डायरी : माओको समाधिमै पुगेर दुई थोपा आँशुसहितको श्रद्धाञ्जलि

-  |   रमेश मल्ल

डायरी : माओको समाधिमै पुगेर दुई थोपा आँशुसहितको श्रद्धाञ्जलि

कम्युनिस्ट होस् या गैरकम्युनिस्ट, कोही पनि राजनीतिज्ञ चीन भ्रमणमा निस्किएर बेइजिङ पुग्दा तेयनमेन स्क्वायरस्थित माओको समाधिमा पुगेन भने सायद भ्रमण सार्थक भएको ठानिँदैन होला । जर्मनी पुगेर हाइगेटमा माक्र्सलाई नभेट्ने र चीन भ्रमणको क्रममा माओत्सेतुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि नगर्ने केको माक्र्सवादी ? हामी त झन् माओवादी ।

२०औं शताब्दीमा चिनियाँ सामन्तवादको जरो उखेल्दै विश्व साम्राज्यवादलाई चुनौती दिने सर्वहारा वर्गका एक महान् नेता, नौलो चीनका राष्ट्राध्यक्ष तथा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर क. माओत्सेतुङको भौतिक शरीरसँग साक्षात्कार हुँदै छौं भन्ने हर्ष र गर्वले होला आज बिहान सखारै निद्राले छोडेछ ।

माक्र्सवादलाई सही रुपमा बुझ्ने र चिनियाँ सन्दर्भमा त्यसलाई मौलिक रुपमा लागू गर्ने सन्दर्भमा माक्र्सवादका तीनवटै अङ्ग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा क. माओत्सेतुङको योगदानलाई माक्र्सवादको तेस्रो र उच्च चरण माओवादको रुपमा विकास हो भन्ने सैद्धान्तिक मान्यतासहित हामी माओवादीले नेपालमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त बनायौं । पार्टीको नाम नै नेकपा (माओवादी) राख्यौं । रुस र चीनलगायतका विश्वभरका महान् क्रान्ति र प्रतिक्रान्तिका शिक्षा तथा नेपाली समाजको वर्गीय अन्तर्विरोधको ठोस विश्लेषण र त्यसको समाधान बल प्रयोगका माध्यमबाट गर्ने निष्कर्षसहित जनयुद्धको बाटो अबलम्बन गर्यौं । त्यही आँधीमय जनयुद्ध, जनयुद्धमा प्रदर्शित वीरता र बलिदानले पैदा गरेको जनआन्दोलनको ताकतको समुच्चयको रुपमा सामन्तवादको मुख्य प्रतिनिधि संस्था राजतन्त्र इतिहासको कथा बनेको छ । मुलुक केन्द्रीकृत र एकात्मक प्रणालीबाट सङ्घीयतामा प्रवेश गरेको छ भने उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने समावेशी, समानुपातिक प्रणाली र धर्मनिरपेक्षताको स्थापनाभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक र माओवादी पार्टीको एक जिम्मेवार सदस्यका रुपमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको पाहुना बनेर बेइजिङ पुग्नु मेरा लागि गौरवको विषय मात्र होइन एक सपनाको सार्थकता पनि हो । त्यसमा पनि कमरेड माओत्सेतुङसँगको साक्षात्कारलाई मैले कसरी शब्दमा वर्णन गर्न सक्छु र ? मैले यति मात्र ठान्दछु कि हाम्रो लागि अध्यक्ष माओको पार्थिव शरीरसँगको यो साक्षात्कार भ्रमण सफलताको एक हिस्सा हो ।

बिहान ८ः३० मा बे्रकफास्ट सकेर हामी तेयनमेन स्क्वायरको भ्रमणमा निस्कियौं । कमान्डर क. बलदेवको नेतृत्वको १५ जना नेपाली माओवादी प्रतिनिधिहरु, दोभासेको भूमिकामा रहनुभएकी क. सरला (नेपाली नाम), चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका प्रथम सेक्रेटरी क. लिनताओ तथा पीएलएका कमान्डर क. ल्यु साओ चीसहित १८ जनाको टोली बेइजिङको केन्द्र तेयनमेन पुग्यौं ।

बिहानीको समय, फराकिला सडकहरु, चारैतिर हरियाली, विशाल भौतिक संरचना, खुलेको आकाश, मनभित्र भड्किएको उत्सुकता र उमङ्ग, आँखाले देख्न भ्याइनभ्याई विशाल स्क्वायर तेयनमेन स्क्वायरमा पुग्दाको अनुभूति कसरी बयान गरुँ ? गाडीबाट झर्दैगर्दा क. सरलाले भन्नुभयो । “यो तेयनमेन स्क्वायर जहाँबाट क. माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभयो, ऊ त्यो मञ्चमा उभिएर । यो बीचको सहिद स्तम्भ जुन लाखौं चिनियाँ क्रान्तिका सहिदहरुको विम्बको रुपमा अटल श्रद्धाकासाथ खडा छ । ऊ पूर्वपट्टिको चिनियाँ राष्ट्रिय सङ्ग्रहालय जसमा सिङ्गो चिनियाँ समाजको हजारौंं वर्षको इतिहास सङ्ग्रहित छ । उत्तरपट्टिको चिनियाँ जनकाङ्ग्रेस, जसलाई हामीले अनलाइन र टेलिभिजनमा पहिले पनि पढेका र देखेका थियौं । जुन जनकाङ्ग्रेसमा चिनियाँ जनप्रतिनिधिहरुले आफ्नो राष्ट्रपतिलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्दछन् । दक्षिणमा क. माओत्सेतुङको स्मृतिस्थल, स्मृतिहल, समाधिस्थल । बीचमा यो विशाल स्क्वायर जसका बारेमा हामीले विभिन्न समाचार सुन्ने र पढ्ने मौका पाएका थियौं तर आज आफ्नै खुट्टाले स्पर्श गरिसकेको छ तेयनमेनलाई । श्रुतिमा होइन स्पर्शमा, कल्पनामा होइन जीवन्ततामा हामीसँग छ तेयनमेन ।

हाम्रा पाइला दक्षिणतिरै मोडिए । गाइडले जता इसारा गर्नुहुन्छ उतै, जस्तो गर्न भन्नुहुन्छ उस्तै । आज्ञाकारी बालकझैं, क. माओत्सेतुङ भेट्ने उत्सुकतामा हामी लाइनबद्ध छौं । विशाल स्क्वायरमा हातमा पुष्पगुच्छा लिएर लामबद्ध भएका हजारौं चिनियाँ र विदेशी नागरिकहरुको ठूलो उपस्थिति छ । यो लामबन्दी विशेष सन्दर्भहरुमा त लाखौंको पुग्छ रे । हामी नेपाली डेलिगेट्सहरुलाई भीआईपी मार्गबाट भित्र प्रवेश गराइयो । हामी स्मृतिद्वारबाट चुपचाप भित्र प्रवेश गर्यौं । अध्यक्ष माओको विशाल प्रतिमा अगाडि उभिएर श्रद्धाले शिर झुकायौं । भावमय वातावरणमा सामूहिक फोटो लियौं, स्मृति स्थलमा रहेका सुरक्षा अधिकारीहरु र गाइडहरुको इसारामा हामी विस्तारै भित्री कक्षमा प्रवेश गर्यौं । मेरो मनमा जन्मिएका प्रश्नको उत्तर भित्र गएपछि प्राप्त गरेँ ।

अहो ! अध्यक्ष माओको यो भौतिक शरीर । लमतन्न परेर मस्त निद्रामाझैं । चम्किलो अनुहार । भर्खरै थकान मेटन आराम गरेझैं । मानौं यो चिर निद्रा होइन उहाँ उठ्नुहुन्छ र हामीलाई भन्नुहुन्छ । “युवाहरु हो, अन्ततः यो संसार तिम्रै हो ।”, “जनताको सेवा गर ।” उहाँको पार्थिव शरीर अगाडि उभिएर हामीले एक मिनेट श्रद्धाञ्जलि गर्यौं । आफैलाई सम्हाल्न गाह्रो भो । भावुक भइएछ । दुई थोपा आँशुसहितको यो श्रद्धाञ्जलि ! हामी यति उद्वेलित छौं र भावुक पनि.. । अन्तष्करण भनिरहेछ । “हामी आज लडिरहेछौं आजका वैरीसँग । विश्वव्यापी रुपमा वैरी ज्युँदै छन्, मात्र बैरीका स्वरुप फेरिएका छन् र लडाइँको तरिका फेरिएको छ ।” एउटा नयाँ प्रतिबद्धता पैदाभएको जस्तो । त्यही चम्किलो अनुहार, ग्रिनरीझैं देखिने खैरो खाकीको पोसाक, तल्लो ओठमुनिको कोठी, त्यो सर्वहारा वर्गको नेतृत्व गर्ने चौडा छाती र उच्च शिर नियाल्दै र भक्कानिएर व्यक्त हुन खोजेको भावनालाई कण्ठकै आसपासमा गाँठो पार्दै बाहिर निस्कने दक्षिणी ढोकामा पुगिसकिएछ ।

सन् १९७६ चिनियाँ जनताका लागि ठूलो पीडा र विपत्तिको वर्ष रहेछ । यही वर्ष अध्यक्ष माओको निधन अगाडि नै चीनका प्रधानमन्त्री चाओ एनलाईको निधन भएको रहेछ । च्याङ सु प्रान्तको ह्व याङ्ग (क. चाओ एनलाईको जन्मस्थान) पुग्दा हामीले चाओको निधनमा क. माओ भक्कानिएको चलदृश्य नै देखेका थियौं । यही वर्ष कमान्डर चु तेहको पनि देहावसान भएको रहेछ भने यही वर्ष नै विनाशकारी भूकम्पले चीनमा ठूलो जनधनको क्षति भएको रहेछ । चिनियाँहरुले १९७६ लाई कालो वर्ष नै भन्दा रहेछन् ।

तर हामीलाई भने १९७६ सेप्टेम्बर ९ आजै जस्तो लागिरहेको छ । हामीले उहाँको पार्थिव शरीर अगाडि भर्खर मात्रै श्रद्धाञ्जलि गरेर आएका छौं । क. प्रचण्डको नाम सुनेर र माओवादीको काम देखेर माओवादीका सदस्य भएका हामीमा ओवादी कार्यकर्ताले दशकौंको सङ्घर्षका उतावचढावमा थुप्रै विषय सिक्ने मौका पाएका छौं । आज माओवादका प्रवर्तकको देशको भ्रमण र उहाँको पार्थिव शरीर अगाडि उभिएर क्रान्तिको बाँकी जिम्मेवारी सगर्व बहन गर्ने प्रेरणा लिने मौका पाएका छौं । वर्ग, जनता, पार्टी, देश र सर्वहारा अन्तर्राष्ट्रियतावाद अमर रहने छ । अध्यक्ष कमरेड माओप्रति पुनः शब्द श्रद्धाञ्जलि ।

तेयानमान स्क्वायर, चीन
हिमालपारिको देशमा १० दिनः यात्रा, संवाद र अनुभूतिबाट

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल