ब्लगः जनतालाई दुःख दिने ट्राफिक नियम

ब्लगः जनतालाई दुःख दिने ट्राफिक नियम

पुनहरि घिमिरे

काठमाडौँमा सडकका चोकचोकमा ट्राफिक प्रहरी यातायात जामरहित बनाउन अहोरात्र खटेका छन् । यातायातलाई सहज बनाउन र सवारी दुर्घटना कम गराउन यसरी खट्नु उसको कर्तव्य र दायित्व हो । ट्राफिक नियम सबैले जान्नु र मान्नु पनि पर्छ । केही समय पहिले प्रहरीले दुई पाङ्ग्रे र चार पङ्ग्रे यातायातलाई लेन अनुशासनमा निकै कडाइ गर्यो । धेरैलाई यो लेन सम्बन्धी नियम थाहा थिएन । धेरै अन्जानहरु यसको शिकार भए । किनभने यस सम्बन्धमा प्रचार प्रसारको कमी थियो । यस्ता नियम लागू गराउनुपूर्व ट्रफिकले विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार गर्नुपथ्यो, त्यो हुन सकेन । अझै पनि धेरै सवारीधनीहरु यस विषयमा अनविज्ञ छन् र अन्जानमै धेरै सजाय भोग्नु परिरहेको छ ।
यही जेठ १६ गतेदेखि पैदलयात्रुहरुलाई नयाँ ट्राफिक नियम लागू गरेको छ । पैदलयात्रुले जेब्राक्रसबाट मात्र बाटो काट्न पार्ने व्यवस्था सुरु गरेको छ । जेब्राक्रसबाट बाहेक जताततैबाट बाटो काटेमा २०० जरिवाना तिर्नुपर्ने र जरिवाना तिर्न नसके ३ घण्टाको ट्राफिक सम्बन्धी नियमको क्लास लिनुपर्ने नियम बनाएको छ । तर यो नियमबारे प्रचार प्रसार गरे सबैले जान्ने थिए । नियम नजान्नेहरुलाई समातेर जबरजस्ती जरिवाना असुल गर्नु त्यति न्यायोचित लागेन ।
नियम कानुन सबैले मान्नु पर्छ । तर विभिन्न कुनाकन्दराबाट आएका पैदलयात्रीलाई यस्ता नियमबारेमा थाहा नहुन सक्छ । उपत्यकामा अध्ययन, रोजगारीलगायत विभिन्न कामका लागि बाहिरबाट मानिसहरु आउनेजाने गर्छन् । उनीहरुलाई यस नियम बारे कसरी सिकाउनेतिर ट्रफिकहरु लाग्नु पर्छ । कामविशेषले हिँडेका नागरिकलाई जथाभावि समातेर ३ घण्टा नियन्त्रणमा लिनु कदापि जायज होइन । यस्ता नियम लगाउनुपूर्व व्यापक प्रचार गरी कडाइका साथ लागू हुने स्थान समेत घोषणा गर्नुपर्छ । व्यापक जनचेतना र पूर्वाधारको व्यवस्था भएपछि मात्र यस्ता जरिवानाको व्यवस्था गरिनुपर्छ । अनि मात्र नियम कार्यान्वयन हुन सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल