प्रदेश होइन समृद्ध नेपालका लागि लडौँ

-  |   नरेन्द्र चुदाली

प्रदेश होइन समृद्ध नेपालका लागि लडौँ

परिवर्तनको एजेन्डामा हिँडेका थियौँ भने अहिले हामी देशको विकास निर्माण, रोजगारी, शिक्षा स्वास्थ्यलगायत समग्र आर्थिक विकासका लागि नेतृत्वलाई दबाब दिइरहेका हुन्थ्यौँ । तर विडम्बना नै भन्नुपर्छ हामी आज पनि उही पुरानै प्रवृत्तिमा छौँ । आज देशमा प्रदेशको लडाइँ चलिरहेको छ । हाम्रो राज्य र नेतृत्वको सबै ध्यान त्यतै छ । देशको ऊर्जाका रुपमा रहेका युवाहरुको रोजगारी र समृद्धिका बारेमा कसैको ध्यान गएको छैन ।

हाम्रा गाउँघर र भञ्ज्याङहरु रित्तै छन् । गाउँबेंसीमा युवाहरु भेट्नु खुशीको कुरा हुन थालेको छ । लाखौँ वृद्ध आमाबुवाहरु बुढेसकालमा आफ्ना सन्तानको साथबाट वञ्चित हुनुपरेको छ । देश गरिबी र बेरोजगारीबाट मुक्त हुन सकेको छैन । अझ बेरोजगारी झनै बिकराल बन्दै गएको छ । हाम्रा लाखौँ युवाहरु रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ । देशमा उद्यमशीलता र रोजगारीको वातवरण नै छैन । गाउँघर युवाविहीन भएका छन् । काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन बाँझै छन् । गाउँघरमा महिला, केटाकेटी र वृद्ध मात्र हुँदा दाहसंस्कारमा समेत समस्या हुनेसम्मको पीडादायी स्थिति छ ।

देशमा गणतन्त्र आयो । राजनीतिक परिवर्तन भयो तर हामी आमजनताको जीवनमा परिवर्तन आउन सकेको छैन् । आज पनि हाम्रा गाम बेंसीका रामे र श्यामेहरु केही पैसाकै लागि प्यारो गाउँबेसी छाडेर परदेशिनुपरेकै छ । आज पनि युवाहरु विदेशीभूमिमै रगत पसिना बगाउनु परेको छ । तर पनि नेतृत्वले उनीहरुले गरेको राजनीति देश र युवाको समृद्धिका लागि भन्न छाडेका छैनन् ।

हामीले पात्र परिवर्तका लागि मात्र सडकमा रगत बगाएका थिएनौँ । यसैका लागि हाम्रा आमाहरुले आफ्ना छोराहरु गुमाएका थिएनन् । तसर्थ अब आउने पात्रहरुमा प्रवृत्ति परिवर्तन होस् र त्यसले समग्र देश र जनताको मुहारमा पनि विकास र समृद्धि ल्याउन सकोस् भन्ने सङ्कल्प गरेर उक्त लडाइँका लागि होमिएका थियौँ । तर परिवर्तनका यी एक दशक व्याख्या गर्नै नसक्ने पीडादायी बने ।

सक्रमणकालीन अवस्थामा परिवर्तनलाई संस्थागत गर्न केही समय लाग्नु अस्वभाविक होइन । यसमा केही प्राविधिक, नीतिगत र संरचनागत जटिलताहरु रहलान् । तर हामी त्यस्ता किसिमका प्राविधिक जटिलताभन्दा पनि नेतृत्वकै प्रवृत्तिगत र नैतिक जटिलताको सिकार भयौँ । दस वर्षमा हाम्रा विकास र समृद्धिका मुद्दा र सक्रियताहरु एकातिर गए । ती चाहानाहरु मृगतृष्णामै सीमित भए । सत्तामा हुनेहरु र सत्तामा पुग्नसक्ने सम्भावित पात्रहरुको प्रवृत्ति अझै पनि उस्तै रहेकाले समृद्धिको सपना र परिवर्तको रक्षा कसरी गर्ने भन्ने अन्यौलपूर्ण अवस्था छ । बल्लतल्ल संविधान बनाउनुबाहेक महत्वपूर्ण १० वर्ष त्यतिकै खेर फाल्यौँ । हामी आज विकसित विश्वको तुलनामा कति पछाडि छौँ र अब विकासको बाटोमा जानका लागि हामी कुन गतिमा हिँड्नुपर्छ भनिरहनु पर्दैन ।

युवालाई पलायनबाट रोक्न राज्यले अब स्पष्ट योजना ल्याउनुपर्छ । कृषिप्रधान देश नाममा मात्र सीमित नगरी सिंचाइको राम्रो प्रबन्ध गरी सहज बजारको व्यावस्था गर्नुपर्छ । सर्वसुलभ रुपमा कृषिमा बैङ्कले ऋणको व्यवस्था गर्नुपर्छ । यसैगरी कृषि बिमा, आधुनिक कृषि प्रविधि र पूर्वाधारमा सरकारले लगानी गरी कृषलाई निराश हुन दिनुहुँदैन । यसैगरी खेतीयोग्य जमिनमा धमाधम हुनेगरेको प्लटिङको कार्य रोक्नु पर्छ । यसका लागि प्रभावकारी नीति निर्माण गर्नुपर्छ । अन्य देशबाट कृषि उत्पादन आयात गर्ने कार्यलाई निरुत्साहित गर्नुुपछ । अनि मात्र हामी आत्मनिर्भर बन्न सक्छौँ ।

हामी सार्वभौम नेपाली हौँ । देशलाई कस्तो मोडलबाट विकास गर्ने हामीले नै छलफल गर्नुपर्छ । कुनै विदेशीले तराई र पाहाडलाई टुक्र्याऊ भन्दा हामी टुक्रिनु पर्ने आवश्यकता । तसर्थ नेपालको माटो सुहाउँदो प्रदेशको निर्माण गर्ने हो । कसैको उक्साहटमा लागेर हामी विभाजित नहोऔँ । हाम्रा विदेशिएका लाखौँ युवालाई स्वदेश फर्काएर देशलाई समृद्धि बनाउन अर्को लडाइँ लडौँ ।

अहिले हामीलाई चाहिएको आर्थिक समृद्धिसहितको परिवर्तन भएकाले योविना राजनीतिक परिवर्तनको कुनै अर्थ रहँदैन । देशमा अझै पनि यस्तै अवस्था भइरह्यो भने आर्थिक कमजोरीको फाइदा उठाएर परिवर्तन विरोधी र देशी विदेशी शक्ति केन्द्रले चलखेल गरिरहनेछन् । यसले राष्ट्रियतालाई समेत कमजोर बनाउन सक्छ । तसर्थ अब हामीले सम्पूर्ण ध्यान तीव्र गतिको विकासमा लगाउनुको विकल्प छैन ।

हामीले देशमा रहेको जलस्रोत, खनिज, जडीबुटी वन जङ्गल, हाम्रा जुझारु युवाशक्तिको सीप, क्षमता र तागत देश निर्माणमा लगाउनु आवश्यक छ । अब हाम्रा पौरखी पाखुरा र ताता रगतहरु हाम्रै देशको समृद्धिमा प्रयोग गरिनुपर्छ । अबको लडाइँ यही दिशामा जानु जरुरी छ । प्रदेशको सिमानाका लागि होइन ।

हाम्रा नेताले गर्ने राजनीतिमा नैतिकता देखिनु जरुरी छ । जबसम्म हाम्रा नेताहरुको मानसिकता संशोधन हँुदैन तबसम्म जतिसुकै संविधान संशोधन गरे पनि केही हुँदैन । हामी युवा अब कुनै पार्टीका कार्यकर्ता भएर राजनीतिक सेन्डिकेटको सिकार हुने होइन, अब हामी समृद्ध नेपाल निर्माणका कार्यकर्ताका रुपमा विकसित हुनु जरुरी छ । प्रदेश निर्माण हिमाल पाहाड तराईसहितको वैज्ञानिक ढङ्गले नै हुन्छ । भलै त्यसमा केही समय लाग्ला तर हिमाल पाहाड र तराईलाई अलग गरेर प्रदेश निर्माण असम्भव छ । किनभने त्यो नेपाली जनताको माग नै होईन् । त्यसलाई जनताले नै असफल पार्ने निश्चित छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल