नाबालक सन्तानसँग विछोडिनुको पीडा

नाबालक सन्तानसँग विछोडिनुको पीडा

रञ्जु रेग्मी

सानो छोरालाई नेपालमा चटक्कै छोडेर अध्ययनको सिलसिलामा अस्ट्रेलिया आउनुपर्यो । विभन्न कारण छोरोलाई साथमा ल्याउन सकिनँ । यस पीडाले मलाई कहिल्यै छोडेन । वात्सल्य प्रेम मनमा समुद्रका छालझैँ तरङ्गित भइरहन्छन् । तर पनि त्यसलाई सम्हालेर आफ्नो सुन्दर भविष्यको लागि अघि बढ्नुपर्दो रहेछ । यी भावना मेरा मात्र नभई छोराछोरीबाट टाढा भएका तमाम आमा बाबाको हो । छोराको सम्झना हरेक दिन काममा जाँदा र फर्किंदा मनमा यस्ता भावना प्रकट भए ।
तिमीलाई हातले कसेर अँगालोमा बेर्न मन छ बाबु । तिमीसँग टाढा भएर बिताएका यी दिनहरु सायदै जिन्दगीमा भुल्न सकिएला । हामीलाई एकरति पनि स्वार्थी नसम्झ ल । तिमीलाई सँगसँगै नल्याउनमा कुनै पनि लालच र स्वार्थ थिएन बाबु । यो विल्कुलै नयाँ र नौलो ठाउँ, नौलो परिवेश जहाँ बसाइ व्यवस्थापनदेखि लिएर थुप्रै चुनौतीहरु थिए हाम्रा अगाडि । खाने, बस्नेको टुङ्गो नलाग्दै तिमीलाई लिएर आउँदा तिमीलाई नै दुःख हुन्छ कि सोच्यौँ, त्यसो त सधैँका लागि हामी आएका पनि त होइनौँ । यही सोचेर तिमीलाई यहाँ सबै कुराको व्यवस्था भएपछि ल्याउने निर्णय गर्यौँ । यसमा तिम्रो अनुमति पनि त लिएका थियौँ नि बाबु । तिमी पनि उमेरभन्दा धेरै नै बुझ्नै छौँ । त्यसैले हुन्छ म पछि आउँछु, हजुरहरु जानुस भन्यौ । हामीलाई थाहा छ, तिमीले हामीलाई टेन्सन हुन्छ भनेर सहजै बिदा गरेका थियौ ।
आफ्नो सन्तान आफ्नै आँखा अगाडि भएको हेर्ने चहाना हामी मात्र होइन संसारका सबै बाबा आमालाई हुन्छ । जबजब यहाँ आउने दिन नजिकिँदै गयो मन झनझन भारी हुँदै थियो बाबु । तिमीलाई थाहा छैन बाबु तिमी सानो हुँदा तिमी काखमा हुँदाहँुदै पनि खै के सोचमा थिएँ त्यति बेला अचानक जोडसँग कराएर मेरो बाबु खै ? मेरो बाबु खै ? भन्दै अत्तालिएकी थिएँ तर अहिले वास्तवमै तिमीलाई केही समयको लागि छोडेर जानुथियो । कस्तो भएको थियो होला हामीलाई तिमी कल्पनासम्म पनि गर्न सक्दैनौँ बाबु । तिमीलाई छोडेर आउने जब निर्णय भयो, त्यसपछिका दिन मैले तिमीबाट लुकीलुकी कति आँशु बगाएँ, त्यो मलाई मात्र थाहा छ बाबु । खै कसरी हो, तिमीमा परिपक्वता छिट्टै आएको तिमीले पनि आँशु लुकाएरै हामीलाई बिदा गर्यौ ।

तिम्रा उमेरका बच्चाले आफ्नै हातले खाना खन्थे, तिमीलाई भने मैले नै खुवाइदिने हुनाले आफै खाना खान जान्दैनथ्यौ । लुगा लगाउन पनि तिमीलाई उतिसारो आउँदैनथ्यो । यो कुरा सम्झीसम्झी कति आँशु बगाएँ बाबु । आँशु लुकाउन कहाँ सकिदो रहेछ र बाबु । एज केयरको प्लेसमेन्ट जाँदा नेपाली नै रहिछन् । उनीसँग तिम्रो कुरा गर्दागर्दै नराम्रोसँग रोए बाबु मन हलुङ्गो हुने गरी रोएँ । रोक्न चाहेर पनि आँशु रोकिएन ।
तिम्रा प्रत्येक कुराहरुले आँखा रसाउँछ । तिमी आफै आची धुन जान्दैनौ, आफै नुहाउन जान्दैनौ । यी कुरा सम्झेर दुःखी हुँदा मैले तिमीलाई धेरै माया गर्ने ठूलो बाबा र ठूली ममीसँग छौ भन्ने कुरा पनि बिर्सिन्छु बाबु । तिमीलाई माया गर्नेहरुको काखमा छोडेर आएकोले तिम्रो बारेमा कुनै चिन्ता त छैन बाबु । बरु तिमी बढ्दै गर्दा तिमीले देखाउने क्रियाकलाप मैले प्रत्यक्ष हेर्न नपाएकोमा दुःख लागिरहन्छ । जन्मेदेखि ८ वर्षको हुँदासम्म मैले तिम्रा प्रत्येक कृयाकलाप नियाल्दै त्यसैमा रमाउँथे । तिमीलाई दोस्रो खोप लगाउँदा तिमीलाई भन्दा मलाई बढी दुखेको थियो बाबु । खोपको कारण राति तिमीलाई ज्वरो आउँदा ननिदाई रात काँटेकी थिएँ । तिमीले बामे सर्दाको खुशी साट्न मैले कतिजनालाई फोन गरेँ ।
मानिसको सृजना गरेकाले भगवान भगवान हुनु भएको रे बाबु । तर म त सामान्य मानिस र पनि म मान्छे भएर अर्को मान्छे जन्माए बाबु । तिमी गर्भमा रहदादेखि नै तिमीले सानासाना कुराबाट ठूलाठूला खुसी दिँदै आएका छौ बाबु । ३ महिनासम्म त केही नया र नौलो अनुभव भएन जब तिमी मेरो गर्भमा सल्बलाउन थाल्यौँ अनि अलौकिक आनन्द र खुसीहरु थप्दै गयौ । जब तिमीले जोडले हात खुट्टा चलाउँथ्यौ, म त्यो पल र समयलाई केही समय रोक्न चहान्थँे वा भनौँ त्यो अद्भूत अनुभूतिलाई कैद गर्न चहान्थे । तिम्रो बाबलाई मैले अनुभव गरेको त्यो खुसी अनुभव गराउन चहान्थेँ बाबु । तिमी मेरो गर्भमा ८ महिनाको हुँदासम्म म रेडियो अन्नपूर्ण पोखरामा कार्यक्रम चलाउँथे बाबु । तिमीले पटक पटक खुट्टाहरु चलाउँथ्यौ । तिमीले एक पटक हात खुट्टा चलाउँदा मैले तिम्रो बाबालाई दुई पटक भनिसकेको हुन्थेँ । मेरो खुसीमा खुसी हँुदै तिम्रो बाबाले मलाई सडक छेउबाट नहिँड नि फेरि बच्चाले पेटबाट लात्ताले हानेर लडाइदेला भन्नु हुन्थ्यो ।

डाक्टरले तिम्रो जन्म पुस ४ गते हुन्छ भन्नुभएको थियो तर तिमीले हामीलाई ५ दिन थप प्रतीक्षा गरायौ बाबु । पुस नौ गते बिहान १० बजेपछि शल्यकृया गरी तिम्रो आगमन भयो । तिमीलाई पेटबाट निकाल्दै गर्दा डक्टरले मलाई क्रस म्यिरज हो भनेर सोध्नुभयो । मैले होइन भनेँ । म मोटीकाली तिमी चाहिँ गोरो र अग्लो रहेछौ, त्यसैले सोध्नुभएको रहेछ । म अर्धचेत अवस्थामा पनि तिमीलाई हेर्न, देख्न र छुन चहान्थेँ । यत्तिकैमा महिलाको आवाज मेरो कानमा ठोक्कियो– आमाले रेडियो थर्काउने छोरोले हस्पिटल थर्काउने । तिमी अलि बढी नै रोएछौ क्यार । कति कठिन भयो होला त्यो बेला तिमीलाई आमाको न्यानो पेटबाट अचानक बाहिरी वातावरणमा आउँदा । तिमीलाई न्यानो बनाएर यी हेर्नुस् तपाईंको बच्चा भनेर देखाउन नपाउँदै तिमीलाई शल्यकृया कक्षबाट बाहिर लगे । मलाई भने अझै तिमीलई हेरिरहन मन थियो बाबु । शल्यकृया गरिन्जेलसम्म पनि कुरा गरिरहेकी म तिमीलाई देखेपछि भने निदाएँछु ।

निदबाट ब्युँझदा तिमी पालैपालो तिम्रो बाबा हजुरआमा र तिम्रै प्यारी सरिता दिदीको काखमा थियौ । त्यतिबेला नै तिमीलाई काखमा लिन छातीमा टासेर राख्न मन थियो बाबु तर म तिमीलाई लिन त के आफ्नै टाउको उठाउन सक्ने अवस्थामा थिइन । मैले उहाँहरुसँग अनुरोध गरेँ, तिमीलाई मेरो नजिक ल्याउन, कस्तो चमक तिम्रो आँखामा, तिम्रा सर्लक्क परेका हात खुट्टा उज्यालो चेहरा पातलो तर लामो तिम्रो कपाल तिमीलाई हेरेरै मैले आफ्नो दुखाइ भुल्दथेँ बाबु ।

तिमीलाई प्रत्यक्ष देखेपछि मात्र थाहा भयो बाबु, मेरो गर्भ तिम्रो लागि सानो खेलमैदान भएछ । त्यसैले तिमीले चल्दा मैले महसुस गर्न सक्थे । तिमीलाई जन्म दिँदा मलाई जन्म दिने आमा पनि सँगै हुनुहुन्थ्यो । तब मैले उहाँलाई अझ बढी आदर अनि अझ धेरै माया गर्न थालेँ ।
तिम्रो जन्म हुँदा मेरो पनि जन्म भयो । आमाको रुपमा, बाबु तिमीले मलाई आमा बनायौ । तिमीले देखाउने फरक फरक क्रियाकलाप हेर्दाहेर्दै दिनहरु छिटोछिटो वित्न थाले । बामे सर्दा होस् वा तिम्रा दाँत निस्किँदा होस् म नै पहिलो हुन्थँे बाबु । तिम्रा प्रत्येक विकसित अवस्थाहरुको मैले नै पहिला अनुभव गर्न पाउँथे । तिमीले चालेको पहिलो कदमले मलाई कति खुसी दियो बाबु, त्यसलाई नाप्न र जोख्न नै मिल्दैन । तिमीलाई खाना खुवाउँदा म कहिले गायिका बनेँ । कहिले नृत्यङ्गना कहिले कथाकार भएर कथा सुनाउँथे त कहिले अभिनेतृ भएर अभिनय कहिले खेलाडी बने । यी हरेक कृयाकलाप गरेर थाकिसक्दा तिम्ले पनि खानेकुरा सकिसकेका हुन्थ्यौ ।

सुखैसुख मात्र पनि होइन रहेछ जीवन, दुःख र समस्याले मानिसलाई र सम्बन्धलाई झन् बलियो बनाउँदो रहेछ । जीवन आफूले चाहेजस्तो रोजेजस्तो र खोजेजस्तो सधैँभरि हुदो रहेनछ । जीवन, समस्या र दुःखविना पूर्ण हुदोरहेनछ । जीवनका उकाली ओरालीहरु काट्दा समस्या र चुनौतीहरुसँग लड्दा तिमीलाई दिने मायामा कमी आएको भए मलाई माफ गर बाबु ! मन दुःखी भएको बेला पनि तिमीलाई माया गर्न भने कहिल्यै छोडिन बाबु । तर मन दुखेको बेला गरेको माया र खुसी हँुदा गरेको मायामा फरक त तिमीले महसुस गर्यौ होला बाबु । मनको गहिराइबाट तिमीलाई खुसी राख्ने चहानामा भने कहिल्यै कमी आएन बाबु ।
तिम्रो तोतेबोलीमा संसारका सबै दुःख बिर्साउने शक्ति थियो बाबु । त्यसैले समस्याहरु सधैँभरि समस्याका रुपमा रहन छोडे । तिमी बोली र शब्दहरु सिक्दै थियौ । तिम्रा कौतुहलपूर्ण प्रश्नहरु बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म सकिँदैनथ्यो । मामु यो के हो ? त्यो के हो ? किन हो ? कसरी हो ? कहाँ हो ? कहिले हो ? तिम्रा अनगिन्ती प्रश्नहरुले मलाई यति ब्यस्त बनाउथ्यो कि दिनहरु छोटा लाग्थे । अब तिम्रो स्कुल जाने उमेर भैसक्यो । त्यसैले पोखरामा जन्मेका तिमी गुल्मी हुँदै काठमाडौँ आइपुग्यौ ।

तिम्रो शान्त स्वभाव अरुलाई मन परे पनि मलाई भने तिम्रो शान्ति स्वभावले पिरोल्थ्यो । बाबु र आज पनि पिरोलिरहेको छ । म चाहन्थेँ, मेरो छोरा अरु बच्चा जस्तै जिद्दी, निडर, हक्की र अलिअलि झगडालु पनि होस् । तिमी पनि यो चाहियो, त्यो चाहियो भनेर झगडा गर । किन नल्याई दिएको भनेर हामीलाई घुक्र्याऊ बाबु । त्यसो त कतिपय कुराहरु तिमीले नमाग्दै तिमीलाई आवश्यकता नपर्दै तिमीलाई पुर्र्याइदिएका पनि छाँै । भन्छन् नि ‘अप्ठ्यारो देवतालाई बढी पुजिन्छ’ रे । तिमीले जब हामीसँग केही चाहियो भन्छौ, जब हामीले भुलेर नल्यउँदा तिमी भन्छौ आज भुले भोलि ल्याइदिनु होला । तिम्रा साथीहरुले जस्तो झगडा गरेर तुरुन्त चाहियो, तिमी किन भन्दैनौ बाबु । तिमीले जिद्दी गरेर आजै चाहियो, अहिल्यै चाहियो किन भन्न सक्दैनौ बाबु । म चाहन्न, तिमीले भविष्यमा कुनै पनि कुरामा सम्झौता गर्न परोस् ।

अस्ती भर्खर तिम्रो मामाको विवाह भयो । दादादिदीहरु सबै आफ्ना बाबआमा सँगै हुँदा कति खोज्यौ होला तिमीले बाबा मामुलाई बाबु । कहाँ गए किन गए तिम्रो मनले तिमीलाई नै कतिपटक सोध्यो होला । कति एक्लो भयौ होला सबैको माझमा । कति शून्य लाग्यो होला तिमीलाई त्यो भीड । कसरी सम्हाल्यौ बाबु आफूलाई । खुल्न नसकेका तिम्रा तस्बिरहरुले तिम्रो एक्लोपनलाई प्रष्ट्याइरहेछ बाबु । यता विदेशतिर हेर्छु कोहीले ६ महिनाको बच्चा छोडेर आएका देख्छु, उता हेर्छु २ वर्षको बच्चा छोडेर आएका आमाहरु देख्छु । सबै आफू जस्तैलाई नियाल्छु, आफ्नो चित्त बुझाउन तर अरुको भन्दा आफ्नो दुखाइ नै ठूलो लाग्दो रहछ । केही गरी आफूलाई सम्झाउन सक्दिन बाबु । लाज पनि कहाँ जादो रहेछ कुन्नि बाबु पेरेली नाघेर झरिदिन्छ आँशु । कहिले ट्रेनमा कहिले पार्कमा त कहिले सपिङ सेन्टरमा तिम्रो उपस्थति खड्कि नै रह्यो बाबु । तिमीसँगै भएको भए यसो गर्दथ्यौ, तिमी साथमा भएको भए उसो गर्दथ्यौ सबै कुराले सताइरहन्छ बाबु ।

संसारका कुनै पनि खुसी तिमी बिना अपूरा र अधुरा छन् बाबु । त्यसैले अरु खुसी र चाहनाको मूल्य तिमीले चुकाउन नपरोस् । अब तिमीसँगको प्रतीक्षाको घडी छोटिँदै छ बाबु । हो बाबु, अब तिमीले हामीलाई र हामीले तिमीलाई धेरै समय पर्खनुपर्दैन । तिमीलाई बाबा मामुले जस्तै माया गर्ने दिदी भिनाजुप्रति कृतज्ञ र ऋणी छौँ ।
मेलवर्न, अस्ट्रेलिया

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल