देशभित्रै रोजगारीका अवसर सिर्जना गरियोस्

-  |   मनोज अर्याल

देशभित्रै रोजगारीका अवसर सिर्जना गरियोस्

हाम्रो देशको अर्थतन्त्र मुख्य हिस्सा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले धानेको छ । अहिले वैदेशिक रोजगारीमा चालीसौँ लाख युवा देशभन्दा बाहिर छन् । जसमध्ये लगभग छत्तीस लाख पचास हजारभन्दा बढी पुरुष र १ लाख पचास हजारभन्दा बढी महिला छन् । यीमध्ये ९६.५५ प्रतिशत पुरुष र ३.४५ प्रतिशत महिला मलेसिया, कुबेत, लेबनानलगायतका देशमा श्रम गरिरहेका छन् ।

नेपालीहरुका लागि मुख्य रोजगारीका प्रमुख गन्तव्य मलेसिया, कतार, साउदी, यूएई, कुबेत, बहराइनलगायतका देशहरु नै हुन । करिब आठ लाख युवा मलेसियामा रोजगारी गर्दैछन् तर कानुनी तवरबाट मलेसियामा रहेका नेपालीहरुको सङ्ख्या करिब चार लाख भए पनि त्यति नै सङ्ख्यामा अवैधानिक रुपमा मलेसियामा रहेका नेपालीहरु छन् भन्ने अनुमान छ । नेपालको जस्तै मिल्दोजुल्दो हावापानी, खुल्ला सामाजिक रहनसहन, सहजै जान मिल्ने प्रावधान, अदक्ष कामदारलाई पनि रोजगारीको अवसर इत्यादि कारणहरुले पनि नेपालीहरुको प्रमुख गन्तव्य देश मलेसिया रहेको छ र सबैभन्दा धेरै नेपाली मलेसियामा रोजगार गरिरहेका छन् । तर पछिल्लो समय मलेसियाको अर्थतन्त्रमा आएको भारी गिरावटले त्यहाँका नेपाली प्रत्यक्ष मारमा परेको छन् । यसले मलेसियाबाट नेपाल फर्कनेहरुको सङ्ख्या धेरै छ । अहिले रोजगारीका लागि मलेसिया जान चाहाने नेपाली युवाहरुको सङ्ख्या भने निकै घट्दो छ । मलेसियाबाहेक नेपालीका लागि रोजगारीका निमित्त रोजाइको दोस्रो मुख्य मुलुक कतार हो । यहाँ हाल सात लाखभन्दा बढी नेपाली युवा रोजगार गररिहेका छन । विशेषगरी सन् २०२२ को विश्वकप फुटबल कतारमा नै हुने भएकाले फुटबल मैदानलगायत अन्य भौतिक निर्माणका कामलाई कतार सरकारले तीव्रता दिएको छ ।

अन्य खाडी देशहरुको तुलनामा राम्रो अर्थतन्त्र भएको मुलुक कतार जानेहरुको सङ्ख्या अहिले सबैभन्दा धेरै छ । त्यस्तै वैदेशिक रोजगारीको क्रममा करिब साढे पाँच लाखभन्दा बढी युवा साउदी अरबमा रोजगारी गरिरहेका छन् । नेपालीहरुका लागि यो तेस्रो ठूलो रोजगारी गन्तव्य स्थल रहेको छ । खाडी मुलुकहरु मध्ये सबैभन्दा विकसित देश संयुक्त अरब इमिरेट्स यूएईमा विभिन्न कामहरूको रोजगारीमा गएका नेपालीहरुको सङ्ख्या साढे चार लाखमाथि रहेको तथ्याङ्क छ । अवैध रुपमा विश्वका प्रायः सबै देशमा नेपाली युवाहरुको सङ्ख्या कति छ भन्ने यकिन छैन । वैदेशिक रोजगारीबाहेक पढाइ र अन्य कारणहरुले भारतलगायत तेस्रो मुलुकमा गएका नेपालीहरुको सङ्ख्या करिब डेढ करोड रहेको अनुमान छ । प्रत्येक वर्ष करिब चार लाख युवा रोजगारीको खोजीमा हुन्छन् अर्थात् बेरोजगार हुन्छन् । त्यसमध्ये दुई तिहाईभन्दा धेरै अर्थात् तीन लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका निमित्त देश छाड्न बाध्य छन् ।

वास्तवमा विदेश गएर अर्काको देशमा कठोरता साथ काम गर्ने रहर कसैलाई हुँदैन । तर देशभित्र नै रोजगार पाउने सम्भावना पनि शून्य नै छ । हजारौं बाध्यता, पारिवारिक जिम्मेवारी, देशमा रोजगारीको अवसर शून्य, अस्थिर राजनीतिक प्रणालीले वाक्क नेपाली युवा अन्ततः विदेशिन बाध्य हुन्छन् । विदेशिएका नेपालीहरूले पनि नेपाल छाड्नु अघि सोचेजस्तो कहाँ छ र विदेश । प्रायः नेपालीको आर्थिक स्तर सबैको न्यून नै छ । पैसा भईकन विदेश जाने रहर कसैलाई हुँदैन । साहुसँग ऋण लिएर चर्को ब्याजको भार बोक्दै नेपालका म्यानपावर ब्यवसायीलाई कमिसनसहित धेरै लागत तिरेर विदेश जानुपर्ने बाध्यता छ । विदेशको अनौठो सामाजिक रहनसहन, त्यहाँको भाषा बोल्न बुझ्नमा कठिनाइ, दक्षताको कमी, नेपालमा रहँदा सोचिएको कल्पना विदेशभन्दा फरक देखिएको विदेशमा भिज्नमा कठिनाइ लगायतका थुप्रै चुनौतीको सामना गर्न पनि विवश छन् लाखौं नेपाली युवाहरु । नेपालको मेनपावर व्यवसायीहरु र नेपाली युवाहरुबीच नेपालमा जुन श्रम र पारिश्रमिकको सम्झौता हुन्छ त्योभन्दा भिन्न रोजगारदाता कम्पनी र तोकिएको भन्दा कम पारिश्रमिक भएकाले गर्दा पनि लाखौं नेपाली ठगिएका छन् । प्राय नेपालीहरुले वैदेशिक रोजगारीका सिलसिलामा खाडीलगायत अन्य देशहरूमा न्यून स्तरका जोखिमयुक्त काम गर्नुपर्ने बाध्यता छ ।

विदेशिएका नेपालीमध्ये प्रत्येक दिन औसतमा तीनजनाको मृत्युु हुने गरेको तथ्याङ्क छ, यो अत्यन्त दुःख लाग्दो कुरा हो । हजारौं सपना मनभित्र सजाएर निश्चित समय कुनै देशमा काम गरेर कमाएको पैसाले केही समयपछि परिवारसँग सुखको साथ बस्ने आशाका साथ बिदेश पुगेको व्यक्तिको शव मात्र नेपाल आइपुग्दा परिवारको अवस्था कति दुखदायी हुन्छ । यति हुँदा पनि मुलुकभित्र रोजगारीका लागि कुनै कदम चालिएको छैन । नागरिकको जिउनधनको सुरक्षा र राम्रो काम दामको ग्यारेन्टीका सम्बन्धमा नेपाल सरकारले कुनै परामर्श लिएको पाइँदैन । संसारको जुनै कुनामा रहे पनि आफ्ना नागरिकलाई अफ्ठ्यारो परेको बखत उद्धार गर्ने सबैभन्दा जिम्मेवारी निकाय नेपाल सरकार हो । प्रायः सबै मुलुकमा कूटनीतिक नियोग स्थापित छन् । तर तिनीहरू नेपालीहरुको सहयोगी बन्न सकेको छैन ।

रेमिटेन्सले नेपालीहरुको जीवनपद्धति केही सहज बन्दै गएको छ । उपलब्ध आधुनिक जीवनको उच्चतम प्रयोग पनि नेपालमा पनि देख्न सक्छौँ । यो वैदेशिक रोजगारीले भित्र्याएको सकारात्मक पक्ष हो भने नकारात्मक पक्ष पनि थुप्रै छन् ।

वैदेशिक रोजगारीमा गएका मानिस प्रायः धेरै विवाहित छन् । श्रीमान् र श्रीमतीबीचको सम्बन्धलाई बाध्यतावस रहेको दूरीले कतिसम्म शङ्का उपशङ्का उत्पन्न गराउँछ भन्ने कुरा समाजमा सर्वविदितै छ । पछिल्लो समय श्रीमान् श्रीमतीबीचको सम्बन्ध विच्छेदको घटना थुप्रै पढ्न र सुन्न पाइन्छ । यसको मुख्य कारण वैदेशिक रोजगारी नै हो । श्रीमान् र श्रीमतीको सम्बन्ध परस्पर विश्वास, प्रेम र सम्मानको पर्याय हो । तर पछिल्लो समय विदेशमा रहेको परुष आफ्नो घरपरिवारसँग सम्पर्कविहीन हुने र विदेशमा नै अन्य महिलासँग सम्बन्ध बनाएर बस्ने, जाँड रक्सीको कुलतमा फस्नेलगायतका अनेकौं घटनाहरु छन् । त्यसैगरी श्रीमती पनि विदेशमा श्रीमानले दुःख गरेर कमाएर पठाएको पैसाको सही सदुपयोग नगर्नु, अनावश्यक खर्च गर्नु र श्रीमानले कमाएको पैसा र सम्पत्तिसहित दोस्रो पुरुषसँग सम्बन्ध स्थापित गर्ने गरेको घट्नाहरु थुप्रै भएका छन् । यी सबै घटनाहरुको कारक भनेको वैदेशिक रोजगार नै हुन् । देश यतिबेला युवाविहीन छ, गाउँ घरमा कोही व्याक्तिको मृत्यु भए लास उठाउने मानिससम्म मुस्किल पर्छ भेट्न । महिला, वृद्ध र बालबालिकाबाहेक युवा भेट्न मुस्किल पर्छ । किनभने धैरै युवा विदेशमा छन् ।

यस्तो भयावह स्थिति कहिलेसम्म ? सम्बन्धित निकायले यसबारेमा सोच्ने कहिले हो ? मुलुकले विकासको फड्को कहिलो मार्ला ? अर्काको देशमा जोतिन जान त्रिभुवन एयरपोर्टमा लाम लाग्नु नपर्ने दिन आउने कहिले हो ? पश्नै प्रश्न छन् ।

वैदेशिक रोजगार पनि आफैंमा नराम्रो पक्ष पक्कै छैन । मुलुकभित्र रोजगारी नपाएको बखत विदेशमा नै भए पनि जेजस्तो रोजगार पाए पनि देश, व्यक्ति र परिवार सबैलाई थोरबहुत राहत नै भएको छ । सबैभन्दा उपयुक्त त नेपालीहरुको लागि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरियोस् । त्यसबाहेक विदेश गएर पनि सम्मानजनक काम र उपयुक्त पारिश्रमिक ग्यारेन्टी नेपाल सरकारले नै गर्नुपर्छ । हाल मलेसिया, कतार, यूएई, साउदी, कुबेत, बहराइन आदि खाडी मुलुकबाहेक अन्य देशहरुमा आफ्ना नागरिकलाई रोजगार उपलब्ध गराउने कुनै कदमहरु चालेको पाइदैन । पछिल्लो समय ईपीएस मार्फत कोरियाली सरकारले नेपाली कामदारलाई निश्चित सङ्ख्यामा लगेर राम्रो पारिश्रमिकमा काम गराएको पाइन्छ । यसरी नै नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहाने नेपाली नागरिकका निमित्त अन्य विकसित देशलगायत युरोपियन देशहरुसँग सम्झौता गरियोस् । तर सबैभन्दा बढी प्राथमिकता देश विकास नै रहोस् । खाडीको समुन्द्रमा बालुवा माटो खन्याएर दूबो रोप्ने नेपालीहरु नै हुन् । उनीहरुलाई आफ्नै देशमा मुलुकलाई विकासको मुहान फोड्नेमा प्रयोग गरियोस् । विदेशका हरेक कम्पनी कार्यलयदेखि ठूलाठूला महलहरुको गेट अगाडि ठडिएर मालिकदेखि पिउनसम्मलाई सलाम हान्ने नेपाली हातहरुलाई कुनै बेलाको कोहीसँग नहारेको र नझुकेको वीर गोर्खालीकै हात हो भन्ने नभुलेर सम्मानसाथ मुलुकभित्रै रहने सक्ने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल