प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र

प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र

हरि थापा

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार !
तपाईं सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र स्वस्थताको कामना पनि गर्दछु । तर तपाईं जतिसुकै खुसी भए पनि देश विसन्चो र नाजुक स्थितिमा पुगेको जानकारी गराउँछु । तर तपाईंहरु देश विदेश शयर गर्दागर्दै दसौँ वर्ष बिताइदिनु भएको छ । यसरी देश अधोगतितिर लागेकोमा हामी नागरिकलाई चिन्ता छ ।

प्रधानमन्त्रीज्यू तपाईंसँग अलौकिक क्षमता रहेछ । एकै छिनमा अनुहारको रङ फेर्नु हुन्छ । भावुक हुनुहुन्छ, एकै छिनमा हाँस्नु हुन्छ । जनताको पीडा तपार्इंहरु जस्तो महलमा बस्नेलाई के थाहा । हेलिकप्टरबाट भूकम्प पीडितलाई राहत वितरण गर्नेभन्दा गर्वले छाती ढक्क फुलेको थियो । बुरुकबुरुक उफ्रिन मन लागेको थियो । तर ती सबै कुरामा सीमित भयो । शहरतिर के कति बाड्नुभयो ? पहाडमा तपाईंको राहत आउला भनेर बस्नेहरु पर्खाइमा थाके । पीडितहरु चिसो तातो नभनी जसोतसो बाँचेकै छन् । तपाईं सरकार प्रमुख भएपछि अनुगमन टोली बनाउनुभएको थियो । भूकम्पको राहतमा आएका टेन्टले मन्त्रीहरुको गाडी छोपिएको देखियो । तपाईंहरु लाचारी भएर टुलुटुल हेरिरहनु भयो अनि मीठा मीठा भाषण दिनुभयो, जनता भने आश गर्दै बसिरहे ।

अब राहत कति पुग्यो, कतिले राहत पाए भनेर तपाईं नसोध्नुस् । भूकम्प ग्रसित क्षेत्रका जनता कति मरे, कति जिवित छन् त्यसको रेकर्ड अनुसार आफ्ना कार्यकर्तालाई जागिर दिनुहोला ।

जनयुद्धको समयमा यहाँले हामीजस्ता गरिब, मनकारी व्यक्तिलाई चिन्नुहुन्थ्यो । तर अहिले ती अनुहार ठम्याउन सक्नु हुन्न । किनभने तपार्इं अहिले शिखरको चुचुरोमा पुगिसक्नुभएको छ । हिजो जनयुद्धकालमा गरिबको घरमा खाएको गुन्द्रुक र ढिँडोको ऋणको भार चुक्ता गर्न पनि सक्नुभएन । जनयुद्ध कालमा आफ्नो ज्यान खुकुरीको धारमा राखेर पाल्ने ती गरिब निमुखा जनतालाई कसरी सजिलै बिर्सिन सक्नुभयो ।

तपाईंहरुका कार्यकर्ता आएपछि खानपानदेखि सुरक्षा र बास्थान दिने जनताले त्यतिबेला माओवादीलाई बस्न दिएको भन्दै सुरक्षा फौजले हातपात र अपमान गरेका घटना जनतामा अझै ताजै छन् । यस क्रममा कतिलाई आतङ्ककारी भनेर सर्वसाधरणलाई पनि गोली ठोके । यी दुःख जनताले अझै बेहोर्नु परिरहेको छ । यी सबै कुराको लेखाजोखा तपाईंले गर्नुपर्छ । जनयुद्धको सुप्रिम कमान्डरका नाताले त्यसको जिम्मेवारी तपाईंले लिनुपर्छ ।

अहिले गाउँघरतिर रक्सीभट्टी, चिया पसलमा तपाईंको खुब चर्चा गर्छन् । कतिले तपईंले गरेको सकारात्मक परिवर्तनका बरेमा चर्चा गर्छन् त कतिले जनयुद्धको नाममा सङ्कलन गरेको रर्बौंको कालोधन स्विस बैङ्कमा जम्मा गरेको छ भन्छन् । कति साँचो हो र कति झुटो हो, त्यो त हजुर आफै नै जान्नुहोला । यस्ता आरोबाट कहिल्यै हार खानुहुन्न भन्नेहरु पनि छन् ।
केही समय अगाडि यहाँ हेलिकप्टर लिएर दोलखा ध्याङसुकठोर अर्थात मेरो गृह जिल्लामा गुम्बा उद्घाटन गर्न पुग्नुभएको थियो । म यो कुराले अत्यन्त खुसी भएको थिएँ । प्रधानमन्त्रीको भ्रमणले केही सकरात्मक कुराहरुको सम्बोधन होला भन्ने आसा पनि गरेको थिएँ । तर त्यहाँ पनि चिल्ला कुरा सुन्नुबाहेक केही भएन । समृद्ध नेपाल बनाउने सपना बाँडेर हिँड्नुभएछ ।

त्यहाँ तपाईंलाई हेर्न र स्वागत गर्न दुधे बालकदेखि सय वर्षसम्मका वृद्धाहरु उपस्थिति थियो । पञ्चनब्बे वर्षकी मेरी हजुरआमा पनि स्वागतका लागि फूलमाला लिएर आउनुभएको थियो । तर उहाँहरुले के पाउनुभयो जनयुद्ध अघि र गणतन्त्रपछिको नेपालमा ?
जनयुद्धकालमा क्षति भएका भवनहरु मसानघाट जस्ता छन् । गाविस भवन, बैङ्कका भवन, प्रहरी चौकी आदि सबै गाई बाँध्ने गोठ र कुखुरा पाल्ने खोरमा परिणत भएका छन् । जनयुद्धभन्दा अगाडि आधा घण्टाको पैदल हिँडेपछि बैङ्क सेवा लिन सकिन्थ्यो । अहिले बसमा जाँदा तीन घण्टा लाग्छ, पैदल हिँड्नु परे पन्ध्र घण्टा जति लाग्छ । आखिर केका लागि थियो जनयुद्ध ?

तपाईंलाई हेर्न ती बालकदेखि वृद्धा त्यतिकै आएका थिएनन्, तपाईंबाट उनीले धेरै अपेक्षा गरेका थिए । तपाईं जस्ता शीर्ष नेताबाट आशा राख्नु स्वभाविक नै हो । किनकि तपाईं र तपाईंको पार्टीको आह्वानमा भएको जनयुद्धमा उनीहरुले जागिरे छोरा गुमाए, दुधे बालकहरु टुहुरा भए, कति दिदीबहिनीहरुको सिउँदो पुछिएको थियो ।

हिजो काङ्ग्रेस एमालेले रजाइँ गरेर देश बर्बाद बनाए । देशमा भएका प्राकृतिक स्रोत साधन कौडीको मोलमा बेचेयो । देशका कलकारखाना निजीकरण गर्दै पूर्ण रुपमै बन्द गरे । देशलाई परनिर्भर बनाए । बेला बेलामा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा तपाईं यस्तै भनिरहनु हुन्थ्यो । नेपाललाई हङ्ककङ, स्वजरल्यान्ड, चाइना अमेरिका बनाउने सपना देख्नुहुन्छ तर देश अफ्रिका हाइटी भइसकेको स्थिति अझै बुझ पचाउनु हुन्छ । तपाईंका कार्यकर्ता जुन जनयुद्धमा परेका थिए । घाइते भएका थिए आज पनि तपाईंको पार्टी र तपाईंलाई सम्झिरहेका छन् ।

अहिले एकीकृत माओवादी प्रचण्ड, बाबुराम, किरण, विप्लव विभिन्न पार्टीमा टुक्राटुक्रा भई विभाजन भएको छ । यसले के देखाउँछ भने तपाईंहरुको व्यक्तिगत स्वार्थका कारण देश बीसौँ वर्ष पछाडि धकेलिएको छ ।
समृद्धिको कुरा गर्दा देशमा भएका उघोगधन्दा प्रायः बन्द भएका छन् । बाँकी भएका उद्योगमा पनि कार्यकर्ता भर्तीकेन्द्र भएका छन् । त्यस्ता कलकारखानामा राजनीतिक आडमा विभिन्न हड्तालले बन्द हुने अवस्थामा पुगेका छन् ।
प्रधानमन्त्रीज्यू तपाईंमाथि नेपाली जनताले ठूलो लगानी गरेका छन् । त्यसैले जनताले तपाईबाट धेरै आशा गरेका छन् । देशमा कसैले जनताका लागि केही गर्छ भने प्रचण्ड र उनको नेतृत्वले गर्छ भन्छन् । तर ददुर्भाग्य, दुईपटक सत्तामा पुग्दा पनि केही हुन सकेन । अब जनतालाई कसरी विश्वास दिलाउनु हुन्छ ? सर्वसाधारणलाई कसरी न्याय गर्नुुहुन्छ ? पीडितको आँशुको मोल कसरी तिर्नु हुन्छ ?
दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । अझै पनि जनताले आशा मारेका छैनन् । जनताले रोपेको फल टिप्ने बेला भएकाले जनताले आशा गर्नु जायज छ । यसपटक पनि केही गर्न सक्नुभएन भने हामीले कोबाट अपेक्षा गर्ने ? प्रचण्ड आफैमा प्रचण्ड हैन जनताको साथ र सहयोगले बनेको प्रचण्ड हो । अब पनि जनताले चाहेजस्तो प्रणाली र पद्धति आएन भने कहिल्यै आउने छैन । काम गर्न साहस गर्नुस्, जनतासँग खाएको वाचा पूरा गर्नुस् । त्यसैले कुरा हैन काम गरेर देखाउनुस् प्रधानमन्त्रीज्यू ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल