‘टोपी छाप’ राष्ट्रियता

  |   कार्की निवर्तमान

‘टोपी छाप’ राष्ट्रियता

यसपालि पनि गत वर्षझैं इस्वी संवत् २०१७ को आगमनको दिन सामाजिक सञ्जालमा एकाएक टोपीको महिमा छरपस्ट भयो । अनि सामाजिक सञ्जालका भित्ताहरु पनि रङ्गीविरङ्गी टोपीले सजिन पुगे । कतिले फोटो खिचाउनकै लागि टोपी धारण गरेको सगर्व उद्घोष गर्दै शुभकामना पनि बाँढे, ‘ह्याप्पी क्याप डे’ भनेर । अर्कातिर बरा विदेशिएका कतिपय युवाहरु भने आफूसँग एकथान ‘टोपी’ नहुँदा टोपी धारण गरेर फोटो खिच्न नपाएकाले दुःखी पनि भए । तिनले आफूलाई सुसम्पन्न भएर पनि असाध्यै गरिब र दुःखी भएको रोइलो गाउँदै त्यही सामाजिक सञ्जालमा विरह पोखे ।

यहाँसम्म त ठिकै थियो, पोसाक हो लगाउनेलाई लगाउने रहर अनि छुट हुने नै भयो । फेरि टोपी लगाउने र मुडुलै बस्ने पनि व्यक्तिकै रहरका कुरा हुन् । तर, वर्षको एक दिन एकाएक चर्किएको टोपी प्रेम देखेर भने पङ्क्तिकार बडो असामञ्जस्यमा परेको छ । एकातिर हाँसो पनि उठ्छ भने अर्कोतिर यसले उत्तिकै गम्भीर पनि बनाइरहेको छ । अझ अचम्मको कुरा त, अब त्यही टोपीलाई नै जर्बजस्ती ‘राष्ट्रियताको चिनारी’ हुँदै ‘एकताको प्रतीक’ बनाउन खोजेको देख्दा भने ताज्जुब लागिरहेको छ । टोपीमा राष्ट्रियता ? हो, जनवरी १ मा कथित टोपी दिवस भन्दै सामाजिक सञ्जालमा त्यही ‘टोपी छाप’ राष्ट्रियताको राग छरपस्ट भयो ।

टोपीधारी मनुवाहरुले यसरी राष्ट्रवादी भावना उराले, मानौं टोपी छ र नै नेपाल र नेपाली छन् । टोपी छ र नै हाम्रो अस्तित्व छ । टोपी छ र नै हामी बाँचेका छौं । टोपी छ र नै हाम्रो शिर उँचो छ । टोपी छ र नै हाम्रो पहिचान छ । टोपी छ र नै हाम्रो जिउने आधार छ । टोपी छ र नै हामी विश्वमा चिनिएका छौं । बाफरे बाफ टोपीधारी महाशयहरुको टोपी महिमा !

अनि टोपीको महिमा गानसँगै देशमा एकाएक ‘टोपी दिवस’ सफलतापूर्वक मनाइयो पनि । पुरुषले लगाउने गरेको टोपीप्रति महिला र विशेष गरी युवतीहरुको रुचि पनि ह्वात्तै बढ्यो । अनि त तिनले टोपीलाई फेसनकै रुपमा प्रयोग गरेर टोपी उर्फ नेपाली राष्ट्रियताप्रति अगाध भावना पोखे । उफ् त्यो आडम्बरी दृश्य ! जुन सामाजिक सञ्जालमा मात्र सीमित भएन कतिपय टेलिभिजनका पर्दामा पनि देखा पर्यो । पर्दामा पनि ती टोपीको महान् गाथा गाउँदै थिए । जेहोस्, ती सबैले ‘राष्ट्रियता’कै लागि आफ्नो गच्छेअनुसारको लगानी एवं मनोरञ्जन गरे । के राष्ट्रियता मनोरञ्जनकै विषय हो ?

अब एकाध दिन यही टोपी छाप राष्ट्रियताले बजार पिट्नेछ र जसै यसको ताप सेलाउँदै जानेछ, फेरि पृथ्वीनारायण शाहको जन्मजयन्तीको प्रसङ्ग हिट हुनेछ र टोपी उर्फ श्रीपेंच धारी पृथ्वीनारायण शाह पुनः राष्ट्रिय एकताको प्रतीक कहलिनेछन् । अनि अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सङ्घीयताको गणित बिग्रिरहेको बेला ती सबैले पुनः एकपटक ‘बडा महाराज’लाई मिस गर्नेछन् । अनि उनको ‘दिव्य उपदेश’को लयात्मक र कवितात्मक प्रस्तुतिबाट फेरि एकपटक मुलुकमा राष्ट्रियताको प्रशास्ती गाउनेछन् । कठै हाम्रो राष्ट्रियता ! त्यही दौरा, सुरुवाल, टोपी अनि पृथ्वीनारायण शाहको सालिकमै जो अडेको छ । नत्र उहिल्यै भत्किसक्थ्यो । ढलिसक्थ्यो ।

यी दुई प्रसङ्गले अन्ततः एउटै भाष्यलाई स्थापित गर्ने चेष्टा गरेको छ, त्यो हो चलिआएको ‘नेपालीकरण’को उही पुरानो एकात्मक प्रकृतिको भाष्य । अहँ, यसलाई कसैले पनि पुनः परिभाषित गर्नुपर्छ, त्यो शासकीय भाष्यभित्र भएको विभेद र बहिष्करणलाई सम्बोधन गर्दै राष्ट्रियताको नयाँ भाष्य निर्माण गर्नुपर्छ भनेर सोचेनन् । किन ?

अब अलिकति इतिहासको कुरा गरौं । त्यसो त इतिहासको परिभाषा इतिहासकारहरुले नै दिनेछन् तर यहाँ मैले इतिहासको निर्माण र त्यसमा कसको नियन्त्रण हुन्छ ? भन्ने विषयलाई मात्र सङ्केत गर्न खोजेको हो । वास्तवमा इतिहासले जहिल्यै पनि एउटालाई हिरो र अर्कोलाई भिलेन बनाइदिन्छ । जसले शासनसत्तामा विजय प्राप्त गर्छ, ऊ विजेता कहलाउँछ र उसले आफ्नो इतिहासको रचना गर्छ या गर्न लगाउँछ । तर, इतिहासमा पराजितहरुलाई कुनै पनि स्थान हुँदैन । सायद त्यसैले होला एक रोमन दार्शनिकले भनेका रहेछन्, ‘युद्धमा दोस्रो हुनेलाई पुरस्कारको व्यवस्था हुँदैन’ । ब्रिटिस साम्राज्यको इतिहास हेर्दा उनीहरुले निषेधात्मक रुपमा अरुप्रति गरिएको व्यवहारलाई ठीकै र न्यायोचित भनाएका छन्, न कि बेठीक । अनि अमेरिकाले गरेको इराक आक्रमण, अफगानिस्तान हुँदै मध्यपूर्वका राष्ट्रहरुमाथिको भएको बर्बर आक्रमणलाई पनि इतिहासले ठीकै ठहर्याउनेछ । किनभने त्यो प्रक्रियामा अमेरिका इतिहासको रचयिता हो ।

अनि त्यो इतिहास जहिल्यै पनि अपूर्ण हुन्छ, किनभने समाजमा दमित भएका धेरै विषयवस्तुहरुले इतिहास बन्ने हैसियत राख्दैनन् र ती नलेखिएको इतिहासकै गर्तमा विलुप्त हुन पुग्छन् । फेरि शासन सत्ताको निर्माणमा शक्तिको भूमिका केन्द्रीय हुन्छ । शासकहरु आफू स्थापित हुनका लागि उनीहरुले आफ्ना प्रतिकूल हुने हरेक विचार, सिद्धान्त र दृष्टिकोणहरुलाई दबाएका हुन्छन् । यसैगरी सत्ताले आम संस्कृतिको निर्माण गरेको हुन्छ । अनि त्यही सत्ताले निर्माण गरेको संस्कृतिलाई बहुमत समाज स्वीकार गर्दछ र त्यसैलाई अङ्गीकार गर्ने उपक्रमको सुरुवात हुन्छ । हो, जुनसुकै समाजमा शासकले निर्माण गरेको संस्कृतिलाई नै निरन्तरता दिइन्छ र त्यो बहुमत समाजले अल्पमतको आवाजलाई सधैं दबाएरै राखेको हुन्छ ।

बहुमतले निर्माण गरेको संस्कृतिलाई परम्परा, संस्कार र इतिहासको रुपमा दर्ता गरिन्छ र त्यही इतिहास पुस्तौँपछि जागृत हुन्छ र गर्वको खेती गरिन्छ । हामीले अङ्गीकार गर्दैआएको ‘वीर गोर्खाली’ को विम्ब पनि त्यसैगरी निर्माण भएको हो । अनि पृथ्वीनारायण र उनका उत्तराधिकारीहरुको गाथा पनि त्यसैगरी निर्माण भएको हो । जसरी अहिले टोपीलाई एकाएक राष्ट्रियताको प्रतीक बनाउन खोजिँदैछ, त्यो पाखण्डपूर्ण कुरा हो । किनभने देशको राष्ट्रियता यति निम्सरो हुँदैन जुन कुनै अमूक प्रकारको पोसाकमै अल्झिन पुगोस् । यो त त्यहाँको जनताको मन, मस्तिष्क र जीवनपद्धतिमा हुन्छ । उनीहरुको अधिकार अनि पहिचानमा अन्र्तिर्नहित हुने कुरा हो ।

अनि भन्नै पर्ने कुरा के हो भने लेखिएको इतिहास मात्र सही र पूर्ण हुँदैन । जसरी पृथ्वीनारायण शाहलाई हामी एकताका प्रतीक र राष्ट्र निर्माताका रुपमा चित्रित गरिरहेका छौं, उनको जन्म जयन्तीको अवसरमा उनका गाथा गाउनुलाई स्वभाविकै मानिएला, तर उनी राष्ट्र निर्माता नै चाहिँ होइनन् किनभने यो मुलुक अझै पनि राष्ट्र बन्न सकेको छैन । जबसम्म इतिहासदेखि बहिष्कृत बहुल राष्ट्रियतालाई स्वीकार गरेर एउटै मालामा उनिँदैन, यो मुलुक राष्ट्र बन्न सक्दैन ।

सायद यी पङ्क्तिहरु लेखिँदै गर्दा कतिपयलाई इतिहासको अनादार गरेको लाग्न सक्छ । तर, यहाँ उठाउन खोजेको विषय केवल लेखिएको इतिहास मात्रै पूर्ण हुँदैन भन्ने नै हो । त्यसकारण इतिहासको समीक्षा हुनुपर्छ र त्यसको पुनः लेखन पनि जरुरी हुन्छ । साथै साँचो इतिहास निर्माणका लागि लेखिएको इतिहासप्रति प्रश्न उठाउनुपर्छ नै । समर्थन या विरोध आफ्नो ठाउँमा छ तर, अहिलेको ऐतिहासिक तथ्य भनेको नेपालमा अलग अलग राष्ट्रियताहरु विद्यमान छन् ।

जस्तैः पश्चिम पहाडतिर मगर, तमु, आर्य–खस राष्ट्रियता, पूर्वतिर राई लिम्बूहरुको राष्ट्रियता, काठमाडौँ उपत्यका वरपरका पहाडी क्षेत्रहरुमा ताम्सालिङको राष्ट्रियता, काठमाडौँ उपत्यका र वरपर नेवार राष्ट्रियता, तराई मधेसमा थारु–मधेसकेन्द्रित राष्ट्रियता । अनि यी फरकफरक राष्ट्रियताले फरकफरक सभ्यताहरु निर्माण गरेका छन् । तर, नेपाल निर्माणको इतिहासदेखि नै गोर्खा साम्राज्यले पहाडी मुलको आर्य–खस राष्ट्रियतालाई नै नेपाली राष्ट्रियताको रुपमा परिभाषित गरेर अरु राष्ट्रियतालाई अस्वीकार गर्यो । अनि नेपाल मूलतः पहाडकेन्द्रित आर्य–खस जातिको राष्ट्रियताको पर्याय बन्न पुग्यो । अब यदि यो देशलाई साँच्चिकै राष्ट्र बनाउने हो भने बुहभाषी, बहुजाति, बहुधार्मिक देशको बहुराष्ट्रियतालाई स्वीकार गर्नुको विकल्प छैन ।

यसरी हेर्दा समाजले जे कुरा अङ्गीकार गरेको छ, समाजमा जे स्थापित भएको छ, त्यसलाई पच्छ्याउने क्रममा अन्य धेरै कुरा छुट्न जान्छ । समाजले अङ्गिकार गरेको चिजलाई मात्र अन्तिम सत्यको रुपमा स्थापित गर्दा कमजोरहरुको धेरै कुरा छुट्न जान्छ । आखिर तत्कालीन समाजले अङ्गीकार गरेको जुनसुकै धर्म, संस्कार, संस्कृति र परम्परा त त्यो बेलाको शासकीय संस्कारको निरन्तरता न हो । अहिले जसरी नेपाली र नेपालीकरणको भाष्यलाई आजका दिनमा हामीले अङ्गीकार गरिरहेका छौं, त्यसमा मूलतः शासकीय संस्कार र संस्कृतिको आभा छ, र छ अनगिन्ती समान धर्म, संस्कार, संस्कृति, परम्पराको बहिष्करण । अनि टोपी दिवस मार्फत निर्माण गर्न खोजिएको विम्ब पनि त्यही एकल राष्ट्रियताको निरन्तरता मात्र हो ।

जब हामी समतामूलक समावेशी संस्कृति र संस्कार निर्माणको कुरा गरिरहेका छौं, अनि सामूहिक, सहअस्तित्व र समावेशीकरणको कुरा गर्दैछौं भने हिजो कुनै कालखण्डमा एउटा अमूक शासकीय जाति, वर्ग र समुदायले जर्बजस्त रुपमा स्थापित गर्न बाध्य बनाएको एकल भाषा, भेष, संस्कार र संस्कृति मात्रै कसरी समग्र राष्ट्रियताको प्रतीक हुन्छ ? अनि किन जहिल्यै हामी पोसाक, चरा, पशु, फूल, रङमै राष्ट्रियता खोज्छौं ? किन यो देशका विभिन्न समुदायका मानिसहरुमा खोजिँदैन ? अनि जहिल्यै पनि इतिहासका एक शासकलाई नै एकताको प्रतीक किन मान्ने ? के राष्ट्रको निर्माणमा जनताको भूमिका हुँदैन ? अनि राष्ट्रियताको परिभाषामा यो देशका जनता पर्दैनन् ? अनि सबैको संस्कार र संस्कृति पर्दैन ? बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भन्ने तर एउटा खास समुदायले मान्ने मिथकहरुलाई राष्ट्रिय प्रतीक मान्ने किन ?

अनि के यो नेपाल नामक भूखण्डको मानचित्र र भूगोलभित्र बसोबास गर्ने सबैलाई पटकपटक नेपाली भनेर चिनाइरहनुपर्छ ? के यहाँका जनताले जहिल्यै पनि राष्ट्रिताको परीक्षा दिइनैरहनुपर्छ ? अनि त्यो परीक्षाको नतिजा कहिले र कसरी आउँछ ? अनि फगत टोपीधारीहरु मात्रै यो नेपालीकरणको भाष्यमा पर्नेछन् वा अन्य बख्खु, डोचा, धोती, पगरी, भाङ्ग्राधारीहरु पनि पर्नेछन् ? हाम्रो ‘नेपालीकरण’को पुरानो भाष्यले त बहिष्करणलाई संस्थागत नै गरेको छ । के अब सङ्घीय गणतन्त्र नेपालमा पनि त्यही भाष्यलाई नै निरन्तरता दिने हो ? अनि फेरि पनि त्यही बहिष्करणको डोजर चलाएर समतामूलक समाज बनाउन खोजिएको हो ? टोपी छाप राष्ट्रिताको पैरवी गर्नेहरुले यसको उत्तर दिऊन् ।

twitter: @nibartaman

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल