कुश्मा नगरपालिका सरसफाईको रजतजयन्ती

=  |   विशन क्षेत्री

कुश्मा नगरपालिका सरसफाईको रजतजयन्ती

सरसफाईको २५ औँ हप्ता अन्तर्गत बिहिबार कुश्मा बजारमा हजारौँको संख्यामा मानवसाङ्लो प्रदर्शन गरिएको छ । ‘सफा सहर, समृद्ध कुश्मा नगर’ नाराका साथ कात्तिक दोश्रो हप्तादेखि सुरु भएको सरसफाई अभियानले बिहिबार रजतजयन्ती मनाउँदा झन्डै तीन हजारको संख्यामा मानिसहरु सडकमा उत्रिएर अभियान सार्थक भएकोमा खुसी व्यक्त गरे ।kushma1
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल पर्वतको आएको केही हप्तामा नै सुरु गरिएको नगरपालिका सरसफाई अभियान अहिलेसम्म आउँदा सफा र राम्रा देखिएका छन् । नगर क्षेत्र भित्रका सार्वजनिक स्थल, धार्मिक स्थल, सडक, चोकहरु अहिले अन्य जिल्लाको तुलनामा नमुना देखिएका छन् ।
सानो कुश्मा बजारमा देखिएको ठुलो फोहोरको थुप्रो र नालीमा हातै हालेर सरसफाईको अभियानमा होमिएका ढकाललाई सरकारी कर्मचारीको अलवा सुरक्षाकर्मी, स्थानीय आमा समूह, युवा क्लव, राजनीतिक दल, बुद्धिजिवी सबैले घर टोल सफा गरेर साथ दिए । परिणाम २५ औँ हप्तामा आईपुग्दा कुश्मा बजार नमुनाको रुपमा देखिन सफल भएको छ ।
बढि व्यस्त र फोहोर देखिने शिवालय चोकमा अहिले यात्रुहरुले फोहोर फाल्नको लागि स्थानीय क्लव, संघसंस्थाले सहयोग गरेका डस्बिनको प्रयोग गर्छन, भने नगरपालिकाले समयमै फोहोरलाई उठाएर लैजाने गर्दछ । यद्यपी हालसम्म डम्पिङ्ग साईड निर्माण भईनसकेको अवस्थामा नगरपालिकाले मानवबस्ती भन्दा टाढा लगेर फोहोर विसर्जन गर्ने गरेको छ ।
सुदुर दक्षिण देखि उत्तरी गाविसबाट प्रशासनिक काममा आउने सर्वसाधारणले पनि सरसफाई सभ्यताको प्रतीक हो भन्ने बुझिसकेका छन्, प्रत्येक घर, चोक, गल्ली, बिजुलीका पोलमा फोहोर व्यवस्थापनको लागि डस्बिन राखिएको छ । समयसमयमा विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुले सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गरि मानिसलाई सूचित गरिरहेका छन् ।
जसको परिणाम अहिले कुश्मा बजार सफा छ । आन्तरिक तथा बाह्य पर्यटकको आँखामा पनि सफा सहरको भान परेको छ ।
सोलुखुम्बुमा २८ हप्ता सरसफाई अभियान चलाएर प्रमुख जिल्ला अधिकारीको रुपमा पर्वत भित्रिएका ढकालले सदरमुकामलाई सफा राख्नुमा रोल मोडलको काम गरे । उनको अभियानलाई हजारौँ कुश्मावासीले सकारात्मक रुपमा लिएर अभियान सफल भयो ।
मानिसहरुमा चेतना जागेर अभियानले मूर्तरुप लियो, यसअघि पनि सरसफाईको नेतृत्व लिने अभियन्ता, क्लवहरुले ढकालको अभियानमा सहकार्य गरे, मानिसहरुमा जनचेतना जगाउँदै अभियानमा संलग्न हुन आह्वान गरे । फलतः कुश्मा बजार सुन्दर नगरीमा परिणत भयो ।
२०५९ सालदेखि सफा कुश्मा अभियान चलाएका ७३ वर्षीय वृद्ध अभियन्ता खडानन्द आचार्य आफ्नो लक्ष्य पुरा भएकोमा खुसी भए, नागरिक अभिनन्दनले उनलाई सम्मान गरियो ।
सफा कुश्मा बजारले वरिपरिका जिल्ला सदरमुकाममा प्रभाव पार्ने निश्चित छ । छिमेकी जिल्ला बाग्लुङ्ग र म्याग्दी सदरमुकाम बेनीमा पनि यो अभियान चालिनु जरुरी छ । त्यसो गर्न सकेमा धौलागिरीका सहरलाई नै सुन्दर नगरीमा परिणत गर्न सकिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल