षडानन्दलाई राष्ट्रिय विभूति मान्ने आधार

षडानन्दलाई राष्ट्रिय विभूति मान्ने आधार

नेपालको पूर्वी जिल्ला भोजपुरमा सबैभन्दा पहिले सर्वसाधारणलाई शिक्षा प्रदान गर्ने व्यक्ति हुन्– बालागुरु सडानन्दा । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित केउरेनीपानी, मूलपानी र तुङ्गेछा गाविस हालको षडानन्द नगरपालिकाको सङ्गमस्थल दिङ्ला बजार नेपालमा मात्र चर्चित नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि प्रसिद्ध छ । यो परिचय दिलाउने श्रेय आवल ब्रह्मचारी बालागुरु षडानन्दलाई जान्छ । बालागुरु षडानन्दले १९३२ सालमा जनताले अध्ययन गर्न पाउनेगरी नेपालमा नै पहिलो संस्कृत पाठशाला स्थापना गर्नु भए पनि १९३५ सालमा बमविक्रम शाहको पालामा सुरेन्द्र वीरविक्रम शाहले गुरुकुल विद्यालय सञ्चालन गर्नका लागि तोक आदेशसहितको पत्र बालागुरु षडानन्दलाई पठाएका थिए । त्यस समयमा शिक्षाको लागि कि काशी जानु कि दिङ्ला जानु भन्ने मान्यता थियो । हाल यो पाठशाला षडानन्द बहुमुखी क्याम्पसको नामले चिनिन्छ ।
गुरुले अणिमा, गरिमा, लगिमा लगायतका अष्ट सिद्धिका बलमा रुमाल बिछ्याएर वा खराउ लगाएर अरुण नदी तर्न सकेको, दिङ्लामा बसीबसी प्युठानका स्वर्गद्वारी महाप्रभुसँग साक्षात्कार गर्ने (हाल भिडियोकल गरेजस्तै), गुरुले थोरै खानाले धेरै मनिसलाई सन्तुष्ट र अगाउने गरी पुर्याउने, कठिनतम रोग निको बनाउन सक्ने, असिनापानी तर्काउने जस्ता सिद्धिहरु गुरुमा थियो भन्ने किंवदन्ती सुन्न पाइन्छ । यो कुरा विश्वाश गर्न पनि नसकिने सत्य कुरा हुन् । षडानन्द गुरुले सम्पूर्ण नेपाली समाजको हितका निम्ति सती प्रथाको अन्त्य, राणा शासनका विरुद्धमा नेपालमा नै पहिलो पटक संस्कृत पाठशालाको स्थापना गर्नु भयो । अहिले सोही पाठशाला हालको षडानन्द बहुमुखी क्याम्पसका नाममा सञ्चालन भइरहेको छ । उक्त पाठशाला सञ्चालन गर्न सीताराम गुठीको स्थापना र बहुमुल्य रुद्राक्षको विरुवा दिङ्लामा रोप्नुभएको थियो । गुरुले दिङ्लामा पहिलो पटक बालाचतुर्दशीको दिन पितृको नाममा सद्बिज छर्ने र शनिबार हाट लगाउने व्यवस्था गर्नुभएको र हालसम्म पनि यसको प्रभाव कायमै छ । गुरुले सुरुवात गर्नु भएका यी कार्य वर्तमान परिस्थितिमा सम्झनलायक र गौरवको विषय बनेका छन् । गुरु षडानन्दको जन्म वि.स. १८९२ सालमा गाडीगाउँ केउरेनीपानी–०६, भोजपुर जिल्लामा भयो भने मृत्यु १९७३ सालमा पचलीघाट काठमाडौँमा भएको थियो ।
नेपालमा नै पहिलो पटक सञ्चालनमा रहेको पाठशालामा गुरुकुल शिक्षा हासिल गर्न देशका विभिन्न स्थान र विदेशदेखि पनि आउने गरेको पाइन्छ । १९३२ सालदेखि शिक्षा दिन सुरु भए पनि दिङ्ला बजारले शिक्षा क्षेत्रमा खासै फड्को मार्न सकेको छैन । आजभन्दा १४१ वर्ष पहिलेबाट अध्यापन सुरु भएको ठाउँमा भर्खर प्लसटुसम्मको पढाइ हुनु दुर्भाग्य हो । शिक्षा क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले दिङ्लाबासीले २०६५ सालमा षडानन्द बहुमुखी क्याम्पसको स्थापना गरी व्यवस्थापन सङ्कायको पढाइ शुभराम्भ गर्यो । प्रथम वर्ष ५ जना विद्यार्थीले भर्ना गरे पनि २०६६ सालदेखि विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । आज उक्त क्याम्पस बन्द हुने स्थितिमा रहेको छ । षडानन्द बहुमुखी क्याम्पसको आम्दानीको स्रोत भनेको एउटा सीताराम गुठीबाहेक अन्य कुनै सरकारी र गैरसकारी संस्था छैन । क्षमतावान शिक्षक नहुनु, विद्यार्थी कम हुनु मात्र नभएर क्यम्पस सञ्चालनमा आर्थिक अभाव यसको प्रमुख कारण हो । क्याम्पस सञ्चालनमा आर्थिक अभाव शिक्षक छनोट भन्दा पनि सबभन्दा ठूलो कमजोरी विषय छनोटमा देखिन्छ ।
दिङ्लामा षडानन्द उच्च मा.वि. र अरुण उच्च मा.वि. सञ्चालनमा छन् । यी दुई उच्च मा.वि. मा ९८ प्रतिशत विद्यार्थी शिक्षा सङ्कायमा र २ प्रतिशत व्यवस्थापन, मानविकी सङ्कायमा अध्ययनरत छन्, जसबाट लगभग हरेक वर्ष ८० प्रतिशत विद्यार्थी पास हुन्छन् । ८० प्रतिशतमध्ये ६० प्रतिशतले विभिन्न कारणले अध्ययन नगरे पनि शिक्षा सङ्कायमा क्याम्पस सञ्चालन गरेको भए हरेक वर्ष ४० प्रतिशत विद्यार्थी षडानन्द बहुमुखी क्याम्पसमा भर्ना हुने थिए । २०६५ सालदेखि सञ्चालन गरेको क्याम्पसमा व्यवस्थापन सङ्काय सञ्चालनन गरी शिक्षा सङ्कायसँग सम्बन्धित विषयमा कक्षा सञ्चालन गर्नु पथ्र्यो । शिक्षा सङ्कायबाट नियमित पास भएका विद्यार्थी बाध्यभएर दिङ्लाबाट बाहिरिएका छन् । दिङ्लावासीको चाहाना एउटा बहुमुखी क्याम्पस चलाउने मात्र नभएर गुरु षडानन्दको सपना साकार पार्नु थियो । दिङ्लाबासीको बहुमुखी क्याम्पस सञ्चालन गर्ने तीव्र चाहना थियो । व्यवस्थापन सङ्काय सञ्चालनको निम्ति पर्याप्त विद्यार्थी थिएनन् । गुरुकुल शिक्षा सञ्चालन गर्न स्थानीयबाट चन्दा सङ्कलन गरिएको छ भने स्नातक तह चलाउन सक्ने कुरै भएन । क्याम्पसको आम्दानीको स्रोत भनेको रुद्राक्षबाट र गुठीको जग्गामा निर्माण भएका घरधुरीबाट आउने भाडा लगभग २,५०,००० मात्र थियो । बहुमुखी सञ्चालन गर्न यो रकम पर्याप्त थिएन । २,५०,००० सबै क्याम्पसको लागि मात्र नभएर गुठीको अन्य कार्यमा पनि खर्च हुन्छ । शिक्षा क्षेत्रमा लगानी गर्न चाहने दिङ्लाबासी बहुमुखी क्याम्पसका लागि मात्र नभएर गुरु कुल शिक्षा सञ्चालनमा समेत चन्दा दिएका छन् ।
व्यवस्थापन सङ्कायमा क्याम्पस सञ्चालन गर्नु गल्ती भयो । दिङ्लामा ब्यवस्थापन सङ्कायको हैन शिक्षा सङ्कायको आवश्यकता थियो । कोदोको बीउ राखेर धान रोप्न खोज्नु स्थानीय बुद्धिजीवीको कमजोरी हो । व्यवस्थापन सङ्कायमा पर्याप्त विद्यार्थी उत्पादन नहुनु, क्ष्यमतावान शिक्षक नहुनु प्रमुख कारण हुन् । आज शिक्षा सङ्काय सञ्चालन नगरेकै कारण बहुमुखी क्याम्पस बन्द हुने स्थितिमा छ । विद्यार्थी भए चन्दा उठाएर पनि सञ्चालन गर्न सकिन्थ्यो । विद्यार्थी नभएको अवस्थामा क्याम्पस बन्द गर्ने कि शिक्षा सङ्काय सङ्चालन गर्ने अन्यौल छ । क्षिक्षा सङ्कायमा सञ्चालन गर्न सहज छैन । एउटा सङ्काय सञ्चालन गर्न नसकेको अवस्थामा अर्को सङ्काय सञ्चालन गर्नसक्ने सम्भावना नै भएन ।
बहुमुखी सञ्चालन गर्न सङ्काय परिवर्तन गर्नै पर्छ । व्यवस्थापनको स्थानमा शिक्षा सङ्काय सञ्चालन गर्नै पर्छ । शिक्षा सङ्काय सञ्चालन गर्न सहज छैन । किनभने व्यवस्थापन सङ्काय सञ्चालनमा पहिले नै असफल भइसकेको छ । शिक्षा सङ्काय सञ्चालन गर्दा आर्थिक समस्या हुदैन थियो । अरुण र षडानन्द उच्च माविबाट पास भएका विद्यार्थी मात्र नभएर दिङ्ला आसपासको उच्च माविबाट पनि विद्यार्थी आउने थिए । विद्यार्थीको उपस्थिति राम्रो हुने थियो । अध्यापनको निम्ति शिक्षकको कमी हुँदैन थियो । यहाँका विद्यार्थीको समस्या भनेको दिनभरी काम गर्नुपर्ने हुन्छ । पढाइमा पर्याप्त समय दिन नसक्ने हुनाले सजिलो विषयमा भर्ना हुने गर्छन् । सजिलो विषयको रुपमा विद्यार्थीहरुले शिक्षा सङ्कायलाई लिने गरेका छन् । क्याम्पसमा विद्यार्थी भएको भए अर्थिक कारणले बन्द हुने थिएन । स्थानीय जनताद्वारा चन्दा सहयोग गर्न दिङ्लाबासी तयार थिए । विद्यार्थी छैनन् भने जनताले के नै गर्न सक्छन् । विद्यार्थी भएको भए सहयोगको लागि कुनै संस्थालाई हात थाप्नु पर्ने थिएन । किनकी दिङ्लाको शैक्षिक विकासको निम्ति र आफ्ना सन्ततिको उज्वल भविष्यका लागि सहयोग गर्न दिङ्लाबासी पछि हट्ने थिएनन् । हाल सञ्चालनमा रहेको प्लसटुमा अध्यापन गराइरहेका शिक्षकद्वारा स्नातकमा अध्यापन गराउन सकिन्थ्यो । शिक्षकको अभाव हुँदैन थियो । आज विषय छनोट गर्न गल्ती गरेकै कारण सयाँै विद्यार्थी दिङ्लाबाहिर पढ्न मासिक हजारौ रुपियाँ तिरेर बसेका छन् । सयौँ विद्यार्थी आर्थिक अभावको कारण रोजगारको लागि खाडी मुलुक गएका छन् । प्लसटु अनुसारको विषय छनोट गरेको भए सम्पूर्ण विद्यार्थीले पढ्न पाउने थिए । अभिभावक खुशी हुने थीए । क्याम्पस राम्रोसँग सञ्चालन हुने थियो ।
दस वर्ष द्वन्द्वको चपेटामा परेको गुठी संरक्षणमा कसैले ध्यान नदिएका कारण जीर्ण बनेका भौतिक संरचना २०७२ सालको भूकम्पले भात्कायो । हाल अस्तित्वमा रहेको गुठी सञ्चालक समितिको दायित्व भनेको भौतिक संरचनाको पुनर्निर्माण गर्नुका साथै गुरुकुल शिक्षा पुनः सञ्चालन गर्नु नै हो । केही मात्रामा भए पनि हाल भौतिक संरचना पुनर्निर्माण कार्य थालिएको छ । भौतिक संरचना पुनर्निर्माणले सीताराम गुठी परिसरको अनुहार फेरिँदै आएको छ ।
१०८ आवाल ब्रह्मचारी गुरु षडानन्दको सम्मानमा दिङ्ला बजारमा सालिक राखिएको छ । हरेक वर्ष जन्मजयन्तिको दिन गुरुको सम्झनामा विद्यालय, बोर्डिङ र स्थानीय वासिन्दाद्वारा र्याली, झाँकी प्रदर्शन, लाखे नाचका साथै विभिन्न कार्यक्रम गरिन्छ । गुरुको जन्मजयन्तिको अवसरमा एक दिन राजनीतिक दलद्वारा गुरुको सालिकमा माल्यार्पण गर्नुका साथै गुणगान गाउनु नियमित कार्य भएको छ ।
सतीप्रथाको अन्त्य र राणाहरुको हालिमुहाली भएको समयमा पनि सर्वसाधारण जनताको छोराछोरीले पढ्न पाउनुपर्ने आवाज उठाउई पाठशाला खोलेर गुरुकुल शिक्षा सञ्चालन गर्नुहुने महन्त षडानन्द गुरुलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नु आवश्य छ । सरकारले गुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरेमा यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल