सत्ता हस्तान्तरणबारे केही शङ्का !

सत्ता हस्तान्तरणबारे केही शङ्का !

बाबुलाल बुढा मगर

नौ महिना अगाडि बनेको नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनको सरकारको म्याद अब सकिन लागेको छ । यससँगै विभिन्न शङ्का आशङ्का पनि उत्पन्न भएका छन् । के प्रचण्डले सजिलै सत्ता हस्तान्तरण गर्लान् त ? भित्री सहमति के छ ? प्रचण्डलाइ नै पुनः प्रधानमन्त्री बनाउने लबिङ चलिरहेको भए पनि प्रचण्डले अस्वीकार गरिसकेका छन् । संविधान कार्यान्वयन र बाँकी कार्यभारप्रति असर पर्ने भएकाले सहमतिअनुसार नै काङ्ग्र्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमत भएका हुन । सहमतिअनुसार स्थानीय चुनाव माओवादीले गर्ने र बाँकी काङ्ग्रेसको नेतृत्व सरकारले गर्ने थियो । त्यही अनुरुप शङ्कै शङ्काको भुमरीबाट सरकार खल्बलिरहेको अवस्थामा अपत्यारिलो चुनावको घोषणा गर्दा सबै छक्क परे भने प्रतिपक्षी एमालेको होस नै उड्यो अवरोध पुर्याउन हतियार बनाएका सिलवाल र सुशीला कार्कीको निलम्बनले पनि सरकारलाई सहज भएको हो । सहमति अनुसार नेपाल अधिराज्य भर एकैचोटि चुनाव हुने भनिए पनि हुन सकेन । र बाँकी चुनाव अबको नयाँ सरकारले गर्ने भएको छ । नेपालमा कुनै पनि राजनीति दलले लिएको बहुमतको दम्भले मात्र काम गर्दैन भन्ने कुरा हामीले विगतका राजनीति घटनादले स्पष्ट पारिसकेका छन् ।
त्यही भएर अहिले चुनावको मुखमा ठूला दलहरु गठबन्धनका लागि तयारी गरेका हुन् । अहिलेको राजनीति परिवेश र आमूल परिवर्तन सबैको सहमतिमै भएका हुन । एजेन्डा आआफ्नै होलान् तर अन्तिममा आएर एकले अर्कालाई आरोप प्रत्यारोप गर्न उचित देखिँदैन । अहिलेको सत्ता गठबन्धनले देशमा गरेको विकास र निकासका आधारमा इतिहासकै सफल सरकार भएको छ । यो माओवादीले मात्र गरेको हो भनेर दम्भ गर्नु हुन्न । यसमा साझेदार नेपाली काङ्ग्रेसदेखि लिएर विभिन्न समर्थन गर्ने सबै दलको पनि ठूलो भूमिका छ । बहुमतले मात्र सबै सफल हुँदैन भन्ने कुरा स्पष्ट बुझेर नै नेपाली काङ्ग्रसले माओवादीको सरकारमा समर्थन गरेर गठबन्धनको सरकार बनाएको हो । अब केही दिनभित्र सत्ता हस्तान्तरण हुँदै छ । ९ महिना अगाडिको सहमतिअनुसार नै प्रचण्डले हाँसी हाँसी कुर्सी छोड्दै छन् र देउवा प्रधानमन्त्री बन्दै छन् । हुन त राजनीति हो । रातारात जता पनि फर्किन सक्छ । यहाँ चतुर खेलाडीहरु छन । अहिले प्रचण्ड र देउवाले जुन तरिकाले गठबन्धन गरिरहेका छन्, त्यो अहिलेसम्म हेर्दा उनीहरुको गठबन्धन यति चाँडै टुट्दैन जस्तो देखिन्छ । यही दरिलो गठबन्धन देखेर एमाले अताल्लिसकेको छ । त्यही भएर चुनाबका लागि राप्रपासँग गठबन्धन गर्न पुगेको कुरा स्पष्ट छ । तर यति सलिलै नयाँ सरकार बन्न सक्छ भनेर भन्न सकिँदैन ।
राजनीतिक तरङ्ग र मोड परिस्थितिअनुसार जता पनि मोडिन सक्छ । अहिले सत्ताको साँचो प्रचण्डको हातमा छ । प्रचण्ड जोखिम मोल्न तयार हुने राजनीतिक खेलाडी हुन् । बम बारुदको बाटो हुँदै सिंहदरबारसम्मको यात्रासम्म आइपुग्दा माओवादी एक चरण सफल भएकै हो । सिंहदरबारमा बन्दी बनाएर राखेको अधिकार अब जनस्तरमा गएको छ । यसले माओवादीलाई थप बलियो बनाएको छ । ९ महिनाको छोटो अवधिमा नेपालको ऊर्जा क्षेत्रदेखि देशको अर्थतन्त्र उथलपुथल बनाउँदा विश्व समुदायको ध्यान केन्द्रित छ । अहिलेसम्मका केही एजेन्डा नेपाली काङ्ग्रसको एमालेको नेतृत्वमा सम्पन्न भएका भए पनि मूलतः माओवादीले नै बोकेर सिंहदरबारसम्म पुर्याएका एजेन्डाहरु हुन् ।
परिस्थितिअनुसार माओवादी र काङ्ग्रेसले आफ्नो बाटो यु टर्न गरेका छन् र गठबन्धन टिकाइराख्ने कबुलसमेत गरेका छन् । जसका लागि केही गुमाउनै पर्ने हुन्छ । दुवै हातमा लड्डु भन्ने उखानमा जानै हुँदैन । अहिले नेपाली काङ्ग्रेसका कार्यकर्ताले केही ठाउँमा आक्रोश पोखेका पनि छन् । देउवाको पुत्ला जलाएका छन् । सभापतिबाट हटाउने धम्कीसमेत दिएका छन् । कार्यकर्ताले सीमित आफ्नो क्षेत्रको बलियो जनमास हेरेर मात्र पुग्दैन । केन्द्रीय राजनीति र नेतृत्वको निर्देशनलाई मान्नुपर्ने पनि हुन्छ । नेतृत्वले मेरो पार्टी हारोस् भनेर कहिले सम्झौता गरेको हुन्न र गर्दैन पनि । यतिखेर नेपालको राजनीति र गठबन्धन सरकार हिलोमा फुलेको कमल जस्तै छ । फेरि पनि बाम गठबन्धनका लागि प्रचण्डलाई अफर नआएको होइन । तर पनि प्रचण्डले देउवालाई नै रोज्दै छन् । किनभने देश विकास र समृद्धिको लागि अब साझा एजेन्डाको खाँचो छ । नेपालको राजनीतिक अवस्था नेपाली जनताले बुझिसकेका छन् ।
नेपाली काङ्ग्रेसका कार्यकर्ता र दोस्रो स्तरका नेताहरुमा अझै पनि हाम्रो स्पष्ट बहुमत छ र हाम्रो मात्र सरकार बन्छ भन्ने कुराको चक्रव्यूहमा छन् ।
यो मानसिकताबाट एकदमै टाढा हुन जरुरी छ । हिजोका पानी बाराबार राजनीति जस्तो आज चल्दैन । देश आमूल परिवर्तन भइसकेको छ । प्रचण्डलाई छोरी परिवारिक मोह लगाउनेले काङ्ग्रेसका कोइराला खानदानलाई पनि एकचोटि बुझ्ने हो कि ?
अन्तिम समयमा खतरनाक घेराबाट देउवाको डिफेन्डिङमा प्रचण्डले जुन किसिमको गोल गरेका छन्, यो नै ऐतिहासिक सफलता हो । अब नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ताले विरोध र नेतृत्वको पुत्ला दहन गर्नुभन्दा पनि सत्ता गठबन्धनलाई जोगाउने र प्रचण्डको हातमा रहेको साँचो कसरी लिने भन्ने कुरातिर पनि ध्यान दिनुपर्छ । । अहिलेसम्म ९ महिनाको अन्तरालमा जुन किसिमका उपलब्धि भए । अबको गठबन्धन सरकारले पनि त्यस्तै किसिमको गति दिन सक्यो भने नेपाल एक नमुना देश बन्न सक्छ । त्यसैले कार्यकर्ता बाझेर होइन, मिलेर अगाडि बढौँ । देश बनाउने अभिभारा हाम्रै काँधमा छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल