दलितलाई मानव बनाउन आफैंबीचको खाडल सम्याऔँ

-  |   पूर्णबहादुर विक (पहाडी)

दलितलाई मानव बनाउन आफैंबीचको खाडल सम्याऔँ

नेपालमा छुवाछूतको सुरुवात लिच्छविकाल (सन् १६२–७८९) बाट भएको पाइन्छ । तर त्यसले संस्थागत मान्यता पाएको थिएन । लिच्छविकालको अन्त्यपछि मल्लकालीन राज्यको स्थापन (सन् ७८९–१७६८) मा भयो ।

मल्लकालीन राजा जयस्थिति मल्लले १४३७ मा काठमाडौं राज्यमा हिन्दू धर्मग्रन्थ मनुस्मृतिको आधारमा कठोर प्रकारको हिन्दु वर्णश्रम राज्यव्यवस्था स्थापना गरे । त्यसैबेला भारतबाट पाँचजना कट्टर हिन्दूवादी ब्राह्मणहरु कृतिनाथ उपाध्याय, रधुनाथ झा, रामनाथ झा, श्रीनाथ भट्ट र महिनाथ भट्टलाई ल्याएर काठमाडौं राज्यमा नेवार समुदायको मानिसलाई चार वर्ण, चौसट्ठी जात र ७२५ उपजातमा विभाजन गरी समाजमा श्रमजीवी वर्गलाई पानी नचल्ने अछुतो जातिमा परिभाषित गरे । त्यति बेलाबाट नै नेपालमा मानवलाई दलित बनाउन सुरुवात भएको पाइन्छ ।

सन् १९६०–९५ देखि नेपाली धर्तीमा कानुनी रुपमा मानवलाई दलित बनाउँदै मानव सभ्यताविपरीत निकै कठोर प्रकारको दण्ड सजायको भागिदार बनाउनेतर्फ लागे । दलितहरुको काम कर्तव्यको निर्धारण पनि गरियो । त्यसबेला मानव जातिलाई विभिन्न जात, जाति उपजातिमा विभाजन गरेका थिए । जस्तै शूद्र, दोम, कपाली, कसाई, कुसुले आदि । त्यसैगरी काम, कर्तव्य पनि विभाजन गरियो । शूद्रहरुले जातीयताको आधारमा खानपान, पोसाक, गरगहना र बासस्थान गाउँको छेउमा हुनुपर्ने, सुनका गहना लगाउन नपाउने, पक्की घरमा बस्न नहुने नियम बनाइयो । दोमले स्वास्नी नचाएर खानुपर्ने, कुसुलेले फोहोर सरसफाइ गर्ने, कपालीले डमरू बजाउने तथा नाचगान गर्ने, कसाइले बाजा बजाउने राँगा काटेर बेच्न आदि काम तोकियो । शूद्रलाई दिनमा हिँडडुल गर्न प्रतिबन्ध लगाइयो । रातमा मात्र हिँडन पाइन्थ्यो । दिनमा हिँडडुल गर्नु परेमा दुईवटा हातमा लौरोको आवाज दिएर मात्र हिँडडुुल गर्न पाइन्थ्यो । उपल्लो जातिलाई शूद्रले जानिबुझी छोएमा उसलाई मृत्युदण्डसम्म दिने र उपल्लो जातिका स्त्रीसँग शूद्रले शारीरिक सम्पर्क गरेमा उसको लिङ्ग काटेर हत्या गरिन्थ्यो । शूद्रको कुनै अङ्गले उच्च जातिको सवर्णलाई छोएमा कठोरभन्दा कठोर कारबाहीसहित सजाय हुन्थ्यो ।

तर उपल्लो जातिको सवर्णबाट शूद्र तल्लो जातिको स्त्रीसँग शारीरिक सम्पर्क गरेमा हिन्दू धार्मिक ग्रन्थबाट चोख्याउने काम हुन्थ्यो । जातीय र धर्मको आधारमा ब्राह्मणवादी हिन्दू शासकहरुले दलितमाथि अमानवीय दुव्र्यवहार अझै बढाउँदै लगेको पाइन्छ । वि.स.१६०६–१६३३ मा गोरखाका राजा राम शाहले गोरखा राज्यलाई चार वर्ण छत्तीस जात र विभिन्न उपजातिमा विभाजन गरेको पाइन्छ । आफ्नो शासनकालमा चार वर्ण भने पनि शूद्रहरुमाथि मात्र राज्यको कानुन लागेको पाइन्छ ।

राम शाहको राज्यकालपछि पृथ्वीनारायण शाहले (वि.स.१७७९–१८३१ ) मा आफ्नो दिव्य उपदेशमा ‘यो फूलबारी छोटा बढा चारै जात छत्तीस वर्णको असली हिन्दुस्थान हो । आफ्नो कुल धर्म नछाड्ने भनेका छन् ।’ पृथ्वीनारायण हिन्दू धर्मका कट्टर पक्षपाती थिए । हिन्दुस्थान भारतजस्तै नेपाललाई पनि हिन्दूधर्मको आधारमा राज्य सञ्चालन गर्न चाहन्थे । नेपालको एकीकरण प्रक्रियामा उनले जातिच्यूत र जाति उकास्ने काम गरेका थिए । कीर्तिपुरको लडाइँमा पराजित भएपछि रातारात नुवाकोट ल्याउन सहयोग गर्ने दुवान शूद्र जातिलाई जाति उकासेर पुरावर उपल्लो जाति बनाएका थिए । राज्य बिस्तारको क्रममा मकवानपुरे राजा दिन्बन्धन सेन मगर जातिका थिए । उनलाई पराजित गरेपछि राजालाई मृत्युदण्ड र उनका सन्तानलाई सार्की जातिमा जातिच्यूत गरेका थिए । यसले के देखाउँछ भने मन परेकालाई जाति उकास्ने मन नपरेकालाई जातिच्यूत गर्ने गरिन्थ्यो । त्यो जोसुकै किन नहोस्, ब्राह्मणवादी चिन्तनमा हुर्केको यो समाज धर्मको नाममा एक हिस्सा मानव समुदाय दलितलाई अन्धविश्वास रुढीवादी, भाग्यवाद र कर्मको खेल भन्दै अग्रगामी चेतनामा ब्रेक लगाइयो । तर मानव जाति दलितहरूले धेरै समय दुःखकष्ट भोग्दै मानव, मानवबीचको खाडललाई सम्याउन लाखौं दलित समुदायको मुक्ति आन्दोलन २००४ सालबाट शुरु भयो । दलित सङ्गठन स्थापन हुँदै २०१५ सालमा तुलाराम विकको नेतृत्वमा गठन भएको राष्ट्रिय अछूत मुक्ति परिषद् २०२४ सालमा मिठाइदेवी विकको नेतृत्वमा गठन भएको नेपाल दलित जनविकास परिषद् लगायत अहिलेसम्म विभिन्न १०० भन्दा बढी सङ्गठनको स्थापना भएका छन् ।

दलितबाट मानवसम्मान हुनका लागि आन्दोलनको झन्डा उठाउँदै आउनु भएका हाम्रा दलित सहिद विभिन्न परिथितिमा दलित आन्दोलनका अगुवाहरुलाई सम्मान गर्नुपर्छ । दलित आन्दोलनको सिको गर्दै दलित सङ्घसंस्थाहरु खुल्ने क्रम पनि जारी छ । विभिन्न चरणमा दलित आन्दोलन अगाडि बढीरहेको छ ।

नेपालको इतिहासमा यसलाई सकारात्मक रूपमा स्वागत गर्नुपर्छ । तर दलित सङ्गठनभित्र नीति र एकताको भने गम्भीर समस्या रहेको विभिन्न आलेख बाट प्रमाणित हुन्छ । दलित सङ्घसङ्गठन धेरै भए पनि नीतिगत एकता र दलितदलितबीचको एकता भने शून्य रहेको पाइन्छ । फेरि पनि विभिन्न समयमा विनाएकता दलित आन्दोलन भइरहेका छन् ।

राजनीति दलको आड भरोसामा २००७, २०३५, ०३६, २०४६ र २०५२ सालमा दलित आन्दोलन भए । २०५२ बाट सुरु भएको माओवादी आन्दोलन कुनै न कुनै हिस्सामा दलितहरूको अहम् भूमिका रहेको पाइन्छ । फेरि पनि दलितमाथिको अन्याय, अत्याचार, दमन भने कमी भएको छैन । अहिलेसम्मको इतिहासलाई लेखाजोखा गर्ने हो भने दलितहरू एकआपसमा त ठूलो, म ठूलो भन्ने दलदलमा नै अलमलिएको छौँ । दलितबाट मानव बन्नुपर्छ भन्ने कुनै खास नीति नहुँदा यसको फाइदा विभिन्न राजनीतिक दलहरूले दलितहरुलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको देखिन्छ ।

दलितहरूको समस्या भनेको पहिला मानव मानवबीचको जातीय खाडल हो । जबसम्म यो खाडललाई सामाजिक र नीतिगत रुपले सम्मयाउन सकिँदैन तबसम्म राजनीति दलहरुले हतियारका रुपमा प्रयोग गर्नेछन् । आफू प्रयोग हुनुभन्दा पनि पहिला नेपाली समाजमा दलित दलितबीचको अहंकार र खाडललाई सम्मयाउनु आवश्यकता छ । अहिलेको ठूलो दल नेपाली काङ्ग्रेसले पनि दलितहरुलाई प्रयोग मात्र गरेको देखिन्छ । २००७ साल देखि २०६२÷६३ सम्मका आन्दोलनमा दलितहरूको उल्लेख्य भूमिका रहेको पाइन्छ । तर दलितहरुको उपलब्धि भने शून्य नै छ । मन्त्री मण्डलमा पनि दलित नेताहरूको स्थान कमै हुन्छ । त्यो पनि छेउ पुछारको मन्त्रालयमा चित्त बुझाउनुबाहेक अरु कुनै विकल्प हुँदैन । नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरुले दलितलाई प्रयोग गरेको मात्र देखिन्छ । तर माओवादी जनयुद्धले भने दलितको अधिकारलाई केही रुपमा सहज बनाएको जगजाहेर नै छ । तर पार्टीगत रूपमा भने दलितलाई दिने अधिकार अन्य दल सरह नै छ ।

अब आउने दिनमा दलितलाई मानव बनाउने प्रयास सकारात्मक रुपले अगाडि बढाउन दलित दलितबीचको खाडललाई सम्याउनु आजको आवश्यकता हो । समयको आवश्यकता अनुसार चल्न सकेनौँ भने दलित भन्ने शब्दलाई मानव सम्मान शब्दमा परिवर्तन गर्न असमर्थन हुनेछौँ ।

बरङ्जा, म्याग्दी : हाल ओमन

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल