम्मेवारीपना
नयाँ शक्ति नामक दलको संघठन विस्तारको क्रममा चितवन आइपुगेका बाबुराम भट्टराइसँग प्रश्नोत्तर कार्यक्रम गरिएको थियो । मैले कापीमा प्रश्न लेखेर बाबुरामकोमा पुर्याएँ । सोधेको थिएँ,

baburam Bhattarai
· जनयुद्वको बेलामा जनसरकारप्रमुख समेत रहनुभएको तपाईं अचानक पार्टी परित्याग गर्दा शहिद, बेपत्ताको अपमान भएन ?

· दसौं हजारको रगतले सिञ्चित यो पार्टी कहिल्यै फुट्ने छैन भनेर खाएको कसम कहाँ गयो ?

· बुर्जुवा शिक्षालाई बहिस्कार गर्नुपर्छ भनेर कापी कलम समाउने कलिला हातलाई बन्दुक समाउन उक्साइरहँदा आफ्नी छोरीलाई विदेश पढ्न पठाएर दोहारो चरित्र किन देखाउनुभयो ?

· आफैंले तत्कालिन सरकारलाई बुझाएको ४० बुँदे कार्यन्वयनमा प्रधानमन्त्री हुदाँ बखत पनि तत्परता नदेखाउनुभएको तपाईंको अतितले झस्काइरहँदा अब फेरि तपाईंको नेतृत्वमा देशमा आर्थिक क्रान्ति सम्भव छ भनेर कसरी विश्वास गर्ने ?

· लुगा फेरेको भन्दा छिटो बिचार फेर्न माहिर तपाईंले जनयुद्वको शहिद छोरो मलाई भनिदिनोस्, के जनयुद्ध गलत थियो ?

बाबुरामको नजिकै बसेको हुनाले मैले मेरो प्रश्न उनको हातमा आएको देखिँहालेँ ।

जनयुद्वको बेलामा ……..
ठूलो स्वरमा पढिरहेका बाबुराम पढ्दै गर्दा अचानक रोकिए, अनि मनमनै पढ्न थाले । अनि भने, यहाँ सोधिएको प्रश्नको जवाफ मैले पहिल्यै भनिसकेँ । जबकी मेरो प्रश्नजस्तो प्रश्न त्यहाँ सोधिएकै थिएन ।

यस घटनाबाटै पुष्टि हुन्छ बाबुरामको गैरजिम्मेवारीको पराकाष्ट ।

पार्टी छोड्नु अगाडि एउटा समस्या लिएर बाबुराम निवास जाँदा बाबुराम भर्खर प्रचण्डलाई भेटेर आएका रहेछन् ।

‘हुदाँहुँदै प्रकाशले समेत हेप्न थाल्यो, हामीलाई । त्यसलाई किन बीचमा बोल्नुपर्ने ? २५ बर्षसम्म सहियो, अब सहन सकिन्न’ । यति भनेर बाबुराम रोकिए ।

बुझ्दै जाँदा भएको के रहेछ भने, प्रचण्डसँग कुराकानी हुँदा बीचमा प्रकाश दाहालले अनावश्यक बोलेर बखेडा झिकेका रहेछन् ।

दोस्रो संविधानसभामा गोरखामा विजय हासिल गरेपछि बाबुरामले एक होटेलमा पार्टीको व्यवस्था मिलाएका थिए । खाना खाएपछि उनले आफूपक्षिय कार्यकर्ताको छुट्टै भेला आयोजना गरि भनेका थिए, ‘चुनावमा हारका बाबजुत पनि हामी हाम्रो एजेण्डा कमजोर भएको महसुस गरेका छैनौं, जनताको मागहरु सधैं माओवादीसँग हुनेछ ।’ अहिले मलाई बाबुरामका ती भनाई सम्झेर हाँसो उठिरहेछ । अनि अचम्म लागेको छ, एक बर्षअगाडि त्यस्तो माया भएकोे पार्र्टी अहिले आएर उनलाई किन भत्केको घर भयो ? २५ बर्षसँगै बिताएका नेतालाई आज अकस्मात उनले मुर्ख भए, किन निकम्मा भए ?

यी घटनाहरुबाट पनि स्पष्ट हुन्छ, बाबुरामको पार्टी त्याग पार्टीमा कम भाग पाएको कुण्ठा हो, नेतृत्वमा पुग्न नदिने देखेपछिको वैल्कपिक बाटो हो अनि वर्तमान नेतृत्वसँग निराश देखिएका युवाको मनोविज्ञानलाई नयाँ नारा दिएर समाउन सकिन्छ कि भन्ने उनमा रहेको आत्मविश्वास हो । तर जनयुद्वदेखि मुलुकको सर्र्वोेच्च पदमा पुग्दासम्म नजिकबाट नियालिरहेको हामीजस्ता यूवाले फरि अर्को शंकाको सुविधा दिनुअघि कयौं पटक सोच्नेछौं र सम्पूर्णले सोच्नुपर्नेछ ।

भिन्न–भिन्न पुष्ठभूमिबाट आएका बीचमा निकट भबिष्यमा देखिने व्यक्तित्वको टकराब र एक अर्काको अस्तित्व स्विकार गर्न नचाहने प्रवृतिले यस पार्टीमा उथलपुथल ल्याउने निश्चित छ ।

तर, गोरखाको छोरो अनि जनयुद्धको पीडित भएको हिसाबले मेरो कामना छ, तपाईंले देख्नुभएको सपना पुरा गर्ने बाटोमा लाग्नोस् । मेरो शुभकामना ।

विप्लवको आत्मविश्वास
शान्तीसम्झौतामार्फत संसदीय राजनीतिमा आएपनि विप्लवले निरन्तर विद्रोहको कार्यदिशालाई आफ्नो मूल मन्त्र बनाइरहे । फलस्वरुप, अहिले उनी नेतृत्वको जनयुद्व लडेको एक समूह हिंसाको बाटो अगाल्न व्यस्त छन् र आफ्नो उपस्थिति देखाइरहेको छन् ।

देशको विभिन्न ठाउँमा भ्रष्ट भनि सरकारी अधिकारीलाई कालोमोसो दलेर वा विभिन्न वाहनामा काम ढिला गरेको भन्दै विभिन्न समूहको सवारी सधानमा तोडफोड र आगजानी गर्ने कार्यलाई तिब्रता दिइरहेका छन् । राज्यको गैर–जीम्मेवारी र कमजोर प्रशासन भएको ठाँउमा यी र यस्ता कार्य भइरहनेछन् अनि बहुसंख्यक जनताको समर्थन पाइरहन्छन् । तर विभिन्न बाहनामा यस पार्टीले गरिरहेको बन्दले गरिखाने वर्गलाई असर गर्ने हुँदा बन्द स्वयम् पार्र्टीका लागि आत्मघाती कदम हुने निश्चित छ ।

biplab dauter wedding (8)
केहि दिनअघि, हजारौं जनतालाई खुल्लामन्च उतारेर विप्लवले भनेका थिए,

‘आफूलाई माओवादी हौँ भन्नेहरुले शहिद बेपत्तालाई किनबेच गरेका छन् । नेपालमा सामन्तहरु, पँंजीपतिहरु र दलालको राज्यसत्तालाई अन्त्य गरि नौजवानको भबिष्य सुनिश्चित गर्ने, उज्वल, स्वाधिन र स्वाभिमान नेपाल बनाउने लक्ष्य पूरा नभएसम्म लडिरहनेछौं ।’

उनले थपेका छन्, ‘विगतको गल्तीका कारण कतिपय शहिद, बेपत्ता र घाइतेलाइ अब पनि धोका हुन्छ कि भन्ने चिन्ता छ । म भन्छु, तपाईंहरुलाई शंका लाग्दासम्म औँला उठाइरहनोस्, जुन दिन चित्त बुझ्छ त्यहि दिनमा समर्थन गर्नोस् ।’

हो विप्लव, मलाइ गहिरो शंका छ, नेपालजस्तो देशले अर्को क्रान्ति थेग्न सक्छ भन्नेमा ।

मलाइ लाग्छ, अबको हाम्रो बाटो भनेको अहिलेसम्म हासिल भएका उपलब्धिको अपनत्व महसुस गरि देश, जनता, राष्ट्रियता, सार्भभौमसत्ता जोगाइ आर्थिक क्रान्तिमा अग्रसर हुनु हुनुपर्नेछ । इतिहासको कयौं कालखण्डमा परिवर्तनका लागि सहादत प्रात्त गरेका सन्तानको पीडा देख्दा र ७ बर्षको उमेरमा बुबाको अनुहारसमेत नचिन्दै गुमाउनुपर्दाको मेरो आफ्नै व्यथा देखेर अन्तरआत्मा भन्छ, ‘अब जनता–जनता भिडाउने काम बन्द गरिदेउ । गरिब महिलाको सिन्दुर पुछेर आफ्नो सपना पूरा गर्ने बाटो नदेख । कोहि व्यक्ति बिशेषलाई सत्तामा पुर्याउनकै लागि सानो दुधे बालकलाई जीन्दगीभर टुहुरो नबनाइदेउ ।’

फेरी पनि विप्लवले भनेजस्तै, मेरो अत्तरआत्माको यो आवाजले शंका लाग्दासम्म औंला उठाइरहनेछु र चित्त बुझेको दिन समर्थन गर्नेछु ।

बुबाले दखेको सपना पुरा नभइरहेको अवस्थामा विप्लवले फेरी देखाएका तिनै पुराना सपनाहरुलाई पुरा गर्न आफ्नो चेतनाले दिएको अवसरलाई अवश्य सदुपयोग गर्नेछु ।

अत, अहिले छिन्नभिन्न भएका कसैले पनि जनयुद्व गर्दैगर्दा देखाएका सपना पुरा गर्न नसकेको, तर शहिद परिवारको सदस्य हुनुको नाताले मेरो अुनुरोध छ, ‘सबै एक हुनुनै आजको उत्तम विकल्प हो तर यसो हुन नसके एकअर्कालाइ हिलो छेप्ने प्रवृति बन्द गर्नोस् नत्र छ्यापिएको हिलो आफैँलाई पर्ने सम्भावना हुन्छ ।’

तपाईंहरुले देख्नुभएको सपना पुरा होस् । आखिर जति गाली गरेपनि हाम्रो अभिभावक तपाईंहरु नै हो । शहिद परिवारको अन्तिम भरोसा तपाईंहरु नै हो ।

सुदन अधिकारी
हँसपुर, गोरखा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल