अनिल पाण्डेलाई मन्डले भन्ने ?

-  |   अनिल पाण्डे

अनिल पाण्डेलाई मन्डले भन्ने ?

anil pathak‘म’ शब्दको प्रयोग प्रिय हुँदैन । किनभने यस शब्दको प्रयोग बोलेर गरियोस् वा लेखेर, यसबाट घमन्ड र अभिमान झल्किन्छ, जो यस पंक्तिकारलाई पनि मन पर्दैन । तर गएको साता यसको नाम केही सञ्चारमाध्यमले निकै उछाले र ‘म’ भन्न बाध्य पारे । नेपाल–अमेरिका पत्रकार संघको हालै सम्पन्न महाधिवेशनमा यसको सहभागितालाई लिएर केही साथीलाई ज्वरो आयो । तापमान बढाएर बसेका साथीको निधार छाम्दा थाहा भयो, उनीहरूलाई निर्वाचनमा पराजित हुनुपरेकोमा ठूलो आक्रोश रहेछ । आक्रोशका बेला नजिकैको भित्तामा हात बजारेर भए पनि सन्तोष मान्ने सिलसिलामा यस पंक्तिकारको टाउकोमा उनीहरूको हात बजारिएको पाइयो ।

अनिल पाण्डेले कसैलाई जिताउन वा हराउन खासै केही नगरेको अवस्थामा पनि यसलाई साथीहरूले सक्षम देख्नु यसको भाग्य पनि हो । निर्वाचनमा कसैको पराजय नभई कसैको विजय सम्भव थिएन । सनफ्रासिस्को बेएरिया क्षेत्रका लागि अवैतनिक पर्यटन दूत भएका कारण यसले निकै भोट तानेको हुनुपर्छ भन्ने अनुमानमा उनीहरूले बोल्दाबोल्दैको माइक खोसेको, साइँली औँला उठाएर बोलेको र कुर्सी छाडेर जुरुकजुरुक उफ्रेको आदि विस्तारित विवरण छापे । यथार्थ त्यसअनुसार थिएन तर उनीहरूले लेखेको विस्तारित विवरण हेर्दा होइन भन्न कसैलाई पनि सहज थिएन । साथीहरूले निकै मेहनतसाथ पंक्तिकारलाई गाली गरेर समाचार बनाए ।

यसलाई गाली गर्दा उनीहरूले जे–जति विशेषण गरेका छन्, त्यसमा यो यतिखेर धेरै भन्न चाहँदैन । तर, अनिल पाण्डे पत्रकार होइन भनेर जसरी दाबी गरे, त्यसलाई हेर्दाचाहिँ यसको चित्त दुख्यो । यसको चित्त दुखाउनु नै उनीहरूको सफलता हो भने उनीहरू सफल भए । तर, जब पाठकले अनिल पाण्डे ढिलोमा पनि पाक्षिकस्तरमा लेखसम्म त लेख्ने गर्छ र स्तम्भकारलाई पनि पत्रकार मान्ने गरिन्छ भन्ने सत्य बुझेपछि भने ज्वरो पालेर बसेका साथीलाई टाइफाइड नहुने कुरै छैन । लेखका अतिरिक्त अमेरिकामा आफ्नै मिडिया चलाएर बसेको व्यक्तिलाई समेत पत्रकार नदेख्ने मित्रहरूको आँखामा रतन्धो भने आएकै हो ।

पत्रकार को हो र को होइन भन्ने सम्बन्धमा विश्वका विभिन्न मुलुकमा विवाद छ । कतै लेखकलाई पनि पत्रकार मानिन्छ भने कतै मानिन्न तर स्तम्भकार अर्थात् नियमित अखबारमा लेख लेख्ने व्यक्तिलाई पत्रकार होइन भनेको देखिँदैन । नेपालमा पनि सूचना विभागमा स्वतन्त्र पत्रकारले परिचयपत्र बनाउन जाने हो भने कम्तीमा वर्षको एक थानका दरले कुनै अखबार वा अनलाइन न्युज पोर्टलमा लेख, आलेख, टिप्पणी छापिएको प्रमाणित कपी देखाऊ भन्छ । अर्थात् हाम्रो जन्मभूमिले पनि लेखक, स्तम्भकारलाई पत्रकारको श्रेणीमा राखेको त छ नै साथमा उसलाई प्रमाणपत्र दिँदा उसको नाममा प्रकाशित सामग्री प्रमाणका लागि आधारका रूपमा पनि लिने गरेको छ । अर्थात् स्वतन्त्र पत्रकार हुँ भन्ने कसैको दाबी प्रमाणित गर्ने एक्लो आधार उसको लेख वा बाइलाइनमा प्रकाशित सामग्रीलाई मानिन्छ । तर, त्यही नियम बनाउने सूचना विभागसँगै कार्यालय भएका अर्थात् नेपाल पत्रकार महासंघ अध्यक्ष डा. महेन्द्र विष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी भएको अनिल पाण्डेलाई गैरपत्रकार देख्नु र अमेरिकामा आएर बसेका रामबहादुर र सीतादेवीहरूलाई गैरनेपाली देख्नुमा के फरक छ ? जसरी नेपालमै बसेका नेपालीले मात्र नेपाल बनाउन सक्तैनन्, बिदेसिएका सीतादेवी र रामबहादुरहरू पनि चाहिन्छ, त्यसरी नै समाचार संकलक र सम्पादकले मात्र मिडिया चल्दैन, लेखक–स्तम्भकारजस्ता विचार दिने व्यक्ति पनि चाहिन्छ, यस सत्यलाई नबुझ्ने बबुराहरू किन कलम चलाउँछन् ?
जस्तो, डा. विष्टकै उदाहरण लिउँ । उनी इमेज च्यानलमा न्युज चिफ छन्, कलेज पढाउँदा टिचर हुन्छन्, पत्रकार महासंघमा अध्यक्ष र ससुराली जाँदा ज्वाईं बन्छन् । एकै मानिसका अनेक पद्वी र भूमिका हुन्छन् त । एक भएका कारण अर्काे हुनुहन्न भन्ने विधान कतै देखिँदैन, नैतिक पतन हुने काममा सरिक नभएसम्म ।

यो पंक्तिकार आज मदरल्यान्ड नेपालको अध्यक्ष र खास क्षेत्रका लागि पर्यटनदूत पनि हो । के यी दुई पद लिएको व्यक्ति पत्रकार हुन सक्तैन ? यसले नियमित रूपमा स्तम्भ र लेख प्रकाशित गरिरहेको छ, त्यसकारण यो पत्रकार पनि होइन ? पत्रकार भएको नाताले नेपाल–अमेरिका पत्रकार संघको सम्मेलनमा यो सहभागी हुन सक्तैन ?
आज राजतन्त्र चाहिन्छ भन्ने विचारका कमल थापालाई ओछ्याएर आसन बनाई लोकतन्त्रवादी शासन चलाउने एमाले र एकीकृत माओवादीका नेताबाट अनिल पाण्डेलाई गाली गर्नेहरूले खै पाठ सिकेका ? खड्ग ओली र पुष्पकमल दाहालहरू त कमल थापासँग कुम जुधाएरै उभिएका छन् त । किन अनिल पाण्डेमात्र अछुतो हुने ? के नेपाल–अमेरिका पत्रकार संघमा उसले कसैका उम्मेदवारलाई सघाएन भन्दैमा ऊ पत्रकार नै नहुने र मण्डले बन्ने ? आज स्वतन्त्र विद्यार्थी मण्डल छैन न त राजतन्त्र नै छ । मरिसकेका विषयलाई आधार बनाएर अनिल पाण्डेको पछिलाग्न मिल्छ भने तपाईंका श्रद्धेय नेताले ज्ञानेन्द्र राजाको पाउमा दाम राखेर ढोगेका कारण तपाईंको अनुहारमा आज कालोमोसो किन नदल्ने ? कि कालोमोसो दल्न तयार हुनुस् कि अनिल पाण्डेलाई मण्डले भन्न छाड्नुस् ।

तपाईंले चाहिँ स्वतन्त्र पत्रकार हुँ भन्दै प्रेस चौतारी, प्रेस युनियन र क्रान्तिकारी समूहको सदस्य भएर आ–आफ्ना राजनीतिक पार्टीका पक्षमा असन्तुलित समाचार जति लेख्दा पनि हुने यसले कमल थापालाई वस्तुतथ्यका आधारमा आलोचना गरेरै कलम चलाउँदा पनि यो मात्र अछुतो हुनुपर्ने ? याद गर्नुहोस्, तपाईंको आडम्बरी र दुईजिब्रे प्रवृत्तिलाई लोकतन्त्रमा हुर्केको पुस्ताले हाँसेर उडाउँनेछ ।

–अमेरिका

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल