उग्रबामपन्थी र उग्रदक्षिणपन्थीको चपेटामा देश

उग्रबामपन्थी र उग्रदक्षिणपन्थीको चपेटामा देश

वीरेन्द्र रावल

२०५२ साल फागुन २ गतेबाट कुकुर बिरालोको साइनोबाट राजनीतिक लडाइँमा होमिएको नेकपा माओवादी केन्द्र (हालको) र नेपाली काङ्ग्रेसबीच यतिबेला हाँस र बकुल्ला जस्तो  साइनो गाँसिन पुगेको छ ।

प्रधामन्त्री दाहालको टाउकोको मूल्य तोक्ने नेपाली काङ्ग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र जसरी पनि नेपाली काङ्ग्रेसलगायत संसदवादी व्यवस्थालाई अन्त्य गर्दै देशलाई तानाशाही कम्युनिस्ट व्यवस्था लाद्नका लागि सत्ता कब्जाको बाटोमा लागेको तत्कालीन उग्रबामपन्थी प्रणालीलाई अँगाल्दै आएको माओवादी अहिले सङ्घीय गणतन्त्रात्मक व्यवस्थामा आई सकेपछि एकअर्काका इमानदार सत्ता लिप्साका हिस्सेदार बनेका छन् ।

जतिबेला नेपालमा चरम उग्रवामपन्थी खेमाको दबदबा थियो, देशलाई निरङ्कुश राजतन्त्रले ‘कू’ गरेको अवस्था थियो त्यति बेला राजाको नजिक बन्ने र नेपालमा रहेका कम्युनिस्ट जतिलाई आतङ्ककारीको बिल्ला भिराएर नेपाली काङ्ग्रेसले सत्ताको दुरुपयोग गरिरहेको थियो । त्यही बेला नेकपा एमालेले जङ्गली र सहरी गरी दुवै अतिवादको चरम सामना गरिरहेको थियो ।

देशमा उग्र दक्षिणपन्थी र उग्रवामपन्थीको जर्जरतालाई सन्तुलनमा ल्याउनका लागि नेकपा एमालेले विगतमा दिल्ली, रोल्पा र सिलगुडी लगायतका क्षेत्रमा समेत पुगेर माओवादीसँग शान्ति वार्तामा ल्याउनका लागि खेलेको महत्वपूर्ण भूमिका आम नेपाली जनता र बुद्धिजीवीहरुले बुझेकै छन् । नेपाली काङ्ग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा अनि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई वार्तामा ल्याउने हरप्रयास एमालेका शीर्ष नेताहरुले गरेकै कारण आज देशमा एक समूहले हतियार विसाएर संसदीय व्यवस्थामा आएको छ ।

खासगरी तत्कालीन नेकपा माओवादीले संसदीय व्यवस्थालाई अन्त्य गर्दै देशलाई आमूल रुपमा कब्जा गर्नका लागि सुरु गरेको सशस्त्र आन्दोलन शान्ति वार्ता प्रकृयापछि जन आन्दोलन ०६२÷०६३ र १९ दिने महान जन आन्दोलनको बलले नेपालको राजनीतिक बाटोलाई लोकतान्त्रिक व्यवस्थाउन्मुख गराइदिएपछि तत्कालीन नेकपा माओवादीले जनआन्दोलनको म्यान्डेटभन्दा फरक शैलीबाट अगाडि बढ्न सक्ने अवस्था नै थिएन ।

नेपालको राजनीतिक इतिहासमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेपछि एक खालको लडाइँले विश्राम पाएरै छाड्यो ।
तत्कालीन अवस्थामा नेकपा माओवादीले भन्दै आएको नेपाली जनताको विकास, समृद्धि र शान्तिको बाधक राजतन्त्रको अन्त्य भएपछि उसले नयाँ ढङ्गबाट अगाडि बढ्ने बाटाहरु भनेको एक मात्र संविधान सभा र सङ्घीयताको कार्यान्वयनको मुद्दा नै थियो । माओवादीसँगै नेकपा एमाले र नेपाली काङ्ग्रेसले पनि त्यही मुद्दालाई लिएर अगाडि बढे । यद्यपि नेपाली काङ्ग्रेसमा गणतन्त्र नेपाल हुनुहुँदैन भन्ने पक्ष आज पनि क्रियाशील नै छ । एमालले सक्रियतापूवर्क सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्थासहितको नेपालको खाकाबाट अगाडि बढ्यो ।

देशमा पहिलो संविधान सभाको बैठकले देशलाई गणतन्त्रात्मक व्यवस्थामा परिणत गराएरै छाड्यो । संविधान निर्माणका लागि नेपालमा दुई पटक स्ंविधान सभाका निर्वाचन पनि सम्पन्न भए । यस अवधिमा जङ्गलबाट भर्खरै सहरमा आएको माओवादी र संसदीय व्यवस्थाको रसास्वादन गर्दै लामो समय सत्तामा बसेको नेपाली काङ्ग्रेस पार्टीबीच सत्ताको सङ्घर्ष हुनु स्वभाविक नै हो । त्यस अवधिमा नेकपा एमालेलाई लिङ्ग नभएको पार्टी भनेर संज्ञा पनि नदिइएको होइन । एमालेले जङ्गलमा बसेको माओवादी सहरमा आतङ्क मच्चाइरहेको नेपाली काङ्ग्रेसलाई सहमति गराएर शान्तिको बाटोमा ल्याउनका लागि खेलेको भूमिकालाई त्यो अवधिमा कसैले पनि ठम्याउन र के सही के झूटो हो भनेरसमेत छुट्याउन सकेनन् । जसको जसअपजस एमालेले भोग्नुपर्यो । संविधान सभाको पहिलो निर्वाचनमा एक नम्बर पार्टी माओवादी दोस्रो संविधान सभामा तीन नम्बरमा झर्न पुग्यो । यी अवधिमा उनीहरुले आत्मसात गरेका संविधान, सङ्घीयतालगायतका मुद्दाहरु सत्तामा बार्गेनिङका आधारमा परिणत हुन पुगे ।

देशलाई जसरी सहमती र सहकार्यको वातावरणबाट अगाडि बढाउनुपर्ने हो त्यो मार्गमा यी पार्टीहरु नलागेर गठ जोड सत्ता लिप्सा र आपसी खिचातानीको बाटोमा मात्र लागेको पाइयो ।

सरकारमा पुग्नका लागि जस्तो पनि गठबन्धन कायम गर्ने, जोसँग पनि सहकार्य गर्ने, दलिय अंशवण्डमा देशलाई छियाछिया पार्ने कार्यहरु उग्रवामपन्थी र उग्रदक्षिणपन्थीबाट हुन थाले ।

यसबीचमा नेपाली जनताले खोजेको शान्ति, अमनचयन र विकासको सपनामा कुठाराघात हुन थाल्यो । जनतामा निराशाबाहेक अरु केही बाँकी रहेन । जनताका इच्छा, आकाङ्क्षाहरुमा पूर्णविराम लगाउनुपर्ने अवस्था सिर्जना हुन थाल्यो । यसबीचमा दक्षिणपन्थी र उग्रवामपन्थी राजनीतिक दलहरुले सत्ताका लागि जस्तोसुकै भए पनि सहमति र सम्झौता गरेर सत्तामा पुग्ने खालका रणनीति मात्र बनाउन थाले ।

त्यसको पछिल्लो उदाहरण नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको अपवित्र गठबन्धनलाई हो । यी दुई पार्टी वैचारिक दृष्टिले उत्तरी दक्षिणी ध्रुव नै हुन् । यी दुई ध्रुवका पार्टी विगतमा कुकुर र विरालोको सम्बन्धका आधारमा हिँडेका शत्रुवत व्यवहारमा परिणत भएका पार्टी नै हुन् । यो अवधिमा आएर उनीहरु कसरी एकताको गठजोडमा लागे । कसरी प्राविधिक साइनोमा जोडिन पुगे भन्ने कुरालाई हर्ने हो भने यी दुई पार्टीभित्रको विचलन नै हो । यी दुई पार्टीको न त नीति नै मिल्छ नत सिद्धान्त नै । नीति र सिद्धान्तलाई बिर्सिएपछि जनताका बीचबाट उदाएको पार्टी एमाले उनीहरुका लागि ठूलो तगारो नै बनेर आयो । तगारो हटाउनका लागि क्षणिकतामा उनीहरूबीच चुनावी र सत्ताको गठबन्धन तयार हुन पुग्यो । यो यस्तो गठबन्धन भयो कि स्वयं नेपाली काङ्ग्रेसजनले पनि यो कुरालाई पचाउन सकिरहेका छैनन् । नेपाली काङ्ग्रेसमा तल्लो तहबाटै विरोध र असन्तुष्टि देखाइरहेका बेलामा पनि शेरबहादुर देउवा र पुष्पकमल दाहालबीचमा केही समयका लागि बकुल्ला र हाँसको जस्तो साइनो जोड्ने कार्य हुन पुगेको छ ।

यो गठबन्धन सत्ता र स्थानीय निकायको निर्वाचनसम्मका लागि हुन सक्दछ । जनताबाट लगभग बहिष्कृत अवस्थामा पुगिसकेको नेकपा माओवादी केन्द्र र पुरानै ढर्रा र नीति सिद्धान्तलाई समयानुकुल अगाडि लैजान नसकेको नेपाली काङ्ग्रेसका बीचमा जोडिएको यो सम्बन्धको उग्ररुप पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा देखिइसकेको छ । भरतपुर महानगरको निर्वाचनमा भएको सँठगाठ त्यसको ज्वलन्त उदाहरण हो । यस निर्वाचनमा यी दुई ध्रुवले देखाएको हर्कतको वैज्ञानिक समाधान खोजिएन भने नेपालमा लोकतन्त्रको धरापमा पर्ने निश्चित छ ।

यसले वैधानिकता पायो र भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदानको अवस्था हुने नै हो भने देशले निकास नपाई समस्याको खाडलमा धकेलिने निश्चित छ ।

नेपाली काङ्ग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ । लोकतन्त्रको दुहाई दिन्छ भने नेकपा माओवादी केन्द्रका प्रतिनिधिले चितवनमा गरेको अप्रजातान्त्रिक शैली र क्रियाकलापलाई किन गलत हो भन्दैन ? किन मुकदर्शक भएर यस घटनालाई माओवादी कर्तुतको साक्षी बनेर टुलुटुलु हेरिरहेको छ ।

नेपाली काङ्ग्रेस साँच्चै भरतपुर प्रकरणलाई फट्के किनाराको साक्षी बनेर पहिलो चरणको निर्वाचनमा एमालेबाट पछारिनुपरेको रिस पोखनका लागि नेकपा माओवादी केन्द्रलाई साथ दिन्छ भने कुनै दिन नेपाली काङ्ग्रेसमा पन यो समस्या नआउला भन्न सकिँदैन ।

त्यसकारण जनताभन्दा माथि हामी कोही पनि छैनौं भनेर सबै राजनीतिक दलले के सोच्न जरुरी छ । जनता महान हुन् । जनता न्यायाधीश हुन र उनीहरुको फैसलाविरुद्धमा जान दल कदापी सफल हुन सक्दैनन् भन्ने कुरालाई उग्रदक्षिणपन्थी र उग्रवामपन्थीले बेलैमा सोच्न जरुरी देखिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल