विद्यार्थी सङ्गठनबाट ‘अङ्कल र आन्टी’हरुको बिदाइ

विद्यार्थी सङ्गठनबाट ‘अङ्कल र आन्टी’हरुको बिदाइ

तिलकराज भण्डारी

त्रिभुवन विश्वविद्यालयको ४२औं सिनेटले विद्यार्थी निर्वाचनमा उमेदवारको उमेर हद तोकेर निरन्तर चुनावका लागि भर्ना हुनुहुने अङ्कल आन्टीहरुलाई सदाका लागि बिदा दिएको छ । यस सिनेटले मिश्रित निर्वाचन प्रणालीसहित आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । उक्त निर्णयमा उम्मेदवारको उमेर हद २८ वर्ष भनी तोकेको छ । यो निर्णय प्रक्रियाले नेपाली विद्यार्थी आन्दोलनमा नयाँ मोड लिएको छ । यसले कैयौं सैद्धान्तिक, कानुनी तथा राजनीतिक बहसको सिर्जना गरेको छ ।

जन्मेदेखि मृत्युसम्म ज्ञान आर्जनको सम्पूर्ण प्रक्रियालाई शिक्षाको परिभाषाभित्र राख्ने शिक्षाको बृहत अवधारणा, शिक्षा र विद्यार्थीको अन्योन्याश्रित सम्बन्धलगायतका केही सैद्धान्तिक तथा चुन्न र चुनिनपाउने बालिग मताधिकार एवं प्राकृतिक न्यायको सिद्धान्तसँग जोडिएका केही कानुनी प्रश्न र समावेशी, समानुपातिक सिद्धान्तसँग जोडिएका केही राजनैतिक बहसका बाबजुद तत्कालका लागि त्रिभुवन विश्वविद्यालयको सिनेटले गरेको यो निर्णले नेपाली विद्यार्थी आन्दोलनमा नयाँ युगको सुरुवात गरेको छ ।

लामो समयसम्म स्ववियुको सत्ता र शक्तिको दुरुपयोग गर्ने विकृत मनसायले विश्वविद्यालय र क्याम्पसहरुको गेट कुरेर बसिराख्ने अङ्कल र आन्टीहरु होइन कि नियमित रुपमा अध्ययन गरिरहेको वास्तविक विद्यार्थीहरु स्ववियूमा उम्मेदवार हुने कानुनी र राजनीतिक वातावरण सिर्जनाभएको छ । स्ववियु निर्वाचन र स्ववियुमा भइराखेको विकृतिलाई हटाउँदै स्ववियूमा नियमित रुपमा अध्ययन गरिराखेका फ्रेस र वास्तविक विद्यार्थीको प्रतिनिधित्व गराउने उद्देश्यले अखिल (क्रान्तिकारी) ले स्थापित गरेको एजेन्डा भए पनि आम विद्यार्थीहरुको दबाब र विद्यार्थी सङ्गठनहरुको सहमतिमा २८ वर्ष उमेर हद आज त्रिभुवन विश्वविद्यालयको स्वमित्व र सर्वाेच्च अदालतको नजिर स्थाापित भएको छ । तसर्थ यो निर्णय आम युवा विद्यार्थी र वास्तविक विद्यार्थीहरुको नेतृत्व गर्ने विद्यार्थी सङ्गठनहरुका लागि स्वागतयोग्य विषय बनेको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयले नेपालको राजनीतिक प्रक्रियाबाट स्थापित समावेशी समानुपातिक सिद्धान्तलाई आफ्नो सापेक्षतामा अवलम्बन गर्दै पहिलो पटक स्ववियु निर्वाचन मिश्रित निार्वाचन प्रणालीबाट सम्पन्न गर्ने भएको छ । यसले स्ववियुमा मतदान गर्ने सबै मतदाताहरुको समुचित प्रतिनिधित्वसहित सानाठूला सबै सङ्गठन र समूहहरुको प्रतिनिधित्व सहितसबै विद्यार्थीहरुको साझा संस्थाको रुपमा स्ववियु स्थापित हुनेछ । एउटै सङ्गठन र समूहको एकाधिकारबाट स्ववियु माथि उठ्नेछ र स्ववियुमा हुने विकृति, भ्रष्टाचार, अनियमितता, अराजकता, गुण्डागर्दी, तोडफोड, सापेक्षित रुपमा भए पनि नियन्त्रण हुनेछ र क्याम्पसमा शान्त शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्नेछ । त्यसको अतिरिक्त स्ववियु निर्वाचनको प्रक्रियामा हुने धाँदली तथा फर्जी भर्ना, फर्जी मतदान र फर्जी विजयलाई समेत नियन्त्रण गर्नेछ भने नेपालमा विद्यमान आर्थिक, राजनीतिक, सामाजिक विभेदहरुलाई समावेशी तथा समानुपातिक सिद्धान्त मार्फत न्यूनीकरण गर्दै आर्थिक समृद्धि र सामाजिक न्यायससहितको समाजवाद निर्माणको अभियानमा सहभागी हुन युवा विद्यार्थीहरुलाई प्रेरित गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयको सिनेटले फागुन १४ गते नै स्ववियु निर्वाचनको मिति निर्धारण गरेको छ । संयोगले नै भए पनि फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषण हुनुले नेपालको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासलाई सम्मान गरेको छ । जनक्रान्तिको प्रक्रियामा गोरखाका ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलले शहादत प्राप्त गरी जनयुद्धको प्रथम सहिदको रुपमा गौरवपूर्ण इतिहास रचेको बलिदान दिवस हो– फागुन १४ । फागुन १४ गतेको बलिदान दिवसले दिलबहादुर रम्तेलको मात्रै होइन नेपालको राजनीतिक क्रान्तिको प्रक्रिमा शहादत प्राप्त गर्ने जनयुद्ध, जन–आन्दोलन, मधेस आन्दोलनलगायतका राष्ट्र र जनताको लागि गरिएका सबै आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुको प्रतिनिधित्वगर्दछ ।

यसरी हेर्दा २८ वर्षीय उमेर हद, मिश्रित निर्वाचन प्रणाली, फाल्गुण १४ गतेको मिति निर्धारणलगायतका एजेन्डाहरु नितान्त एउटा विद्यार्थी सङ्गठनहरुको ऐजेन्डा मात्र होइन, विश्वविद्यालय र क्याम्पसमा भइराखेका विकृतिहरुलाई नियन्त्रण गर्दै सानाठूला सबै सङ्गठन र समूहहरुको प्रतिनिधित्वसहितको आमविद्यार्थीहरुको साझा संस्थाका रुपमा स्ववियुलाई स्थापित गर्ने उद्देश्यले अवलम्बन गरिएको समावेशी–समानुपातिक सिद्धान्तका आधारमा विश्वविद्यालयको स्वमित्व र सर्वाेच्च अदालतको नजिर समेतका आधारमा गरिएको ऐहिासिक र स्वागतयोग्य निर्णयको रुपमा स्थापितभएको छ ।
परिणामतः स्ववियु निर्वाचनपश्चात परिणामका आधारमा विद्यार्थी सङ्गठनहरुको प्रभाव र आकार त निर्धारण हुने नै छ तर एजेन्डागत हिसाबले २८ वर्षीय उमेर हद र मिश्रित निर्वाचन प्रणालीको विजय भइसकेको छ । नीति र नेतृत्वबीचको सम्बन्धका आधारमा हेर्ने हो भने अखिल (क्रान्तिकारी) ले एजेन्डागत विजय प्राप्त गरिसकेको छ । निर्वाचनमा पनि जसको एजेन्डा उसको नेतृत्व भन्ने नारालाई पुष्टि गर्ने नै छ ।

यति मात्रै होइन आसन्न स्ववियुमा मत प्रतिशतका आधारमा साना–ठूला सबै सङ्गठन र समूहहरुको प्रतिनिधित्वको विजय पनि सुनिश्चित भइसकेको छ । तसर्थ नियमित तथा वास्तविक विद्यार्थीहरुको प्रतिनिधित्वसहित साझा संस्थाका रुपमा स्ववियु स्थापित हुने कुरा सुनिश्चित भइसकेको छ । यद्यपिलामो समयसम्म स्ववियुको सत्ता र शक्तिको दुरुपयोग गर्ने मनसायले विश्वविद्यालय र क्याम्पसका गेट कुरिरहेकाब अङ्कलआन्टी र उनीहरुको नेतृत्व गर्ने विद्यार्थी सङ्गठनहरु आसन्न स्ववियु निर्वाचनबाट भाग्ने खतरा बढेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल