परदेशी हुँदैमा राष्ट्रियता विर्सिंदैन

-  |   गुन्जन पाण्डे

परदेशी हुँदैमा राष्ट्रियता विर्सिंदैन

एउटा वर्ग नेपाललाई शब्दमा मात्र निकै माया गर्छ र बिहान बेलुका नेताको गुलामी गर्छ । नेताको घर चाहारेर हातमुख जोड्छ । पार्टीको लाइनअनुसार आन्दोलन गर्छ, राजनीति गरेर विकास गर्ने होइन राजनीतिक मुद्दा गराएरै विकास रोक्ने काम गर्छ । अर्कोतार्फ देशको माया गर्नेले विदेश जानु हुँदैन भन्ने मान्यता राख्छन् । नेपालमै केही गर्नुपर्छ त भन्छन् तर आफू भने केही गर्न सक्दैनन् । उनीहरु विदेश गएका नेपालीको बोल्ने अधिकार समेत हँुदैन भन्छन् । ‘विदेश गएर खोक्रो राष्ट्रवाद नदेखा’ भन्छन् । यो वाक्य नेपाललाई शब्दमा मायाँ गर्ने, बिहान बेलुका नेताको मात्रै गुलामी गर्नेे राष्ट्र प्रेमीको हो ।

विदेश नजाऊँ देशमा केही गरौँ भन्ने रहर सबैलाई हुन्छ । एउटा वर्ग देशमै बसरे देश विकासमा लागेको छ । स्वदेशमै उद्यम गरेको छ । तर त्यसभित्रको ठूलो समुदाय भने विदेश बसेर आएका वा पुख्र्यौली सम्पत्ति भएका छन् । केही साच्चिकै तल्लो स्तरबाट मिहिनेत गर्ने पनि छन् । तर तिनीहरुलाई हाम्रा राष्ट्रवादी भनौदाहरु टुप्पाबाट पलाएका भनेर हियाउने गर्छन् ।

अर्काे वर्ग विदेश जान्छ र देशमा रेमिट्यान्स पठाउँछ । तीमध्ये कोही खाडी मुलुक र कोही युरोपेली मुलुकतिर गएका छन् । बाध्यतावस कम पैसा भएका खाडी जान्छन् र पैसा अलिअलि हुनेहरु युरोपेली राष्ट्रमा गएका छन् । जो जसरी जुनसुकै बाहानामा विदेशिए पनि कमाएको पैसा नेपाल पठाउँछन् । यसले नै देशमा अर्थतन्त्र धानेको छ । त्यसैले त रेमिटेन्सले देशको कुल ग्राहस्थ उत्पादनको एक तिहाइ हिस्सा अगटेको छ ।

अहिले कामको खोजीमा विदेश जानेहरुको सङ्ख्या कम हुँदै गएको छ । यसो हुनुमा जानेको इच्छाको कमीभन्दा पनि विदेशमा काम नपाएका कारणले घटेको सङ्ख्या हो । त्यसैले त नेपालमा विप्रेषण घट्दा पर्ने प्रभावको तनाव सुरु भइसकेको छ । धेरै विप्रेषण प्रवाहा हुने खाडी मुलुकमा वैदेशिक रोजगारीको सङ्ख्या घटेको छ । पढ्ने बाहाना वा भ्रमणको नाममा युरोपेली मुलुकमा आएर बस्नेको सङ्ख्या भने अहिले बढ्दै गएको छ ।

बाध्यताका कारण पहिले खाडी गएर पैसा कमाएपछि त्यही पैसाको बलमा युरोपेली मुलुक आएर बस्ने धेरै छन् । नेपालमै स्थापित उद्योगी, व्यवसायी, कर्मचारी तथा पत्रकारहरु पनि भम्रणको नाममा गएर अवैधानिक रूपमा उतै बसेको समेत प्रशस्त भेटिन्छन् । विकसित मुलुकका रहनसहन, रोजगारीका अवसर, सुरक्षित लगानीको वातावरण, सुरक्षाको अनुभूति जस्ता कारणले उतै पलायन हुनु सामान्य भइसकेको छ । त्यसैले नेपालको मान–सम्मान र प्रतिष्ठालाई छाडेर आर्थिक रुपमा सबल भए पनि धेरै नेपाली अवैधानिक हुने रहर गर्छन् । जे गर्छ मेसिनले गर्छ, कामको सहायता मेसिनले लिनेभन्दा पनि मेसिनलाई सहयाता मान्छेले दिनुपर्छ । त्यसैले नेपालमा सानो भन्ने वा तल्लो लेबलको मानिने र हुने खानेले भन्दा हुँदा खानेले गर्ने कामका रुपमा पारिएको काम पनि यहाँका लागि राम्रै हुन्छ । त्यसो त कामप्रति मेरो पनि छुट्टै धारणा छ । काम जुनसुकै प्रकृतिको होस तर सम्मान समान हुनु पर्छ । यही समान सम्मानका कारण पनि धेरै नेपालीहरु स्वदेशमा केही देख्दा देख्दै विदेशिन बाध्य हुन्छ ।

वास्तवमा विदेश पलायन रोक्न त आवश्यक छ । किन भने नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशत युवा छन् तर त्यसको ५० प्रतिशतभन्दा बढी विदेशिनु विडम्मना नै हो । माथि उल्लेख गरेझैँ शब्दमा नेपालका राष्ट्रवादी र विदेशमा गएर केही बोल्यो भने खोक्रो राष्ट्रवाद भन्नेहरु मलाई पनि यो लेख पढ्दा पढ्दै भन्नेछन् । अझ म अमेरिका आएको भरखर दुई महिना भएको छ । कति रहर कति कहर कस्तो बाध्यता म खुलाउन चाहँदिन मात्रै अहिले म अमेरिकामा छु । एउटा वर्गकै भनौँ, धारणा विदेश गएर खुरुखुरु काम गरुन् तर देशका विषयमा बोल्न आवश्यक छैन भन्ने नै हो । एउटा कठोर मालिकले आफ्नो कामदारलाई भने जस्तो । यहाँ के लेख्न मन लाग्यो भने, नेपालमा कर्म गरेर सेवा गर्नेहरुलाई त सलाम छ । तर नेताको चाप्लुसी गर्ने र विकासको विरोधमा पार्टीको आन्दोलन गर्नेहरु भन्दा त विदेश पलायन हुने अथवा आफूलाई त्यही ठाउँको पीआर लिनेहरु राष्ट्रवादी हुन्, किनभने उनीहरुले हुन थालेको विकासको विरोध गर्न गर्देनन् । अन्यथा पनि देशमा अवसर नदेखेर वा धेरै कमाउने नाममा विदेशको यात्रा तय गरेकाले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएका छन् ।

हो, म पनि भन्छु नेपालमै सम्भव छ । नेपालमै केही गर्न सकिन्छ । तर कम्तीमा पहिलो फेजमा हातमुख जोड्नका लागि मात्रै खाडी मुलुकोे यात्रा गर्न बाध्य नेपालीलाई रोक्ने प्रयास गराँै । विकसित राष्ट्रका नागरिक वैदेशिक रोजगारीमा जानु हँुदैन भन्ने त कहाँ छ र तर विकशित राष्ट्रको नागरिकको हैसियतले र प्राविधिक ज्ञान बोकेर विदेश जानुको सान छुट्टै हुन्छ । हाम्रा सिभिल इन्जिनियर र चार्टर एकाउन्टेनहरूको दुबाई नै भए पनि जाँदाको सान हेर्नुस् । उनीहरुले नेपालमा भन्दा बढी सम्मान पाउँछन् ।

युरोपेली मुलुकमा गएका नेपाली पनि नफर्की सुखै छैन । विदेश घुम्न जने हो जाने हो । हामी आफै प्रचार गर्छाैं विदेशको बयान गर्छाैं अति सुन्दर र त्यसेको नाममा राजनीतिक नारा तय गर्छाैं । कसैले नदेखेको स्वर्ग जानको लागि त हामीले थुप्रै कर्म गर्छौं भने सम्भव हुने ठाउँमा घुम्न जानुलाई अन्यथा लिनु भएन । तर घुम्न भनेर आएकाहरु पनि केही वर्ष विदेशमा बसेर पारिवारिक र व्यावहारिक समस्या समधान गर्ने मेसो गर्छन् ।

हामीले विदेशकोे सबै वातावरण बुझेर आफ्नै देशमा कर्म गरे मात्र रम्न पाउछौँ। सानले हिँड्न र मानले जिउन पाउछौँ । हाम्रौ सामाजिक शैली अनुसार रम्न पाउछौँ । यसैले तर नेपाल नआई सुखै छैन ।

जीवन हामीले बुनेको सपना जस्तो सरल नहुन पनि सक्छ, तर हाम्रो जीवन हामीले गर्ने सङ्घर्षमा फरक र जटिल कहिले हुन सक्दैन । प्रयास गर्नेको गर्नेको जित सधैँ सुनिश्चित छ । जीवन त्यो हो जसले चलाउन जान्दछ उसले नै आनन्द पाउँछ । अनि जसले चलाउन जान्दैन उसले जिन्दगीलाई धिक्कारिरहएको हुन्छ । विदेशमा छु, काम देखेकी छु र पmुर्सदमा यो लेख लेखेकी छु । म केही समय यहाँ बसुँला तर यहाँको पीआर लिएर यहीँ बस्ने मेरो रहर छैन । नेपाल राम्रो बनोस भन्ने धारणा सबैको हुन्छ । तर राम्रो बनेपछि मात्रै फर्कन्छु भन्ने कदापी हुँदैन र हुन पनि सक्दैन ।

नेपालमै कर्म गर्नेले गरौँ नेपालमा कर्म गर्न नसक्ने बरालिएर हिँड्नभन्दा विदेशमै आएको बेस छ । विदेशमा आएर बरालिएर खान दिने कोही हुँदैन । खानका लागि पनि कर्म गर्दा पनि परिश्रम गर्ने बानी हुन्छ । केही गरौँ भन्ने उत्प्रेरणा बन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल