तमु समुदायमा ल्होसार र ल्होछारमा अन्योल

-  |   भुपाल गुरुङ

तमु समुदायमा ल्होसार र ल्होछारमा अन्योल

पुस १५ अर्थात् तमु ल्होसार (ल्होछार) नजिकिँदै छ । ल्होसार (ल्होछार) लाई तमु (गुरुङ) जातिको एक महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । पर्वको अवसरमा शुभकामना दिनेहरु प्रत्यक्ष तथा सामाजिक सञ्जालमा सक्रिया छन् ।

यो दिन यस जातिको वर्ग वा वर्ष (बाह्र वर्गचक्र, एक वर्ग एक वर्षमा पूरा हुने) फेरिने भएकाले गुरुङ भाषामा ल्होसार (ल्होछार) भनिएको हो । ल्होकोर (वर्गचक्र) मा रहेको ल्होक्र (सर्वोच्च स्थान) मा एक चक्र पूरा गरेपछि ल्हो (वर्ग) आइपुग्दा सूर्यले पृथ्वीको दक्षिणी धु्रवमा पुगेर उत्तरी ध्रुवतर्फ फर्किएको हुन्छ । यसकारण सो दिन (पुस १५) मा सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुन्छ । अनि दिन लम्बिँदै र रात छोटिँदै जाने भएकाले यसको सम्बन्ध प्रकृति र समयसँग छ । पुस १४ गतेको मध्य रात १२ बजेपछि पुरानो ल्हो सकेर नयाँ ल्होको आगमन हुने हुँदा राति १२ बजे नयाँ वर्षको स्वागत गरिन्छ । तमु (गुरुङ) हरु क्होइवोमा वोन फायर गरी नयाँ वर्षको आगमनको सङ्केत गर्दछन् । पुस १५ गते बिहान एकअर्कामा शुभकामना साटासाट भेटघाट, ग्रहदशा नराम्रो रहेको वर्गले खेगीबाट रुपा लगाउने दिउँसो स्योकैं खाने नाचगान गरी धुमधामसँग ल्होसार (ल्होछार) मनाउने प्रचलन छ । पछिल्लो क्रममा यो प्रचलनमा पनि पश्चिमा संस्कृतिले विकृति प्रभाव परेको छ । पुस १५ लाई नेपाल सरकारले तमु ल्होसारका रुपमा सार्वजानिक बिदा समेत तोकेको छ । गुरुङ जातिको वर्गचक्र (ल्होकार) अनुसार एक पुरानो वर्गको बिदाइ र नयाँ वर्गको स्वागत नै ल्होसार हो भन्ने बुझाइ छ । ल्होसार शब्दको अर्थ गुरुङ भाषामा ल्हो भनेको वर्ग र सार बनेको सर्नु भन्ने बुझिन्छ । समाग्रमा यसलाई वर्ग परिवत्र्तन हुनु नै ल्होसार हो भन्न सकिन्छ । ल्होसारका सम्बन्धमा गुरुङ विद्वानहरुको आआफ्नै टिप्पणी रहे पनि वर्ग परिवर्तनमा एकरुपता देखिन्छ । ल्होसारलाई ल्होछार पनि भनिन्छ । विशेष गरेर बुद्ध धर्मावलम्बी तिब्बतीयन लामावाद मान्ने तमुहरुले अहिले तमु मौलिक पर्व ल्होसारलाई ल्होछार भन्दै आएको पाइन्छ । ल्होछारको अर्थ नयाँ उदाउनु भन्ने बुझाई छ । तमु जातिमा देखिएको ल्होसार र ल्होछार शब्द विवाद हैन भाषिकामा समस्या हो । नेपालका विभिन्न भेगमा बसोबास गर्ने तमुहरु एउटै भाषा फरक भाषिका प्रयोग गर्दछन् । यसलाई पछिल्लो समय संस्थागत टकरावको उपाज मानिन्छ । दुवै शब्द प्रचलनमा रहेकाले दुवै शब्दलाई स्विकार गरी पर्वको महत्वमा जोड दिनुपर्दछ । हिन्दूधर्मावलम्बीहरु पनि तिहार पर्वलाई कसैले दीपवाली र तिहार दुई शब्दबाट सम्बोधन गर्दछन् । तर दुवै शब्दको सम्मान छ । यसरी दुई ल्होसार अथाव ल्होछार दुवै शब्द प्रयोगमा भएकाले पोखरामा सामूहिक रुपमा मनाउने क्रममा दुवै शब्दको प्रयोग गरेको पाइछ । यो शब्दले उब्जाएको समस्या समाधान र वास्तविक अर्थ खोज्नतर्फ तमु अगुवा एवम् विद्वान्, प्रबुद्ध वर्गहरु पहल नगरेका पनि हैनन् । तर त्यसले ठोस निर्णय लिन सकेको छैन । विं सं. २०७१ सालमा ल्हु ल्होसार÷ल्होछार मूल आयोजक समिति पोखराले ल्होसार÷ल्होछार अन्तक्र्रियासमेत आयोजना गर्यो । कार्यक्रममा संस्कृतिकविद प्राज्ञ डा. जगमान गुरुङ, प्राज्ञ पैडी इन्द्रबहादुर गुरुङ, बौद्ध आचार्य शिर लामा तमु (थुब्तेन येसे) र क्ल्हेप्री चिवा देवबहादुर गुरुङले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो भने पच्यु चिवा कुलप्रसाद गुरुङले समेत ल्होसार÷ल्होछारबारे विचार व्यक्त गर्नुभएको थियो । तर उक्त कार्यक्रमले निचोड भने निकाल्न सकेन । सो कार्यक्रममा पनि तमु विद्वानहरुको दुई मत देखियो । यसलाई नियाल्ने हो भने ल्होसार र ल्होछारको विषयमा तमु अगुवाहरु नै अनविज्ञ छन् भन्दा फरक नपर्ला । ल्होसार (ल्होछार) शब्द तमुहरुको प्येमा उल्लेखित नभएकाले पनि यो शब्दमा द्विविधा रहेको ठहर छ । अधिकांश तमुहरु यस पर्वलाई पुसे १५ भनेर सम्बोधन गर्दछन् । ल्होसार (ल्होछार) गुरुङ जातिले कहिलेदेखि मान्न सुरु गर्न थाले भन्ने प्रश्न भने खोजीको विषय छ । गुरुङ समुदाय ल्होसारलाई महान पर्वका रुपमा मान्दछन् । विशेषगरी यस पर्वमा स्योँरा (सांस्कृतिक कार्यक्रम) खेलि स्योँकै (वनभोज) खाने परम्परा पुरानै हो । तर यो परम्परा पछिल्लो पुस्ताले अङ्गीकार गर्न सकेको छैन भन्दा फरक पर्दैन । स्योँरा खेल्ने प्रचलन पश्चिमा जिल्लाहरुमा नेपाल तमु विद्यार्थी छोँज धिंले खेल्दै आएको छ । तमुवानको राजधानी भनेर चिनिने पोखरा (कास्की) मा पनि यस संस्कृतिलाई जगेर्ना गर्न तमु सङ्घसंस्था चुकेका छन् । यस पर्वको महत्व जोगाउन तमु अगुवाहरु खासै लागिपरेको देखिँदैन । वि.सं २०६९ देखि नेपाल तमु विद्यार्थी छोँज धी कास्कीले भने यस परम्परा जोगाउने भन्दै हरेक वर्ष ल्होसारको अवसरमा स्योँरा (सांस्कृतिक अभियन) सञ्चालन गर्दै आएको छ ।

ल्होसार (ल्होछार) लाई सांस्कृतिक पर्वका रुपमा पनि चिनिन्छ । हर्षोल्लासका साथ सांस्कृतिक कार्यक्रमहरु आयोजना गर िल्होसार (ल्होछार) मनाइरहँदा यसको महत्वलाई संस्थागत गर्न जरुरी छ । यस पर्वलाई पछिल्लो क्रममा गैरगुरुङहरुले पनि मनाउने गर्दछन् । गैरगुरुङहरु पनि ल्होसारका दिन आफ्नै पोसाकमा गुरुङ समुदायसँग भेला भई शुभकामना आदानप्रदान तथा संस्कृति साटासाट गर्दछन् । यसले नेपालको धार्मिक सहिष्णुणता दर्साउँछ । नेपाली समुदायमा यस पर्वको महत्व बढ्दै जाँदा तमु अगुवाहरु सचेत नहुने हो भने भावी पुस्ताले ल्होसार (ल्होछार) गीत गाउने र नाच्ने पर्वका रुपमा मात्रै बुझ्दछन् । समुदायमा ल्होसार र ल्होछार अन्योलता कहिलेसम्म ? यही शब्दमा तमु अगुवाहरु कहिलेसम्म लडबडिने ? यो गम्भीर विषय बनेको छ ।

ल्होसार (ल्होछार) को महत्वलाई नव युवापुस्तामा पुर्याउन जरुरी छ । पछिल्लो समय पहिचानको कुरा उठिरहँदा समुदाय एक हुन नसक्ने हो भने हाम्रो पहिचान गुम्ने निश्चित छ । अब तमु अगुवाहरु शब्दमा अड्किएर हैन तमु (गुरुङ) भनेर एक ठाउँमा आउन आवश्यक छ । शब्दको विषयमा तमु विद्वानहरुले टुङ्गो लगाउन सक्दैनन् भने युवाहरुको काँधमा छाड्नुपर्छ । तमु युवाहरुले समुदायमा देखिएका यी र यस्तै तमाम अन्योलतालाई हटाउने प्रयासमा लाग्नुपर्दछ । तमु समुदायमा खुलेका युवा सङ्घसङ्गठन यसका लागि तयार हुनुपर्दछ । यसरी सधैँ अन्योलमा राखेर समुदायलाई बन्दी बनाउनु हुँदैन । समुदायभित्र देखिएका विविध अनेकतालाई एकतामा ल्याउन सम्पूर्ण तमु युवा एक भई लाग्न जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल