मधेस आन्दोलनको चिरफार

मधेस आन्दोलनको चिरफार

गङ्गा पी. शर्मा

जन आन्दोलन २०६२–६३ को सफलतासँगै नेपालमा करिब २४० वर्ष लामो राजतन्त्र अन्त्य भई संविधानसभा मार्फत गणतन्त्र स्थापना भयो ।

वि.स. २०६३ माघ १ गते घोषणा भएको नेपालको अन्तरिम संविधानले दस वर्ष लामो सशस्त्र युद्धलाई सफल बिराम त लगायो तर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी फोरमले संविधानको प्रतिलिपि जलाउँदै मधेसमा आन्दोलन चलायो । त्यसयता मधेस अशान्त छ । दोस्रो संविधान सभाद्वारा करिब नब्बे प्रतिशत सदस्यद्वारा अनुमोदित सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ को घोषणापछि त झन् चर्को रुपमा मधेस देखा परेको छ । यसैबीच देशले भारतीय नाकाबन्दीको सामना गर्यो एकातिर भने अर्कातिर देशले सप्तरी घटना जस्ता कृत्य देख्न बाध्य भयो । आखिर मधेस किन अशान्त छ त ? मधेस समस्याको दीर्घकालीन समाधान कसरी हुन सक्छ ?

आत्मसम्मानको खोजी
मधेसका आन्दोलनकारीद्वारा बारबार के कुरामा जोड दिने गरेका छन् भने नेपालको संविधान मधेसी जनताका लागि विभेदकारी छ । के संविधानका धाराद्वारा नै नागरिकतालगायतका अधिकारमा मधेसीलाई विभेद गरिएको छ त ? संविधानमा नागरिकतासम्बन्धी भाग २ को धारा १० देखि १५ सम्मका सबै प्रावधानहरु हेर्दा कहीँ पनि त्यस्तो विभेदको कुनै लक्षण देखिँदैन । विशेषगरी उनीहरुले विभेद भएको दाबी गरेको ‘विदेशी महिलाद्वारा नेपाली नागरिकसँग विवाहपश्चात प्राप्त हुने अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधान भाग २ को धारा ११ को उपधारा ६ मा भनिएको छ– “नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुनबमोजिम अङ्गीकृत नागरिकता लिन सक्नेछिन् ।” वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न लाग्ने समय पनि धेरै कम छ, जुन प्रावधान अन्य मुलुकको तुलनामा एकदमै लचक छ । तर पनि मधेसी आन्दोलनकारीहरू वैवाहिक अङ्गीकृत नागरिकतालगायत अधिकार कटौती गरिएको भन्दै मधेसी जनतामा भ्रम छर्न सफल भए । हजारौँ मधेसी प्रदर्शनकारी सडकमा आएर ज्यानको बाजी थाप्नसमेत तयार भए । आखिर किन यस्तो गरे त ? यो असन्तोषको कारण केवल संविधान मात्र होइन ।

सूक्ष्मरुपले यस विषयलाई केलायौँ भने के निष्कर्ष निस्कन्छ भने केवल संविधान घोषणामा मधेसी दलहरुको बहिष्कारले मात्र मधेसी जनता सडकमा निस्केका होइनन् । बरु मधेसी जनता सडकमा निस्किनुको वास्तविक कारण दशकौँदेखि सामाजिक र राजनीतिक रुपले हेपिएको महसुस गरिरहेका छन् । मधेसी जनता आत्मसम्मानका साथ सामाजिक र राजनीतिक रुपमा समान हैसियत स्थापित हुनुपर्छ भन्ने मनसाय हो । यो समस्याको प्रमुख कारण नेपालको टाठाबाठा वर्गले निर्माण गरेको सामाजिक मनस्थिति पनि एक हो । जुन मनस्थिति जसले आफूलाई नेपालको एक नम्बरको नागरिक ठान्छ र मधेसी, दलित, जनजाति, महिलालगायत तप्कालाई दोस्रो दर्जाको नागरिक ठान्दछ । विशेषगरी मधेसी तप्का यस सामाजिक मनस्थितिबाट सबैभन्दा बढी पीडित छ । बारबार देखिने मधेसी असन्तोष यसैको उपज हो । यसै असन्तोषलाई विभिन्न मधेसी समूह र शक्ति केन्द्रहरुले विभिन्न स्वार्थ साँध्ने काम गरिरहेका छन् ।

जबसम्म मधेसी समुदायमा हेपिएको महसुस कायम रहिरहन्छ, तबसम्म मधेसी समुदायलाई उचालेर आफ्नो स्वार्थ पूरा गर्न तल्लीन तत्वहरुलाई मधेसमा उर्वर जमिन मिलिरहने छ । त्यो तत्लाई मधेसमा जति रगत बगोस्, जे जति हिंसा होस गुमाउनु केही पनि छैन । केवल प्राप्ति मात्र छ । त्यो प्राप्ति भनेको समुदाय समुदायबीच द्वन्द्वलाई गहिरो बनाउँदै नेपाल राष्ट्रको अखण्डतालाई कमजोर बनाउनु हो ।

त्यसैले नेपाल राष्ट्रको अखण्डतालाई माया गर्ने तपाईंहामी सबैले मधेसमा विकसित घटनाक्रमलाई गम्भीरतापूर्वक लिन जरुरी भइसकेको छ । के हामी मधेसी दाजुभाइ दिदीबहिनीको आत्मसम्मानको चाहनालाई दिलदेखि नै आत्मसाथ गर्न तयार भई समुदाय समुदायबीचको द्वन्द्वलाई गहिरो बनाउने षडयन्त्रलाई असफल बनाउन तयार छौँ ? यदि छौँ भने आउनोस् निम्न लिखित काम आजैबाट सुरू गरौँ ।

(१) आआफ्नो टोल, छिमेक, समुदाय, सार्वजनिक स्थल, कार्यालय, जमघट आदिबाट मधेसी दाजुभाइ दिदीबहिनीको आत्मसम्मानमा ठेस लाग्ने कुनै पनि अपशब्दको प्रयोग नगरौँ । यदि कसैले गर्छ भने सशक्त प्रतिवाद गरौं । उनीहरु माथि कुनै दुव्र्यवहार नगरौँ गर्न नदिऊँ ।

(२) मधेसी भएकै कारण मधेसी दाजुभाइ दिदीबहिनीमाथि हुने हर किसिमका हिंसा, विभेद, अन्याय र थिचोमिचो विरुद्ध आआफ्नो ठाउँबाट आवाज बुलन्द पारौँ ताकि मधेसी जनसमुदायप्रति विभेदरहित सकरात्मक परिवर्तनतर्फ उन्मुख छ भन्ने महसुस होस् ।

(३) सम्पूर्ण सरकारी संयन्त्रलाई वर्ण, धर्म, लिङ्ग, सम्प्रदायलगायतका आधारमा हुने हिंसा, विभेद, अन्याय, दुरव्यवहार र थिचोमिचोलाई कानुन बमोजिम नियन्त्रण र निरुत्साहित गर्न सक्रिय पार्न सकियोस् । सम्पूर्ण मधेसीलगायत दबाइएको महसुस गरिराखेको समुदायमा राज्यले आफ्ना सबै नागरिकलाई कानुन बमोजिम समव्यवहार निर्वाह गरिरहेको छ भन्ने कुराको प्रत्याभूति हुन सकोस् ।

(४) हामी सबैमा रहेको मधेसी जनसमुदायप्रतिको गलत सोचको अन्त्य गरौंँ र घरघरदेखि यस्तो सोचविरुद्ध अभियान चलाऔँ ।

आज हरेक मधेसीले आफ्नो आत्मसम्मानको खोजी गरिराखेको छ । उनीहरुको यस भावनालाई सम्मान गरौँ र उनीहरुलाई नेपाल राष्ट्रको एक अभिन्न समुदायका रुपमा स्थापित गरौँ । यसबाट मधेसलाई सीके रावत प्रवृत्तितर्फ जानबाट जोगाउन सकिनेछ । साथै यसबाट नेपाल राष्ट्रको अखण्डतालाई कमजोर बनाउने विभिन्न तत्वहरुको योजनालाई परास्त गर्न बल प्राप्त हुनेछ । आत्मसम्मानले ओतप्रोत मधेसी जनता नै सीके रावत जस्ता प्रवृत्ति विरुद्धको अचुक औषधि हुन् । आत्मसम्मानले ओतप्रोत मधेसी जनता न कुनै बहकाउमा आउन तयार हुनेछन् न कुनै गलत तत्वको षडयन्त्रको आवरण बन्न तयार हुनेछन् । यसका अतिरिक्त अझै शिक्षाको प्रकाशबाट वञ्चित ठूलो सङ्ख्यामा मधेसी समुदायलाई शिक्षाको मूल प्रवाहमा जोड्न सरकारी, गैरसरकारी र नागरिक तहबाट प्रयास गर्न जरुरी छ । शिक्षित मधेसी जनसमुदाय मधेसमा विद्यमान अन्धविश्वास, कुरीति र गरिबीका विरुद्ध सशक्त ढङ्गले लड्न सक्षम हुनेछन् । आत्मसम्मानले भरिपूर्ण मधेसी जनसमुदायलाई न एक मधेस एक प्रदेसको नाराले उद्येलित पार्न सक्नेछ न स्वतन्त्र मधेस राष्ट्रको नाराले नै ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल