किन लाग्छन् दिल्लीको दलालीमा हाम्रा नेताहरू ?

–  |   निमकान्त पाण्डे

किन लाग्छन् दिल्लीको दलालीमा हाम्रा नेताहरू ?

ब्रिटिश साम्राज्यको उपनिवेशकालीन समयमा विश्व उपनिवेशको शिकार भइरहेका बेला समेत आफूलाई स्वतन्त्र राख्न सफल भएको हाम्रो देश नेपाल उपनिवेशकालीन समयको अन्त्य भएपछि भने दलाली र उपनिवेशवादी सोचको शिकार बन्न पुगेको छ । नेतृत्वमा आउने हरेक शासकमा रहेको दलाली सोचका कारण समग्र मुलुक नै यसको शिकार बन्दै आइरहेको छ । वि.सं.२००७ भन्दा पहिले अर्थात् नेपालमा प्रजातन्त्रको पुनस्र्थापना हुनुभन्दा पहिले सत्तामा रहेका तत्कालीन राणाहरूले तत्कालीन ब्रिटिश शासकसँग गुलामी गर्दै कतिपय अवस्थामा आफ्नो स्वार्थका लागि मुलुकलाई नै समस्यामा पार्ने गरी सन्धिसम्झौताहरू गरे । भारत स्वतन्त्र भएसँगै प्रजातान्त्रिक व्यवस्था अवलम्बन गरेको नेपालको नेतृत्व गर्ने राजा तथा राजनीतिक दलका नेताहरू दिल्लीको गुलामीमा लागिरहेको लामो उदाहरण देख्न सकिन्छ । दिल्लीलाई रिझाउन राजा त्रिभुवनले गरेका अनेकौं प्रयास होऊन् वा दिल्लीको गुलामी गर्नका लागि तत्कालीन नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गर्ने मातृका तथा बीपी कोइरालाले गरेका कोशी तथा गण्डक जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरू हुन्, यी गुलामी मानसिकताका कारण भएका राष्ट्रघाती कामहरू नै हुन् ।


दिल्लीको गुलामी गर्ने सिलसिला पञ्चहरूमा पनि उत्तिकै देखियो । अझ आफूलाई ठूलै राष्ट्रवादी दाबी गर्ने कम्युनिष्टहरू त झन् एक कदम अगाडि देखिएका छन् । सँुगुरले आची खानुलाई आश्चर्य मानिँदैन तर खसी बोकाले आची खाए भने त्यो सर्वत्र आश्चर्यको विषय बन्दछ । अरूले दिल्लीको दलाली गर्दा सबैभन्दा चर्काे स्वरमा विरोध गर्ने कम्युनिष्ट नेताहरूबाटै दिल्लीलाई रिझाउन प्रतिस्पर्धा गरेको देख्दा आश्चर्य लाग्दोरहेछ । कतिपय कम्युनिष्ट नेताहरूले पञ्चायती व्यवस्थामै यस्तो दलालीको सुरुवात गरिसकेका थिए । त्यसको विरोध कम्युनिष्ट नेताहरूबाट हुने गर्दथ्यो । निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय व्यवस्थामा आएपछि आन्दोलनमार्फत शक्ति तथा जनआधार आर्जन गरेको नेकपा एमाले पनि दिल्लीको दलालीका लागि समर्पित हुँदै आइरह्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि धेरैजसो सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई त दिल्लीपरस्त राजनीतिक दलकै ट्याग लाग्दै आएको छ भने दिल्लीको दलाली गर्न नजान्दा राजगद्दीसँगै राजसंस्थाकै पतन भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसमेत पुनः शक्ति आर्जनका लागि दिल्लीलाई रिझाउन दौडधूप गरिरहेका गतिविधिहरू सार्वजनिक भइरहेका छन् । दिल्लीको हस्तक्षेपलाई मुख्य एजेण्डा नै बनाएर १० वर्षसम्म राष्ट्रिय स्वाधीनता र आमूल रूपान्तरणका लागि सशस्त्र युद्ध लडेको माओवादी शक्ति समेत दिल्लीलाई कसरी खुशी बनाउन सकिएला भन्ने कसरतमा अरूलाई उछिन्ने प्रयास गरिरहेको अशोभनीय गतिविधि देखिन्छ ।

नेपालको सन्दर्भमा सत्तारोहण र दिल्लीको दलाली लगभग उस्तै/उस्तै बनिरहेको छ । सत्तामा नपुगुन्जेल दिल्लीको सत्तोसराप गर्ने दल तथा नेताहरू समेत सत्तारोहणपश्चात् अचानक दिल्लीको नजिक हुन पुगेका देखिन्छन् । अहिलेसम्मका उदाहरण हेर्दा दिल्लीको भक्तिभाव गर्ने तिनै नेताहरूको कुर्सीलाई दिल्लीले शिकार बनाउने गरेको छ । तथापि अर्काे पटक सत्तामा पुग्ने लालसाका कारण नेताहरू लाचार बनिरहेका हुन्छन् । सत्तामा पुग्ने नेपाली नेतृत्वप्रति भारत आफैँले पनि स्वार्थपूर्तिका लागि निकटता बनाउन प्रयास गदर्छ । तर नेपाली नेतृत्वले भने भारतीय चासोले नेपालमाथि के असर गर्ला भन्ने भन्दा पनि आफूमाथि भारतीय सद्भाव रहेको भन्दै मुलुकको अहितमा हुने काममा पनि ल्याप्चे लगाइदिन्छन् । यसै पनि भारतले नेपालजस्ता मुलुकको आन्तरिक मामिलामा आवश्यकभन्दा बढी चासो र चलखेल गर्न चाहन्छ । त्यसमाथि सत्ताको बागडोर सम्हाल्ने नेतृत्वमा विकास हुने दिल्लीप्रतिको भक्तिभावका कारण दिल्लीले नेपाललाई आफू अनुकूल चलाउन र उसले आफ्नो स्वार्थलाई सहज ढंगले पूरा गराउन सफल भइरहेको छ ।

नेपाली नेताहरूमा आफूलाई चुनाव जिताएर संसद्मा पठाउने जनताप्रति त्यति विश्वास देखिँदैन, जति दिल्लीप्रति विश्वास र भरोसा देखिन्छ । जसले गर्दा आफूलाई चुनाव जिताउने जनताका मागहरूलाई निरन्तर बेवास्ता गरिरहने उनीहरू दिल्लीको आदेशलाई भने शिरोधार्य गरिरहन्छन् । जसरी एउटा पिछडिएको समुदायका मानिसहरू बच्चा जन्माउने हात आफूमा निहित हुँदाहुँदै पनि निरन्तर बच्चा जन्मिएपछि त्यसलाई भगवान्को आशीर्वादका रूपमा लिने गर्छन् । त्यस्तै अवस्था छ नेपाली राजनीतिक नेतृत्वको । यही सोचका कारण उनीहरू आफूसँग जनताको साथ र शक्ति हुँदाहुँदै पनि भारत नै सबै थोक हो भन्ने ठान्छन् । जसले गर्दा नेपाल आफै सक्षम रहेको कुरामा पनि जबर्जस्ती दिल्लीको सहभागिता गराइन्छ ।

नेपाली नेतृत्वमा परावलम्बी सोच भएसम्म नेपालको समग्र विकास र समृद्धि अब बिल्कुलै सम्भव छैन । त्यसका लागि नेपाली नेतृत्वमा दिल्लीप्रतिको त्रास र दलाली मानसिकताको अन्त्य हुन आवश्यक छ । आफ्नो काम र निर्णय गर्न हामी आफैँ सक्षम छाँै भन्ने सोचको विकास नभएसम्म ‘दिल्ली फोविया’ कायमै रहन्छ । त्यो फोविया कायम भएसम्म नेतृत्वमा दिल्लीप्रतिको दलाली सोच कायमै रहन्छ र नेपाल स्वतन्त्र भएर पनि स्वतन्त्र निर्णय गर्नबाट वञ्चित भइरहने छ । त्यसैले मुलुकको हित र समृद्धिका लागि नेतृत्वमा रहेको दिल्लीको दलाली सोचको अन्त्य हुन नितान्त आवश्यक छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल