बेथान घटनाको दुई दशक

-  |   -

बेथान घटनाको दुई दशक

शिवराज खड्का

०५२ साल फागुन १ गतेबाट नेकपा (माओवादी) ले थालेको जनयुद्धले विभिन्न आरोह अवरोह पार गरेर यहाँसम्म आइपुगेको छ । यस अवधिमा तात्कालीन माओवादी सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक देशको कार्यकारी पदमा आसिन छन् । तर उनलाई उभ्याउने जगमा ओवादी लडाकु केही नेपाली सेनामा छन् भने कैयौं लडाकु तथा कार्यकर्ता वैदेशिक रोजगारका लागि पलायन भएका छन् । केही अयोग्य घोषित लडाकु बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् । यस अवधिमा वागमतीमा धेरै पानी बगिसक्यो । बरु फोहोर वागमती अहिले सफा बन्दैछ ।

तर माओवादीकै नामबाट पुरानो राज्यसत्तालाई परिवर्तन गरी नयाँ नेपालको सुनौलो भविष्य देखेर लडेका योद्धाहरु र तिनका सहिद परिवारहरु अँध्यारो कुनामा विक्षिप्त भएर बस्नुपरेको तीतो यथार्थ छ । यस अवधिमा नेकपा (माओवादी) पार्टी नै आधा दर्जनमा विभाजित हुने जोडिने क्रमले निरन्तरता पाइरहेको छ । माओवादीलाई यहाँसम्मको यात्रा गराउने तमाम सहिद तथा तिनका परिवारप्रति आँखा चिम्लिदिँदा उनीहरुमा नेतृत्वप्रति आक्रोश, ग्लानी र वितृष्णाले भरिँदोछ ।

उनीहरुको योगदानलाई वर्षमा एक दिन पनि सम्झन छाडेकामा सहिद परिवारलाई खल्लो लाग्नथालेको छ । यस्तै प्रकृतिको घटनामा पर्छ बेथान ‘बेथान–पानीघाट चौकी आक्रमण’ ।

दुई दशकअघि अर्थात् ०५३ पुस १९ गते रामेछापको ‘बेथान–पानीघाटचौकी’ आक्रमणमा ओवादी जनयुद्ध थालनीताकाको राजनीतिक र फौजी दुवै दृष्टिले एक विशिष्ट घटना हो । जहाँ माओवादीका तीर्थ गौतम, दिलमाया योञ्जन र फत्तबहादुर इस्माली मगरसहित तीन प्रहरीको ज्यान गएको थियो । उक्त दिनलाई माओवादीले औपचारिक रुपमा ‘वीरता दिवस’ भनेर घोषणा गरे पनि पछिल्ला वर्षहरुमा बिर्संदै गएको सहिद परिवारको गुनासो छ । उक्त सम्झनामा माओवादीले जनयुद्धका समयमा जनमुक्ति सेनाको संरचनामा ‘बेथान स्मृतिब्रिगेड’ नै बनाइएको थियो ।

माओवादीले तीन पटक सरकार सञ्चालनको नेतृत्वमा पुगे पनि जनयुद्धमा आफैले उठाएका मुद्दाहरु जो नागरिकसँग प्रत्यक्ष सरोकार राख्दछन् तिनीहरु अहिले पनि जस्ताको तस्तै नै छन् । संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँगै संवैधानिक अधिकारहरु तथा सामाजिक विषयहरु समेटिए पनि संविधान जारीपछि त्यसको कार्यान्वयन तथा संस्थागत हुन नसक्दा राजनीतिक किचलो अहिले पनि दुई दशकअघिको भन्दा कम छैन ।

अहिले पनि उस्तै राजनीतिक खिचातानीले सहिदका सपनाहरु तात्कालीनमा ओवादी टुटफुट भएझैँ किनारा लागेका छन् । सहिदले देखेको सुन्दर सपना ओझेल परेका छन् । भाषण र विचार मात्र क्रान्तिकारी भएर नहुँदोरहेछ भन्ने पुष्टि भएको छ ।

अधिकारलाई संंंस्थागत गर्दै व्यवस्थापन नगर्दासम्म दशकौंदेखि हामी एउटै प्रकारका समस्याका लागि नारा लगाएर जुधिरहेका छौँ । अझै कति समय खर्चनुपर्ने हो कुनै सीमाको रेखा देखिएको छैन । पटक पटक व्यवस्था परिवर्तन भए । क्यालेन्डर परिवर्तन हुँदै यहाँसम्म आइपुग्दा पनि नेतृत्वको कार्यशैली, आर्थिक अपारदर्शिता, छलकपट, कोठे राजनीति, आत्मकेन्द्रित सोचाइ, निजी स्वार्थलाई निषेध नगरेसम्म न बेथान घटनाका सहिदका आत्माले शान्ति पाउँछ न सहिद परिवारले नै आत्मसन्तुष्टिको सास फेर्न पाउँछन् ।
सहिदले बगाएको रगतले नयाँ राजनीतिक तथा आर्थिक व्यवस्था निर्माण गर्न देखाएको बाटो पूरा नगरेसम्म सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर अभिनन्दनले मात्र सार्थकता पाउँदैन । राजनीतिक रस्साकस्सीले अधिकारहरु खुम्चँदै जाने भय पनि उत्तिकै छ । माओवादीप्रतिको नागरिकका जनजिविकाका विषयहरुमा तुलनात्मक रूपमा कुनै परिवर्तन आउँदा माओवादी भनेर विचार, आस्थामा अडिएरकाहरु पनि डगमगाउने अवस्था आयो भने नेता र कार्यकर्ताबीचको खाडल फराकिलो बन्दोछ । नेताहरु पद, प्रतिष्ठा, पैसाका पछाडि दौडिएर सहर केन्द्रित भई तडकभडकमा रमाउँदै प्रतिबद्धता बिर्सन थालेपछि युद्ध लडेका कार्यकर्तासमेत निष्कृय बस्न थालेको सहिद परिवारको बुझाइ छ । जसको परिणाम दोस्रो संविधानसभाको निर्वाचनमा पनि देखियो ।

जनयुद्ध थालनीदेखि अहिलेसम्मको यात्रालाई गहन समीक्षा हुन सकेको छैन । नयाँ–नयाँ विचारमा रङहरु मात्र लेपन गर्दै सहिदको त्याग र बलिदानी बिर्संदै भौतिक विलासितामै अल्झिने हो भने उनीहरुका रगतले आर्जित उपलब्धि फुत्कने सम्भाना पनि उत्तिकै रहन्छ । सहिदप्रतिको श्रद्धाञ्जली पनि औपचारिकतामा बदलिँदैछ । जसले सहिदको रगतको मूल्य घट्दैछ । द्वन्द्वका बेला राज्यपक्ष वा विद्रोही पक्षबाट पीडा दिइएका नागरिकहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

विपन्न र पिछडिएका समुदायको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधाको सहज पहँुचका लागि कस्तो परिवर्तन आयो भन्ने समीक्षा किन हुँदैन ? फर्केर हेर्ने हो भने माओवादी सशस्त्र सङ्घर्ष जति मौैलाउँदै गयो उति बाटो बिर्संदै गएको छ । माओवादी नेताको जीवनशैलीमा आएको आमुल परिवर्तन, शिविरका लागि खर्च गर्न विनियोजित रकमतथा लडाकुलाई दिइएको रकमको हिनामिनाले लक्ष्य, उद्देश्य र गतिविधिको तारताम्यमा ठूलो अन्तर देखिँदै आएको छ । समानता र क्रान्तिका इतिहासलाई थैलोमा थन्क्याएपछि माओवादी पनि सत्तामोहमा लत्पतियो । जसले गर्दा आफ्नोपन र अपनत्व गुमाउँदै जाँदा माओवादी पनि मक्किँदै गएको छ ।

सहिदको रगतले दिएको ऊर्जा निष्कृयभएको छ । आफ्नो लक्ष्यबाट बिचलित हुँदाको परिणाम माओवादीले भोग्दैछ । माओवादी जनयुद्धमा १४ हजारभन्दा बढीको ज्यानगयो भने हजारौं अङ्गभङ्ग भई अहिले पीडित जीवन बिताउन विवस छन् । तर पनि देशमा आएको राजनीतिक परवर्तनपछि देश सबैको साझा बन्न सकिरहेको छैन । आफ्नो एजेन्डा र विगतको धरातलीय यथार्थ बिर्सेर सत्तामा पुग्नासाथ भोकाएको बाघझैं आफू, आफ्ना परिवार र सीमित व्यक्तिको स्वार्थपूर्तिमा रुमलिनाले वैचारिक विचलन देखा पर्यो ।

जनयुद्ध सुरु गर्दा एउटै मालामा उनिएर एउटै लक्ष्य र सपना देख्नेहरु नै अहिले विभिन्न धु्रवमा फर्किएका छन् । अझै पनि सहिद परिवारलाई बेवास्ता गर्दै वरिपरिको भूमरीबाट ननिस्कने हो भने सहिद, बेपत्ता र घाइतेलाई ठूलो धोका हुनेछ । अबको राजनीति निकासोन्मुखतर्फ जाओस् न कि सधैँभर युवाहरु वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने हो । हिजो देखेका सपना साकार पार्नतिर अग्रसर हुन ढिला भइसकेको छ । फेरिएको जीवनशैलीको बाटोमा नेतृत्व हिँड्दा सहिद परिवार बेवास्तामा परेका छन् ।

राजनीतिक खेलका धावकहरुले जहिले पनि आफ्नो वर्ग राजनीति र विचारलाई केन्द्र विन्दुमा राखेर काम गर्ने हो । जब उनीहरु यसबाट चिप्लिन्छन् तब जनविश्वास घट्दै जान्छ । अहिले जनयुद्ध रोकिएको छ । लडाइँ सकिएको तर सहिद परिवारको आँसु बेपत्ता परिवारका पीडा चुलिँदो छ । जसको एउटै कारण हो समस्यामुखी राजनीति । बेथान घटना जस्ता माओवादी जनयुद्धमा सयौं छन्, जो बिर्संदै गएको छ । कतै खोलो तर्यो लौरो बिस्र्यो नहोस् । हरेका राजनीतिक परवर्तनका सच्चा सहिद, तिनका परिवारलाई पनि सम्माानकासाथ जिउने आधार बनोस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल