प्रचण्ड र बाबुराम मिल्नुको विकल्प छैन

-  |   सुजन देवकोटा

प्रचण्ड र बाबुराम मिल्नुको विकल्प छैन

राजनीतिक दलहरू टुट्ने र जुट्ने क्रम नौलो होइन तर पछिल्लो पटक कुनै राजनीतिक दल टुटेको पनि होइन र जुटेको पनि होइन । कुरा यति हो, प्रचण्ड र बाबुरामले एउटा कार्यक्रममा एकैसाथ उपस्थित भएर हामी फेरि जुट्नुपर्ने अवस्था आएको छ र त्यो बाटो खुला रहेको कुरा मात्रै सार्वजानिक गरेका हुन् । यस कुराले राजनीतिमा पुनः एकपटक हलचल ल्याइदिएको छ ।

तत्कालीन माओवादी पार्टीको कुरा गर्ने हो भने त्यसभित्रका अरु नेताले बोलेको र गरेको कुरालाई खासै महत्व दिइँदैनथ्यो । प्रचण्ड र बाबुरामका कुनै कार्य या बोलीलाई फरक तरिकाले हेर्ने गरिन्थ्यो र अहिले पनि गरिन्छ । सायद उनीहरुको जति लामो राजनीतिक सहकार्य अरु कुनै पनि पार्टीमा कुनै दुई वा दुईभन्दा बढी नेताको छैन होलान् । यिनै दुई नेता भएर नै सशस्त्र युद्धको नेतृत्व गरेका थिए । ३०÷३० वर्षसम्म सँगै सहकार्य गर्नु, प्रायः हरेक कार्यक्रममा सँगै र उस्तै भेषभूषामा उपस्थित हुनु, एउटाको विचार, नीति र एउटाको नेतृत्वमा मिलेर काम गर्नु यी र यस्तै कार्यले पनि उनीहरुलाई फरक तरिकाले हेर्ने गरिएको होला ।

समयले कहिले कसैलाई कहाँ त कहिले कसैलाई कहाँ पु¥याइदिँदो रहेछ । पार्टीमै बसेर धेरै छलफल गर्ने ठाउँ हुँदाहुँदै पनि बाबुरामजी निस्किनुभयो भनेर प्रचण्डले भने पनि उनले बाबुरामलाई पार्टीमा ठाउँ पटक्कै दिएनन् । जति वर्ष बाबुरामले प्रचण्डसँग सङ्गत गरे त्यति नै वर्ष बाबुराम पार्टीभित्र पिल्सिएरै रहे, मसालमा हुँदा, जनमोर्चामा र माओवादीमा हुँदा नै किन नहोस् । यसले गर्दा बाबुराम पिल्सिएरै पार्टीबाट निस्केका हुन् । प्रचण्डले केही समयअघि भनेझैँ यी दुई व्यक्तिलाई यिनै दुईले जति एकले अर्कोलाई चिनेको र बुझेको अरुले छैन । एकले अर्कोको आन्द्राभुँडी छाम्दैमा पनि राजनीति चलिरहन सक्दो रहेनछ ।

एउटै पार्टीमा बसेर अन्तरसङ्घर्ष गर्दागर्दै केही सीप नलागेपछि अघिल्लो असोज ९ गते जब बाबुरामले तत्कालीन एमाओवादी पार्टी छोडेको घोषणा गरेपछि प्रचण्ड र बाबुरामको फरक राजनीतिक यात्रा सुरु भयो । एउटै पार्टीमा छँदा जति नै झगडा गरे पनि सँगै सुतेपछि गोडा लाग्छ भने जसरी मन बुझाउने ठाउँ देखिन्थ्यो तर बिस्तारा नै फरक भएपछिको अवस्था अर्कै हुन पुग्यो । सँगै भएको भए अरु केही नभए पनि भोलि फेरि भटौँला छलफल गरौँला भन्नेसम्मको ठाउँ रहन्थ्यो तर त्यो बाटो नै नभएपछि चुँडेको डोरीजस्तै भएका प्रचण्ड र बाबुरामले फेरि डोरीलाई गाँस्ने कि भन्ने कुरा उब्जाएका छन् । पार्टी फुटेको भन्दा जुटेको राम्रो हो तर जुन कुरा नमिलेर फुटेको थियो, जुन कुरामा विभेद थियो त्यही कुरामा मिलनविन्दु नखोजी छोड्दा जस्तो अवस्था त्यो पार्टी थियो त्यस्तै अवस्थामा फेरि जोडिन पुग्नु चाहिँ कुत्सित मानसिकता र जनाधार घटाउने कामभन्दा अरु केही हुन सक्दैन । यसले गर्दा कार्यकर्तामा वितृष्णता उत्पन्न हुन्छ । अनि माउ पार्टीकै पक्षमा बलियो जनआधार बन्न जान्छ । कुनै पनि व्यक्ति वा पार्टी आप्mनो एजेन्डामा तटस्थ रहन सक्नु राजनीतिको बलियो आधार हो । यति हुँदाहुँदै पनि कतिपय बेला त्यस्तो आउँदो रहेछ छुट्टिनै पर्ने हुँदो रहेछ । एउटै खाटमा सुतेका दुईजना व्यक्तिमध्ये कुनामा सुत्नेले भित्तामा अडेस लगाएर छेउमा सुतेको व्यक्तिलाई ठेल्दिएपछि छेउमा सुत्ने व्यक्ति जसरी पनि भुइँमा लड्न बाध्य हुन्छ । त्यस्तै अवस्थामा पु¥याइएको हुँदा बाबुरामले त्यो अवस्थाको सामना गर्दै एमाओवादी पार्टी छोडेका हुन् । तर अहिले आएर बाबुरामको मन पुनः पुरानै घरमा फर्केको होकि जस्तो आभाष सबैमा पर्न गएको छ । उनले पुरानो घर, रातो स्टिकर टाँसेको घर, धरापमा परेको घर भन्ने जस्ता आरोप लगाएर तत्कालीन एमाओवादी पार्टी छोडेका हुन् ।

अहिले एकाएक बाबुरामले पुनर्निर्माणविना नै त्यो घरलाई कसरी नयाँ र हारियो स्टिकर झुण्ड्याएको घरका रुपमा देखे यो कुरा जनताका सामु प्रष्ट पार्नुपर्ने अवस्था आएको छ । बाबुरामले पार्टी छाड्दा एमाओवादी नाममा रहेको पार्टी अहिले माओवादी केन्द्रका नामले चिनिन्छ, त्योभन्दा बढी उक्त पार्टीमा खासै परिवर्तन भएको देखिँदैन । अब राजनीतिक क्रान्ति सकियो आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने बाबुराम र पुरानै ढङ्गबाट अगाडि बढ्नुपर्छ भन्ने प्रचण्डको यही फरक विचारले बाबुरामलाई पार्टीबाट अलग्याएको हो । प्रचण्डको त्यो विचारमा कुनै परिवर्तन भएकै छैन तर कसरी नयाँ शक्ति र माओवादी केन्द्रबीचमा एकीकरण सम्भावना देखियो बुझ्न नसकेको कुरा यहीँनेर छ । सङ्गठन बिस्तारका सुरुवाती दिनमा निकै तामझामका साथ अगाडि बेढेको नयाँ शक्ति यतिबेला पुसमाघको तुसारोले खाएको बाली जस्तै ठिगुरिएको छ भने प्रचण्डको नेतृत्वमा रहेको पार्टीमा आन्तरिक विवादका कारण हजारौँको सङ्ख्यामा केन्द्रीय सदस्य राखिएका छन् । नेतृत्व तहमा मिल्ने कुरा भए पनि सबैलाई पद चाहिएको अहिलेको अवस्थामा तल्लो तहका नेताहरू मिल्न सक्ने सम्भावना कम देखिन्छ । किनभने पार्टी एकीकरणपछि उनीहरुको बरियाताक्रम तल झर्छ । नयाँशक्तिकै कुरा गर्ने हो भने पार्टी घोषणा पछिकै दिनमा बरियताका क्रममा ठूलै विवाद देखिएको थियो । त्यसकै फलस्वरुप मुमाराम खनालले पार्टी नै छोडेर हिँडे ।

अहिले प्रचण्डलाई बाबुरामको र बाबुरामलाई प्रचण्डको आवश्यकता खड्किएको हुन सक्छ । तर सजिलै एकै ठाउँमा भइहाल्ने अवस्था देखिँदैन । देशमा पछिल्ला जे जति परिवर्तन भएका छन् ती सबै तत्कालीन माओवादीकै कारणले गर्दा भएका हुन् । अहिलेको अवस्था हेर्दा ती सबै उपलब्धिहरु गुम्ने अस्था बढ्दै गएको देखिन्छ । यही अवस्थालाई इङ्गित गरेर प्रचण्डले बाबुरामलाई हामी फेरि एक ठाउँमा जुट्नुपर्ने अवस्था आएको छ भनेका हुन् त्यसो त प्रचण्ड बाबुराम माात्रै होइन मोहन वैद्य र नेत्रविक्रम चन्द पनि एकै ठाउँमा भए अझै ती उपलब्धिलाई जोगाउन सजिलो हुनेछ । तर यी सबै कुनै न कुनै बेला सम्भव होला । तत्कालका लागि मिलनको विन्दु नजिकै देखिएको छैन । अरु एकै ठाउँमा आए पनि नआए पनि त्यति ठूलो असर नगर्ला तर प्रचण्ड र बाबुराम मिल्नुको विकल्प देखिँदैन जसका लागि प्रचण्डले पहिलेका कमिकमजोरीलाई सुधार्दै जानुपर्ने छ र नेनृत्व हस्तान्तरणको सिद्धान्त पार्टीमा भित्र्याउनु पर्छ ।

पालुङ्टार ८, गोरखा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल