काठमाडौंको धूलो र हाम्रो व्यवस्थापन

काठमाडौंको धूलो र हाम्रो व्यवस्थापन

राज्यलक्ष्मी शाक्य
काठमाडौंवासीका लागि अहिले धूलो र धूवाँ ठूलो शत्रु बनेको छ । सरकारले नियमित रूपमा सडकको मर्मतसम्भार नगर्दा प्रदूषण बढिरहेको छ । त्यसमाथि अहिले मेलम्ची खानेपानी आयोजनाको पाइप वितरणका लागि सडकहरू भत्काइएको छ । सडक भत्काएर त्यसै छोडिँदा धूलो उड्ने समस्याका कारण सर्वसाधारण जनताले निकै सास्ती खेप्नुपरिरहेको छ ।
हालै मात्र विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनमा वार्षिक रूपमा विश्वभरि मृत्यु हुने मानिसको संख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको जनाइएको छ । त्यस्तै, प्रदूषणकै कारण मृत्यु हुने कुल जनसंख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । प्रतिवेदनमा नेपालजस्ता विकासोन्मुख देशमा अधिकरूपले प्रदूषणकै कारण मृत्यु हुने मानिसको संख्या भने डरलाग्दो स्थितिमा पुगेको उल्लेख छ ।
विशेषतः काठमाडौंमा वायुप्रदूषण बढिरहँदा सरकारी पक्षबाट यसको न्यूनीकरणलाई ठोस कार्य खासै हुन सकेको छैन । हालै मात्र काठमाडौंको रत्नपार्कमा वायुप्रदूषण मापनयन्त्र राखिएको थियो । तर, उक्त यन्त्र स्थापनाको पाँचौं दिनमा नै अत्यधिक प्रदूषणका कारण बिग्रिएको सुन्नमा आएको छ । यसले काठमाडौंको वायुप्रदूषणको अवस्था कत्तिको भयावह छ भन्ने पुष्टि गरेको छ । नेपालमा मात्रै वर्षेनि एक लाख ३६ हजार मानिसको प्रदूषणकै कारण मृत्यु हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. खेम कार्की बताउँछन् । वायु प्रदूषणका कारण यहाँका मानिसहरूका स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू देखिन थालेका छन् । प्रदूषणबाट निमोनिया हुनुका साथै मुटु, दमखोकी र फोक्सोमा अधिकतम असर पर्ने विज्ञहरूको भनाइ छ ।
काठमाडौंलगायत समग्र नेपालमा नै वायुप्रदूषण बढ्नु ठूलो चुनौती हो । मान्छेको सबैभन्दा महत्वपूर्ण र पहिलो प्राथमिकता भनेको स्वास्थ्य नै हो । विश्वका विकसित देशमा स्वास्थ्यसँग कुनै पनि विषयमा लापरबाही गरिँदैन । तर, नेपालमा भने स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने चलन अझै सुरु हुन सकेको छ्रैन । काठमाडौं अवस्थालाई हेर्ने हो भने यहाँ वायुप्रदूषण हुने विभिन्न कारणहरू छन् । बढ्दो सवारीसाधन, सडक मर्मतसम्भार नहुनु, कलकारखाना बढ्नु, जेनेरेटरको प्रयोग हुनुलगायत कारणहरू छन् । प्रदूषणकै कारण अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज अवतरणमा समेत समस्या आइरहेको विज्ञहरू बताउँछन् ।
काठमाडौंमा वायुप्रदूषण यति भयावह हुँदाहुँदै किन न्यूनीकरणमा प्रयास भएको छैन त ? यसमा पहिलो कारण त राजनीतिक चासो नै कमी भएको बुझ्न सकिन्छ । वातावरणविद् प्रा.रामप्रसाद रेग्मी भन्छन्, ‘वायुको गुणस्तर झन् बिग्रँदै जानुले प्रदूषण नियन्त्रणसम्बन्धी गरिएका अध्ययन अपूरा, अवलम्बन गरिएका नियन्त्रणका उपाय अधुरा, तोकिएका उत्सर्जनका मापदण्ड फितला, अल्पकालीन सोच र दुर्बल इच्छाशक्ति थिए भन्ने जनाउँछ । उपत्यकाभित्रका वायु प्रदूषणका स्रोतहरू नियन्त्रण गर्न नसकिरहेको अवस्थामा उपत्यका बाहिरकासमेत वायु प्रदूषणका दृष्टिले संवेदनशील क्षेत्र नै उद्योग व्यवसायीको रोजाइको क्षेत्र बन्ने गरेको छ ।’
नेपालमा वायुप्रदूषण बढ्नुका कारणहरू सरोकारवाला निकायले चासो नदिनु, विभिन्न निकायहरूबीच समन्वय कमी हुनु, व्यवस्थापनको कमजोरी र सर्वसाधारणले पनि सचेतता नअपनाउनु हुन् । मेलम्ची खानेपानी आयोजनाको पाइप वितरणका लागि सडक भत्काइएको अवस्थालाई नै उदाहरण लिन सकिन्छ, कसरी व्यवस्थापन र अन्तरनिकाय समन्वय नहुँदा यो आयोजनाका कारण जनताले सास्ती पाइरहेका छन् भन्ने बुझिन्छ । यसको अर्थ विकास निर्माणको काम नै नगर्ने भन्ने पंक्तिकारणको आशय होइन । तर, यही कार्यलाई पनि सही व्यवस्थापन र समन्वय गर्न सकेको भए काठमाडौं ‘डस्टमाण्डु’ बन्ने थिएन । यहाँका बासिन्दाले यस्तो सास्ती खेप्नुपर्ने थिएन । अब छिट्टै नै वर्षायाम पनि सुरु हुनेछ । अहिले भत्काइएका सडकहरू वर्षाअघि नै नबनाउने हो भने हिलोका कारण यात्रा गर्न झन् कठिन बन्नेछ । यसले दुर्घटनाको संख्या बढाउने पनि निश्चित छ । त्योभन्दा यहाँ बसोबास गर्ने सर्वसाधारणले प्रदूषणकै कारण भविष्यमा ठूलो स्वास्थ्य समस्या भोग्नुपर्ने हुनसक्छ । राज्यका निकायले यसतर्फ बेलैमा ध्यान पु¥याउनु आवश्यक छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल