राजधानीवासीले कहिले धूलोबाट छुट्कारा पाउलान् ?

राजधानीवासीले कहिले धूलोबाट छुट्कारा पाउलान् ?

रमेश दवाडी

विभिन्न अध्ययनकाले राजधानी काठमाडौँ एसियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेका छन् । नाङ्गो आँखाले समेत यहाँको वायुमण्डल निकै धमिलो देखिन्छ । स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले आँखा पिरो हुने, चिलाउने, घाँटी खसखसाउने जस्ता समस्या राजधानीवासीले भोगिरहेका छन् ।

काठमाडौँमा अधिकांशले मुखमा मास्क लगाएर हिँडिरहेका देखिन्छन् । आफ्नै सहर आफ्नै लागि गनाएको छ । आफू वरिपरिको वातावरण आफ्नै लागि हानिकारक बनिरहेको छ । आफ्नै माटो आफ्नै लागि विष बनिरहेछ । सडक किनारमा बिजुलीका तार बेतमासले झुन्डिरहेका छन् । सानो–सानो कुराले सहरको सुन्दरतालाई कति कुरूप बनाउँछ भन्ने विद्युत् प्राधिकरणलाई थाहा नभएको पनि होइन । प्राधिकरणका कर्मचारी अध्ययन भ्रमणका सिलसिलामा विभिन्न देश घुमेर राज्यका करोडौँ रकम स्वाहा पारेका छन् । तर किन होला काठमाडौंलाई सुन्दर बनाउन त्यहाँका कर्मचारी लाग्दैनन् । कतिपय स्थानमा झुण्डिएका तारहरूले पैदलयात्रीको टाउको छुनै लागेको देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सुरु गरेको काठमाडौँ उपत्यकालगायत मुख्य सहरका सडक विस्तारको काम अझै सकिएको छैन । सडक चौडा पार्ने क्रम जारी छ । यद्यपि मुख्य सडकको जिम्मेवारी लिएका ठेकेदारले समयमा नै निर्माण कार्य पूरा गर्न नसकेको स्पष्ट देख्न सकिन्छ । अर्कोतर्फ मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम भइरहेको छ । यस कार्यले सडक छेउमा बस्ने जो कोही पनि धूलोबाट प्रभावित बनेका छन् । जाडो मौसममा घाम ताप्न सडक छेउमा बस्दा सवारी साधनले उडाएको धूलोधूवाँले छिनमा नै धुलाम्मे बनाउँछ । अझ दैनिक रुपमा सडकमा नै बसेर काम गर्ने ट्राफिक प्रहरीको पीडा लेखिसाध्य छैन ।

पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे, जताततै फोहोर नै फोहोर, कङ्क्रिटको जङ्गल काठमाडौँको परिचय बनेको छ । बाध्यता भनौँ या रहरले मान्छे धन्न बसेका छन् । यस किसिमको सडकको अवस्था कहिले अन्त्य होला ? अर्कोतर्फ सवारी साधनमा यात्रा गर्दा खाल्डाखुल्डीका कारण वृद्धवृद्धा, एम्बुलेन्समा रहेका बिरामीलाई बढी असर परेको देखिन्छ । सर्वसाधरणले यस किसिमको समस्या वर्षौंदेखि भोग्न बाध्य छन् ।

सरकारका सचिवहरू सरकारमा बसुन्जेल शक्तिकेन्द्रको चाकडी गर्न व्यस्त हुन्छन् । पदबाट पेन्सिन लिएर बिदा भएपछि चर्चा कमाउनका लागि मात्रै भए पनि झाडु समातेर वागमती नदी सफा गर्न निस्कन्छन् । लीलामणि पौड्याल, डा. बाबुराम भट्टराई आदिले वागमती नदी सरसफाइ अभियानको यतिऔं हप्तामा भन्ने खबर मिडियामा आइरहेकै हुन्छ तर गएर हे¥यो उस्तै लाग्छ । राज्यस्तरबाटै नीति बनेन र यसलाई कार्यान्वयन गर्न राज्यका संरचना खटिएनन् भने केही हुनेवाला छैन । बाबुराम नेतृत्वको नयाँ शक्तिले ‘क्लिन, ग्रिन काठमाडौँ’ जे भने पनि यो क्षणिक चर्चाका लागि गरिएका प्रचारवादी काम जस्ता देखिन्छन् ।

राज्यका संरचनाहरू जिम्मेवार नबनेसम्म कुनै एक व्यक्ति वा समूहको इच्छा, चाहना र भावनाबाट परिवर्तन सम्भव देखिन्न । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकाका कर्मचारी दिनभरि घाम तापेर बस्ने, कुनै नीति योजनाहरू निर्माण नगर्ने हो भने एकजना मानिस झाडु बोकेर सडकमा निस्किँदैमा सहर सफा हुँदैन ।

काठमाडौँलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेका छन् । विज्ञले आफ्नो धारणा पनि बेलाबेलामा राखी नै रहन्छन् । तर, काठमाडौं जस्ताको तस्तै छ । देशको राजधानी भएकाले पक्कै पनि काठमाडौंसँग देशवासीको भावना, सम्बन्ध र परिचय छ । तर, काठमाडौँले जुन मात्रामा स्वदेशी, विदेशीको मन जित्नुपर्ने थियो, त्यो छैन । काठमाडौँलाई मेट्रोसिटी र साइकल सिटीको रुपमा विकास गर्न सकियो भने सडकमा सवारीको चाप स्वतः घट्छ र वायु प्रदूषित हुन पाउँदैन ।

फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्दछ । अहिले भएको के छ भने सडकका किनारहरू पुलपुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो । काठमाडौँ सहरलाई कुरुप बनाउन यिनीहरूको ठूलो भूमिका छ । सभ्य र विकसित देशहरूमा जहाँ गए पनि कसैले यस्तो किसिमको अनुशासनहीन काम गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो ? सरकारले जवाफ दिनुपर्दछ ।
अर्कोतर्फ सडकलाई हरियली बनाउन सडक किनारामा लगाएका पूmलविरुबा रोपे पनि मलजलको अभावका कारण मर्न थालेका छन् । सडकको धूलो उडेर पातमा बस्नाले बिरुवा कुरुप देखिन्छ । अझ, चौपाया अलपत्र छाड्नाले बिरुवा खाइदिने र पैदल यात्रीले समेत भाँच्ने समेत गरेका छन् । उपत्यकालाई हरियाली बनाउन सरकारले सक्दो सहयोग गरे पनि निरन्तर खबरदारी र अनुगमन नगर्दा उपत्यकाको वातावरण झन् प्रदूषित बन्दै गइरहेको छ । फोहोरमैलाई सही सदुपयोग गरी जहाँतहीँ नफ्याँकी चिल्लो सडक, हरियाली वातावरण बनाउनेतर्फ हामी सबै गम्भीर भएर लागे मात्रै स्वस्च्छ वातावरण बनाउन सकिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल