भू–स्वर्गको आनन्द खप्तड मेला

भू–स्वर्गको आनन्द खप्तड मेला

भूमिराज जोशी

सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्र विन्दुमा पर्ने खप्तड क्षेत्र ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । नेपालकै विभिन्न पर्यटकीय क्षेत्रहरुमध्येको एक खप्तड पनि हो । जसमा सयौँ विदेशी तथा हजारौँ नेपाली पर्यटकहरुले पत्यक्ष अवलोकन गरी भू–स्वर्गको व्याख्या गरिसकेका छन् ।
पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र ‘खेचरी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेकाले खप्तड क्षेत्रमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किंवदन्ती रहेको छ ।
‘भू–स्वर्ग’ शब्द झट्ट सुन्दा स्वर्ग नै हो कि भनेर सबैको मनमा कौतुहलता जाग्छ । यो यथार्थ हो, धर्तीको सबैभन्दा आनन्द महशुस हुने ठाउँ नै खप्तड हो । प्रकृतिको अनुपम उपहार हो खप्तड । आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गबाट नै एक टुक्रा खसेर आए जस्तो । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुन्छ ।
२२ पाटन मैदान र ५२ वटा (थुम्का) झोतीहरु भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिङ्गी, गणेशस्थान, नागढुङ्गा, माइका थान, छिन्तेढुङ्गा, केदारढुङ्गा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, जेठी बहुरानी ढुङ्गा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् । यी क्षेत्र तथा स्थानहरुको आ–आफ्नै महत्व छ । जसले आम जनमानसलाई लोभ्याइ राख्छन् । यी सबै धार्मिस्थलहरु फरक फरक ठाउँमा छन् । एकठाउँबाट अर्को ठाउँ जान करिब १÷२ देखि ४÷५ घण्टासम्म समय लाग्ने गर्छ । किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का (झोती) बनेका हुन् । भन्ने बुझाई रहेको छ ।
‘गङ्गा दशहरा मेलामा जाँऔं, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ ।’ भन्ने मूल नारा लिइ यस वर्ष पनि दशहरा मेला लाग्ने भएको छ । अबका केही दिनपछि हुन लागेको यसै जेठ १९ देखि २२ गतेसम्म लाग्ने मेलामा सबै सरोकारबाला निकायहरुले आआफ्नो भूमिका निर्वाह गर्दैछन् । सुरक्षाकर्मीले सुरक्षाको वयवस्था, होटल व्यवसायीहरुले खानको व्यवस्था, उद्योग वाणिज्य सङ्घले विभिन्न कार्यक्रमको व्यवस्था तथा पर्यटन बोर्डले बस्ने व्यवस्था तथा अतिथिलाई सम्मान गर्ने व्यवस्था रहेको छ ।
खप्तड एउटा धार्मिक तथा सौन्दर्यको केन्द्रविन्दु हुँदा हुँदै जाँडरक्सी तथा माछामासुको परिकार बिक्री गर्नुहँुदैन भन्ने धार्मिक मान्य भए पनि विगतका दिनहरुमा विकृति नै छ्याप्छ्याप्ती भएको सबैलाई अवगत नै छ । अब आउँदो दिनमा यसको सुधार होस् ।
तीर्थयात्रीहरुले पनि खप्तडमा दादागिरी गर्न, जाँडरक्सी खान, अरुलाई तनाब दिनका लागि होइन । स्वतन्त्र सभ्य समाजको परिचय दिन त्यस्तै व्यवहार गर्न र धार्मिक आस्थाका साथ सफल र सहज वातावरण निर्माण गर्ने उद्देश्यले गङ्गादशहरा मेला जाने हो भने पक्कै पनि देशी तथा विदेशी पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । साथै वास्तविक खप्तड भनेर चिनाउन सकिन्छ ।
गङ्गादशहरा मेलाका दिन त्रिवेणीमा नुहाँउदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको ईच्छा पूरा हुने गाढा विश्वास रहेकाले यो मेला बढी आकर्षण बनेको बुझिन्छ ।
प्रत्येक वर्षको एक पटक खप्तडमा गङ्गा दशहरा मेला र इन्द्रजात्रा मेला लाग्ने गर्छ । जेठ÷असार महिनामा गङ्गा दशहरा र साउन÷भदौमा खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ । सदियौँदेखि खप्तडमा गङ्गा दशहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् । सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ ।

चार जिल्लाको बीचमा अवस्थित खप्तड क्षेत्रका मेलाहरुमा हजारौँ तीर्थयात्रीहरु स्वर्गको अनुभव गरिरहेका हुन्छन । जड्याहाहरु तथा दादागिरी खप्तडमा नछिर्ने हो भने अझैं यसको महत्व बढ्ने थियो । कतिपय खप्तड मध्यवर्ती क्षेत्रका स्थानीयहरु गाउँको झगडाको रिस गङ्गा दशहरामा मेटाउने भनेर आर्कोशित भएर आएका हुन्छन् । यस्तालाई मेलामै प्रवेश गर्न नदियोस् ।
सुदूरपहाडका चारवटा जिल्लाहरु बाहेका सुदूरपश्चिमलगायत नेपालकै खप्तडको महत्व बुझेकाहरु तीर्थालु भएर आउँछन् । वि.स २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले जनमानस तान्ने गरेको छ । समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर उचाइ र दुई सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड क्षेत्रमा ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तड बाबाको आगमनपछि राजा वीरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा राष्ट्रिय निकुञ्ज भएको जानकारहरु बताउँछन् ।
२ सयभन्दा बढी प्रजातिका फूल, बहुमुल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफे जस्ता जङ्गली जनावरहरुको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको बताइन्छ ।
वि.सं २००२ साल बझाङ्गी राजा रामजङ्ग सिंहको अगुवाइमा भू–स्वर्गकाका जङ्गलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमिका रुपमा रहको बताउँदै देश विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार÷प्रसार गरेपछि यस ठाउँको महिमा र सुन्दरताले व्यापक चर्चा पायो ।
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका चार जिल्लाको सङ्गमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ । यस निकुञ्जमा सल्ला, खसुर र निगालाका जङ्गलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तु तथा सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ । खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ्गलाई मानिन्छ ।
खप्तड जान सबैभन्दा नजिक पनि बझाङ जिल्ला नै पर्छ । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकाको दारुगाउँ मेल्तडी हँुदै लोखाडा चेकपोस्टबाट करिब २ घण्टामा खप्तड पुगिन्छ । त्यस्तै अरु पाटादेवल, लामातोला, पौवागढी, थलारा क्षेत्रहरुबाट खप्तड जान स्थानीयलाई सहज हुन्छ । त्यस्तै बाजुराको काँडा, अछामको खप्तड लगायतका अरु गाउँहरु र डोटीको सायल, झिग्राना, काँडामाण्डौकाबाट स्थानीयहरुलाई खप्तड जान आउन सजिलो पर्छ ।
केन्द्रबाट जाने हो भने काँडमाण्डौ हुँदै अत्तरिया धनगढी आउनुपर्छ । त्यसपछि अत्तरियाबाट खप्तड पुग्न सबैभन्दा नजिक पर्ने ठाउँ पनि बझाङको मेल्तडी नै पर्न सक्छ । किनकि मेल्तडीसम्म नै गाडी जान्छ । त्यहाँबाट खप्तड जान जम्मा तीन घण्टा मात्र समय लाग्छ । त्यस्तै बाजुराबाट पनि सडकबाट करिब सात आठ घण्टा बराबर लाग्छ । त्यस्तै अछामबाट खप्तड जाने हो भने पनि सबारीसाधन पुग्ने ठाउँबाट करिब चारपाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाने हो भने मूल प्रवेशद्वार झिग्रानाबाट सात घण्टामा पुगिन्छ ।
यसरी भक्तजन तथा तीर्थालुहरुले जुनबाटो सजिलो लाग्छ त्यो बाटोमै जाँदा आफूलाई नै रमाइलो हुन्छ । प्रायः सबै जिल्लाबाट खप्तड जाँदा पनि सरल बाटो छ । साथै रमाइलो पनि छ । ०४३ देखि ०६४ सम्ममा मात्रै खप्तड पुग्ने विदेशी पर्यटकको सङ्या २५२ थियो । त्यसपछि दिनानुदिन खप्तड जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
खप्तड जाँदा पाल, स्लिपिङ व्याग, सकिन्छ भने बेड बिस्तारालगायतका सामानहरु आफैंले लगेमा धेरै फाइदा हुन्छ । किनभने खप्तडमा पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ । आफूसँग तातो सामग्रीका साथै खानेकुराहरु चाउचाउलगायतका ड्राइफुड बोकेर जाँदा बेस हुन्छ । खप्तडका मूल समस्या भोक र चिसो नै हो । अरु कुरा भने आँखाले भ्याइ नभ्याइ हेर्न सकिने ठाउँले जीवनभर भोगेको भोगाइ पनि एकैपटक बिर्सन सक्ने ठाउँ नै खप्तड हो ।
पछिल्लो समयमा लाखौँ पर्यटक भित्र्याउनुपर्नेमा राजनीति खिचातानीले गर्दा विकास हुनुभन्दा विनास भइरहेको छ । आएको अर्बौं बजेट पार्टीका नेता तथा कार्यकर्ता पाल्नमै बराबर भएको छ । खप्तडमा बन्नेका भवनहरु करोडभन्दा कम बजेटका छैनन् तर त्यसमा ५० प्रतिशत बजेट पनि सदुपयोग भएको छैन । दुरुपयोग मात्र छ ।
सुदुरको सुन्दर खप्तड विकास गर्नका लागि जो पार्टी सरकारमा जान्छ, खप्तडको बजेटमा उसैको कार्यकर्ताले भागबन्डा गरेर खान्छन् । हालसम्म आएको बजेटले लाखौँ विदेशी तथा स्वदेशी पर्यटक भित्र्याउनु पथ्र्यो तर अहिलेसम्म हजारौँ पर्यटक आउन सकेका छैनन् । खान, बस्न, घुमाउनका लागि आउने वार्षिक बजेट सधैँ दुरुपयोग हुँदै आएको छ । एकपटक आएको पर्यटक दास्रोपटक आउन मान्दैनन् । यसरी पर्यटकहरु पनि टाढिँदै गएका छन् ।
पछिल्लो दुई वर्षयता खप्तडमा आन्तरिक पर्यटनको आगमनमा पनि खासै सुधार भएको देखिँदैन । भौतिक पूर्वाधारका कारण हुने असुविधाले भने पर्यटकलाई सास्ती पनि हुने गरेको छ । खप्तड घुम्न जाने पर्यटकका लागि नजिकका गाउँमा स्तरीय होमस्टे सञ्चालन गर्न सकेमा केही हदसम्म सुविधा हुन सक्थ्यो । एक करोडको भवनभित्र सुत्नलाई खटिया हुँदैन । खानेपानी तथा चर्पीको व्यवस्था हुँदैन । यसरी खप्तडमा भएको भ्रष्टाचार मौलाउनाले पर्यटकहरु पनि खप्तडबाट टाढिन पुग्छन् । यतातिर सम्बन्धित सबै सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
खप्तडको महत्व भने करिब एक हप्ता खप्तडमा बस्ने हो भने त्यहाँ भएको सबै मनोरम दृश्यहरु अनुभव गर्न पाइन्छ । खप्तड चिसो क्षेत्र भएकाले स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, उनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू लैजानु जरुरी हुन्छ । त्यस्तै बडी लोसन, खोकी र टाउको दुख्दा खाने औषधि, हेन्डिप्लास्ट बोकेर जानुपर्छ । स्थानीयहरु भन्छन्, ‘यो खप्तड क्षेत्र जडीबुटीको भण्डार हो र यहाँबाट चल्ने हावा औषधियुक्त हुन्छ ।’

-दिपायल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल