यसकारण एमाले जिम्मेवार बन्न जरुरी

-  |   केदारनाथ नेपाल

यसकारण एमाले जिम्मेवार बन्न जरुरी

जन्मभूमिप्रतिको माया, समग्र राष्ट्रको प्रगति लगायत समाजका विविध पक्षको विकास चाहानु नै राष्ट्रवाद हो । राष्ट्रवाद भौतिक वस्तु नभएर भावनात्मक संवेग हो ।

पछिल्लो समय राष्ट्रवाद बारे विभिन्न बहसहरु भइरहेका छन् । सबैले राष्ट्रवादको विषयमा बहस गरिरहेका छन् । देशको विषयमा प्रत्येक नागरिकले चासो राख्नु देशप्रेमी व्यक्तिहरुका लागि खुशीको विषय हो । सबै नागरिकहरुमा राष्ट्रप्रति जिम्मेवारी महसुस भयो भने पक्कै पनि राष्ट्रियता बलियो हुन्छ । केही समयअघिदेखि नेपालमा राष्ट्रियताको बारेमा निकै बहस हुँदै आएको छ । त्यो देशका लागि सुखद् पक्ष हो ।

अहिले राष्ट्रवादी र अराष्ट्रवादी भनेर राजनीतिक वृत्तमा मतभेद हुँदै आएको छ । विषेशगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकार ढलेसँगै सो विषयमाथि अनेक टीकाटिप्पणी हुँदै आएको छ ।

राष्ट्रवादको चर्चासँगै राष्ट्रवादी र अराष्ट्रवादी भन्दै जनमत विभाजित हुँदै गएको छ । यसरी जनमत विभाजित हुनु दुखद् कुरा हो । बेलैमा त्यस विषयमाथि समीक्षा गरिएन भने त्यसले दुर्घटना निम्त्याउन सक्छ । एकथरी व्यक्तिहरु आफूलाई मात्र राष्ट्रवादी ठान्छन् । अरु सबै अराष्ट्रवादी हुन् भन्ने बुझाइ उनीहरुमा छ । स्पष्ट भन्नुपर्दा एमालेजनहरु आफूलाई समर्थन गर्नेहरु सबै राष्ट्रवादी र अरु सबैलाई अराष्ट्रवादी देख्छन् ।

यथार्थमा भन्नुपर्दा अहिले एमालेले देखाएको राष्ट्रवाद खोक्रो राष्ट्रवाद हो । देशको प्रगतिका लागि के गरे उनीहरुले ? जनतालाई विकासको महत्वकाङ्क्षी योजना बाँड्ने तर काममा सिन्को पनि नभाँच्ने प्रवृत्ति उनीहरुले देखाएका छन्, त्यही हो उनीहरुले देखाएको खोक्रो राष्ट्रवाद ।

यसअघि प्रचण्डको समर्थनमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको थियो । ओली मात्र होइन गणतन्त्रपश्चात् एमाले नेतृत्वमा बनेका सबै सरकार प्रचण्डकै समर्थनमा बनेका छन् । प्रचण्डले ओलीलाई काँध थापुन्जेल उनीहरुका आखामा प्रचण्ड राष्ट्रवादी नेताको सूचीमा थिए । भद्र सहमतिअनुसार ओलीपछि प्रचण्डको नेतृत्वमा सरकार बन्ने सहमति थियो । त्यसअघि सुशील कोइरालाले जस्तै ओलीले पनि सहमति पालना गरेनन्, बाध्य भएर प्रचण्डले आफैले समर्थन गरेर बनाएको सरकार ढाले । काङ्ग्र्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गरे । जुन दिन ओलीलाई छोडेर प्रचण्डले काङ्ग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गरे, त्यही दिनदेखि एमालेको आँखामा प्रचण्ड र उनको सरकार राष्ट्रघाती देखियो ।

एमालेजनले अहिलेको सरकारलाई राष्ट्रघाती भनिरहँदा उनीहरुलाई आफ्नै विगत सम्झाइदिन मन लाग्यो । अरुलाई राष्ट्रघाती देख्नुअघि एमालेजनले आफ्नै इतिहास पल्टाएर हेर्ने हो कि ? कसले कुन कुन समयमा राष्ट्रघात गर्दै आएका छन् । राजाको खुट्टामा दाम राखेर ढोग्नु के हो ? महाकाली सन्धि के थियो ? जसलाई उनीहरु अहिले राष्ट्रघाती देख्छन्, तिनै व्यक्तिहरु कुनै बेलामा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि लड्दै थिए त्यतिबेला अहिलेका स्वघोषित राष्ट्रवादी ओली गणतन्त्रलाई ठेलागाडा चढेर अमेरिका जानु जस्तै देख्थे । आज उनीहरुकै बलमा भएको परिवर्तनको भर्याङ चढेर ओलीले सत्ताको स्वाद चाखिसकेका छन् । फेरि अहिले उनै प्रचण्ड र उनको सरकार कसरी राष्ट्रघाती भयो ?

गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता जस्ता विषय माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मानिदिएको भन्ने उनीहरुका अभिव्यक्तिले उनीहरु परिवर्तन चाहँदैनन् । उनीहरु परिवर्तन विरोधी हुन् भनेर स्पष्ट बुझ्न सकिन्छ ।

अहिले फेरि सङ्घीयतालाई देखाएर देश टुक्रिने भ्रम छर्नमा तिनै एमालेजन अग्रपङ्क्तिमा देखिएका छन् । अझै पनि उनीहरुले भित्री रुपमा परिवर्तन स्वीकार गर्न सकेका छैनन् । अहिलेको संविधान कार्यान्वयन भएको देख्न चाहँदैनन् एमालेहरु । संविधान कार्यान्वयन भएमा अहिलेको परिवर्तनको सम्पूर्ण श्रेय माओवादीलाई जान्छ । त्यसबाट माओवादी दस वर्षे जनयुद्धको औचित्यसमेत पुष्टि हुन्छ । त्यससँगै एमालेको कर्मकाण्डी राजनीतिको अवसान हुन पुग्छ । त्यसैले विभिन्न बाहानामा समय लम्ब्याएर परिवर्तन उल्ट्याउने खेलमा लाग्ने अहिलेको एमाले रणनीति भएको स्पष्ट देखिन्छ ।

छुद्र वचनको प्रयोग, भ्रमित विश्लेषण, अन्धभक्त समर्थन, सामन्तवादी सोचाइ अहिले एमालेको संस्कार भइसकेको छ । अझ केही समयअघि एमालेको भातृसङ्गठनका एक जिम्मेवार नेताले खुल्लमखुल्ला प्रचण्डको टाउको काटेर फुटबल खेल्ने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि एमाले जिम्मेवार राजनीतिक पार्टी हो कि आतङ्ककारी सङ्गठन हो ? छुट्टयाउनै गाह्रो पर्यो । यदि जिम्मेवार पार्टी हो भने तिनका कार्यकर्ताले त्यस्तो सोच्नै नहुने शब्द प्रयोग गर्न मिल्छ ?

जनतालाई विभिन्न नाममा विभाजित गराएर एमालेले आफ्नो सत्तामा जाने दाउ खोज्दैछन् । उनीहरु मधेसी र पहाडीबीच विभाजन ल्याउनमा उद्दत देखिन्छन् । जनता जनताबीच फाटो भएको देशको राष्ट्रियता कदापि बलियो हुँदैन । बरु झन्झन् कमजोर हुन्छ । यहाँ विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति भएका मानिसहरु बसोबास गर्छन् । तिनीहरुबीच एकता नभई हाम्रो राष्ट्रियता बलियो हुँदैन । राष्ट्रवादको नाममा अन्य समुदायको जायज माग स्वीकार गर्न नसक्नु एमालेको कमजोरी हो । एमाले जातिवादमा फसिसकेको पार्टी हो । नत्र अशोक राई जस्ता लामो सङ्घर्षपूर्ण राजनीतिक इतिहास बोकेका नेताले एमाले पार्टी छाड्दैनन् थिए ।

पछिल्लो समय संविधान संशोधन प्रक्रियामा अनावश्यक हठ राखेर एमालेले गैरजिम्मेवार काम गर्दैछ । उसले यो बुझ्नुपर्छ, संविधान गतिशील दस्तावेज हो । त्यसलाई समय र आवश्यकताअनुसार संशोधन प्रक्रिया मार्फत संशोधन गर्दै लैजान सकिन्छ । संविधानले नै त्यो अधिकार संसदलाई प्रदान गरेको छ । यदि अहिलेको संविधान संशोधन गलत छ भने पहिले त्यसलाई छलफलमा लैजान दिनुपर्छ । लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्नुपर्छ र त्यसमाथि छलफल चलानुपर्छ । आवश्यक भएमा पारित गराउनुपर्छ, नत्र असफल गराउनु पर्छ । तसर्थ एमालेजनहरुल आफूलाई जिम्मेवार पार्टीको रुपमा उभ्याउने कोसिस गर्नु जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल