ज्ञानेन्द्रलाई सेन्सरसिप लगाउन खोज्नेहरु कायर हुन्

-  |   नरेन्द्र चुदाली

ज्ञानेन्द्रलाई सेन्सरसिप लगाउन खोज्नेहरु कायर हुन्

ज्ञानेन्द्र एक पात्र हुन् तर उनका दुईवटा पहिचान छन् । एउटा पूर्वराजा अनि अर्को सामान्य नेपाली नागरिक । २०६२।०६३ को जनआन्दोलनको म्यान्डेडसँगै ज्ञानेन्द्रले राज्य सञ्चालनका सम्पूर्ण अधिकार नेपाली जनतालाई सुम्पेपछि ज्ञानेन्द्र एक आम नागरिकको रुपमा आएका छन् । भलै हुन सक्छ उनी नेपालको इतिहासका एउटा महत्वपूर्ण पात्र भएकाले उनीप्रतिको सद्भाव र महत्व अझै पनि छ । उनी पूर्व राजा भएकाले र नेपालको इतिहासका एउटा जीवित पहिचान भएकाले उनको सुरक्षा सवालमा सरकारले केही प्राविधिक सुविधाहरु प्रदान गर्नु सामान्य नेपाली संस्कार र मानवीयता मात्र हो । त्यो एउटा विशुद्ध मनोवैज्ञानिक र भावनात्मक पाटो हो । तर कानुनी र राजनीतिक रुपमा उनको एउटा सामान्य नागरिकभन्दा बढी हैसियत छैन । त्यसकारण पनि उनले हाम्रो गणतन्त्रले एउटा नागरिकको हैसियतमा रक्षा गरेका अधिकार प्रयोग गर्न पाउँछन् । गणतन्त्रमा देशको हितविपरीत नहुने गरी आफ्ना विचार सम्प्रेषण गर्न पाउने वाक स्वतन्त्रता हुन्छ । देशको राजनीतिक तथा समसामयिक विषयमा बोल्न लेख्न पाउनु एउटा आम नागरिकको नैर्सगिक अधिकार हो । ज्ञानेन्द्र पनि एउटा नेपाली नागरिक भएको ती अधिकारहरु उनले उपभोग गर्न पाउँछन् । उनका ती अधिकार संविधानले रक्षा गरिदिएको छ ।

तर राजाबाट जनताका अधिकार कब्जा भए भनेर देशमा गणतन्त्र ल्याउने दलहरुबाट नै आज एउटा सामान्य नागरिकको हैसियतका ज्ञानेन्द्रको विचार राख्न पाउने अधिकार कब्जा गर्न खोजिँदै छ । प्रसङ्ग हो केही दिनअघि पूर्व राजा ज्ञानेन्द्रले देशको पछिल्लो घटनाक्रमका सन्दर्भमा जारी गरेको विज्ञप्ती । पूर्व राजाले देशको राष्ट्रियता, जनजीविका लगायत राजनीतिक गतिरोध बारे चिन्ता व्याक्त गर्दे विज्ञप्ती जारी गरेपछि दलका नेताहरुमा तरङ्ग नै पैदा भयो । यतिसम्म कि यो विषयले मन्त्रिपरिषद् बैठकमै चर्चा पायो । सायद ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तीलाई दलहरुले यति धेरै महत्व नदिनुपर्ने थियो । ज्ञानेन्द्रले अब राजतन्त्रको आवश्यकता पनि भनेका छैनन् र राजतन्त्र फर्काउने हैसियत पनि राख्दैनन् । त्यसमा जनताले ल्याएको परिवर्तनको पनि विरोध गरेका छैनन् । त्यहाँ उनले पछिल्लो समय देशको चिन्ताजनक परिस्थिति र नेतृत्वको गैरजिम्मेवारीपनप्रति असन्तुष्टी मात्र व्याक्त गरेका छन् । यो कुरा अहिले आम जनताको पनि असन्तुष्टी हो । के नागरिकको हैसियतमा ज्ञानेन्द्रले आफ्ना विचार राख्नु अपराधहो ? के उनलाई वाक स्वतन्त्रता छैन ? हाम्रो गणतन्त्रले उनलाई त्यो अधिकारबाट बन्देज गरेको छ त ? यदि ज्ञानेन्द्रले परिवर्तनप्रति कुनै त्यस्तो षडन्त्र गरेका छन् भने उनलाई अपराधी घोषणा गरेर जेल हाल्ने हैसियत राख्नुपर्यो । होइन भने उनी बोल्दैमा गणतन्त्र नै धराप पर्न लाग्यो भनेर उनकै पछाडि लागेर रोई कराई गर्न बन्द गर्नुपर्र्र्र्छ । किनभने उनको हैसियत अहिले एउटा आम नागरिक समान हो । उनले नेपाली जनताको त्याग र बलिदानीबाट ल्याएको गणतन्त्रलाई खोसेर राजतन्त्र फर्काउने कुनै क्षमता राख्दैनन् । त्यसैले आम नेपाली जनताको बलिदानीबाट प्राप्त गणतान्त्रिक नेपाल हाक्ने दलहरु एउटा विज्ञप्तीबाट नै तर्सिनु भनेको हाम्रो परिवर्तन र गणतन्त्रकै अपमान हो । दलहरुमा देखिएको कमजोर आत्मविश्वास, रुन्चे प्रवृत्ति र कायरताले परिवर्तनकारी नेपाली जनताकै अपमान भएको छ ।

देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनुपर्छ भनेर जनताले सडकमा आन्दोलनको आँधीबेरी सिर्जना गरेरै देशमा परिवर्तन सम्भव भएको थियो । जनताले यदि चाहेका थिएनन् भने यो स्तरको परिवर्तनको अपेक्षा गर्न सकिने थिएन । भलै समकालीन परिवर्तकारी दलहरुले त्यसको माहोल बनाए र नेतृत्व लिए । तर परिवर्तनाका मुख्य साझेदार नेपाली जनता नै हुन् । यो गणतन्त्रको साँचो पनि नेपाली जनतामै छ । त्यसकारण दलहरु परिवर्तन गुम्छ कि भनेर एउटा नागरिकसमान भएका पूर्वराजासँग डराउनु पर्दैन । राजाका विचार र भनाइहरुलाई एउटा नागरिककै हैसियतमा दलहरुले बुझ्नु जरुरी छ । यो देशबाट गणतन्त्र त्यति बेला गुम्छ, जब नेपाली जनताबाट नै यो परिवर्तनप्रतिको माया र सद्भाव गुम्छ । कसैले एउटा विज्ञप्ती निकालेकै भरमा गणतन्त्र र परिवर्तन गुम्ने र खतरामा पर्ने कुरा यथार्थपरक होइन ।

यथार्थ के हो भने परिवर्तनपछि दलहरुले देखाएको सत्ताकेन्द्रित प्रवृत्ति र समृद्धिप्रतिको गैरजिम्मेवारीबाट जनताहरु रुष्ट छन् । देशमा गणतन्त्र आए पनि नातावाद कृपावाद, गरिबी, बेरोजगारी, पछौटेपना, अराजकता, हत्या हिंसा, भ्रष्टाचार रोकिएको छैन । देशमा लोकतान्त्रिक अभ्यास सार्थक हुन सकिरहेको छैन । जनताले सुशासन र कानुनी राज्यको अनुभूति गर्न पाएका छैनन् । देशमा नेतृत्वप्रतिको वितृष्णा बढ्दै गएको छ । देशको राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र सार्वभौमितामा गम्भीर चोट पुग्दै गइरहेका छन् । यस्तो अवस्थामा आम जनतामा परिवर्तनको नेतृत्व लिएका दलहरुप्रति असन्तुष्टी चाहिँ पक्कै छ । तर त्यसलाई समग्र परिवर्तनप्रतिको असन्तुष्टीका रुपमा लिनु हुँदैन । परिवर्तनका पात्र र प्रवृत्तिप्रति नेपाली जनताका गुनासा रहे पनि समग्र गणतन्त्रप्रति नेपाली जनताको माया र सद्भाव अझै पनि उत्तिकै छ । आज पनि नेपाली जनता यी परिवर्तनको पहरेदारको रुपमा रहेका छन् । दलहरुलाई इमानदार हुन जनताले गरेको खबरदारी पनि परिवर्तनलाई बलियो बनाउनकै लागि हो । जनताको असन्तुष्टी नेताप्रति हो तर परिवर्तनप्रति होइन । देशको समृद्धि र जनअधिकारको रक्षा गणतन्त्रान्त्रिक व्यावस्थाले र्नै गर्छ भन्ने विश्वासको साथमा जनताले बलिदानी गरेका हुन् । अतः यति छिटै परिवर्तन प्रतिजनताको बितृष्णा आएर जनताले यो व्यावस्था परिवर्तन गर्न सक्छन भन्नु प्रतिक्रियाबादीहरुको दिवा सपना मात्र हो । बरु जनताले पात्र फेर्न सक्छन् । तर परिवर्तन कुनै पनि हालतमा फेर्न सक्दैनन् । नेपाली जनता यही गणतान्त्रिक व्यावस्थाबाटै आफ्नो समृद्धिको सम्भावना खोजिरहेका छन् । जनताले त्यसमा व्यावस्थाको नेतृत्व गर्ने पात्र बदलिदिन सक्छन् तर अब गणतन्त्र नै बदलिने कुरा असम्भव छ । २१औ सताब्दीमा जनतालाई अधिकार सम्पन्न बनाई समृद्धि दिलाउने उपयुक्त विधि नै गणतान्त्रिक विधि हो । यो जनताले राम्रोसँग बुझेका छन् । आज हाम्रो देशमा जति पनि समस्या छन् । ती गणतन्त्रले ल्याएका समस्या होइनन् । ती त हाम्रा राजनीतिक नेतृत्वबाट आएका प्रवृत्तिगत समस्या हुन् । जनताले त्यस्ता पात्रलाई चेन्ज गरेर भए पनि परिवर्तनलाई सार्थक तुल्याउने छन् । नेता र व्यावस्था जन्माउने जनताले हो । तर नेताले जनता र व्यवस्था जन्माउन सक्दैनन् ।

अतः दलहरुमा रहेको ज्ञानेन्द्र फोबिया उनीहरुको कायरता हो । देशमा करोडौँ जनताले साथ दिएर ल्याएको परिवर्तनको रक्षा रोई कराई गरेर मात्र हुँदैन् । त्यसका लागि दलहरु देश, जनता र परिवर्तनप्रति इमानदार हुनु पर्छ । नयाँ घर बनाउँछौ भनेर जनतालाई पुरानो घर भत्काउन आह्वान गर्ने अनि वर्षौंसम्म नयाँ घर बनाउन नसक्ने दलहरुको क्षमता नेपाली जनताले बुझिसकेका छन् । दलहरु अब इमानदार भएर नैतिकताको राजनीति गर्नु आवस्यक छ । जनताले राजतन्त्ररुपी पुरानो घर भत्काइसकेका छन् । आज १० वर्षसम्म पनि दलहरुलाई नयाँ घर बनाउन साथ दिएका छन् ।

देशमा गणतन्त्र आइसकेको अवस्थामा दरबार हत्याकाण्डलाई छानविन गरेर दोषीमाथि कारबाही गरी कानुनी राज्यको स्थापना गर्ने कि दरबार हत्या काण्डलाई छानविन गर्र्छौं भनेर ज्ञानेन्द्रसँग बार्गेनिङ गर्ने ? किन ज्ञानेन्द्रको विज्ञप्ती लगत्तै मन्त्रिपरिषदमै दरबार हत्याकाण्ड छानविनको कुरा उठ्यो ? ज्ञानेन्द्रलाई तर्साउन उक्त कुरा उठाइनुले दलहरुसंग उक्त हत्याकाण्डका बारेमा सूचना रहेको बुझ्न गार्हो छैन । नत्र भने यहाँ हत्याकाण्ड छानविनको कार्ड किन फालियो ज्ञानेन्द्रमाथि ?

अब गणतन्त्रको जग बलियो बनाउनका लागि दलहरु संविधान कार्यान्वयन र समृद्धिको बाटोमा अगाडि बढ्नु जरुरी छ । गणतन्त्रलाई संस्थागत गर्नका निम्ति दलहरु परिवर्तका म्यान्डेडप्रति प्रतिबद्ध हुनु आवस्यक छ । जसका लागि नेपाली जनताको साथ सधैँ रहिरहने छ । मात्र दलहरु इमानदार र जनताप्रति प्रतिबद्ध हुनुपर्यो । सन्यासी ज्ञानेन्द्र त के संसारको जुनसुकै शक्तिसँग पनि दलहरु डराउनुपर्ने छैन । किनभने नेपाली जनताहरु परिवर्तनका पहरेदार पनि हुन् । गणतन्त्रको बाँकी यात्रामा नेतृत्वलाई साथ र खबरदारीको लागि जनता सधैँ सजक रहनेछन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल