कथा : भूकम्पमा गुरूका वचन

–  |   शैलेश भट्टराई

कथा : भूकम्पमा गुरूका वचन

छिपछिपे नै सही, उनी सबै कुराको ज्ञान राख्दछन् । जुनसुकै विषयवस्तुमा पनि भाषण छाँट्न सक्छन् । यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्न सक्छन् । भाषण गर्ने मामिलामा उनी हाम्रो देशका मन्त्रीभन्दा कम छैनन्, उनका कुरा सुन्दा उनले नजानेको र नबुझेको केही छैन जस्तो लाग्छ्र । राजनीतिप्रतिको उनको रुचि र दलमा उनको आबद्धता हेर्दा भविष्यमा उनी मन्त्री नै हुने हुन् । बेलाबेलामा उनका सामु यसो भनिदिँदा मख्ख पर्छन् । उनको भाषण सुनेर मख्ख नपर्ने कमै हुन्छन् । मासलाई मन्त्रमुग्ध बनाउने काइदा काइदाका कला अनि तौरतरिकाका मसला छन् उनीसँग । त्यसैले गाउँमा हुने हरेक कार्यक्रममा उनको उपस्थिति अनिवार्य जस्तै छ । हरेकले बोलाएकै हुन्छन्, बोलाएको ठाउँमा पुगेकै हुन्छन् । पुगेको ठाउँमा केही बोलेकै हुन्छन्, बोलेपछि केही तरङ्ग ल्याएकै हुन्छन् ।

नब्बे सालको भुइँचालोलाई सम्झेर नेपालमा वर्ष माघ दुई गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन थालेको धेरै भएको छैन । यसै क्रममा २०७१ सालमा सत्रौँ भूकम्प सुरक्षा दिवस मनाइयो । हाम्रो गाउँमा पनि यस्तो कार्यक्रम आयोजना भयो । कार्यक्रममा उनी पनि बोलाइए । यसै पनि उनका कुराले मान्छे मन्त्रमुग्ध हुन्छन् । त्यसमाथि यिनले त्यो दिन नानाभाँतीका कला देखाउँदै भूकम्प आउँदा यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्दै ज्यान जोगाउने उपायहरू सिकाए । अन्धाधुन्ध भाग्ने हामफाल्ने गर्नु हुन्न भन्दै भुइँचालोपछि उद्धार यसरी गर्नुपर्छ, राहत यसरी वितरण गर्नुपर्छ भन्ने कुरा पनि सिकाए । परकम्प भन्ने शब्द पनि मैले उनकै मुखबाट पहिलो पटक सुनेँ ।
उनले भनेका थिए– ‘ठूलो भुइँचालो गएपछि अरु साना साना भुइँचाला पनि आउँछन् ।’
‘मुख्य भुइँचालोको एक वर्षसम्म पनि यस्ता सानातिना भूकम्प आउन सक्छन् । यस्ताले खÞास क्षति नगर्ने भएकाले डराउनुपर्दैन किनभने यस्ता भुइँचालाहरू साना स्केलका हुन्छन् ।’
‘यस्ता पछि आउने साना भूकम्पलाई चाहिँ परकम्प भन्छन् । भाइ भुइँचालो भने पनि हुन्छ ।’
त्यति मात्रै कहाँ हो र ? उनले नेपालमा अब जाने भूकम्प नब्बे सालको भन्दा डरलाग्दो हुने र बेलैमा सावधानी नअपनाए त्यसले नब्बे सालको भन्दा धेरै क्षति गर्ने भविष्यवाणी पनि गरे ।
अर्को वर्ष माघ दुई गतेसम्मलाई कार्यक्रम सकियो ।

२०७२ वैशाख १२ गते ठूलो भुइँचालो गयो । भुइँचालो जाउन्जेल आफ्नै ज्यान बचाउने धुनतिर लागियो । भुइँचालो सकियो धन्न ज्यान बच्यो भनेर मनमनै हर्षित त भइयो तर यो हर्ष धेरैबेर टिक्न पाएन । आफू र आफ्नो परिवार सकुशल भए पनि देशभरि भएको क्षतिले मन रोयो । घर पनि मोटामोटी सकुशलै रै’छ । फोन लागे जाति नातगोटा इष्टमित्र पनि सकुशल नै रहेछन् । मैले झल्याँस्स सम्झेँ उनलाई । मनमनै सोचेँ हामीलाई भूकम्पसम्बन्धी त्यस्ता त्यस्ता ज्ञान, सीप दिने उनी भूकम्पबाट सकुशल जोगिए हुन् । तुरुन्तै फोन लगाएँ । फोन लागे मार्दिनु । धेरै पटक लगाएँ, अहँ लाग्दै लागेन । अलिअलि चिन्ता अनि अलिअलि सायद कौतुहलता । मेरो घरबाट लगभग दुई किलो मिटरको दूरीमा थियो उनको घर तर त्यो दिन जान सकिएन । भोलिपल्ट पनि फोन लगाएँ फोनै लागेन । एकछिन पछि त ऊनी नै पो आइपुगे टुप्लुक्क खुट्टो खोच्याउँदै खोच्याउँदै ।
‘नमस्ते दाजु ! भुइँचालो जाँदा कहाँ हुनुहुन्थ्यो ?’ मैले प्रश्न फालेँ ।
उनले भने– ‘घरमै बसिरहेको थिएँ ।’
‘ओ हो दाजु धन्न बाँचियो भेटघाट भो ।’
मैले खोच्याएको खुट्टो तर्फ इसारा गर्दै सोधेँ– ‘दाजु लड्नु भो भुइँचालोमा ?’
‘घर त केही भएन नि !’
‘घर त केही भएन तर पर्खाल लडेर खुट्टा किच्यो ।’ उनले स्पष्टीकरण दिएँ ।
उनी अलिक हतारमा रहेछन्, धेरै कुराकानी गर्न पाइएन हिँडिहालेँ ।
भोलिपल्ट मेरो नै काम पर्यो, उनको टोलतिर जाने । सोचेँ उनको घर पनि छिर्नुपर्ला ।
हाम्रो गाउँमा खास ठूलो क्षति गरेको रहेनछ भूकम्पले । उनको घर पनि पुगियो । उनी घरमै आराम गरिरा रै’छन् । घर पूरै हेरियो हल्काफुल्का चर्किनुबाहेक कहीँ कतै केही भएको रहेनछ । पर्खाल पनि सही सलामत नै थियो ।

मैले ढिलो नगरी सोधिहालेँ– “हैन दाजु पर्खालले खुट्टा किच्यो भन्या होइन भन्या हैन ?”
‘पर्खाल त ज्यूँका त्यूँ छ त !’
‘कहाँ मेरो घरको पर्खालले किचेको भन्या हो त अर्कैको घरको पर्खालले पो त’
‘अर्काको घरको पर्खालले रे !’
‘अनि भुइँचालो जाँदा आफ्नै घरमा थिएँ भन्नु भाको होइन हिजो ?’
मैले वकिललेझैं र्याखर्याख्ती पारेँछु ।
यत्तिकैमा उनको मोबाइलको घन्टी बज्यो । उनी फोनमा मग्न भए । निकैबेरसम्म पनि कुराकानी नसकिएपछि मैले बिदावारीको सङ्केत गर्दै त्यहाँबाट हिडेँ ।
करिब आठ दस दिनपछि उनका छिमेकी दाइबाट थाहा भयो– भूकम्प आउँदा उनी आफ्नो घरको बार्दलीमा थिए रे । भुइँचालो आउनासाथ ऊनी बार्दलीबाट नै बाटोमा हामफालेछन् । यसरी उनी घाइते भएका रहेछन् ।
वास्तविकता थाहा पाएपछि उनलाई थप सोध्न मन लागेन । करिब एक हप्तापछि एउटा कार्यक्रममा उनी र हामीसँगसँगै थियौं । उनको खुट्टा अझै बिसेक भएको थिएन । कार्यक्रम सकेर हामी चियापानमा मग्न थियौँ । त्यहीँ अर्को भूकम्प आयो अर्थात् परकम्प आयो । त्यही सिकिस्त खुट्टोको पनि मतलब नराखी सबैभन्दा पहिला र सबैभन्दा छिटो उनी नै कुदे । हामी भन्दै थियौँ– ‘ए दाजु यो त परकम्प हो किन आत्तिनु भाको ?’ उनले हाम्रो कुरा सुने सुनेनन् तर परकम्प सकिँदा भने उनी निकै पर पुगिसकेका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल